वैदेशिक रोजगार बीमाको पुलले चार कम्पनीलाई फाइदैफाइदा, ६ कम्पनी मारमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पुल प्रणालीमा लैजान केही साताअघि एउटा मोडालिटी निर्माण गर्यो । चालु आर्थिक वर्ष २०८१/०८२ को सुरुदेखि नै पुल प्रणाली लागू गर्नेगरी प्राधिकरणले निर्देशिका नै बनायो । वैदेशिक रोजगार म्यादी बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै प्राधिकरणले पुल प्रणाली लागू गरेको जनाएको छ । वैदेशिक रोजगार म्यादी बीमाको व्यवसाय पाउन बीमा कम्पनीहरूसँग म्यानपावर कम्पनीले कमिसन लिने गरेको भन्दै यस व्यवसायलाई पुल प्रणालीमा लैजानुपर्ने धारणा केही जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले गर्दै आएका थिए । यस्तै, अन्य केही कम्पनीका सीईओहरूले भने म्यानपावर कम्पनीसँग ती जीवन बीमा कम्पनीले उधारोमा पोलिसी बिक्री गरेको आरोप लगाएका थिए । म्यानपावरले उक्त उधारो तिर्न आनाकानी गरेपछि पुल प्रणालीमा जान उनीहरूले दबाब सिर्जना गरेको आरोप पनि छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्ने निचोड निकालेर प्राधिकरणले पुल प्रणाली नै लागू गर्यो । कस्तो छ मोडालिटी ? प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन, २०८१ सार्वजनिक गरेको छ । सो निर्देशनअनुसार अब कुनै पनि कम्पनीले जति नै व्यवसाय गरे पनि त्यसको ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्छ । एक प्रतिशत भने प्रशासनिक, उक्त पोलिसी जारी गर्दा लाग्ने खर्चलगायत खर्चका लागि कम्पनीले स्वयं आफैले राख्न पाउँछ । यसैगरी, सबै कम्पनीले आफूले संकलन गरेको बीमाशुल्कको बाँकी ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्ने निर्देशनमा भनिएको छ । उक्त पुलमा जम्मा भएको रकमको ३१ प्रतिशत रकम सबै बीमा कम्पनीहरूले आफूले गरिएको व्यवसायको अनुपातमा विभाजन हुन्छ । त्यसैगरी, बाँकी ६९ प्रतिशत रकम यस बीमा व्यवसाय गर्ने सबै कम्पनीलाई बराबर भाग हुन्छ । निर्देशनअनुसार चालु आवका लागि १५ वटा कम्पनीले यस व्यवसाय गर्न इच्छुक रहेकाले उनीहरूलाई त्यो ६९ प्रतिशत रकम बराबर अर्थात ४.६० प्रतिशतका दरले बाँढिन्छ । त्यस्तै, आव २०८२/०८३ मा संकलन गरेको रकमको १ प्रतिशत स्वयं कम्पनीले राख्ने र ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्छ । पुलमा जम्मा गरिएको रकमको ८५.५० प्रतिशत रकम सबै बीमा कम्पनीलाई बराबर भाग लाग्छ । बाँकी १४.५० प्रतिशत भने कम्पनी व्यापार गरेको अनुपातमा भाग लाग्छ । त्यस्तै, आव ०८३/०८४ मा भने पुलमा जम्मा गरिएको सबै रकम सबै कम्पनीलाई बराबर भाग लाग्छ । यसो गर्दा केही धेरै व्यवसाय गर्ने कम्पनीहरूले आफूले संकलन गरेको रकम पनि अन्य कम्पनीलाई बाँढिन्छ । कम व्यवसाय गर्ने अर्थात तुलनात्मक रूपमा कम बीमाशुल्क संकलन गर्ने कम्पनीले आफूले गरेको व्यवसायभन्दा बढी थप रकम प्राप्त गर्ने अवस्था सिर्जना हुन्छ । अर्थात् केही कम्पनीलाई यस प्रणालीले फाइदा र केही कम्पनीलाई यसले घाटा पुर्याएको बीमाका जानकारहरू बताउँछन् । कति हुन्छ नाफा-घाटा ? कुन कम्पनीलाई यो प्रणालीबाट कति फाइदा र कुन कम्पनीलाई कति घाटा भनेर विश्लेषण गर्नुपूर्व नेपालमा हाल कति जीवन बीमा कम्पनी छन् ? त्यसमध्ये गत चालु आवमा कुन-कुन कम्पनीले यो बीमा पोलिसी जारी गरे ? कुन-कुन कम्पनीले गरेनन् ? भन्ने कुरा बुझ्नु जरुरी छ । हाल नेपालमा तीन लघु जीवन बीमा कम्पनी छन् । १४ वटा ठूला जीवन बीमा कम्पनी छन् । समग्रमा १७ जीवन बीमा कम्पनी छन् । विदेशी २ जीवन बीमा कम्पनी मेट लाइफ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले भने यो पोलिसी जारी नगर्ने भएका छन् । तसर्थ यो पोलिसि जारी गर्ने कम्पनीको संख्या १५ वटा रह्यो । कुन कम्पनीलाई कति फाइदा भन्नुपूर्व यो पोलिसी जारी गर्ने कम्पनीले गत आवमा गरेको कारोबारका आधारमा यहाँ विश्लेषण गरिएको छ । गत आवमा १५ मध्ये हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी बीमा पोलिसी बिक्री गरेका थिएनन् । यसैगरी, तीन लघु जीवन बीमाहरू गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले पनि गत वर्ष याे पोलिसी बिक्री गरेका थिएनन् । तयी कम्पनीहरूलाई पुल प्रणालीले घाटा हुन्छ या नाफा हुन्छ भनेरे विश्लेषण गर्ने आधार नै छैन । यीबाहेक गत आवमा १० जीवन बीमा कम्पनीले वैदेशिक रोजगार पोलिसी बिक्री