सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो
काठमाडौं । स्थानीय बजारमा सोमबार सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक हजार ४०० रुपैयाँले वृद्धि भएको छ । यस्तै, चाँदी ४० रुपैयाँले बढेको छ । आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार सात सय रुपैयाँ र चाँदी चार हजार ७३० निर्धारण भएको छ । आइतबार एकतोला सुनको मूल्य दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । एकतोला चाँदीको मूल्य चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार एकतोला सुन दुई लाख ८६ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ६४० रुपैयाँमा खरिद बिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार १८८ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।
ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार राजस्व दाखिला
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन ८८ जना, नियम विपरीत ‘राइड सेयरिङ’ ९३, संकेत बत्ती उल्लङ्घन कर्ता ११७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२८ जनालाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने १२९, निषेधित क्षेत्रमा हर्न बजाउने ५७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९०, एकतर्फी कायम गरिएको सडक उल्लङ्घन गर्ने ८८ र अन्य सवारी नियम पालना गर्ने एक हजार १८६ सवारी चालक रहेका छन् ।
नेपाललाई ग्रे–लिस्टमै राख्ने निर्णय
काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ (जोखिमपूर्ण सूची) मा निरन्तरता दिएको छ । फ्रान्सको पेरिसमा आयोजित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपालको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचकहरूमा पर्याप्त सुधार नभएको भन्दै यो सूचीमा यथावत राख्ने निर्णय गरेको हो । नेपालको एफएटीएफ सूचीको इतिहास उतारचढावले भरिएको छ । यसअघि सन् २००८ मा नेपाल पहिलो पटक ग्रे–लिस्टमा परेको थियो भने लामो प्रयासपछि सन् २०१४ मा मात्रै यो सूचीबाट बाहिरिन सफल भएको थियो । यसैबीच, सन् २०१२ मा त नेपाल झण्डै ‘ब्ल्याक लिस्ट’ (कालो सूची) मा पुगिसकेको थियो, तर त्यसबेला अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालमा कानुनी र संरचनागत सुधार गर्ने बलियो प्रतिबद्धता जनाएपछि मात्रै जोगिन सफल भएको थियो। पछिल्लो समय सम्पत्ति शुद्धीकरण निवारण ऐनमा केही संशोधन र नीतिगत सुधारहरू भए पनि अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना र दोषी ठहर हुने दर (कन्भिक्सन रेट) कमजोर हुँदा नेपाल ग्रे–लिस्टबाट बाहिर निस्किन नसकेको हो । सन् १९८९ मा जी–७ राष्ट्रहरूको पहलमा स्थापना भएको एफएटीएफ एउटा अन्तरसरकारी निकाय हो, जसको मुख्य काम विश्वभर वित्तीय अपराध रोक्नका लागि नीति तथा मापदण्डहरू बनाउनु र त्यसको पालना गराउनु हो। यसले विशेषगरी अवैध तरिकाले कमाएको धनलाई वैध बनाउने कार्य (मनी लाउन्ड्रिङ), आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी र सामूहिक विनाशका हतियार निर्माणमा हुने वित्तीय लगानी रोक्नका लागि विश्वव्यापी रूपमा काम गर्छ । एफएटीएफले विश्वका देशहरूको वित्तीय प्रणालीको सूक्ष्म निगरानी गर्छ र त्यहाँ रहेका कानुनी तथा व्यावहारिक कमजोरीका आधारमा उनीहरूलाई ‘ग्रे’ र ‘ब्ल्याक’ लिस्टमा वर्गीकरण गर्ने गर्दछ । यसअन्तर्गत ग्रे–लिस्टमा त्यस्ता देशहरू पर्छन् जसको सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तीय लगानी रोक्ने कानुन वा प्रणालीमा रणनीतिक