२४ वर्षपछि औद्योगिक व्यवसायिक ऐन संशोधन हुँदै, लघु उद्योगलाई पनि उद्योग रुपमा दर्ता गर्ने व्यवस्था
काठमाडौं, १ भदौ । २४ वर्षपछि सरकारले २०४९ को औद्योगिक व्यवसायिक ऐनलाई संशोधन गर्ने भएको छ । समय सापेक्ष देशभित्र औद्योगिक वातावरण निर्माण गर्न तथा स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्न ऐन संशोधनको तयारी शुरु गरिएको हो । अद्यावधिक ऐन उद्योग व्यवसाय मैत्री नभएको र सयम सापेक्ष कानुन निर्माण गर्न ऐन संशोधनको तयारी शुरु गरिएको हो । २४ वर्षअघिको ऐनले लगानी सुरक्षाको प्रत्याभूती तथा प्रवद्र्धन गर्न नसकेको भन्दै उद्योगीबाट ऐन संशोधन गर्नुपर्ने चर्को दवाव तथा सल्लाह सुझाव आएपछि सरकारले आधा दशक अघिनै यो ऐन संशोधन गर्ने गृहकार्य शुरु गरेको उद्योग मन्त्रालयले जानकारी दिएको छ । देशमा बढ्दै गएको व्यापार घाटालाई घटाउन तथा देश भित्रै वस्तु तथा सेवाको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनका लागि उ्त्पादन बढाउनु जरुरी भएको उद्योग मन्त्रायककी सहसचिव यमकुमारी खतिवडाले बताइन् । ‘उत्पादन वृद्धि गर्न लगानीका लागि लगानी गर्ने वातावरण तयार हुनुपर्छ,’ उनले भनिन् ‘यसका साथै पूर्वाधार निर्माण तथा लगानी सु्रक्षाको प्रत्याभूती पनि सरकारले लिनुपर्छ ।’ सरकराले लगानीको सुरक्षा दिन सकेमात्र निजी क्षेत्रले लगानी गर्छ । संशोधित ऐनले लगानी प्रत्याभूती गरिदिनुका साथै विभिन्न उद्योगमा विभिन्न किसिमका सेवा सुविधा पनि विस्तार गरिएको र लगानी /उत्पादन बढाई देशलाई आत्मनिर्भर बनाउने मुल उद्देश्य भएको उनले बताइन् । औद्योगिक व्यवसाय सम्बन्धि ऐनको मस्यौदाले लघुउद्यमलाई उद्योगको रुपमा दर्ता गर्न पाउने व्यवस्था गर्न लागेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले आवधिक ऐनमा भएका कतिपय व्यवस्थाहरु औद्योगिकमैत्री नभएको र समय सापेक्ष परिमार्जन गरी देशभित्र लगानीको वातावरण सिर्जन गर्न संशोधित ऐनले जतिसक्दो छिटो पारित हुनुपर्ने बताए । उद्योग मन्त्रालयले औद्योगिक व्यवसायसम्बन्धि कानुनलाई संशोधन तथा एकिकरण गर्न बनेको विधेयकमाथि छलफल गरी प्रतिवेदन तयार पार्न संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले उपसमिति गठन पनि गरेको थियो । समितिलाई प्रतिवेदन तयार पार्न दुई साताको समय दिए पनि हाल सम्म भएको छैन । उपसमितिले ऐन उपयोग गर्ने सबै सरोकारवाला निकाय, पक्ष विपक्ष तथा ऐन संशोधन दर्ता गराएका संसद्सँग छलफल गरी प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ । देशको कुल गार्हस्थ्य उत्पानद (जीडीपी) मा उद्योग क्षेत्रको योगदान १६ प्रतिशतसम्म पुगेको थियो । पछिल्लो समय सञ्चालित उद्योग समेत बन्द तथा पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा योगदान ह्वात्तै घटेको छ । गत आर्थिक २०७३/७४ मा उद्योग क्षेत्रको योगदान ६दशमलव ३ प्रतिशतले घट्ने अनुमान सरकारले गरेको छ ।
नेपाल चेम्बर एक्स्पो आश्विन ७ देखि ११ गतेसम्म हुँदै