गरेका थिए । अब हामीले कुन कम्पनीलाई कति नाफा वा घाटा भनेर विश्लेषण गर्न गत वर्षको तथ्यांकलाई केलाएर विश्लेषण गर्नेछाैं । उल्लेखित तथ्यांकअनुसार गत वर्ष ३ अर्ब १२ करोड ६८ लाख रुपैयाँ वैदेशिक रोजगारी म्यादी जीवन बीमाबापत बीमा शुल्क संकलन भएको रहेछ । यही तथ्यांकलाई आधार मानेर हिसाब गर्दा उक्त रकमको ९९ प्रतिशत रकम बीमा पुलको कोषमा जम्मा हुन्छ । अर्थात् ३ अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुलमा जम्मा हुन्छ । सो पुलमा जम्मा गरिएको रकमको ३१ प्रतिशत अर्थात ९५ करोड ९६ लाख रुपैयाँ कम्पनीको व्यापारको अनुपातमा भाग गरिन्छ । बाँकी ६९ प्रतिशत अर्थात २ अर्ब १३ करोड ५८ लाख रुपैयाँ १५ कम्पनीलाई बराबर भाग लगाइन्छ । यो रकम १५ कम्पनीलाई भाग गर्दा एक कम्पनीको भागमा १४ करोड २३ लाख ८६ हजार रुपैयाँ हुन जान्छ । सन नेपाल लाइफ सन नेपालले गत आवमा ८६ करोड ३० लाख ४९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । त्यसको एक प्रतिशत अर्थात ८४ लाख ३० हजार कम्पनीले खर्च कटाएर बाँकी ८३ करोड ४६ लाख १८ हजार रुपैयाँ पुलमा जम्मा गरिदिन्छ । यस कम्पनीले पुलको ६९ प्रतिशत अर्थात २ अर्ब १३ करोड ५८ लाख रुपैयाँबाट १४ करोड २३ लाख ८६ हजार प्राप्त गर्छ । र, ३१ प्रतिशत अर्थात् ९५ करोड ९६ लाख रुपैयाँको २६.९६ प्रतिशत रकम प्राप्त गर्छ । सो बापत २५ करोड ८७ लाख रुपैयाँ प्राप्त गर्छ । समग्रमा सन नेपालले ८४ लाख ३० हजार, १४ करोड २३ लाख ८६ हजार र २५ करोड ८७ लाख गरी कुल ५० करोड ५७ लाख ३८ हजार रुपैयाँ प्राप्त गर्छ । यहाँ कम्पनीलाई ३३ करोड ७३ लाख १० हजार रुपैयाँ घाटा भएको देखिएको छ । नेपाल लाइफ नेपाल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत बापत ६२ लाख ०८ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट १९ करोड ४ लाख ८० हजार गरी कुल ३३ करोड ९० लाख ७४ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ६२ करोड ८ लाख ६ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात् कम्पनीलाई २८ करोड १७ लाख ३१ हजार रुपैयाँ घाटा लागेको छ । आइएमई लाइफ आइएमई लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत बापत ३५ लाख ३५ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट १० करोड ८४ लाख ३४ हजार गरी कुल २५ करोड ४३ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ३५ करोड ३५ लाख ७३ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ९ करोड ९२ लाख १७ हजार रुपैयाँ घाटा हुने भएको छ । एशियन लाइफ एशियन लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत ३० लाख ३१ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ९ करोड २९ लाख ८५ हजार गरी कुल २३ करोड ८४ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ३० करोड ३१ लाख ४० हजार बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ६ करोड ४७ लाख ३७ हजार रुपैयाँ घाटा हुने भएको छ । नेशनल लाइफ नेशनल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २७ लाख १ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ८ करोड २८ लाख १३ हजार गरी कुल २२ करोड ७९ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २७ करोड १ लाख ११ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ४ करोड २२ लाख ११ हजार रुपैयाँ घाटा हुने भएको छ । सूर्यज्योति लाइफ सूर्यजोति लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २५ लाख रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ७ करोड ६६ लाख ७२ हजार गरी कुल २२ करोड १५ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २५ करोड ८६ हजार बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई २ करोड ८५ लाख २७ हजार रुपैयाँ घाटा हुने भएको छ । सानिमा रिलायन्स लाइफ सानिमा रिलायन्स लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २० लाख ५६ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ६ करोड ३० लाख ४५ हजार गरी कुल २१ करोड १० लाख ४३ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २० करोड ५६ लाख बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ५६ लाख ३१ हजार रुपैयाँ नाफा हुने देखिएको छ । रिलायबल लाइफ रिलायबल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १७ लाख ८० हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ५ करोड ४६ लाख १ हजार गरी कुल १९ करोड ८७ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १७ करोड ८० लाख बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई २ करोड ७ लाख ६६ हजार रुपैयाँ फाइदा हुने देखिएको छ । सिटिजन लाइफ सिटिजन लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १० लाख ५ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ३ करोड ८ लाख गरी कुल १७ करोड ४१ लाख ९४ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १० करोड ५ लाख बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ७ करोड ३६ लाख २२ हजार रुपैयाँ फाइदा हुने देखिएको छ । प्रभु महालक्ष्मी लाइफ प्रभु महालक्ष्मी लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १ लाख ८० हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ५६ लाख ६१ हजार गरी कुल १४ करोड ८२ लाख २७ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १८ लाख ७८ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात् कम्पनीलाई १४ करोड ६३ लाख ५३ हजार रुपैयाँ फाइदा हुने देखिएको छ ।
लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालासँग अन्तरक्रिया, एनएफआरएस कार्यान्वयनमा जोड
काठमाडौं । नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस) कार्यान्वयनका लागि आवश्यक तयारी लगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । आगामी २०८२ साल साउन १ गतेदेखि बीमा क्षेत्रमा पूर्णरूपमा कार्यान्वयनमा आउन लागेको एनएफआरएसको कार्यान्वयनका लागि बीमा कम्पनीहरूले गर्नुपर्ने तयारी, नियामक निकायहरूको भूमिका, जनशक्ति तथा नविनम प्रविधिको प्रयोगलगायतका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले आगामी २०८२ साल साउन १ गतेदेखि एनएफआरएस कार्यान्वयन गर्नुपर्ने भएकाले अहिलेदेखि नै यसलाई गम्भीरतापूर्वक लिई आवश्यक तयारी गर्नुपर्ने बताए । उनले भने, ‘एनएफआरएस कार्यान्वयन गर्न कठिनाइ भए पनि कार्यान्वयन गर्नुपर्छ, गर्न सकिन्छ । यसका लागि मार्गनिर्देश बनाएर अगाडि बढ्नुपर्छ । नियामक निकायहरू सहयोग गर्न तयार छन् ।’ अध्यक्ष सिलवालले एनएफआरएस कार्यान्वयनमा सहयोग गर्न प्राधिकरणको संयोजकत्वमा लेखासम्बन्धी नियामक निकायहरूका यससम्बन्धी विज्ञहरू रहेको समिति गठन गर्नु आवश्यक रहेको उल्लेख गर्दै त्यसमा सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का अध्यक्ष प्रवीणकुमार झाले बीमा क्षेत्रमा एनएफआरएस कार्यान्वयनका लागि आईक्यानबाट पूर्णरूपमा सहयोग हुने जानकारी दिए । लेखा परीक्षणमान बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठले लेखापरीक्षणको गुणस्तर अभिवृद्धिका लागि विद्यमान जनशक्तिको क्षमता अभिवृद्धि र गुणस्तरीय जनशक्तिलाई आकर्षण गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले आगामी आर्थिक वर्षदेखि एनएफआरएस कार्यान्वयन गर्नका लागि ठोस कार्ययोजनाका साथ समयमै काम सुरु गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुंगेल अधिकारीले एनएफआरएस कार्यान्वयनबाट बीमा क्षेत्र थप सबल, विश्वसनीय, पारदर्शी र जवाफदेही हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखापरीक्षणमान बोर्ड र लेखामान बोर्डका पदाधिकारी, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघका अध्यक्ष तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरूको सहभागिता रहेको थियो ।
शैलुङका श्रेष्ठ दम्पतीले दिए छोरालाई पास्निमा बीमा पोलिसी उपहार
काठमाडौं । दोलखा जिल्लाको शैलुङ निवासी एक दम्पतीले आफ्नो छोराको पास्निमा बीमा पोलिसी उपहार दिएका छन् । शैलुङ निवासी दम्पती विशाल श्रेष्ठ र कमला श्रेष्ठले आफ्नो छोरा सबिक श्रेष्ठलाई पास्नीमा जीवन बीमा पोलिसी उपहार दिएका हुन् । उनीहरूले नेशनल लाइफ इन्स्योरेन्समा बीमा गराएर छोरालाई उपहार दिएका हुन् । छोरो सबिकको नाममा १० लाख रुपैयाँ बीमांक रकमको पोलिसी, बुबा विशालको नाममा १० लाख र आमा कमलाको नाममा १० लाख गरी कुल ३० लाख रुपैयाँ बीमांक रकमको बीमा गरेर छोरालाई उपहार दिइएको जनाइएको छ । उक्त सबै बीमा छोराको उज्जवल भविष्यका लागि गरिएको बुबा विशालले बताए । भविष्यमा छोरालाई पढाइका लागि सहयोग होस् भन्ने उद्देश्यले उक्त बीमा गरेकाे उनले बताए ।