६ फाइनान्स कम्पनीको चुक्ता पूजी बृद्धिको योजना यस्तो छ

काठमाडौं, ५ असोज । संचालनमा रहेका ६ फाइनान्स कम्पनीले राष्ट्र बैंकले तोकेको समयभित्रमा मर्जर, हकप्रद सेयर जारी र बोनस सेयर प्रदान गरेर चुक्ता पूजी बृद्धि गरिसक्ने कार्ययोजना बनाएका छन् । गत भदौ मसान्तभित्रमा पूजी बृद्धि गर्ने कार्ययोजना पेश गरिसक्न राष्ट्र बैंकले निर्देशन दिएकोमा ४७ कम्पनीले योजना पेश गरिसकेका छन् । यसरी कार्ययोजना पेश गरेका कम्पनीमध्ये नारायणी नेसनल, काठमाडौं, पश्चिमाञ्चल, गुडविल, श्रीइन्भेष्टमेन्ट र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको कार्ययोजना प्राप्त भएको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत न्यूनतम चुक्ता पूजी बृद्धि गरी राष्ट्रियस्तरका फाइनान्स कम्पनीको चुक्ता पूजी कम्तिमा पनि ८० करोड रुपैयाँ पुर्याउनु पर्ने ब्यवस्था गरेको थियो । यसरी पूजी बृद्धि गर्नको लागि योजना बनाएर भदौ मसान्तभित्रमा पूजी बृद्धिको योजना पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । कुन कम्पनीले कसरी बृद्धि गर्दै छन् चुक्ता पूजी ? राष्ट्रियस्तरको फाइनान्स कम्पनी नारायणी नेसनलले चुक्ता पूजी बृद्धि गरी अवको २ बर्षभित्रमा ८० करोड २२ लाख रुपैयाँ पुर्याउने योजना तयार पारेको छ । गत बर्षसम्मको नाफावाट १२ करोड २३ लाख रुपैयाँ बराबरको बोनस सेयर प्रदान गरेपछि चुक्ता पूजी ८० करोड २२ लाख रुपैयाँ पुग्ने कार्ययोजना कम्पनीले तयार पारेको छ । अघिल्लो आर्थिक बर्षसम्म कम्पनीको चुक्ता पूजी ६७ करोड ९८ लाख रुपैयाँ थियो । काठमाडौं फाइनान्सले मर्जर र हकप्रद सेयर जारी गरेर चुक्ता पूजी ८० करोड रुपैयाँ पुर्याउने प्रश्ताव गरेको कम्पनी स्रोतको भनाइ छ । सो कम्पनीको अहिले १८ करोड ३७ लाख रुपैयाँ चुक्ता पूजी छ । कम्पनीले चालु आर्थिक बर्षमा अहिले भए बराबरकै हकप्रद सेयर जारी गर्ने र १९ करोड ८२ लाख रुपैयाँ बराबरको पूजी मर्जरवाट जुटाउने कार्ययोजना बनाएको छ । यसो गर्दा कम्पनीको चुक्ता पूजी ५६ करोड ५८ लाख रुपैयाँ पुग्ने र बाँकी रहेको २८ करोड २८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर अन्तिम बर्षमा जारी गर्ने कार्य योजना कम्पनीको छ । यसो हुदा कम्पनीको चुक्ता पूजी ८४ करोड ८७ लाख रुपैयाँ पुग्ने छ । पश्चिमान्चल फाइनान्स कम्पनीले पनि चुक्ता पुजी ८० करोड रुपैयाँ पुर्याउने कार्ययोजना तयार पारेको छ । कम्पनी स्रोतले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा ३१ करोड रुपैयाँ बराबरको पूजी मर्जरवाट जुटाउने र बाँकी पूजी बोनस सेयरवाट पुर्याउने योजना कम्पनीको छ । कम्पनीले गत बर्षको नाफावाट बोनस सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूजी ३६ करोड ५३ लाख रुपैयाँ पुग्ने छ । गुडविल फाइनान्सले पनि तोकिएको समयभित्रमा चुक्ता पूजी ८० करोड रुपैयाँ पुर्याउने कार्ययोजना तयार पारेको छ । कम्पनी स्रोतले दिएको जानकारी अनुसार आगामी आर्थिक बर्षमा ३० करोड ७३ लाख रुपैयाँ बराबरको पूजी हकप्रद सेयर जारी गरेर जुटाउने र बाँकी पुजी बोनस सेयर प्रदान गरेरै पुर्याउने कार्ययोजना कम्पनीको छ । सो कम्पनीको अहिले ३३ करोड रुपैयाँ चुक्ता पूजी छ । श्रीइन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले भने बोनस सेयर, मर्जर र हकप्रद सेयर जारी गरेर पूजी बृद्धि गर्ने योजना तयार पारेको छ । कम्पनी स्रोतले दिएको जानकारी अनुसार सो कम्पनीले चालु आर्थिक बर्षमा १३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने बाँकी रकम बोनस सेयरवाट पुर्याउने योजना कम्पनीको छ । गत आर्थिक बर्षको नाफावाट बोसन सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूजी ६० करोड ७५ लाख रुपैयाँ पुग्नेछ । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले बोसन सेयर र हकप्रद जारी गरेर चुक्ता पूजी ८० करोड रुपैयाँ पुर्याउने कार्ययोजना बनाएको छ । कम्पनी स्रोतले दिएको जानकारी अनुसार आगामी आर्थिक बर्षमा २५ करोड ४४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने तथा गत आर्थिक बर्षदेखि आर्थिक बर्ष २०७३र ७४ सम्म बोनस सेयर प्रदान गर्ने कार्ययोजना बनाएको छ । बाँकी नपुग रहेको ३२ करोड ५६ लाख रुपैयाँको लागि मर्जर गर्ने वा हकप्रद जारी गर्ने कार्ययोजना कम्पनीको छ । गत आर्थिक बर्षको नाफावाट बोनस सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूजी अहिले ४१ करोड २५ लाख रुपैयाँ पुग्दै छ ।

