विकासन्युज

सिजी इलोक्ट्रोनिक्सका किचेन एप्लाएन्स ब्राण्डका सामानहरु नेपाली बजारमा

काठमाडौं, ३० साउन । सिजी इलोक्ट्रोनिक्सका किचेन एप्लाएन्स ब्राण्डहरु हरेक नेपालीको मन र घरमा बस्ने गरि विभिन्न सामानहरु बजारमा उपलब्ध भएका छन् । सिजी लगाएत केलभिनेटर, महाराजा ह्वाइटलाइन र पिजन ब्राण्डका विभिन्न मिक्सर, ज्युइसर, राइस कुकर, सुपर कुकर तथा अन्य अरु एप्लाएन्सहरुका सामानहरु बजारमा उपलब्ध छन् । साथै, कम्पनीका अनुसार केलभिनेटर, महाराजा ह्वाइटलाइन र पिजन ब्राण्डका किचेन एप्लाएन्सहरु आफ्ना डिलरहरु र सबै सोरुममा पाइने व्यवस्था गराइएको छ ।

राष्ट्रिय आपूर्ति कम्पनी बनाउने योजना अघि बढेन

काठमाडौं, ३१ साउन ।   विगत केही वर्षयता एउटै प्रकृतिका यस्ता सार्वजनिक प्रतिष्ठानलाई मर्जर गर्ने सरकारको रणनीति भएपनि अहिलेसम्म यस्ता नीतिहरु कागजमा मात्र सीमित भएका छन् । सरकारको रणनीतिक योजनासँगै कुनै सरकारले यस्ता संस्थान गाभ्ने त कुनैले निजीकरण गर्ने भनि विभिन्न योजना पनि ल्यायो । तर, त्यस्ता रणनीतिक योजना तथा कार्यक्रमले ठोष रुप धारण गर्न नपाउँदै सुसुप्त अवस्था यसमाथि थिचोमिचो हुँदै आएको छ । काँग्रेस सरकारले गत आव २०७२/७३ को बजेट वक्तव्य यस्ता समान प्रकृतिका यस्ता सार्वजनिक प्रतिष्ठानलाई मर्जर लैजाने अर्थात निजीकरण गर्ने, शेयर विनिवेश अर्थात केहीलाई रणनीतिक साझेदार भित्र्याएर भएपनि सञ्चालन गर्ने जस्ता रणनीति योजना सारेको थियो । बजेट कार्यान्वयनमा जान नपाउँदै काग्रेस सरकार ढल्यो । फरक धारको एमाले सरकारले वर्षौदेखि घाटामा गएका यस्ता संस्थानलाई निजीकरण गर्नुको साटो उस्तै प्रकृतिका संस्थानलाई गाभेर एउटै कम्पनी बनाउने रणनीति अघि सारेको थियो । तर, एमाले सरकारले पनि आफूले तयार पारेका कार्यक्रमलाई कार्यान्वयन लान भ्याएन । चालू आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा पूर्णरुपमासरकारी स्वामित्वमा रहेका नेशनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, कृषि सामग्री संस्थान, दी टिम्वर कर्पोरेशन चार सार्वजनिक संस्थानलाई गाभेर एउटै आपूर्ति कम्पनी बनाउने योजना अघि सारेको हो । सरकारले गाभ्ने भनेका नेशनल ट्रेडिङ तथा नेपाल खाद्य संस्थानको वार्षिक १ अर्ब रुपैयाँभन्दा माथि रहेको सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७३ मा उल्लेख गरिएको छ । खाद्य संस्थानको सञ्चित नोक्सान रू.१ अर्ब १० करोड छ भने नेशनल टे«डिङको रू.१ अर्ब ९ करोड नोक्सान रहेको छ । कार्यकुशलाता तथा व्यवसायिक योजना विनानै सरकारले दक्ष सञ्चालको छनोट गर्नुका साटो आफ्ना मान्छे यस्ता संस्थानमा अवसर पाउँदा संंस्थान सञ्चालनको दायित्व समेत सरकारले व्यहोर्नु परेको हो । यस्ता संस्थानलाई गाभेर सञ्चालन भार कमगर्ने भनिएता पनि बजेट आएको साढे दुई महीना वितिसक्दा पनि यस सम्बन्धी कुनै फाइल अघि बढेका छैनन् । चार संस्थानलाई गाभ्ने सम्बन्धका कुनै काम अगाडि नबढेको अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखा प्रमुख हरिशरण पुडासैनीले बताए । ‘राष्ट्रिय आपूर्ति कम्पनी बनाउने सम्बन्धमा कुनै काम अघि बढेको छैन,’ उनले भने ‘सम्बन्धित मन्त्रालयबाट पनि संस्थान गाभ्ने सम्बन्धमा कुनै पनि रणनीति योजना अर्थमा आएको छैन ।’ बजेट आएको दुई सातामै यी संस्थानलाई गाभ्नका लागि कार्यविधि निर्माण गर्न कार्यदल बनाउने भनिएता पनि हालसम्म कुनै काम अघि बढ्न सकेको छैन । कार्यदलकै प्रतिवेदनका आधारमा यी संस्थानलाई गाभ्ने भनिएको थियो । आपूर्ति व्यवस्थालाई सहज बनाउन, सरकारको आर्थिक भार कम गर्न अर्थात एकै द्वार प्रणाली मार्फत आम जनतालाई सेवा सुविधा दिने उद्देश्यले सरकारले यो रणनीति ल्याएको हो । समान प्रकृतिका यस्ता संस्थानलाई गाभेर एउटै प्रभावशाली कम्पनी बनाउने सरकार योजना हो । नेपालमा हाल ३७ ओटा सार्वजनिक संस्थानहरु रहेका छन् । ती मध्ये २० ओटा संस्थान खुद नाफामा छन् भने वाँकी संस्थान घाटामा गएका छन् ।

