विकासन्युज

‘एसियन को–अपरेटिभ समिट’मा भाग लिन प्रधानमन्त्रीलाई निमन्त्रणा

काठमाडौं, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आगामी असोज २२ गतेदेखि सुरु हुने एसिएन कोअपरेटिभ समिटमा भाग लिन थाइल्यान्ड सरकारले निमन्त्रणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसान्टले भेटवार्ता गरी एसियाली मुलुकका सरकार प्रमुखहरु सहभागी हुने उक्त सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैंककमा हुने दोस्रो सम्मेलनमा सहभागिताका लागि थाई सरकारका तर्फबाट राजदूत भुट्टीसान्टले निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् । सो अवसरमा नेपाल र थाइल्यान्डबीचको मैत्री सम्बन्ध र आपसी हितका बारेमा समेत छलफल भएको थियो । रासस

खाद्यान्न अभाव हुने जिल्लामा चामलको कोटा निर्धारण, साविकको मूल्य घटाइयो

धनगढी, २० भदौ । खाद्यान्न अभाव हुने हिमाली र पहाडी जिल्लामा आव ७३/७४ मा ढुवानी अनुदानमा बिक्री वितरण गरिने चामलको कोटा निर्धारण गरिएको छ । नेपाल खाद्य संस्थान धनगढीशाखाका अनुसार, बाजुराको कोल्टी र मार्तडी डिपोका लागि २२ हजार क्विन्टल, बझाङ्गको चैनपुर र बिसौनी डिपोका लागि दुई हजार ५०० क्विन्टल, र अछामको मङ्गलसेन, कमलबजार तथा विनायक डिपोका लागि एक हजार ५०० क्विन्टल चामलको कोटा छुट्याइएको छ । यसैगरी बैतडीको पुर्चौडीहाट डिपोका लागि एक हजार ५०० क्विन्टल र दार्चुलाको पारीबगर, खण्डेश्वरी, सुनसेरा डिपोका लागि चार हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको शाखा प्रमुख डिल्लीराज लम्सालले बताए। हुम्लाको श्रीनगर डिपोका लागि एक हजार ७०० क्विन्टल, हुम्ला सदरमुकाम सिमिकोट डिपोका लागि ६०० क्विन्टल, मुगु सदरमुकामका लागि एक हजार क्विन्टल चामालको कोटा छुट्याइएको छ । बाजुरा जिल्ला र हुम्ला जिल्लाको श्रीनगरमा गत वर्षको भन्दा चालु वर्षमा चामलको कोटा बढाइएको छ । गतवर्ष बिक्री वितरणका लागि पठाइएको चामल बिक्री हुन नसकेपछि अछाम जिल्लामा भने यसवर्ष चामलको कोटा घटाइएको छ । यी जिल्लामा कोटाको चामल आपूर्तिका लागि ठेकेदारसँग सम्झौता भइसकेकाले आगामी असोजको पहिलो हप्ताबाट आपूर्ति गरिने शाखा प्रमुख लम्सालले बताए । बझाङ जिल्लामा अहिले पनि ३०० क्विन्टल चामल मौजात रहेको तर त्यहाँ खाद्यान्य अभाव भएको भनेर सञ्चार माध्यमबाट प्रशारित समाचार असत्य रहेको दाबी उनले गरेका छन् । चामलको साविकको मूल्य घटाइयो  अनुदानको चामल महँङ्गो भएको भन्ने स्थानीय बासिन्दाको गुनासोलाई मध्यनजर गर्दै आपूर्ति हुने कोटाको चामल खपत गराउन र नजिकिँदै आएको चाडपर्वमा राहत दिन बाजुराको कोल्टी बाहेकका डिपोमा चामलको मूल्य साविकको भन्दा घाटाइएको छ । संस्थानले प्रतिकिलो ४१ रुपैयाँमा बिक्री वितरण हुँदै आएको कोटाको चामलको बिक्री मूल्य घटाएर रु ३७।०५।–पुर्याएको लम्सालले जानकारी दिए। खाद्यान्य अभाव हुने कतिपय स्थानमा संस्थानका डिपोबाट ढुवानी अनुदानमा बिक्री हुने चामल स्थानीय बजारमा पाइने चामलको मूल्य भन्दा महँगो हुने गरेको जनगुनासो आएको थियो । रासस