कमजोरीहरू भेटिन्छन् । यो सूचीमा पर्नुको अर्थ सम्बन्धित देश वित्तीय अपराधको जोखिममा छ, तर उसले एफएटीएफसँग मिलेर ती कमजोरीहरू सुधार्ने प्रतिबद्धता जनाएको छ भन्ने बुझिन्छ । ग्रे–लिस्टमा पर्दा देशको अन्तर्राष्ट्रिय साख गिर्ने, विदेशी लगानी घट्ने, अन्तर्राष्ट्रिय बैंकिङ कारोबार झन्झटिलो हुने र वैदेशिक ऋण वा अनुदान लिन गाह्रो हुने जस्ता असरहरू पर्छन् । अर्कोतर्फ ब्ल्याक लिस्ट अत्यन्तै गम्भीर सूची हो, जसमा वित्तीय अपराध नियन्त्रणमा कत्ति पनि सहयोग नगर्ने वा जानाजानी आतंकवादी लगानीलाई प्रोत्साहन गर्ने देशहरू पर्छन् । ब्ल्याक लिस्टमा परेपछि उक्त देशमाथि कडा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू लाग्छन् र विश्व बैंक, आईएमएफ लगायतका अन्तर्राष्ट्रिय बैंकहरूले सम्पूर्ण वित्तीय कारोबार ठप्प पार्न सक्छन्, जसले देशको अर्थतन्त्रलाई नै संकटमा पुर्याउँछ । एफएटीएफले कुनै पनि देशलाई यो सूचीमा राख्नका लागि पारस्परिक मूल्याङ्कन को प्रक्रिया अपनाउँछ । यस अन्तर्गत एफएटीएफ र यसका क्षेत्रीय निकायहरू (जस्तै नेपाल सदस्य रहेको एसिया प्रशान्त समूह (एपीजी) का विज्ञ टोलीले सम्बन्धित देशको भ्रमण गरी त्यहाँको कानुनी व्यवस्था र त्यसको कार्यान्वयनको अवस्था जाँच्छन् । मूल्यांकनका क्रममा देशमा सम्पत्ति शुद्धीकरण विरुद्धका आवश्यक ४० वटा मापदण्ड अनुसारका कानुन बनेका छन् कि छैनन् र बनेका कानुनहरू व्यवहारमा लागू भएर दोषीमाथि कारबाही वा सम्पत्ति जफत भएको छ कि छैन भन्ने कुरा हेरिन्छ । यदि कुनै देश कानुन बनाउन वा बनेका कानुन कार्यान्वयन गर्न असफल भयो भने एफएटीएफको पूर्ण बैठकले उक्त देशलाई सूचीकृत गर्ने निर्णय गर्छ ।
महाधिवेशन प्रतिनिधिमाथि दाबी–विरोध, आज अन्तिम नामावली प्रकाशन गरिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावलीलाई लिएर दाबी–विरोध प्रक्रिया जारी रहेको छ । प्रतिनिधि सूचीमा नाम छुटेको तथा हटाइएको गुनासो आएपछि पार्टीले दाबी–विरोधका लागि अतिरिक्त समय दिएको हो । महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि हिजो प्रतिनिधि सूचीमाथि दाबी–विरोध दर्ता गर्न समय दिइएको थियो । तर, राति ८ बजेपछि दाबी–विरोध फाराम वितरण कार्य रोकिएको थियो । रास्वपा नेता क्रान्ति शिखा धितालका अनुसार अहिलेसम्म दाबी–विरोधका फाराम वितरण गरिँदै आएको छ । त्यसपछि प्राप्त उजुरी तथा दाबी–विरोधमाथि सम्बन्धित समितिले छलफल गरी निर्णय गर्नेछ । निर्णय प्रक्रिया सम्पन्न भएपछि मात्रै प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिने धितालले जानकारी दिइन् । अन्तिम नामावली प्रकाशन भएपछि मात्रै महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र उपलब्ध गराइने निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । उक्त कार्ड प्राप्त गरेका प्रतिनिधिलाई मात्रै मतदान अधिकार हुने ती सदस्यले जानकारी दिए । महाधिवेशनमा देशभरका जिल्ला तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधिहरू सहभागी हुन चितवन आएका छन् । तर, प्रारम्भिक नामावली सार्वजनिक भएपछि केही प्रतिनिधिहरूले आफ्नो नाम सूचीबाट हटाइएको वा समावेश नभएको भन्दै गुनासो गरेका थिए । सोही गुनासो सम्बोधन गर्न पार्टीले दाबी–विरोधको व्यवस्था गरेको निर्वाचन समितिले जनाएको छ । रास्वपाले प्रतिनिधि सूचीलाई अन्तिम रूप दिएपछि महाधिवेशनका निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढ्ने जनाएको छ । प्रतिनिधि नामावली टुंगो लागेसँगै नेतृत्व चयन, केन्द्रीय समिति गठन तथा पार्टीको भावी कार्यदिशाबारे हुने छलफलले पनि गति लिने ती सदस्यले जानकारी दिए ।
विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘जी’ को आज भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । विसी प्लेस भ्यानकुभर स्टेडियमा भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो । इजिप्टको जितमा मोस्तफा जिको, मोहम्मद सलाह र ट्रेजेग्वेटले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता न्युजिल्यान्डले लिएको थियो । खेलको १५औँ मिनेटमा न्युजिल्यान्डका फिन सम्र्यानले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । तर न्युजिल्यान्डको एक शून्य गोलको अग्रता खेलको पहिलो हाफसम्म मात्र कायम रह्यो । खेलको ५८औँ मिनेटमा इजिप्टका जिकोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यस्तै खेलको ६७ औँ मिनेटमा सलाहले गोल गर्दै इजिप्टलाई २–१ गोलको अग्रता दिलाए । यसपछि खेलको ८२औँ मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे । यस जितसँगै इजिप्ट दुई खेलबाट चार अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको हो । इजिप्टको नकआउट चरण प्रवेशको सम्भावना प्रबल बनेको छ । यसै समूहमा रहेका इरान र बेल्जियमको समान दुई अंक छ भने न्युजिल्यान्डको एक अंक रहेको छ । त्यसैगरी आजै बिहान सम्पन्न समूह ‘एच’को अर्को खेलमा नवप्रवेशी केप भर्डेले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २–२ गोलको बराबरी खेलेको थियो ।
रहेनन् कांग्रेसको ‘सादगी’ नेता खरेल
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही वर्षदेखि ‘दम’ रोगबाट पीडित थिए । काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररतका अवस्थामा गए राति उनको निधन भएको उनका छोरा महेश खरेलले जानकारी दिए । महेश पाँचखाल नगरपालिकाका प्रमुख हुन् । सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा विसं २००३ मा काभ्रेको खरेलथोकमा जन्मुभएका राजेन्द्र विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनको संसदीय यात्राका क्रममा तत्कालीन शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भएका थिए ।
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको हो । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए । आव २०८२/८३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब नौ करोड रुपैयाँमध्ये बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत अर्थात् २४ खर्ब २३ अरब पुग्ने अनुमान गरिएको छ । त्यस्तै मुलुकको प्रतिव्यक्ति आय एक हजार ५ सय ३५ अमेरिकी डलर रहँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेशभन्दा बढी दुई हजार ६ सय ४४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ । मुलुकको निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत हुँदा बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७.० प्रतिशत मात्र रहेको सरकारको आव २०८३/८४ को बजेटमा उल्लेख गरिएको छ ।
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही वडाकी वडासदस्य रूपा जैरूलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले आज जारी गरेको विवरणअनुसार उहाँको शरीर खानतलासी गर्दा दाहिने कोखामुनि कालो प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएका अवस्थामा प्रोमेथाजिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल गरी जम्मा ३० एम्पुल बरामद गरेको जनाएको छ । जैरूमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।