पूजी बृद्धिको योजना पेश गर्न स्टाण्डर्ड चार्टर बैंकले माग्यो ‘रिजनेवल टाइम’

काठमाडौं, १ असोज । बहुराष्ट्रिय बैंक स्टाण्डर्ड चार्टर बैंक नेपालले पूजी बृद्धिको योजना पेश गर्ने समय माग गरेको छ । नेपाल राष्ट्र बैंकले पूजी बृद्धिको लागि दिएको भदौ मसान्तसम्मको समयसीमा सो बैंकले राष्ट्र बैंकको नीति निर्देशन स्वीकार गर्ने भन्ने मात्रै विवरण पेश गरेको छ । पूजी बृद्धिको योजना आफ्नो केन्द्रीय कार्यालयले स्वीकृत गर्नुपर्ने भएकोले समय लाग्ने भन्दै बैंकले उपयुक्त समय दिन माग गरेको हो । ‘हाम्रो कन्द्रीय कार्यालयले स्वीकृति प्रदान नगरिकन पूजी बृद्धि योजना पेश गर्न सकिदैन, केन्द्रवाट योजना स्वीकृत भएर आउन समय लाग्ने भएकोले उपयुक्त समय दिन राष्ट्र बैंकसँग अनुरोध गरेका छौ,’ बैंकका प्रवक्ता दिवाकर पौडेलले भने । योजना पेश गर्नेको लागि समय लाग्ने भन्दै सो बैंकले थप समय माग गरेको राष्ट्र बैंकका अधिकारीले पनि बताएका छन् । केन्द्रीय कार्यालयवाट स्वीकृति लिएर मात्रै योजना पेश गर्नुपर्ने बाध्यता रहेको भन्दै बैंकले ‘रिजनेवल’ समय थप गरिदिन अनुरोध गरेको राष्ट्र बैंकको भनाइ छ । ‘राष्ट्र बैंकका नीति निर्देशनको हामी पालना गर्छौं भनेर प्रश्ताव पेश गरिएको छ, पूजी बृद्धिको योजना केन्द्रीय कार्यालयवाट स्वीकृत गराउनु पर्ने भएकोले त्यहाँवाट स्वीकृति पाउने वित्तीकै पेश गर्नेछौं भन्ने उहाँहरुको भनाइ छ,’ बैंकले पेश गरेको योजना उघृत गर्दै राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । चार्टर्ड बैंकले पूजी बृद्धिको योजना बनाएर केन्द्रीय कार्यालयमा पठाएको बताएको छ । केन्द्रीय कार्यालयले योजना स्वीकृत नगरेकोले पेश गर्न समस्या भएको बैंकको भनाइ छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पूजी ८ अर्ब रुपैयाँ पुर्याउने ब्यवस्था गरेको छ । आगामी २०७४ को असार मसान्तसम्ममा पूजी बृद्धि गर्नु पर्ने भएकोले भदौ मसान्तसम्ममा पूजी बृद्धिको योजना पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । बैंकसँग अहिले २ अर्ब २४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूजी छ । अबको २ बर्ष भित्रमा सो बैंकले ५ अर्ब ७५ करोड १८ लाख रुपैयाँ पूजी बृद्धि गरी ८ कम्तिमा ८ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

