आइएमई लाइफ इन्स्योरेन्सको सीईओमा श्रीचन्द्र भट्ट नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । नवनियुक्त भट्टले आइतबार सञ्चालक समिति समक्ष सीईओ पदको सपथ ग्रह्रण गरेका छन् । उक्त सपथ ग्रह्रण गर्ने कार्यक्रममा सीईओ भट्टले आफुसँग रहेको कार्य अनुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिने प्रतिबद्धता जाहेर गरेका छन् । १९९८मा नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ् करियर शुरु गरेका भट्टसँग सहायक महाप्रबन्धकको पनि कार्य अनुभव रहेको छ । त्यसपछि भट्टले मेघा बैंकमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए । पछिल्लो समयमा भट्ट विभिन्न बैंक तथा वित्तीय संस्था लगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध रही आएका थिए । भट्टसँग रेमिट टु नेपाल प्रा.लिको सीईओ पदमा रही काम गरेको अनुभव समेत रहेको छ ।

एनआईसी एशिया बैंकबाटै एशियन लाईफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडबाटै एशियन लाईफको इन्स्योरेन्स सेवा पाइने छ । आइतबार दुई संस्थाबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात बैंकका ग्राहकले उक्त सेवा पाउने भएका हुन् । साथै, ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्राकृतिक विपत्ति र साइबर क्राइममा अवसर खोज्न २० देशका बीमा कम्पनी काठमाडौं आउँदै

काठमाडौं । प्राकृतिक विपत्ति र साइबर क्राइमको जोखिम बहन गर्ने क्षमता खोज्न २० देशका बीमा कम्पनी नेपालमा भेला हुने भएका छन् । असोज ९ र १० गते २० देशका बीमा कम्पनी र नियामक निकाय काठमाडौंमा भेला हुन लागेका हुन् । विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एसोसियसन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज(एआईआरडीसी)को २१ औं सम्मेलनमा प्राकृतिक विपत्ती र साइबर क्राईमको जोखिम बहनबारे छलफल हुन लागेको हो । सम्मेलनमा २० देशका १५० भन्दा बढि इन्स्योरेन्स कम्पनी तथा नियामक निकायका प्रतिनिधीहरुको सहभागीता रहनेछ । सम्मेलनले विकासोन्मुख मुलुकहरुमा अत्याधिक जोखिमका रुपमा देखिएको प्राकृतिक विपत्ति र साइबर क्राइमको जोखिम बहनबारे व्यापक छलफल हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए । एआईआरडीसीका उपाध्यक्ष तथा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले भने–‘एउटा चोर बैंकमा छिर्यो भने बोक्न सक्ने पैसा लिएर भाग्छ तर एक पटक माउसमा क्लिक गर्दा अरबौं रुपैंयाँ गायब हुन्छ, अहिलेको विश्वमा साइबर क्राइम महत्वपूर्ण जोखिम हो, विकासोन्मुख मुलुकका लागि प्राकृतिक विपत्ति पनि त्यतिकै जोखिमपूर्ण क्षेत्रमा पर्छ, सम्मेलनले यीनै क्षेत्रको जोखिम वहनबारे व्यापक छलपल हुन्छ’, शाहले भने । सम्मेलनमा प्राकृति विपत्तिको जोखिम न्युनीकरणमा रि इन्स्योरेन्स कम्पनीको भूमिका, बीमा कम्पनीहरुको डिजिटलाइजेशन, माईक्रो इन्स्योरेन्स लगायतका बिषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई बीमा क्षेत्रको नियमनका क्रममा उपयोग गर्ने समितिका अध्यक्ष चापागाइँले बताए । नेपाल बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डेले सम्मेलन मार्फत अन्य विकासोन्मुख मुलुकका बीमा कम्पनीले अवलम्बन गरेका अभ्यास ग्रहण गर्ने र आफ्ना अनुभव सुनाउने बताए । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले सम्मेलनलाई पुनर्बीमा कम्पनीको बजार विस्तारको उपयुक्त माध्यमका रुपमा उपयोग गर्ने बताए । हाल २९ देशबाट पुनर्बीमा व्यवसाय गर्दै आएको कम्पनीले सम्मेलनपछि थप केहि देशमा व्यवसाय विस्तार गर्ने दावी भण्डारीले गरे । ५०० नेपाली र १५० विदेशी गरि ६५० जना बीमा क्षेत्र सम्वद्ध व्यक्तिहरुले सम्मेलनमा प्रत्यक्ष सहभागीता जनाउनेछन् । एआईआरडीसीमा नेपाल सहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन् । एआईआरडीसीले प्रत्येक २ बर्षमा सम्मेलन गर्दै आएको छ । यसपालीको सम्मेलन नेपालले आयोजन ागर्न लागेको हो । सम्मेलनपछि हाल उपाध्यक्षको जिम्मेवारीमा रहेका विजय बहादुर शाहले अध्यक्षको जिम्मेवारी प्राप्त गर्नेछन् ।