वार्षिकोत्सवमा प्रभु महालक्ष्मी लाइफले फेवा तालमा सहयोग गर्यो लाइफ ज्याकेट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अवसर पारेर फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । मंसिर २८ गते शुक्रबारका दिन फेवा ताल परिसरमा एक भब्य कार्यक्रम गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो । लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले संयुक्त रुपमा फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीलाई लाइफ ज्याकेट हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापाले देशकै पर्यटकीय नगरी पोखराको मुटु एवं मुख्य आकर्षण फेवातालमा डुंङ्गामा सवार गर्दा लगाइने लाइफ ज्याकेटलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहयोग गरेकामा धन्यवाद व्यक्त गरे । ‘हामी सरकारले गर्नु पर्ने काम यस्ता संस्थाबाट सही ठाउँमा सहि निर्णय गरी गर्नु आफैमा सरहानिय कार्य भएको बताए । यस कार्यबाट अन्य संस्था तथा निकायले पनि सिक्न र अनुकरण गर्नु उपयुक्त हुन्छ,’ उनले भने । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले समाजलाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा कम्पनीले सहभागिता जनाउँदै आएको र यो पनि विगतको निरन्तरता भएको बताए । ‘लाइफ इन्स्योरेन्स भनेकै मानिसको जीवनको आर्थिक जोखिम बहन गर्नु हो, अनि लाइफ ज्याकेटको काम पनि मानिसको जीवनको रक्षा गर्नु नै हो । त्यसैले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स जीवनका यस्ता ढुक ढुक हुने पलहरुलाई ढुक्क बनाउन सधै तत्पर रहनेछ, उनले भने ।’ फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले भने, ‘फेवातालमा प्रयोग भइरहेका लाइफ ज्याकेटको अवस्था जिर्ण हुँदै गएको सन्दर्भमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हाम्रो एकै बचनलाई स्वीकार गरी यो लेवलको सहयोग गर्नु आफैंमा गर्वको विषय हो । फेवा तालमा डुंङ्गा सवारमा प्रयोग हुने लाइफ ज्याकेटले मानिसको जीवन रक्षामा ठूलो महत्व राख्ने र भविष्यमा हुनसक्ने कुनै पनि दुर्घटनालाई न्यूनिकरण गर्ने जिकिर गरे । यसलाई मध्यनजर गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गुणस्तरिय लाइफ ज्याकेट प्रदान गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गरे । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले उपस्थित सबैमा स्वागत मन्तब्य व्यक्त गरे । उनले लाइफ ज्याकेट जस्तो मानिसको जीउज्यानसँग प्रत्यक्ष जोडिने कुरामा कम्पनीले आयोजना गरेको लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रममा उपस्थित हुन भई कार्यक्रमको शोभा बढाइ दिनु भएकोमा धन्यवाद व्यक्त गरे । कास्की जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक सोन बहादुर मगर, वित्त विभाग प्रमुख लेखनाथ गौतम, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे, अन्य कर्मचारी, अभिकर्ताको साथै सर्वसाधारणको उपस्थितिमा भएको कार्यक्रमको संचालन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख पुष्कर भट्टराईले गरेका थिए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले समाजसँग प्रत्यक्ष जोडिएर सामाजिक कार्यमा निरन्तर साथ र सहयोग गर्दै आइरहेको छ ।

बीमा प्राधिकरणको कार्यवाहक अध्यक्ष बने दाहाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी मदन दाहालले पाएका छन् । अर्थ मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि अर्थमन्त्रालयका सहसचिव  दाहाललाई कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिएको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि दाहालले कार्यवाहककाे जिम्मेवारी पाएका हुन्। दाहाल प्राधिकरणको सञ्चालक समितिका सदस्य हुन् । मन्त्रालयका अनुसार बीमा ऐन २०७९ को दफा (६) बमोजिम दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका हुन् । उनी सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका छन् ।

एक्सल डेभलपमेन्ट बैंकले बिक्रीमा राख्यो यूनाइटेड अजोडको सेयर, मूल्य १५९ रुपैयाँ

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ । बैंकले यूनाइटेड अजोडमा रहेको आफ्नो स्वामित्वको सेयर आज मंसिर २७ गतेदेखि बिक्रीमा राखेको हो । बैंकले कम्पनीमा रहेको ९२ हजार ३२० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकेको छ । इन्स्यारेन्सको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापकले माघ २२ गतेसम्म दिनुपर्नेछ । यदि सो अवधिभित्र उक्त सेयर बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ । उक्त सेयर खरिद गर्दा कम्तिमा ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।