प्रभु बैंक र नेपाल सर्टिफाइङ कम्पनीबीच विद्यूतीय कारोबार सम्बन्धी सम्झौता

३ असार, काठमाडौं, ३ असार । प्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी प्रालि बीच विद्यूतीय प्रणालीमार्फत् गरिने सूचना आदान(प्रदान विश्वसनीय बनाउनेबारे सम्झौता भएको छ । बैंकका अनुसार विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदानमा उत्पन्न हुने जोखिमलाई न्युनीकरण गर्ने तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउन सम्झौता भएको हो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लवमान सिंहले सम्झौतामा हस्ताक्षर गरेका छन् । समारोहमा बैंक तथा सर्टिफाइङ कम्पनीका अन्य पदादिकारीहरुको समेत उपस्थिति थियो । सूचना आदान प्रदानमा हुने जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता पश्चात् आगामी दिनमा बैंकको आन्तरिक तथा बाहृय ग्राहकहरुसँगको विद्यूतीय कारोबार अझ सुरक्षित एवं सवल हुने बैंकले विश्वास लिएको छ ।

मनमैजुमा सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं, २ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मनमैजुको मालपोत कार्यालयमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । यो बैंकको उपत्यकामा तेश्रो एक्सटेन्सन काउन्टर हो । बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पुर्याउनेछ । आर्थिक वर्ष २०७२/७३ को चैत्र मसान्तसम्ममा सेञ्चुरी बैंकले २६ अर्ब एक करोड निक्षेप संकलन गरेर २२ अर्ब ८३ करोड कर्जा परिचालन गरेको छ । बैंकले सो अवधीमा ३४ करोड ५० लाख सञ्चालन मुनाफा तथा २३ करोड २४ लाख खुद नाफा कएमो थियो । हालसम्म बैंकले ३१ वटा शाखा, २८ वटा एटीएम, ८ वटा शाखारहित बैंकिङ्ग र २ वटा एक्सटेन्सन् काउन्टरबाट सेवा प्रवाह गर्दै आएको थियो ।

लगानी कोष र नेपाल बैंकबीच सम्झौता

काठमाडौं, १ असार । नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेडबीच कोषको रकम बैंकको केन्द्रीय खातामा एबिबिएसमार्फत सिधै जम्मा गर्ने व्यवस्थाका लागि एक सम्झौता भएको छ । बैंकका सबै कार्यालयबाट एबिबिएसमार्फत रकम सङ्कलन तथा ट्रान्सफर गर्ने कार्यलाई थप सरल र सुविधायुक्त बनाउन दुई संस्थाबीच बुधबार उक्त सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेका छन् । कोषका कार्यकारी निर्देशक पोखरेलका अनुसार २०७३ साउनदेखि कोषको रकम केन्द्रीय खातामा जम्मा हुनेछ । सम्झौताअनुरुपको कार्य सुरु भएपछि नेपालभर बैंकका शाखामा कोषको नाममा रहेका सबै खाता बन्द गरी पाँच वटा खातामात्र सञ्चालनमा रहनेछन् । यसभन्दा अगाडि कोषको खाता बैंकको २०० भन्दा बढी खातामा जम्मा हुँदै आएको थियो । रासस