१०३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, भदौ ३० गते मुक्तिनाथको बुक क्लोज

काठमाडौं, २० भदौ । सोमबार मात्र १ अर्ब ३ लाख ४३ हजार ३५७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन एनआइसी एसिया बैंक, नमस्ते वित्तीय संस्था, आइसीएफसी फाइनान्स, हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी र कालिन्चोक देव विकास बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । एनआइसी एसिया बैंकको ९२ लाख ३७ हजार ५४० कित्ता सेयर, नमस्ते वित्तीय संस्था लि.को ६२ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यसैगरी, आइसीएफसी फाइनान्सको ४ लाख ४८ हजार ३१७.५६ कित्ता, हिमालयन जेनेरल इन्स्योरेन्सको ५ लाख ३५ लाख कित्ता र कालिन्चोक देव विकास बैंकको ६० हजार कित्ता बोनस सेयर नेप्समा सूचिकृत भएको हो । भदौ ३० गते मुक्तिनाथ विकास बैंकको बुक क्लोज हुने भएको छ । बैंकले सो दिन सेयरधनीलाई हकप्रद सेयर निश्कासन गर्ने भएकाले बुक क्लोज गर्न लागेको हो ।

भूकम्पपछि काभ्रेमा मोडेल घर बन्दै, १४ करोड ४३ लाख रुपैयाँ लगानी हुने

बनेपा, २० भदौ । भूकम्पपछि काभ्रेपलाञ्चोकमा विभिन्न मोडेलका घर बन्न थालेका छन् । पुनःनिर्माणका लागि द लुथरन वल्र्ड फेडरेसनको सहयोगमा गैरसरकारी संस्था शान्ति जनआर्दश सेवा केन्द्रले जिल्लाको महादेवस्थान–२ स्थित कमारेकोटामा छवटा मोडेल घर निर्माण गरेको छ । दलित समुदाय, एकल महिला र विपन्न वर्गको समुदायलाई प्राथमिकतमाा राखेर त्यस्ता घर निर्माण गरिएको शान्ति जनआर्दश सेवा केन्द्रका अध्यक्ष शङ्खबुद्ध लामाले जानकारी दिए। उनले भूकम्पपश्चात्को पुनःस्थापन तथा जीविकोपार्जन पुर्नलाभ परियोजनामार्फत दुई वर्षको अवधिमा महादेवस्थानमा ९०, जैसिथोकमा ५८, गैरीविसौना देउपुरमा ८० नयाँगाउँ देउपुरमा ८२ र बालुवापाटी देउपुरमा ७६ गरी कुल ३८६ मोडेल घर निर्माण गर्ने योजना भएको बताए । हामीले एउटा घरका लागि चार लाख ९५ हजार रुपैयाँ लागतको अनुमान गरेर सो रकम भूकम्पपीडितलाई दिने भनेका थियौँ तर सरकारले रु दुई लाख मात्रै दिने भनेकाले सरकारको नीतिमा टेकेर नै पुनःनिर्माणको काम गर्छौं – अध्यक्ष लामाले भने । सरकारको अस्थिरताले पुनःनिर्माणको काम प्रभावित भएको उल्लेख गर्दै उनले राजनीतिक दल सम्मिलित वडा नागरिक मञ्चको भेलाले गरेको निर्णयअनुसार दलित, विपन्न, एकल महिला समुदायको घर निर्माण भइरहेको बताए । ती घर निर्माणका गर्न सात गाविसका लागि रु १४ करोड ४३ लाख ७५ हजार लगानी हुनेछ । सेवा केन्द्रले भूकम्प प्रभावित एक हजार २९ कृषकका लागि कृषि तथा पशुपालनका लागि आर्थिक सहयोग, करेसाबारी तथा अर्धव्यावसायिक तरकारीखेती तालिम, २१ जनाका लागि ३५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिमलगायतका काम गरेको छ । आगामी आवका लागि सेवा केन्द्रले रु ३४ करोड ९७ लाखको बजेटसमेत पारित गरेको छ । रासस