काठमाडौं, १ भदौ । काठमाडौं, १ भदौ । नेपाल चेम्बर अफ कमर्शले काठमाडौंको भृकुटी मण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०७३’ आयोजना गर्ने भएको छ । वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा चेम्बरले यहि आश्विन ७ देखि ११ गतेसम्म उक्त कार्यक्रमको शुरु गर्न लागेको छ । नेपाली उत्पादनको बजारिकरण तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई प्रत्यक्ष सहभागी गराई नयाँ अवसरहरू प्रसस्त गरी चलायमान आर्थिक वातावरणको विकास गर्नु एक्स्पोको उद्देश्य रहेको छ । कृषि जन्य उत्पादन, आन्तरिक औद्योगिक उत्पादन, हस्तकला तथा अन्य स्वदेशी उद्यमी व्यवसायीलाई सहभागी गराई नेपाली औद्योगिक एवं वाणिज्य क्षेत्रमा रहेका प्रचुर सम्भावनाहरूलाई आम जनसमुदाय समक्ष पु¥याउने र आन्तरिक लगानीलाई अभिप्रेरित गर्ने समेत एक्स्पोको उदेश्य रहेको छ । हस्तकला, कृषि, खाद्य, फर्निचर, पोशाक, निमार्ण सामग्री, छालाजन्य वस्तु तथा विभित्र नेपाली उत्पादनका सामग्रीका साथै अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाइनसेस्, होम डिकोर, मोडुलर किचेन, फेसन वोएर, एसेसरिज, मोबाइल, ग्याजेटस् आदीले एक्स्पोमा सहभागिता जनाउन सक्ने चेम्बरले जनाएको छ । चेम्बरका अनुसार यस एक्स्पोमा अवलोकनकर्ताहरूले आफ्ना रुचि अनुसारका उपभोग्य सामग्रीहरू खोज्न सक्ने तथा एकै थलोमा किनमेल गर्न सक्ने छन् । साथै सहभागी संस्थाहरूलाई पनि आम उपभोक्ता समक्ष पु¥याई तिनको रोजाई एवं चाहना सम्बन्धि जानकारी गराउन एक्स्पोले महत्वपूर्ण भुमिका खेल्न सक्ने चेम्बरले जनाएको छ । एक्स्पोको यस संस्करणमा जापान पार्टनर कन्ट्री रहेको छ । नेपाल र जापानबीचको कुटनितिक सम्बन्धको ६०औं वार्षिकोत्सव मनाई रहेको सन्दर्भमा, पार्टनर कन्ट्रीको रुपमा जापानको सहभागिताले मेलालाई भव्याता प्रदान गर्नेमा आयोजक विश्वस्त रहेको छ । एक्स्पोमा लगभग २७० वटा स्टलहरू रहने छन् जस्मा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूका विभित्र उत्पादनहरू प्रदर्शनमा रहने छन् । स्टल बुकिङ्ग खुल्ला गरि सकिएको छ । एक्स्पोको मुख्य प्रायोजक जापानको प्रख्यात कम्पनी माउण्ट फुजी स्प्रिङ्गस् इंक रहेको छ । यसैगरी सिजी मोबाइल तथा हेरिटेज कार्पेटले पनि गोल्ड स्पन्सरमा सहभागिता जनाई सकेको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनसेलको नयाँ ब्राण्ड लोगोको आधिकारीक घोषणा, सुपथ र नविन सेवा प्रदान गर्ने वाचा
काठमाडौं, १ भदौ । एनसेलले मंगलबार एक कार्यक्रमबीच कम्पनीको नयाँ ब्राण्ड लोगोको आधिकारिक रुपमा अनावरण गरेको छ । ग्राहक, निजी क्षेत्र, सरकारी निकाय तथा विदेशी नियोग लगायतका प्रतिनिधि उपस्थित कार्यक्रममाझ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स तथा आजीयाटा ग्रुपका दक्षिण एशिया क्षेत्रका प्रमुख कार्यकारी डा. हान्स विजयसुर्याले संयुक्त रुपमा कम्पनीको नयाँ ब्राण्ड लोगो सार्वजनीक गरेका हुन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ । रिब्राण्डिसँगै कम्पनीको रोमांचक नयाँ अध्याय शुरु भएको जनाउँदै पर्किन्सले ग्राहकमा लागि एनसेलले सुपथ मुल्यमा नविन सेवा प्रदान गर्ने बताए । “साथै आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दिर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचार मार्फत जोड्दै नेपालको विकासमा योगदान पु¥याउन प्रतिवद्ध छ,” कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने । एनसेलले वैशाखमा सन् २०१६ का लागि रु १२ अर्बको पुँजीगत लगानी गर्ने घोषणा गरेको थियो । यस बाहेक कम्पनीले आफ्ना ग्राहकका लागि उत्कृष्ट सेवासंचालन सुनिश्चित गर्न आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने पर्किन्सले बताए । डा. विजयसुर्याले एनसेलको रिब्राण्डिङ्गसँगै कम्पनीमा आजीयाटाको अन्तर्रा्ष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको बेजोड मेल भएको बताए । ”आजीयाटा दुरसंचार क्षेत्रमा डिजिटल तथा प्राविधिक विकासमा अग्रणी स्थानमा छ र आफ्नो स्वच्छ प्यान–एशिया ट्रयाक रेकर्ड सहित नेपालमा प्रवेश गरेको छ । हामी एनसेलको विकासको योजना तथा लगानीमा प्रतिबद्ध छौं,” डा. विजयसुर्याले भने । एशियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको आजीयाटा दक्षिण एशियामा दिर्घकाल सम्म सेवा प्रदान गर्दै आएको छ । आजीयाटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिती छ, भने पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ । व्यावसायिक सुशासन तथा कानुनको परिपालनामा प्रतिबद्ध समुहको रुपमा परिचित आजीयाटाको आफु उपस्थित देशहरुमा ठूला करदाताका रुपमा रहेका कम्पनीहरु छन् । हाल करिब १ करोड ४० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको एनसेल एनसेल नेपालको सबैभन्दा ठूलो करदाता रहेको छ । कम्पनीले करिब ४० हजार नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारीको अवसर प्रदान गरेको छ । एनसेलले नेटबर्क विकासमा करिब ७४ अर्ब लगानी गरेको छ भने देशमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ ।
आइसिएफसि फाइनान्सले १७ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, १ भदौ । आइसिएफसि फाइनान्सले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि शुन्य दशमलब ८९ प्रतिशत नगद लाभांश दिने निर्णय लिएको छ । उक्त निर्णय साउन ३२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउनेछन् ।
आरम्भ माईक्रोफाईनान्सको थप दुई शाखा सिन्धुली र सिन्धुपाल्चोकमा
काठमाडौं, १ भदौ । आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्थाले आफ्नो थप दुई शाखा सिन्धुली र सिन्धुपाल्चोकमा विस्तार गरेको छ । संस्थाले भदौ १ गते बुधबारदेखि सिन्धुलीको खुर्कोट र सिन्धुपाल्चोकको सुकुटेमा शाखा कार्यालयहरु सञ्चालन गरेको छ । निकट समयमै संस्थाले थप पाँच पहाडि जिल्लाहरुमा आफनो कार्यक्षेत्र बिस्तार गरी थप शाखा कार्यालय स्थापनाको लागि आवश्यक