देशका युवाहरुलाई शिक्षित बनाउने अभियानमा आईएमई पे र मिस नेपाल अनुष्का श्रेष्ठ

काठमाडौं । विश्वभर फैलिएको महामारीले विश्वका हरेक मानव जीवनलाई आँधीको चपेटामा पारेको अवस्थामा, मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठले युवाहरुलाई पुनः जोड्ने प्रयास स्वरुप एक पहलको शुरुवात गरेकी छिन् । श्रेष्ठकाे देशका युवाहरुलाई शिक्षित बनाउने र जागृत गराउने यो पहलमा आईएमई पे ले साथ दिएको छ । आउँदो ३ हप्तासम्म श्रेष्ठले समकालीन नेपाली आर्थिक, शैक्षिक, प्रशासनिक र अन्यका बारेमा विभिन्न विज्ञ व्यक्तित्वहरुका साथ संवाद गर्नेछिन् । यस शोको शिर्षक रिकनेक्टिङ रहनेछ, जुन अनुष्का श्रेष्ठको फेसबुक पेज र युट्युब च्यानलका साथै आईएमई पेको फेसबुक पेजमा प्रत्यक्ष (लाइभ) प्रसारण हुनेछ । साथै उनले नेपाल राइजिङ्ग संस्थाको सहयोगार्थ कोभिड–१९ सहायताकोषको लागि सहयोग संकलन गरीरहेकी छिन् । राइजिङ्ग नेपाल संस्थाद्धारा काठमाण्डौ भित्रका विभिन्न स्थानमा असाहय तथा विपन्नवर्गको लागि दैनिक जिवनयापनको लागि आवश्यक वस्तुहरु वितरण गरीरहेको छ । उनलाई सहयोग गर्न इच्छुकले अाईएमई पे एप डाउनलोड गरी उनलाई सहयोग गर्न सक्नेछन् ।

४० मुरीभन्दा बढी धान फलाए १ लाख रूपैयाँ पुरस्कार

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु. एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो । चार फुट उचाइ र २० फुट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई समेत सोही राशिको पुरस्कार दिइने भएको छ । यस्तै ३५ मन (प्रतिमनमा ४० किलो) भन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २० पुरस्कार दिइने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए । शुक्रबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले ‘कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्यउपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ पारित गरेको थियो । सोही कार्यविधिका आधारमा कृषकलाई उक्त पुरस्कार दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए । यो पुरस्कार आगामी आर्थिक वर्षमा मात्रै लागू हुनेछ । चालू आर्थिक वर्षभित्रै उत्पादन हुने खाद्यान्नको खेती भइसकेकाले आगामी आवबाट लागू हुने गरी पुरस्कार स्थापना गरिएको उनले जानकारी दिए । कार्यविधिमा एकै परिवारले उक्त परिमाणमा खाद्यान्न उत्पादन गर्नुपर्ने उल्लेख छ । उत्पादनको विश्वसनीयताका लागि छुट्टै अनुगमन समितिसमेत गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए । अधिकांश क्षेत्र खेतीयोग्य जमिन रहेको मिक्लाजुङमा अन्य स्थानीय तहको तुलनामा सिँचाइकोसमेत राम्रो व्यवस्था छ । तर खेतीयोग्य जमिन बाँझिदै गएकाले गाउँपालिकाले प्रोत्साहनको ब्यवस्था गरेको हो । ‘धेरै खेतीयोग्य जमिन बाँझिएका छन् । गाउँपालिकालाई जोड्न मुख्य सडक निर्माणाधीन अवस्थामा रहेकाले अभाव भएका बेला खाद्यान्न आपूर्ति गर्न पनि कठिन हुन्छ,’ प्रमुख प्रशासकीय अधिृकत राईले भने, ‘यसैले कृषिउपज उत्पादनमा विशेष जोड दिएका हौं ।’ यही गाउँपालिकाले कोभिड–१९ को महामारी र लकडाउनका कारण खाद्य सङ्कट हुने भन्दै खाद्यान्न प्रयोग गरी मदिराजन्य पदार्थ उत्पादन गर्न रोक लगाएको छ । गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादनका लागि खाद्यवस्तु बिक्री नगर्न स्थानीयवासी तथा व्यवसायीमा अपिलसमेत गर्दै आएको छ । रासस

पेट्रोलियम पदार्थ खपत दोब्बर

काठमाडौं । नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ । डिपोका प्रमुख प्रदीप यादवका अनुसार आज दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत भएको छ । उनका अनुसार लकडाउन अवधिमा दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएको थियो । टाइम कार्ड लागू गरेर सवारी साधन सञ्चालन गरेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५, डिजेल ७२ र मट्टीतेल ८० प्रतिशत मौज्दात छ । तिनमा पाँच हजार ३१० किलोलिटर क्षमता रहेको पेट्रोल भण्डारणमा हाल चार हजार ५ सय किलोेलिटर पेट्रोल राखिएको छ । त्यस्तै आठ हजार चार सय किलोलिटर क्षमता रहेको डिजेलको भण्डारमा हाल सात हजार किलोलिटर र ७६० किलोलिटर क्षमता रहेको मट्टीतेलमा हाल सात सय किलोलिटर राखिएको छ । क्षमता हुँदाहँुदै पनि भरी मात्रामा तेल राख्न नमिलेका कारण ट्याङकरमै तेल राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अुनसार हाल तीस ट्याङकरमा पेट्रोल र एक सय ट्याङकरमा डिजेल डिपोमा राखिएको छ । लकडाउनअघिसम्म काठमाडौँ उपत्यकामा मात्र दैनिक छ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेल खपत हुँदै आएको थियो । रासस