समस्याग्रस्त संस्थामा अझै ७३ हजार निक्षेप खाता, ७७ करोड ब्यक्तिगत निक्षेप

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा वित्तीय संस्थामा निक्षेपभन्दा कर्जाको अंश करिब दोब्बर छ । तर कर्जाको अवस्था खराब छ । गत असार मसान्तसम्ममा समस्याग्रस्त ३ अर्ब ३ करोड ७३ लाख रुपैयाँ निक्षेप रहेको छ । जवकि सोही अवधिसम्ममा यस्ता संस्थाले प्रवाह गरेको कर्जा भने ६ अर्ब ४२ करोड ३५ लाख रुपैयाँ छ । नेपाल राष्ट्र बैंकका अनुसार समस्याग्रस्त संस्थाले प्रवाह गरेको अधिकांश कर्जा खराब बर्गमा परिसकेको छ । सवै संस्थाहरुको गरेर समग्रमा ९७ दशमलब ३ प्रतिशत कर्जा खराब बर्गमा परेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्ता संस्थामा अझै पनि ७३ हजार ३ सय ८१ जनाको निक्षेप खाता छ । समस्याग्रस्त संस्थामा अझै पनि ७७ करोड १० लाख रुपैयाँ ब्यक्तिगत निक्षेप छ । नेपाल राष्ट्र बैंकले नेपाल सेयर मार्केटस् फाइनान्स, क्रिस्टल फाइनान्स, कुबेर मर्चेन्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, जनरल फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, कर्पाेरेट डेभलपमेन्ट बैंक, अरुण फाइनान्स र ललितपूर फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको छ ।

एनएमबीको २५ प्रतिशत बोनस, सहाराको १५० प्रतिशत हकप्रद

काठमाडौं, २० भदौ । एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको १९ भदौमा बसेको संचालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । संचालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपछि कार्यान्वयन हुने छ । यस्तै सहारा विकास बैंकले १ बराबर १.५ कित्ताको दरले हकप्रद सेयर निस्कासन गर्ने भएको छ । हकप्रद निस्कासन प्रयोजनको लागि २२ भदौदेखि बुक क्लोज हुदैछ ।

विश्वका सवैभन्दा धनी देशको सम्मेलनमा आइसक्रिम कोसेली

हाङझाउ, २० भदौ । मस्को र बेइजिङबीच सम्बन्ध न्यानो भए पनि बीस प्रमुख अर्थतन्त्रको समूह ‘जी ट्वान्टी’ को शिखर बैठकमा सहभागी हुन आएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार चिनियाँ समकक्षी सी जिनपिनलाई ‘आइस क्रिमको’ एउटा भाँडो उपहार दिएका छन् । चीनको पूर्वी नगर हाङझाउस्थित सरकारी अतिथिगृहमा चिनियाँ राष्ट्रपतिले रसियाली समकक्षीलाई स्वागत गर्दा ‘आइसक्रिम’ स्वादको विषयमा भने कुराकानी भएन । ‘तपाईंका लागि मैले यो ल्याउने बचन दिएको थिएँ, मैले तपाईंका लागि आइसक्रिमको एक बाकस नै ल्याइदिएको छु’, रसियाली राष्ट्रपति पुटिनले भने । चिनियाँ राष्ट्रपतिले रसियाली समकक्षीको दयालुपनाका लागि अध्यवाद दिए र आफ्नो मस्को भ्रमणहरुमा आफूले रसियाली आइसक्रिमको स्वाद पाएको बताए । रसियाली प्रतिनिधिमण्डलले दिएको टिप्पणी अनुसार चिनियाँ राष्ट्रपतिले आफू रसिया जाँदा हरेकपटक रसियाली आइसक्रिम खरिद गर्न भनेको र त्यसलाई चीन फर्केपछि उपभोग गर्ने गरेको बताएका थिए । ‘जी ट्वान्टी’ शिखर सम्मेलनका समयमा दुई नेताबीच परम्परागत रुपमा दुई मुलुकबीच सम्बन्ध विस्तार गर्ने विषयमा कुराकानी भएको बताइएको छ । रासस/एएफपी