पुनर्बीमा कम्पनीमा बीमा कम्पनीको प्रतिनिधित्व हुने ब्यवस्था गरियो

काठमाडौं, ३१ साउन । पुनर्बीमा कम्पनीमा बीमा कम्पनीको प्रतिनिधित्व हुने भएको छ । बीमा समितिले जारी गरेको बीमाको सुशासन सम्बन्धि निर्देशिकामा एउटा बीमा कम्पनीको पदाधिकारी र संचालक अर्काे कम्पनीको पदाधिकारी वा संचालन बस्न नपाउने ब्यवस्था भए पनि त्यस्तो ब्यवस्थामा संसोधन गरेर कम्पनीको प्रतिनिधित्व सुनिश्चित गरिएको हो । बीमा समितिको हालैको संचालक समितिले सुशासन निर्देशिकामा भएको त्यस्तो ब्यवस्था संसोधन गरेको छ । संसोधित ब्यवस्थामा पुनर्बीमा कम्पनीको संचालक समितिमा अन्य बीमा कम्पनीका प्रतिनिधि रहन सक्ने ब्यवस्था गरिएको छ । पुनर्बीमा कम्पनीमा बीमा कम्पनीहरुको तर्फवाट २ जना संचालक रहने ब्यवस्था छ । समितिले जारी गरेको निर्देशिकाको कारण पुनर्बीमा कम्पनीको संचालक समिति गठन नै हुन नसक्ने अवस्था आएपछि संसोधन गरिएको समितिका एक अधिकारीले जानकारी दिए । ‘पुनर्बीमा कम्पनीमा संचालक हुन पाउने बाटो खुल्ला गरिएको छ, अहिलेको ब्यवस्थाले पुनर्बीमा कम्पनीको संचालक समिति गठन हुन नसक्ने अवस्था आएपछि यस्तो सुधार आवश्यक देखियो,’ समितिका ती अधिकारीले भने ।

सनराइज बैंकको १ लाख २२ हजार कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य ४२५ रुपैयाँ

काठमाडौं, ३१ साउन । सनराइज बैंकले १ लाख २२ हजार ३ सय ३७ कित्ता संस्थापक सेयर संस्थापकलाई नै लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयर धनीले सेयर विक्री गर्न चाहेकोले राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापकलाई नै विक्री गर्न लागिएको हो । बैंकले सोमवार सार्वजनिक सुचना प्रकाशित गरेर सेयर विक्रीको जानकारी गराएको छ । यसको लागि बैंकले न्यूनतम सेयर मूल्य ४२५ रुपैयाँ प्रतिकित्ता तोकेको छ । बैंकले तोकेको मूल्यमा नघटाइ आफूले खरिद गर्न चाहेको सेयरको मूल्य र कित्ता संख्या समेत खुलाएर ३५ दिन भित्रमा बैंकमा निवेदन दिइसक्न पनि बैंकले भनेको छ ।

