विकासन्युज

साहसिक पर्यटन गाईड तालिम सुरु

काठमाडौं, ३२ जेठ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र एड्भेन्चर ट्राभल ट्रेड एसोसियसन (आट्टा) अमेरिकाको संयुक्त आयोजनामा ८ दिने साहसिक पर्यटन गाईड तालिम टान केन्द्रीय कार्यालय मालिगाउँमा सुरु भएको छ । तालिम उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै टानका महासचिव कर्ण लामाले नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुष गरी तालिम संचालन गरेको बताए । तालिम कार्यक्रममा साहसिक पर्यटन, सुरक्षा र जोखिम, समुह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा विज्ञ विदेशी प्रशिक्षकहरुबाट तालिम प्रदान गरिनेछ । प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक तालिमको लागि शिवपुरी राष्ट्रिय निकुञ्जमा लगेर आवासिय तालिमको समेत प्रबन्ध गरिएको टानका तालिम संयोजक शितल चन्द्र धरेलले बताए । तालिम कार्यक्रममा लामो समय देखि साहसिक पर्यटन प्रशिक्षणमा संलग्न रहदै आएका डान मुर, गोडेन, जिन क्लाउड, सुसान र पेगीले प्रशिक्षण दिनेछन् । नेपालमा पहिलो चोटी गाईडहरुको क्षमता अभिवृद्धिको लागी अन्तराष्ट्रिय स्तरको तालिम आयोजना भएको सार्मथ्यका पर्यटन व्यवस्थापन सल्लाहकार प्रनिल उपाध्यायले बताए । विश्वमा पर्यटन क्षेत्रको योगदान कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत रहेपनि नेपालमा जम्मा ९ प्रतिशत मात्रै रहेको तथ्याङक छ । पछिल्लो समय विश्वभर ६५ प्रतिशतका दरले साहसिक पर्यटनको व्यवसाय बढिरहेको तथ्याङक सार्वजनिक भएको छ ।

आउला त हुलाकी राजमार्गका लागि भारतीय अनुदानको एक अर्ब ७७ करोड ?

काठमाडौं, ३२ जेठ । तराई मधेशको लाइफ लाइनका रुपमा रहेको हुलाकी राजमार्गलाई सरकारले चार अर्ब २० करोेड रुपैंयाँ बजेट विनियोजन गरेको छ । त्यसमा नेपाल सरकारले दुई अर्ब ४३ करोड रुपैंयाँ छुट्याएको छ भने बाँकी एक अर्ब ७७ करोड भारतीय अनुदानको रकम रहने उल्लेख गरेको छ । तर चालु आर्थिक वर्षकै लागि भारत सरकारबाट हुलाकी राजमार्गले पाउने भनिएको दुई अर्ब ६ करोड रुपैंयामध्ये नेपालले एक रुपैंयाँ समेत पाएको छैन् । चालु आर्थिक वर्षमा सरकारले हुलाकी राजमार्गका लागि ३ अर्ब १९ करोड रुपैंयाँ विनियोजन गरेको थियो । त्यसमध्ये एक अर्ब १३ करोड नेपाल सरकारको थियो भने दुई अर्ब ६ करोड भारतीय अनुदानको रकम थियो । सो भारतीय अनुदान वापतको रकम हालसम्म नेपालले पाएको छैन् । ‘चालु आर्थिक वर्षका हुलाकी राजमार्गले पाएको बजेट मध्ये दुई अर्ब ६ करोड भारतीय अनुदानबाट प्राप्त हुने भनिएको थियो तर अझै एक  रुपैंयाँ समेत पाईएको छैन्’, हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रले विकासन्युजसँग भने । नेपाल सरकारले दिने भनेको एक अर्ब १३ करोडमध्ये हालसम्म ९७ करोड रुपैंयाँ खर्च भैसकेको छ । सो रकमबाट ५० वटा पुलको निर्माण भैसकेको मिश्रले जानकारी गराए । हाल थप ७० वटा पुल निर्माणको चरणमा रहेका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि हुलाकी राजमार्गलाई चालु आवको भन्दा एक अर्ब बढि बजेट विनियोजन गरेको छ । त्यसमा पनि नेपाल सरकारले उपलब्ध गराउने रकमको हिस्सा सवा अर्बले बढेको छ । ‘चालु आर्थिक वर्षमा नेपाल सरकारले एक अर्ब १३ करोड दिने भनेको थियो, आगामी आवका लागि दुई अर्ब ४३ करोड रुपैंयाँ नेपाल सरकारले दिने भनेको छ, यसले हुलाकी मार्गलाई सरकारले उच्च प्राथमिकतामा राखेको देखाउँछ’, मिश्रले भने । तर भारतीय अनुदाबाट प्राप्त हुने भनिएको रकम भने अझै आउनेमा उनी विश्वस्त छैनन् । ‘भारती अनुदान वापतको रकम चालु आवमा पनि पाइएन र आगामी आवमा पनि पाइन्छ भन्नेमा विश्वास छैन्, कार्यबिधीमै समस्या छ भन्ने सुनिको छ’, मिश्रले भने । सुरुमा भारत सरकारले नै निर्माण गरिदिने सहमति भएको हुलाकी राजमार्गपछि भारतीय अनुदानमा नेपाल आफैंले बनाउने समझदारी भएको थियो । जस अन्तर्गत भारतले अनुदान रकम दिने र नेपालले टेण्डर आव्हान गरेर निर्माण अघि बढाउने उल्लेख गरिएको थियो । तर भारतले परामर्श दाता नियुक्तीमा आफु अनुकुल सर्त अघि सारेपछि अनुदान उपलब्ध गराएको छैन् ।