‘टोटल म्याक्स पावर’ नेपाली बजारमा

काठमाडौं, २० भदौ । अटो मोवाइलको क्षेत्रमा ‘टोटल म्याक्स पावर’ नामक नयाँ प्रडक्ट सार्वजनिक गरिएको छ । उक्त प्रडक्टको उद्घाटन गर्दै नेपाल प्रहरीका एसएसपी मिलन बस्नेतले नेपालको अटोमोबाइल क्षेत्रमा यस प्रकारको प्रडक्ट सार्वजनिक हुनु सुखद भएको बताए । उनले भने –‘टोटल म्याक्स पावर नेपालको एउटा चमत्कारिक उत्पादन भएको र यस्तो उत्पादन नेपालमै भएकाले सबैले गर्व गर्नुपर्छ ।’ उनले भने –‘नेपाल प्रहरीका लागि पनि यस्ता उत्पादन निकै उपयोगी छन् । जब हामी हाम्रो मिसनमा सवारी लिएर हिंडछौं । तब विभिन्न समसया आइपर्छ, प्राविधिक रुपमा आउने समस्यालाई कम गर्न यो प्रडक्ट हामिसगै सबैलाई सहयोगी हुनेछ । ’ श्रीपशुपति मेकानिकल ट्रेडर्स, त्रिपुरेश्वरले ल्याएको यो प्रडक्टले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ क्रान्ति ल्याउने कम्पनीले दावी गरेको छ । कम्पनीले यो उत्पादनको प्रयोगले दैनिक प्रयोगमा आउने सवारीमा आउने समस्यालाई हल गर्ने बताएको छ । कम्पनीका प्रबन्ध निर्देशक अविनाश जजोडियाले भने–‘हामीले दैनिक प्रयोग गर्ने सवारी साधनमा माइलेज, पावर ,इन्जिन, क्लचलगायतमा धेरै समस्या आउने भएकाले यस उत्पादको प्रयोगबाट यस्तो समस्या हटेर जानेछ ।’ यो उत्पादनलाई बजारमा ल्याउनुअघि दुई महिनासम्म विभिन्न सवारी साधन र मोटरवाइकमा परिक्षण गरिएका र बजारमा ल्याइएको पनि उनले बताए । कम्पनीले सार्वजनिक गरेको टोटल म्याक्स पावर एउटा सानो प्रविधि हो । जुन डिभाइसलाई सवारीमा जोडेपछि त्यसले इन्जिन र फ्यूल दुवैतिर काम गर्ने गर्छ । यसको ‘इलेक्ट्रोलाइसिस अफ वाटर’ प्रविधिले इन्जिन र फ्युलमा अक्सिडेसन बढाउने र जसले जुनसुकै सवारीको पनि पर्फमेन्स गजबको बनाउने कम्पनीले बताएको छ । नेपाल रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका नवीन अग्रवालले टोटल म्याक्स पावरले नेपाली सडकमा गुड्ने सबै सवारीको इन्जिनलाई बुस्ट गर्ने बताए । कम्पनीले प्रडक्टका लागि नेपाल प्रहरीसँग समन्वय गरेर प्रहरीको मोटरसाइकलमा परीक्षणसमेत गरेको थियो । तीन महिना समय लगाएर ५ हजार किलोमिटरसम्म परीक्षणमा यो प्रडक्टको प्रयोगले मोटरसाइकलको माइलेज ३५ प्रतिशत बिद्री, क्षमता, पिकअप तथा इन्जिन चुस्त– दुरुस्त राख्न सहयोग पुर्याएको अनुसन्धानमा पुष्टि भएको थियो ।