२४ बाणिज्य बैंकको नाफा ३१ अर्ब ५१ करोड, यी हुन पहिलो पटक अर्ब कमाउने ७ बैंक

काठमाडौं, ३१ साउन । २४ वटा बाणिज्य बैंकहरुले २०७३ असार मसान्तसम्ममा ३१ अर्ब ५१ करोड ८५ लाख नाफा कमाउन सफल भएका छन् । आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका २४ वटा बैंकले सो मात्रामा नाफा कमाउन सफल भएका हुन् । यीमध्ये १६ वटा बैंकले एक अर्ब भन्दा बढि नाफा कमाउन सफल भएको देखिन्छ । तीमध्ये ७ वटा बैंकले पहिलो पटक अर्ब भन्दा बढि नाफा कमाउन सफल भएका छन् । २४ वटा बाणिज्य बैंकले २०७२ साल असार मसान्तसम्मको तुलनामा २०७३ साल असार मसान्तसम्ममा २ अर्ब ९२ करोड नाफा बढाउन सफल भएका हुन् । सो अवधीमा तिनै २४ वटा बाणिज्य बैंकहरुले २८ अर्ब ५९ करोड रुपैंयाँ नाफा कमाउन सफल भएका थिए । कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकको नाफा घटेकाले बाणिज्य बैंकहरुको कुल नाफामै कमि देखिएको हो । कृषि विकास बैंकको नाफा ३ अर्ब ६० करोडबाट घटेर २ अर्ब ५७ करोडमा सिमित भएको छ भने राष्ट्रिय बाणिज्य बैंकको नाफा ६ अर्ब ६४ करोडबाट घटेर २ अर्ब ६४ करोेडमा खुम्चिएको छ । यी दुई बैंकका अलवा स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा पनि एक अर्ब २९ करोडबाट घटेर एक अर्ब २६ करोडमा सिमित भएको छ । बाँकी सबै बैंकको नाफामा उल्लेख्य सुधार आएको देखिन्छ । यी हुन पहिलो पटक अर्ब कमाउने ७ वटा बाणिज्य बैंक एनएमबी बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिटिजन्स बैंक र एनआइसी एसिया बैंक पहिलो पटक एक अर्ब नाफा कमाउन सफल भएका हुन् । २०७२ असार मसान्तसम्म ५० करोड ३८ लाख नाफा कमाउन सफल भएको एनएमबी बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब २० करोड खुद नाफा कमाएको छ । २०७२ असार मसान्तसम्ममा ७७ करोड नाफा कमाएको सिद्धार्थ बैंक पनि एक अर्ब २४ करोड नाफा कमाउँदै अर्ब कमाउने सूचिमा उक्लिएको छ । त्यस्तै, नेपाल बंगलादेश बैंकले पनि आफुलाई अर्ब नाफा गर्ने बैंकका रुपमा स्थापित गराएको छ । २०७२ असार मसान्तसम्ममा ८१ करोड ३९ लाख नाफा कमाएको बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १९ करोड नाफा कमाउन सफल भएको छ । प्राइम कमर्सियल बैंक पनि अर्ब नाफा कमाउने सूचिमा समावेश भएको छ । अघिल्लो असार मसान्तसम्मा ७४ करोड नाफा कमाएको प्राइमले यसपालीको असार मसान्तसम्ममा भने एक अर्ब १२ करोेड नाफा कमाउन सफल भएको हो । ग्लोबल आइएमई बैैंक पनि पहिलो पटक अर्ब कमाउने बैंकको सूचिमा उक्लिन सफल रह्यो । २०७२ असार मसान्तसम्ममा जम्मा ९६ करोड ६ लाख नाफा कमाएको बैंकले २०७३ असार मसान्तसम्ममा भने एक अर्ब ३९ करोड खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो पटक ७२ करोड ३ लाख नाफा कमाएको सिटिजन्स बैंकले पनि एक अर्ब १० करोेड नाफा आर्जन गरेर अर्ब कमाउने सूचिमा आफ्नो नाम लेखाएको छ । त्यस बाहेक एनआइसी एसिया बैंक पनि अर्ब कमाउने बैंकको सूचिमा नव प्रवेशी बनेको छ । एनआइसी एसिया बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब ७ करोड नाफा कमाउन सफल भएको देखिन्छ । जबकी बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा ६८ करोेड ३ लाख नाफा कमाएको थियो ।

एसियन लाइफले कमायो ३ करोड ६ लाख

काठमाडौं, ३१ साउन । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७३ असार मसान्तसम्ममा ३ करोड ६ लाख नाफा कमाएको छ । ६७ करोड १३ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड २५ लाख रुपैंयाँ रहेको छ भने महाविपक्ति कोषमा एक करोड ९४ लाख रुपैंयाँ रहेको छ । एसियन लाइफले २ अर्ब बिमा शुल्क संकलन गरेर ४६ करोड दावी भुक्तानी गरेको छ । कम्पनीले २ हजार ६ सय ६३ वटा दावी वापत सो मात्रामा भुक्तानी गरेको हो । एसियन लाइफ इन्स्योरेन्सको प्रति सेयर आम्दानी ४ रुपैंयाँ ५६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १३० रुपैंयाँ रहेको छ ।

