कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा मंगलबार आफूसँग भेट गर्न आएका नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई उपराष्ट्रपतिले त्यहाँ मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गरेका हुन् । ‘कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्,’ भेटमा उपराष्ट्रपतिले भने, ‘म महामहिमलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीलाई नियमित काम गर्न वा उनीहरूलाई नेपाल फर्काउनमा सहयोग गर्न अनुरोध गर्दछु ।’ उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै र एकअर्कालाई समर्थन गर्दै आएकामा खुसी व्यक्त गरे । उनले नेपाली नागरिक विपीन जोशीलगायत अन्य बन्धकको रिहाइका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसासमेत गरेको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले जानकारी दिए । भेटमा कतारका राजदूत अन्सारीले दुईबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवर्द्धन तथा संरक्षणको पक्षमा रहेको बताए । कतारमा हाल चार लाख नेपाली कामदार रहेको जानकारी दिँदै उनले नेपाली श्रमिकको हितलाई कार्यान्वयन आफूले प्रयास गर्ने बताए ।

नेपाल लाइफले समता एजुकेसन फाउन्डेसनलाई दियो १० लाख रुपैयाँ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ रकम प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ)  प्रवीण रमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दिपक सन्जेललाई एक समारोहका बीच १० लाख नगदको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा नेपाल लाइफका सञ्चालक अग्रवालले मासिक १०० शुल्क लिएर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई नर्सरीदेखि स्नाकोत्तर तहसम्म अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको समता एजुकेसन फाउन्डेसनको संस्थापक लगायत व्यवस्थापनलाई धन्यवाद दिए । त्यसैगरी, कम्पनीका सीईओ पराजुलीले देशको कर्णधार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानगर्न सके राष्ट्रले दक्ष जनशक्ति प्राप्त गर्ने बताउँदै कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई सहयोग पुर्‍याउन १० लाख प्रदान गरिएको र आगामी दिनमा पनि शिक्षाको विकास हेतु सहयोग गर्न कम्पनी तयार रहेको बताए । कार्यक्रममा बोल्दै समता एजुकेसन फाउन्डेसनका अध्यक्ष सन्जेलले २३ वर्षको इतिहास बोकेको समतामा आजको दिनमा देशको ७७ वटै जिल्लामा करिब ३० हजार विद्यार्थीहरू अध्ययनगर्दै आएको कुरा जानकारी गराए । हालसम्म विभिन्न संघसंस्थाको सहयोगबाट विद्यालय चलिरहेको र सहयोगबाट मात्र सञ्चालन दीर्घकालीन नहुने हुँदा अक्षयकोषको निर्माण गर्दै अनवरत रूपले अध्ययन अध्यापनको कार्यलाई निरन्तरता दिने बताउँदै नेपाल लाइफले प्रदान गरेको रकम अक्षयकोषमा रहने र त्यसको आम्दानीबाट विद्यालयहरू सञ्चालन गरिने बताए ।

सिटिजन लाइफ वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकउत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरु देखिएमा समाधान प्रदान गर्न आवश्यक भुमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको छ । अहिले विश्वव्यापी रुपमा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै  शूक्रबार कम्पनीकोे प्रधान कार्यालयमा ‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता’ को विषयमा कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रमको मूख्य श्रोत व्यक्तिको रुपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालको उपस्थिती रहेको थियो । अर्यालले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा, र व्यवसायिक संस्थाहरुले अपनाउनु पर्ने कानुनी व्यवस्थाबारे विस्तृत रुपमा प्रशिक्षित गरिन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाईन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसा विरुद्ध ऐक्यवद्धता भएर काम गर्न अर्यालले प्रोत्साहन समेत गरिन् । उक्त कार्यक्रममा अर्यालले, लैङ्गिक हिंसा महिलाहरु माथि मात्र नभइ पुरुषहरुमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनी रुपमा अघी बढ्ने भन्ने बारेमा पनि जानकारी दिइन् । फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरुको भुमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउदैं लैङ्गिक हिंसाको पिडितलाई आवाज उठाउन अनूरोध गरिन् । फोरमले आउने समयहरुमा यस्तै शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरुप विभिन्न कार्यहरु गर्ने भविष्यको सोच रहेको बताइन् । कार्यक्रमको अन्तिम चरणमा कम्पनीका नायब प्रमूख कार्यकारी अधिकृत दिप बहादुर वि.सीले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहेको जनांउदैं कार्यक्रम समापन भएको घोषणा गरे । यस वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई सशक्तिकरण गर्नुका साथै महिला लगायत सबैको लागी उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समान्वय गर्ने र सो को सहजतको लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समान्वय गर्नु रहेको छ ।