गृहकार्य गरि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । संस्थाले आर्थिक बर्ष २०७३/०७४ मा मात्रै थप करिब २४ करोड लगानी गरी ११ हजार भन्दा बढि घर परिवारलाई लघुवित्तीय सेवा उपलव्ध गराउने लक्ष्य लिएको छ । वित्तीय संस्थाले आफनो पूँजी वृद्धिका लागि भदौ १८ गते विशेष साधारण सभा समेत बोलाएको छ । पूँजी वृद्धि पश्चात संस्थाको जारी शेयर पूँजी ४ करोड रुपैयाँ तथा चुक्ता पूँजी २ करोड ४ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ । साथै आर्थिक बर्ष २०७४/०७५ मा सर्वसाधारणको लागि शेयर निष्कासन गर्नेसंस्थाको योजना रहेको छ । हाल संंस्थाको १३ वटा शाखाहरु सञ्चालनमा छन् ।
वनारको हवाई यात्रा प्याकेजमै
काठमाडौं, १ भदौ । नेपालको अग्रणी वायुसेवा बुद्ध एयरले वनारस उडान प्याकेजमा संचालन गर्न थालेको छ । बुद्ध एयरले हवाई भाडामा मात्रै प्याकेज दिएर बुद्ध होलिडेजमार्फत यो योजना अगाडि सारेको छ । आन्तरिक वायुसेवा बुद्ध एयरले अन्तर्राष्ट्रिय अनुमति लिएर भारतको वनारस उडान गरिरहेको छ । यो वायुसेवाले पछिल्लो समय चार्टर उडान मात्रै गरिरहेको छ । भुटानको पारोबाट ६ वर्ष अगाडि नै अन्तर्राष्ट्रिय उडान सुरु गरेको बुद्ध एयरले यो गन्तव्यमा लाभ नभएपछि बन्द गरेर नयाँ गन्तव्यका रुपमा वनारस सुरु गरेको हो । यो वायुसेवाले वनारसमा पनि चार्टर उडान मात्रै गरिरहेको छ । बुद्धले काठमाडौंबाट भारतका लागि वनारस प्याकेज सुरु गरेका छ । यो वायुसेवाले वाराणसी यात्रा ऐतिहासिक—धर्मिक—पवित्र भनेर प्याकेज नै प्रवद्र्धन गरिरहेको छ । बुद्धले तीन रात चार दिनको यस्तो प्याकेज यात्रामा हवाई भाडादेखि होटल वसोवास र घुमघामको पनि एउटै प्याकेज राख्न चाहने ग्राहकको लागि भने हवाई भाडा वाहेकको अतिरिक्त लागत शुल्क तिर्नुपर्ने व्यवस्था पनि गरेको जानकारी दिएको छ । बुद्धले हवाई भाडा मात्रै र हवाई भाडासहितको प्याकेज ल्याएको छ । हवाई भाडा वाहेकको प्याकेजमा धार्मिक पर्यटकीय प्याकेज रहेको बुद्ध एयरले जानकारी दिएको छ । बुद्धले सूचना जारी गरेर तथा पर्यटकीय प्याकेजको प्रवद्र्धन नै सुरु गरेको छ । बुद्ध एयरले आफ्नो वेवसाइटमार्फत दिएको जानकारीमा पनि तीन रात चार दिनको प्याकेजमा वनारस, सारनाथ जाने सुविधा दिएको छ । यो सुविधामा वनारण विमानस्थलमा पीकअप तथा ड्रप, वनारसमा वसोवास, वातानकुलित होटलको बेड एण्ड ब्रेकफास्ट, एसी गाडिमा घुमफिर तथा दृश्यावलोकनको सुविधासहितको प्याकेज ल्याएको जानकारी दिएको छ ।
एलआइसी नेपालको सिइओको शैक्षिक योग्यता पुगेन, बीमा समितिले रोक्यो पटनायकको नियुक्ति
