दुबै डेपुटी गभर्नर खाली हुदै गर्दा गभर्नरलाई फाइदा

काठमाडौं, २ मंसिर । नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद खाली हुन लागेपछि त्यसको प्रत्यक्ष र तत्कालिन फाइदा गभर्नर डा. चिरन्जीबी नेपाललाई भएको छ । अहिले वहाल सवै कार्यकारी निर्देशक डेपुटी गभर्नर बन्न योग्य भएकोले गभर्नर डा नेपालको मन जितेर डेपुटी गभर्नर बन्ने आशमा कार्यकारी निर्देशकहरुले सहयोग गर्न थालेपछि त्यसको फाइदा गभर्नर डा. नेपाललाई भएको हो । अहिलेका डेपुटी गभर्नरहरु गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीको कार्यकाल आगामी ७ पुसदेखि सकिदैछ । गभर्नर डा. नेपालले दुई जना डेपुटी गभर्नरको लागि ४ जनाको नाम सिफारिस गर्नेछन् । गभर्नरले गरेको सिफारिसमध्येवाट नेपाल सरकारले २ जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्नेछ । अहिले राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक छन् । सामान्यतः बरिष्ठ कार्यकारी निर्देशकमध्येवाट डेपुटी गभर्नर नियुक्त गर्ने प्रचलन भएपनि राजनीतिक पृष्ठभूमी तथा विषय विज्ञता जस्ता आधार बनाएर कनिष्ठलाई पनि डेपुटी गभर्नर बनाउने बाटो यसअघि नै खुली सकेको छ । यसैकारण गभर्नरले नाम सिफारिस नगरुन्जेलको लागि सवै कार्यकारी निर्देशक डेपुटी गभर्नरका उम्मेदवार हुन् । डेपुटी गभर्नर नियुक्त गर्ने समय भएकोले गभर्नरलाई अहिले काम गर्न निकै सहज भएको गभर्नर निकट एक कर्मचारीले बताए । ‘पहिला उहाँको नाम सुन्दा नाक खुम्च्याउनेहरु पनि अहिले निकै नजिक हुन खोजिरहेका छन्, यो मौसमी प्रभाव (डेपुटी गभर्नर नियुक्त गर्ने समय) ले गभर्नरलाई काम गर्न निकै सहज भएको छ,’ डा. नेपाल निकट एक कर्मचारीले भने । तर एमाले सम्बद्ध कर्मचारीले भने तलब बृद्धि लगायतका सुविधाका माग राखी आन्दोलन गरिरहेका छन् । गभर्नर डा. नेपाल नेपाली काँग्रेस समर्थक हुन र उनको नियुक्ति पनि काँग्रेस सरकारकै पालामा भएको हो । तर अहिले एमाले र एमाओवादी सहितका साना दलको सरकार छ । अर्थमन्त्री पनि एमाले नेता विष्णु पौडेल छन् । यस्तो अवस्थामा काँग्रेस समर्थक भनेर चिनिएका कार्यकारी निर्देशकहरु डेपुटी गभर्नर बन्ने सम्भावना निकै कम छ । तर बरिष्ठता र विज्ञतालाई पनि आधार मानियो तथा काँग्रेस समर्थक भएपनि अर्थमन्त्री पौडेलसँग राम्रो सम्बन्ध भएका कार्यकारी निर्देशक भए त्यस्ताले पनि मौका पाउन सक्ने सम्भावना भने बाँकी छ ।