मधेशका सबै जिल्ला सदरमुकामसम्म चार लेनको पक्की सडक बन्ने

काठमाडौं, ३१ जेठ । सरकारले तराई मधेशका सबै जिल्ला सदरमुकामसम्म चार लेनको पक्की सडक निर्माण गर्ने भएको छ । तराई मधेशमा विकास र समृद्धिको ढोका खोल्न भन्दै पुर्व पश्चिम राजमार्गदेखि जिल्ला सदरमुकाम र भारतीय सिमासम्म पुग्ने सडकलाई चार लेनको पक्की सडकका रुपमा विस्तार गर्न लागेको हो । यसले तराई मधेशलाई आर्थिक विकासको केन्द्रका रुपमा स्थापित गर्ने अपेक्षा सरकारले गरेको छ । सरकारले यसका लागि दुई अर्ब रकम विनियोजन गरेको छ । तराई मधेशका १७ जिल्लाका सदरमुकामसम्म चार लेनको सडक विस्तार गरेर सरकारले मेधशलाई विकासका केन्द्रमा राख्न चाहेको रौतहटका सांसद भट्टराईले बताए । हाल पथलैया–बिरगञ्ज सडक, बुटवल–भैरहवा सडक, इटहरी–बिराटनगर सडक चार लेनका रुपमा विस्तार भैसकेका छन् । बाँकी रहेका १५ वटा सडकका लागि विनियोजीत २ अबरु रुपैंयाँ रकम पर्याप्त रहेका सांसद भट्टराई बताउँछन् । उनले द्रुतगतिमा काम अघि बढाउने हो भने आगामी आर्थिक वर्षभित्रै सो रकम खर्च गर्न सकिने र त्यसले मधेशमा विकासको नयाँ तरंग ल्याउने दावी समेत गरे । यस बाहेक पनि सरकारले हुलाकी लोकमार्गका लागि ४ अर्ब २० करोड रुपैंयाँ रकम विनियोजन गरेको छ ।

ग्रोमोर मर्चेन्टको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं, ३१ जेठ । ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडले शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । सोमबार बसेको बैंकको बार्षिक साधारणसभाले संस्थाको उक्त लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । सभामा संस्थाका शेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी, पत्रकार एवं अन्य अतिथिहरुको उपस्थिती थियो । उक्त साधारणसभाले विद्यमान संचालक समितिलाई निरन्तरता दिने प्रस्ताव अनुमोदन गरेको छ । साथै ग्रोमोर मर्चेन्ट बैंकर लि.को नाम परिवर्तन गरि प्रभु क्यापिटल लिमिटेड राख्ने र कार्यालय दरवारमार्गबाट कमलादीमा सार्ने प्रस्ताव पारित गरेको छ । साथै कम्पनीको हाल कायम रहेको पूँजी संरचनामा आवश्यक परिमार्जन गर्नको लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको विज्ञप्तिले जनाएको छ ।