काठमाडौं, १ भदौ । बीमा समितिले एलआइसी नेपालको प्रमुख कार्यकारी (सिइओ) बन्न आएका भारतीय नागरिकलाई सिइओ बन्नवाट रोकेको छ । बिमकको सुशासन सम्बन्धि निर्देशिकाले तोकेका मापदण्ड नपुगेको भन्दै एलआइसी इन्डियाले पठाएको सुभाषचन्द्र पटनायकलाई सिइओ बन्नबाट रोकेको हो । यसअघिका सिइओ पिआर मिश्राको कार्यकाल सकिएपछि एलआइसी इन्डियाले पटकनायकलाई नयाँ सिइओको रुपमा पठाएको थियो । मिश्रा आफ्नो कार्यकाल सकेर भारत फर्किएको केही महिना विते पनि कम्पनीको वेबसाइटमा मिश्रालाई नै सिइओ भनेर उल्लेख गरिएको छ । ‘नयाँ सिइओको लागि अनुमति मागिएको थियो, कम्पनीले प्रस्ताव गरेको ब्यक्तिको शैक्षिक योग्यता सुशासन निर्देशिकाले तोके अनुसार नभएकोले अस्वीकृत गरियो,’ समितिका एक अधिकारीले भने । ती अधिकारीका अनुसार पटनायकको शैक्षिक योग्यता स्नातक पास मात्रै थियो । निर्देशिकामा स्नातकोत्तर तह पास गरेको हुनुपर्ने भन्ने ब्यवस्था छ ।
सिम्रिक वायुसेवाको उडान तीन दिन देखि ठप्प, १५ महिनादेखि लाइसेन्स नवीकरण नगरी जहाज उडान
काठमाडौं, १ भदौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सको सम्पूर्ण उडान तीन दिनदेखि ठप्प रहेको छ । यो वायुसेवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लिनुपर्ने वायुसेवा संचालन अनुमतिपत्र नवीकरण नगरेका कारण नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गर्ने उडान संचालन अनुमति (एओसी) नवीकरण नुहुँदा सम्पूर्ण उडान नै ठप्प भएको हो । उड्डयन क्षेत्रको नियम अनुसार मन्त्रालयबाट पाएको वायुसेवा संचालनको लाइसेन्सका आधारमा प्राधिकरणले एओसी प्रदान गर्नुपर्छ । प्राधिकरणले एओसी दिएपछि मात्रै वायुसेवाले उडान गर्न पाउँछन् । ‘सिम्रिक एयरलाइन्सले भने १५ महिनादेखि लाइसेन्स नवीकरण नगरी जहाज उडान गरिरहेको थियो’, प्राधिकरणका एक उच्च अधिकारीले भने । हामीले पटकपटक सचेत गराउँदा र लाइसेन्स नवीकरण गर्न आग्रह गर्दा पनि सिम्रिकले समयमा नै नगरेकोले हामीले एओसी नवीकरण गर्न मन्त्रालयको अनुमति मागेको हौं । मन्त्रालयका अनुमति ल्याउन नसक्दा आइतबाट यो वायुसेवा ठप्प नै भएको छ । सिम्रिकले हाल चार वटा वायुसेवामार्फत उडान गरिरहेको छ । आन्तरिक उडान भर्ने सिम्रिकसँग गुण एयरलाइन्सबाट किनेको दुईवटा र अग्नी एयरबाट किनेको दुईगरी चार वटा स्थिर पंखा भएको (फिक्सविंग्स) जहाज छ । पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईका अनुसार यो वायुसेवाले चार वर्षका लागि लिएको इजाजतपत्रको समय १५ महिनाअघि नै सकिएको छ । मन्त्रालयको इजाजत नवीकरण गर्न थप १ वर्ष मौका दिएको र सो समयमा पनि इजाजत नवीकरण गर्न सकेन । मन्त्रालयले पछिल्लो सयम तीन महिनाका लागि समय दिँदा पनि सिम्रिकले इजाजत नवीकरण नगरेका कारण अहिले एयरलाइन्सको सम्पूर्ण उडान नै बन्द हुन पुगेको हो । सिम्रिकलाई एक वर्षको समय दिइसकिएको र यो समयमा कुनै काम नभएको तथा सम्वन्धित वायुसेवा चुप लागेर बसेका कारण उड्डयन नियम अनुसार एक वर्षसम्म नवीकरण नभएको वायुसेवाको इजाजत खारेजीमा जान्छ । मन्त्रालयले इजाजत खारेजीको प्रकृयामा लगेकोले अब सिम्रिकले नयाँ कम्पनीसरह इजाजत लिनुपर्छ । नयाँ इजाजन लिन मन्त्रालयलमा प्रस्ताव गर्ने, २० करोड रुपैयाँको चुक्ता पुँजी देखाउँने, २० लाख रुपैयाँ बैंक ग्यारेन्टी, १० हजार निवेदन शुल्क तिरेर नयाँ प्रक्रिया अनुसार नै इजाजतपत्र लिनुपर्ने मन्त्रालयको