सय दरका २० करोड थान नोट चिनिया कम्पनीले छाप्दै, तीन बर्ष अगाडिको भन्दा ४४ पैसा सस्तो

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले सय रुपैयाँ दरका नेपाली नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई दिएको छ । सवैभन्दा सस्तो दर प्रश्ताव गरेपछि राष्ट्र बैंकले चिनिया कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोेरेसनलाई नोट छाप्ने जिम्मेवारी दिएको हो । चिनिया कम्पनीले सय रुपैयाँ दरका नेपाली नोट प्रतिगोटा २ रुपैयाँ १५ पैसामा छाप्ने प्रश्ताव गरेको थियो । राष्ट्र बैंकले सय रुपैयाँ दरका २० करोड थान नोट ४२ लाख अमेरिकी डलरमा छाप्न दिएको छ । bikashnews.com चिनिया कम्पनीले छाप्न प्रश्ताव गरेको दर सन् २०१२ को भन्दा पनि सस्तो हो । सन् २०१२ मा राष्ट्र बैंकले इन्डोनेसियाको पेरुम पेरुरी कम्पनीलाई प्रतिथान २ रुपैयाँ ५९ पैसाका दरले नोट छाप्न दिएको थियो । अहिले नोट छाप्नको लागि प्रतिथान अधिकतम ३ रुपैयाँ ५९ पैसा पर्ने अनुमान राष्ट्र बैंकको थियो । चिनिया कम्पनीले राष्ट्र बैंकको अनुमान भन्दा पनि कम दरमा र तीन बर्ष अगाडिको भन्दा पनि ४४ पैसा सस्तो दरमा नोट छाप्ने भएको छ । चिनिया कम्पनीले छाप्ने नोट अबको एक बर्षभित्रमा आइसक्ने राष्ट्र बैंकका अधिकारीको भनाइ छ । २० करोड थान नोट छाप्नको लागि ४२ लाख अमेरिकी डलरमा सो कम्पनीलाई जिम्मा दिइसकिएकोले भुक्तानी गर्ने समयमा अमेरिकी डलरको विनिमय दर अहिलेको भन्दा निकै तल वा माथि पुग्यो भने नोट छपाइ दर पनि तलमाथि हुन सक्ने छ । राष्ट्र बैंकले अमेरिकी डलरको विनिमय दर १ डलर बराबर १ सय २ रुपैयाँमा गणना गरेको छ । राष्ट्र बैंकले २८ भदौमा चिनिया कम्पनीलाई पत्राचार गरी नोट छाप्ने जिम्मेवारी दिएको औपचारिक जानकारी गराएको छ । चिनिया कम्पनीसँगै नोट छाप्नको लागि बेलायत, फ्रान्स, रसिया, नेदरल्याण्ड, इन्डोनेसिया र क्यानडाका कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।