अपग्रेडेड फिचरसहित भित्रियो स्कोडाको नयाँ यति, मूल्य ७२ लाख ९५ हजार रुपैयाँ मात्र

काठमाडौं, ३१ जेठ । नेपाली बजारमा स्कोडा यतीको फेसलिफ्ट भित्रिएको छ । स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) सेगमेन्टमा आफ्नो उपस्थिती बनाउन कम्पनीले यतीको डिजाइन र सुविधाहरु ‘रिफ्रेस’ गरी बजारमा ल्याएको हो । नेपालमा स्कोडा कार एमएडब्लु इन्टरप्राइजेजले आधिकारिक बिक्री वितरण गर्दै आएको छ । नयाँ स्कोडा अधिक शक्ति, बजोड नियन्त्रण र इन्धनको कम खपत गर्ने लगायतका गुणले सुसज्जित रहेको कम्पनीले बताएको छ । नेपाली सडक सुहाउँदो कम्प्याक्ट एसयुभी यतिमा बाई(जेनन एएफएस डेडलाइट, एलइडी डेटाइम रनिङ लाइट र हिल होल्ड कन्ट्रोल लगायतका सुविधा भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यतिमा चालक र यात्रुको सुरक्षाका लागि ६ वटा एयरब्याग राखिएको छ । यसमा ६ वटा स्पिडको म्यानुअल ट्रान्समिसन रहेको छ । स्कोडाको नयाँ यतीले यात्रुलाई अत्यधिक शक्ति, बेजोड नियन्त्रण र कम इन्धन खपतको अनुभव दिलाउने कम्प्नीको दाबी छ । यसको माइलेज १७ किलोमिटर प्रतिलिटर रहेको छ । एबीएस, इएसपी, एचएचसी र इडीएल जस्ता सिस्टमले कारलाई अफ(रोडमा समेत स्थिर र नियन्त्रणमा राख्न मद्दत गर्छ । बलियो बडी डिजाइन र च्यासिसले कारको सुरक्षालाई प्रत्याभुत गर्छ । पार्किङको बेला अन्य गाडीसँग नठोक्कियोस् भन्नका लागि पार्काट्रोनिक जडान गरिएको छ । यतीमा पाँच वटा थ्रि(प्वाइन्ट सेफ्टी बेल्ट र पाँच वटा हेड रिस्ट्रेन्ट राखिएका छन् । कारमा ६ वटा एयरब्याग दुइवटा यात्रु र अगाडिको सिटमा बस्ने यात्रु, दुइवटा अगाडिको सिटको साइडमा र दुई वटा पछाडिका यात्रुलाई लक्षित गरी राखिएका छन् । एयरब्याग एक्टिभ भएपछि इन्धन आपुर्ति बन्द हुन्छ र सबै ढोकाहरु स्वचालित रुपमा खुल्छन् । नयाँ यतीमा विशेष स्कोडा ग्रिल र आकर्षक स्कोडा ब्याज लगाइएको छ । यसले यतिलाई यो सेग्मेन्टमै अद्वितीय बनाएको छ । टेलिस्कोपिक हेडल्याम्प वासर, सिल्भर अन्डरवडी प्रोटेक्सन स्ट्रिप, लेभलिङ गर्न सकिने बाइ(जेनन हेडल्याम्प, डेलाइट ल्याम्प र विशेष प्रकारले बनाइएको एरो(वाइपरले कारको बाहिर लुक्सलाई थप आकर्षक बनाएको छ । ग्राहकले विभिन्न चारवटा ब्लु, ह्वाइट, म्याटो ब्राउन र ब्ल्याक कलरमा यती कार छान्न सक्नेछन् । नयाँ यतिको अगाडि र पछाडिको छेऊमा लिड लाइट, नयाँ रेडियटर ग्रिल, नयाँ बम्पर, नयाँ फ्रन्ट हेडलाइट र फगलाइट छ । पहिलो पटक स्कोडा यतिमा बाइ(जेनन एएफएस हेडलाइट सिस्टम, लिड डेटाइम रनिङ लाइट र हिल होल्ड कन्ट्रोल जडान गरिएको बताइएको छ । नेपाली बजारमा स्कोडा यति ४×२ को मूल्य ७२ लाख ९५ हजार रुपैयाँ र स्कोडा यति ४×४ को मूल्य ७७ लाख ४५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