भनाइ छ । नयाँ अनुमति लिन उडान गर्ने क्षेत्र अनुसार प्रति सेक्टर ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । सिम्रिकले हाल काठमाडौंबाट पोखरा, जोमसोम, भैरहवा, लुक्ला, सिमरा र माउन्टेन फ्लाइट गर्छ । पोखराबाट जोसोम र नेपालगन्जबाट सिमिकोट उडान गर्दै आएको छ । सिम्रिकले नयाँ प्रक्रिया अनुसार अनुमति लिन आवश्यक मापदण्ड पु¥याउँन पनि कम्तिमा १५ देखि २० दिन लाग्छ । यो समय भने सिम्रिकले पाउने सबै लाभ गुमाउने अवधि हो भने भएका जहाज पनि विना प्राविधिक कारण अर्थात प्रशासनिक कारणले थन्किएर बस्नु हो । प्राधिरणले गत शुक्रबार नै सिम्रिकलाई पत्र पठाएर आइतबारबाट एसोसी नवीकरण नगरे उडान संचालन गर्न नपाइने जानकारी दिएको थियो । सिम्रिकले मन्त्रालयको नवीकरणलाई वेवास्था गरेकै कारण जहाज ग्राउण्डेड गर्नुपरेको प्राधिकरणको भनाई छ । सिम्रिकले यो नवीकरण गर्न साढे २ लाख रुपैयाँ राजस्व तिर्नुपर्ने उल्लेख छ । सिम्रिकले चारवटा जहाजमार्फत दैनिक दुईदर्जन भन्दा बढी उडान गरिरहेको थियो । एयरलाइनसको हेलचेक्राइ गर्दा कुनै उडान सुरक्षा (सेफ्टी)का कारणले नभई प्रशासनिक कारणले जहाज ग्राउन्डडेड भएको सिम्रिकले स्वीकार गरेको छ । जहाज र प्राविधिक विषयमा कुनै समस्या छैन, मन्त्रालयको इजाजतपत्र नवीकरण नभएका कारण जहाज ग्राउन्डेड गर्नुपरेको सिम्रिककै भनाई छ । कमजोरी सुधार गरेर छिट्टै उडान गछौं : सिम्रिक एयरलाइन्स सिम्रिक एयरलाइन्सले सोमबार जारी गरेको एक विज्ञप्तीमा पनि प्रशासनिक कारण नै जहाज थन्किएको स्वीकार गरिएको छ । सिम्रिकले जारी गरेको विज्ञप्तीमा चार वर्षमा नवीकरण गर्नुपर्ने इजाजत मानवीय त्रुटीका कारण समयमा नै हुन नसकेको स्वीकार गरिएको छ । सिम्रिकले गत अघिल्लो वर्ष वैशाखमा भएको भूकम्प, भारतीय नाकाबन्दी र अन्य व्यवहारिक कारण मन्त्रलायको इजाजत नवीकरण गर्नमा ढिलाई भएको बताएको छ । यो वायुसेवाले अन्तर्राष्ट्रिय मापदण्ड र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आईआको)को मापदण्ड पूरा गर्नमा भने कुनै कसुर बाँकी नराख्ने बताएको छ । आइकाओले तोकेको मापदण्ड अक्षरस पूरा गर्दा गर्दै पनि अहिले जहाज ग्राउण्डेड भएको र छिट्टै आवश्यक प्रक्रिया पूरा गरेर उडान संचालन गरिने जानकारी सिम्रिकले दिएको छ । सिम्रिक एयरलाइन्सले मन्त्रालय र प्राधिकरणबाट लिनुपर्ने दोहोरो इजाजतका कारण मन्त्रालयको इजाजत लिन समयमानै ध्यान नपुगेको स्वीकार गरेको छ । मन्त्रालयको इजाजत एकैपटक चार वर्षलाई हुने भएकोले चार वर्ष पुगेको र नवीकरणको समय सकिएकोमा ध्यान पुग्न नसकेको स्वीकार गर्दै छिट्टै उडान सुरु गर्ने जानकारी सिम्रिकले दिएको छ । व्राण्डमा धक्का क्याप्टेन रामेश्वर थापाले संचलान गरिरहेको यो वायुसेवा सामान्य कारणले उडान बन्द हुँदा थापाको एयरलाइन्सको ब्राण्डमा थक्का लागेको छ । अमेरिकी वायुसेव सफायरसँगको सहकार्यमा अन्तर्राष्ट्रिय कार्गो उडानको तयारीमा जुटेका थापालाई भएकै जहाज थन्कनुले नकारात्मक प्रभाव पारेको छ ।