कृषि विकास बैंकले कमायो २ अर्ब ५७ करोड, बाणिज्य बैंकको नाफा पनि २ अर्ब ६४ करोड

काठमाडौं, ३१ साउन । कृषि विकास बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ५७ करोड नाफा कमाएको छ । यद्यपी यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा एक अर्ब ३ करोडले कम हो । बैंकले सो अवधीमा ३ अर्ब ६० करोड नाफा कमाएको थियो । १० अर्ब ३७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ३८ करोड रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा ५ दशमलब ३५ प्रतिशतबाट घटेर ३ दशमलब ८५ प्रतिशतमा झरेको छ । बैंकले ६२ करोड राइट ब्याकबाट प्राप्त गरेको छ भने ५६ करोड प्रोभिजन गरेको छ । ९ अर्ब ५६ करोड ब्याज आम्दानी गरेको बैंकले ३ अर्ब ३८ करोड ब्याज खर्च गरेको देखिन्छ । बैंकले निक्षेप संकलन पनि ७७ अर्बबाट बढाएर ८७ अर्ब पुर्याएको छ । बैंकको प्रति सेयर आम्दानी ५५ रुपैंयाँ ६४ पैसा र प्रति सेयर नेटवर्थ ३०३ रुपैंयाँ १५ पैसा रहेको छ । यसैबिच, राष्ट्रिय बाणिज्य बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ६४ करोड नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा २ अर्बले कम हो । बैंकले सो अवधीमा ४ अर्ब ६४ करोड नाफा गरेको थियो । यद्यपी १ अर्ब ९१ करोड सञ्चित नोक्सानीमा रहेको बैंकले सो रकम तिरेर जगेडा कोषमा ७३ करोड रुपैंयाँ जम्मा गर्न सफल भएको छ । बैंकको खराब कर्जा पनि ५ दशमलब ३५ प्रतिशतबाट घटेर ३ दशमलब ९५ प्रतिशतमा झरेको छ । बाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ । बैंकको निक्षेप एक खर्ब २४ अर्बबाट बढेर एक खर्ब ४६ अर्ब पुगेको छ । बैंकले ७ अर्ब ४२ करोड ब्याज आम्दानी गरेर एक अर्ब ८७ करोड ब्याज खर्च गरेको देखिन्छ ।

केन्द्रिय बैङ्कमा डलर सञ्चिति बढ्यो, ८५ प्रशित केन्द्रीय बैंक र बाँकी १५ प्रतिशत वाणिज्य बैंकहरूमा

काठमाडौं, २९ साउन।  नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा १० अर्ब अमेरिकी डलर सञ्चित गरेको छ । यो सञ्चिति अघिल्लो आवको तुलनामा २० प्रतिशत अर्थात् १ अर्ब ६७ करोडले बढी हो । अघिल्लो आवमा केन्द्रीय बैंकसँग ८ अर्ब ३३ करोड डलर सञ्चित थियो । चालू आर्थिक वर्षमा इन्धन आयातमा कमी तथा रेमिट्यान्स धेरै भित्रिएपछि डलर सञ्चिति बढेको हो। भूकम्पका कारण विदेशी सहायता पनि बढी आउँदा डलर बढेको अधिकारीको भनाइ छ । वैदेशिक व्यापारमा निर्यात बढी भएमा डलर परिमाण बढी भित्रने र वस्तु तथा सेवा आयात गर्दा डलर बाहिरिन्छ । गत आवकोे डलर सञ्चितिले करिब डेढ वर्षको वस्तु आयात धान्ने छ । सञ्चितमध्ये ८५ प्रशित केन्द्रीय बैंक र बाँकी १५ प्रतिशत वाणिज्य बैंकहरूमा रहेको राष्ट्र बैङ्कले जनाएको छ। डलर सञ्चिति बढेपछि सर्वसाधारणका लागि डलरको कारोबारको सीमासमेत बढाइएको छ । डलरमा बैंक खाता हुने सर्वसाधारणले वार्षिक १० हजारबाट अब १५ हजारसम्मको कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ । गत वर्ष कुल व्यापारघाटा ७ खर्ब ४ अर्ब ४५ करोड भएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा ०.४९ प्रतिशत बढी हो । अघिल्लो वर्ष ७ खर्ब ९९ करोड रुपैयाँ व्यापारघाटा थियो । आयात ७ खर्ब ८६ अर्ब १९ करोडबाट १.४६ प्रतिशतले घटेर ७ खर्ब ७४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । निर्यात ८५ अर्ब १९ करोडबाट घटेर ७० अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हुनाले पनि डलर बचेको हो । विकसित मुलुकहरूले ३ देखि ५ महिना, विकासशील मुलुकले ६ महिना तथा कम विकसित मुलुकले ९ देखि ११ महिनासम्मलाई पुग्ने वस्तु तथा सेवा खरिद गर्न सकिने परिमाणमा डलर सञ्चित गर्छन् ।