सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
किमाथाङ्का । जिल्लामा यो वर्ष ३४ करोड रुपैयमाँ बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए । पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ । ‘यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भई कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्याएपछि उत्पादन बढ्दै जान थालेको हो । जिल्लामा गत वर्ष १९ करोड ९३ लाख ९१ हजार रुपैयाँको सुन्तला बिक्री भएकामा यसवर्षको हालसम्म ३४ करोड रुपैयाँ खबढीको कारोबार भइसकेको छ’, प्रमुख यावदले भने । यो वर्ष जिल्लामा तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साथै एक सय १५ मेट्रिकटन किवी उत्पादन भएको छ । परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको प्रमुख यादवले बताए । उनका अनुसार जिल्लाभरि एक हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिनमध्ये छ सय २० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ । उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ । सङ्खुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौंसम्म पुग्ने गर्दछ ।
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
अत्तरिया । जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट दैनिक दुईहजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । बीस वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका छन् । उनले सबै खर्च कटाएर तरकारीखेतीबाट वार्षिक चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए । रानाले भने, ‘तरकारी बिक्रीबाट प्रशस्त आम्दानी भइरहेकाले जीविकोपार्जनमा समस्या छैन । सानोतिनो समस्या पर्दा छरछिमेक र आफन्तलाई सहयोग गर्न पाएको छु, आफूले ऋण लिनु परेको छैन । आठ जनाको परिवारको सबै खर्च बालबच्चाको पढाइलेखाइ यसैबाट चलेको छ ।’ उनले मौसमी, बेमौसमी सबै किसिमका तरकारी लगाउने गरेको बताए । रानाका अनुसार बिक्री कम हुँदा दैनिक एक हजार पाँच सयसम्म र बढीमा दुई हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ । उनले भने, ‘तरकारीबाट दैनिक रूपमा आम्दानी लिन सकिने भएकाले जीविकोपार्जन र दैनिक खर्च सहजै टरेको छ । स्थानीयस्तरमा कृषि गरे मात्रै पनि मनग्ये आम्दानी गर्न सकिने मेरो अनुभव छ, मेरो मन्यता जग्गा बाँझो राख्नु हुँदैन भन्ने हो ।’ मेहनत गर्न सके तरकारीखेतीबाट मनग्ये आम्दानी लिन सकिने उनको भनाइ छ । सोही ठाउँका बन्धु रानाले पनि तरकारीखेतीबाट सहजै जीविकोपार्जन भइरहेको बताए । आठ कठ्ठा जग्गामा ३५ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका बन्धुले सबै खर्च कटाएर वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए । उनले भने, ‘तरकारीखेतीबाट घरखर्च राम्रै चलेको छ, दैनिक खर्चका लागि अरुसँग ऋण माग्नु पर्दैन । दश जनाको परिवारको सबै खर्च यसैबाट भइरहेको छ । दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म तरकारी बिक्री हुन्छ ।’ भारतबाट आउने तरकारी सस्तोमा पाइने भएकाले उपभोक्ताले सस्तो मूल्यमा किन्ने भन्दै सोही कारणले बजारीकरणको समस्या रहेको बन्धुले बताए । ‘स्थानीय सरकारले भारतबाट आउने तरकारी रोक्नु पर्छ, यसरी यहाँका स्थानीय मर्कामा परिरहेका छन्’, उनले भने । समयमा मल पाउन सके तरकारीखेती गर्न अझै सहज हुने उनको भनाइ छ । पछिल्लो समय मटियारीका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । यहाँका किसानका लागि तरकारीखेती जीविकोपार्जनको राम्रो स्रोत बनेको छ । तरकारीखेतीबाट घरव्यवहार चलाउन सहज भएको किसान बताउँछन् । रासस
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन
बेलबारी । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहेका छन् । शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरूवा आफैँ तयार गरेका छन् । नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती गरेका छन् । ‘चार वर्षअघि रोपिएका बिरूवाले उत्पादन दिन थालेका छन् यसपटक१० क्विन्टलभन्दा बढी उत्पादन भयो’, राई भन्छन् । कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो रु ९० का दरले बिक्री हुने गरेको छ । फ्रेस चेरीलाई ‘पल्पिङ’गरी ‘पार्चमेन्ट’ बनाई तयार गर्दा प्रतिकिलो रु चार सय ५० देखि पाँच सय ६० सम्ममा बिक्री हुने गरेको छ । राज एग्रीकल्चर फार्म नै सञ्चालन गर्नुभएका राईले ‘खाली जमिनमा व्यावसायिक ढङ्गले कफी उत्पादन गर्न सक्ने हो भने आकर्षक आम्दानी स्वदेशमा नै गर्न सकिन्छ’, भने, ‘वैदेशिक रोजगारीमा गर्ने लगानी यस क्षेत्रमा लगानी गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ’, राईले जस्तै सोही वडाका एक सय २० परिवारले कफीको व्यावसायिक खेती गरेका लेटाङ– ७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताए । जिल्लाको भौगोलिक हिसाबले विकट मानिने यस ठाउँ कफीको उत्पादनसँगै तराई बसाइँ सर्ने क्रम रोकिएको छ अध्यक्ष राईले बताए । वडा नम्बर ७ जस्तै वडा १ मा पनि व्यावसायिक कफीखेती सुरू भएको छ । यो वडामा पनि एक हजार रोपनी जमिनमा एक लाखभन्दा बढी कफीका बिरूवा रोपिएको वडाध्यक्ष विष्णुकुमार मगर बताउँछन् । ‘यस अभियानमा स्थानीय दुई सय घरवपरिवार किसान आबद्ध छन्, जसले कृषि क्षेत्रको विकासमा सघाएको छ’, अध्यक्ष मगर बताउँछन् । लेटाङको कफीखेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती बताउँछन् । नगरले उच्च प्राथमिकतामा कफीखेतीलाई राखेका उनले बताए । किसानलाई बीउको व्यवस्था, सिँचाइका लागि पोखरी निर्माण गरिदिने बताउँदै नगरप्रमुख लावती कफीको प्रशोधनमा प्राविधिक सहयोग र जैविक मल उत्पादनमा अनुदान दिइने योजना सुनाउँछन् । रासस