४५६ मेगावाट विद्युत् क्षमता भएको माथिल्लो तामाकोसीको ८० प्रतिशत कार्य पूरा

दोलखा, ३१ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ७९ प्रतिशत कार्य सम्पन्न भएको छ । विसं २०७३ सालमै सम्पन्न गर्ने लक्ष्य लिइएको तामाकोसी आयोजना भूकम्प र नाकाबन्दीका कारण काम रोकिएपछि एक वर्ष पछि धकेलिएको हो । लामाबगर गाविसमा निर्माण भइरहेको ४५६ मेगावाट विद्युत् क्षमता भएको सो आयोजना २०७३ सालभित्र सम्पन्न गर्ने बताइएको थियो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले २०७३ पुसमा काम सम्पन्न गरी उत्पादन गर्ने योजनाको साथ अघि बढिरहेका अवस्थामा भूकम्प र नाकाबन्दीका कारण एक वर्ष ढिलाइ भएको बताए । “निर्धारित समयमै काम सम्पन्न हुन्छ,” उनले भने । करिब रु ३५ अर्बमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण सम्पन्न हुँदासम्म रु ५० अर्ब पुग्ने अनुमान गरिएको छ । प्रवक्ता न्यौपानेले हाल लामाबगरमा विद्युत् गृहको कामबाहेक अरु सबै काम सञ्चालन भइरहेको बताए। लामाबगर पुुग्ने बाटोमा भूकम्पसँगै आएको पहिरो नरोकिएका कारण काभ्रे भिरबाट लामाबगरको मौरेखोलासम्म ३६० मिटर लामो सुरुङ निर्माण भइरहेको छ । सुरुङ निर्माणको काम आयोजनाको मुख्य ठेकेदार कम्पन्नी सिनोहाइड्रोले गरिरहेको छ । रासस

नक्कली शैक्षिक प्रमाण पत्र धारी शिक्षक विरुद्ध मुद्धा

काठमाडौं, ३१ जेठ । अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र धारी एक जना शिक्षक विरुद्ध मुद्धा दायर गरेको छ । आयोगले ललितपुरस्थित शंखु गाविस(५ मा रहेको मगर गाउँ उच्च माध्यमिक विद्यालयमा कार्यरत नक्क्ली शैक्षिक प्रमाण पत्रकारी शिक्षक शिक्षक चन्द्रकान्त चौधरी विरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । मावी शिक्षकका रुपमा कार्यरत चौधरीले पेश गरेको विहार ईन्टरमिडीयट एजुकेशन काउन्सिल पटनाको सर्टिफिकेट नक्कली रहेको फेला परेपछि आयोगले मुद्धा दायर गरेको हो ।

महालक्ष्मी फाइनान्सद्धारा चितवनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, ३१ जेठ । महालक्ष्मी फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत चितवनको वसन्तपुरमा शनिबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा महालक्ष्मी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले “समृद्ध माडीको निर्माणमा वित्तीय सँस्थाको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।   कार्यपत्रमा माडीको आर्थिक गतिविधी वृद्धिमा वित्तीय सँस्थाबाट प्रवाह गर्नु पर्ने कर्जा सुविधा, तिनका प्रक्रिया, उद्यमी छनोट, उद्यमीलाई तालिम, बजारीकरण लगायत विविध विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यपत्र र बैकिङ्ग गतिविधिमा माडी उद्योग वाणिज्य सँघका अध्यक्ष रेशम आचार्य, माडी भरतपुर सम्पर्क मंचका अध्यक्ष जितेन्द« भण्डारी, एनजिओ फेडेरेशनका प्रसाद दुवाडी, महालक्ष्मी फाइनान्स, नारायणगढका शाखा प्रबन्धक गणेश बजगाई, माडी क्याम्पस प्रमुख कुलानन्द भुषालले टिप्पणी गरेका थिए । अन्तरक्रियाको खुला सत्र अन्तर्गत सहभागिहरुको तर्फबाट गरिएको विविध प्रश्न र जिज्ञासाको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जवाफ दिएका थिए । कार्यक्रममा साविक गर्दी, वघौडा, कल्याणपुरी र अयोध्यापुरी क्षेत्रका उद्योगपति व्यापारी तथा वसन्तपुर बजारका स्थानियको सहभागिता रहेको फाइनान्सले जनाएको छ ।