धेरै बैंकबाट ५० करोड भन्दा बढी ऋण लिनेहरु सहवित्तीय करणमा जानुपर्ने

काठमाडौं, २९ कात्तिक । दुई वा सो भन्दा बढी बैंकबाट ५० करोड रुपैयाँ भन्दा बढी कर्जा लिने व्यक्ति वा कम्पनी सहवित्तीय करणमा जानुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आईतबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै बहु–बैकिङ सुविधा प्रयोग गरी ५० करोड रुपैयाँ भन्दा बढी कर्जा उपभोग गर्दै आएका ऋणीहरुको कर्जा २०७३ असार मसान्तसम्म सहवित्तीय करण गर्न भनेको छ । ५० करोड रुपैयाँ भन्दा बढी कर्जा उपयोग गर्ने ऋणीहरुको संख्या वृद्धि भएकाले उनीहरुको अनुगमन सरल बनाउन र बैंकिङ क्षेत्रको जोखिम कम गर्न यस्तो व्यवस्था गरिएको राष्ट्र बैंक स्रोतले बतायो । एउटै व्यवसायीले दर्जनभन्दा बढी बैंकबाट कर्जा लिदा उत्पन्न हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न यस्तो व्यवस्था गरिएको स्रोतले बतायो । ‘एउटा बैंकबाट ५ करोड कर्जा लिने, अर्को बैंकबाट ८ करोड कर्जा लिने, अर्को बैैंकबाट १५ करोड कर्जा लिने अभ्यास छ । एउटै ऋणीले १० वटा बैंकबाट कर्जा लिएको छ भने १० वटा बैंकले उक्त ऋणीलाई अनुगमन गरिरहेका हुन्छन्’ राष्ट्र बैंकमा अधिकारी भन्छन्–‘सहवित्तीय करणमा गएपछि जतिवटा बैंकले कर्जा लगानी गरे पनि सहवित्तीय करणको नेतृत्व लिने बैंकले मात्र ऋणीको अनुगमन गर्दा हुन्छ । राष्ट्र बैंकलाई पनि अनुगमन गर्न सजिलो हुन्छ ।’ साना ऋणी समस्यामा पर्दा भन्दा ठूला ऋणी समस्यमा पर्दा बैंक बढी जोखिममा पर्ने भएकाले ठूला ऋणीलाई नजिकबाट अनुगमन गर्नुपर्ने, उनीहरुको कारोबार, वित्तीय अवस्थाको विश्लेषण गर्नु पर्ने बैंकर्सहरु बताउँछन् । साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्राकृतिक प्रकोप लगायत आपतकालिन अवस्थामा सेवालाई निरन्तरता दिने आकस्मिक व्यवस्थापन संरचना तयार गरी राष्ट्र बैंकमा पेश गर्न निर्देशन दिएको छ । ‘प्राकृतिक प्रकोप लगायतका घटनाहरुले वित्तीय प्रणालीको व्यवसायिक निरन्तरतामा पार्न सक्ने प्रतिकूल असरलाई न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले २०७२ चैत मसान्तभित्र कन्टीजेन्सी म्यानेजमेन्ट फ्रेमवर्क (आकष्मिक व्यवस्थापन संरचना) तयार पारी लागू गर्नुपर्नेछ’–निर्देशनमा भनिएको छ । त्यस्तै, युवाहरुलाई कृषि कर्जामा प्रधान गरिने व्याज अनुदान सम्बन्धी कार्यविधि २०७१ बमोजिम तोकिएका कृषि व्यवसायीलाई दिने कर्जाको सीमा ७ लाख रुपैयाँ बनाइएको छ । यस्तो छ निर्देशन पूर्ण पाठ । सहवित्तीय करणमा जानुपर्ने

नविल बैंकको नाफा ६६ करोड, भूकम्प र नाका बन्दीको असर देखिएन

काठमाडौं, २० कात्तिक । नविल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६६ करोड ३८ लाख नाफा कमाएको छ । यो नाफा गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा बैंकले कमाएको भन्दा १५ करोड ९० लाखले बढि हो । गत आर्थिक बर्षको पहिलो तीन महिनामा बैंकले जम्मा ५० करोड ४८ लाख मात्रै नाफा कमाएको थियो । नविलको ब्याज आम्दानी एक अर्ब ५० करोड रुपैंयाँ पुगेको छ भने ब्याज खर्च जम्मा ६० करोड ६३ लाख रहेको छ । बैंकले सो अवधीमा एक खर्ब ९ अर्ब ८६ करोड निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी भने जम्मा ६७ अर्ब ४३ करोड मात्रै गर्न सकेको छ । भूकम्प र भारतीय नाका बन्दीका कारण बैंकले यथेष्ठ मात्रामा पूँजी परिचालन गर्न भने नसकेको देखिन्छ । यद्यपी बैंकको नाफामा भने यी दुबै घट्नाले असर गरेको देखिन्न । बैंकको प्रति सेयर आम्दानी पनि ६५ रुपैंयाँ ३ पैसाबाट बढेर ७१ रुपैंयाँ २३ पैसा पुगेको छ । बैंकको प्रति सेयर नेटवर्थ र पिई रेसियो भने घटेको छ । प्रति सेयर नेटवर्थ ३१२ रुपैंयाबाट घटेर २७८ रुपैंयाँमा खुम्चिएको छ भने पिई रेसियो पनि ३५ रुपैंयाँ ९९ पैसाबाट घटेर ३३ रुपैंयाँ १३ पैसामा झरेको छ ।