यतीको ब्राण्ड एम्बेसडरमा महर्जन नियुक्त
काठमाडौं, ६ असोज । यती डेभलपमेण्ट बैंकले २ बर्षको लागी ब्राण्ड एम्बेसडरमा महेश्वर महर्जनलाई नियुक्त गरेको छ । खेलाडीको उच्च कदर गर्दै खेलाडीको मनोबल बृद्धि गर्ने उद्देश्यले बैंकले महर्जनलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेको हो । महर्जनले शरीरिक सुगठनको ५० औं एसियन च्याम्पियनसिपमा स्वर्णपदक प्राप्त गरेका थिए । भुटानमा भएको प्रतियोगिता अन्तर्गत ७५ के.जी. तौल समुहमा महर्जनले १० देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रथम स्थान हांसिल गरेका थिए ।
सिटिजन्स बैंक र ओभरसिज रेमिटबीच भुक्तानी सम्झौता
काडमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओभरसिज रेमिट प्रा.लिबीच विप्रेषण भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ र ओभरसिज रेमिटका तर्फवाट जापानी प्रतिनिधि निर्देशकद्वय भुषण घिमिरे र रोशन के सीले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुरुप जापानमा रहेका नेपालीले स्वदेशमा रहेका आफन्तहरूलाई ओभरसिज रेमिट प्रालि मार्फत पठाएको रकम यस बैंकका सम्पूर्ण शाखाहरु तथा देशैभरि फैलिएर रहेका सहायक प्रतिनिधिहरुबाट छिटो, छरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सक्ने छन् । यस अघि पनि बैंकले स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसंग सहकार्य गरि आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, सिजि मनि, आइपे रिलायबल र बुम रेमिट बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ । यसको साथ साथै बंैकले निकट भविष्यमा पनि अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीहरु संग सम्झौता गरि विप्रे्रषण सेवालाई विस्तार गर्दै लैजाने योजना राखेको छ ।
निजामती कर्मचारीले खोजे सेनाको सेवा, सुविधा र अवसरमा पनि हक
काठमाडौं, ६ भदौ । रक्षा मन्त्रालय अन्तरगतका निकायहरुमा काम गर्ने निजामती कर्मचारीहरुले सेनाले पाउदै आएको सेवा, सुविधा र अबसरमा पनि आफ्नो हक दाबी गरेका छन् । नेपाली सेनाले विदेशमा शान्ति स्थापना गर्न जादा आफूहरुले पनि जान पाउनु पर्ने र स्वदेश र विदेशका तालिमहरुमा आफूहरुको सहभागिता हुनुपर्ने माग निजामती कर्मचारीले गरेका हुन् । यस्तै सेनाले संचालन गरेका विद्यालयहरुमा आफ्ना सन्ततिले पनि पढ्न पाउनु पर्ने र सेनाले संचालन गरेका अस्पतालहरुमा सेना सरह आफूहरुले पनि उपचार सुविधा पाउनु पर्ने माग कर्मचारीहरुको छ । निजामती कर्मचारिहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति रक्षा मन्त्रालयका अध्यक्ष पूर्णकान्त घिमिरेको नेतृत्वको टोलीले रक्षा मन्त्री बालकृष्ण खाँण र रक्षा सचिव श्रीधर सापकोटालाई भेटेर ८ बुदे पत्र दिदै यस्तो माग गरेको हो । निजामती कर्मचारीले सचिब सापकोटासमक्ष पेश गरेको मागमा नेपाली सेना शान्ति स्थापनार्थ बिभिन्न देशहरुमा खटिईजाने टोलीमा रक्षा मन्त्रालयका निजामती कर्मचारीहरुलाई पनि विगत केहि बर्षदेखि सहभागिता गराईएकोमा कुनैमा सहभागी नै नगराईएको हुँदा सिओइ मिसनहरुमा नियमित रुपमा सहभागिता गराईनु पर्ने र रक्षा मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरु सो अवसर बाट बन्चित हुन परेको हुँदा सहभागिता गराउनु पर्ने माग गरिएको छ । यस्तै नेपाली सेनाद्वारा सन्चालित सैनिक विद्यालय तथा मेडिकल कलेजहरुमा नेपाली सेनाको सन्ततिले अध्ययन गर्ने जुन सुविधा पाएका छन्, रक्षा मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत निजामति कर्मचारीहरु जसले लामो समयसम्म कार्यरत रहदा पनि सो सुविधाबाट बन्चित रहेको हुँदा यस विषयमा नेपाली सेनासँग विस्तृत छलफल गरी कार्यविधि बनाएर निजामती कर्मचारीहरुको सन्ततिलाई सो अबसर दिलाएमा न्यायोचित हुने र कर्मचारीहरुको मनोवल उच्च भई कार्यप्रति उत्प्रेरित हुने माग युनियनको छ । रक्षा मन्त्रालयलाई प्राप्त हुन आउने स्वदेशी तथा विदेशी तालिम, गोष्ठी, सम्मेलन, अबलोकन भ्रमणसमेतका कार्यक्रहरुमा कार्य प्रकृति हेरी रक्षा मन्त्रालय अन्तर्गतकका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई समेत सहभागी गराउनु पर्ने माग गरिएको छ । रक्षा मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत निजामति कर्मचारीहरुको पद अनुसारको कार्यविवरण हालसम्म पनि नभएको अबस्थामा सो कार्यविवरण तयार गरी कार्यविवरण दिनु पर्ने माग गरिएको छ । रक्षा मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत निजामती कर्मचारीहरुले निजामती कर्मचारीहरुसँग सम्बन्धित पत्रहरु पत्राचार गर्दा सिधा मन्त्रालयमा पत्राचार हुनु पर्ने तथा रक्षा मन्त्रालय अन्तर्गतका कार्यलयहरुमा दर्ता भएका रिक्त पदहरुलाई पदपूर्ति गर्नको लागि यथाशिघ्र पहल गर्नु पर्ने माग पनि कर्मचारीहरुको छ । नेपाली सेनामा कार्यरत निजामती कर्मचारीहरुलाई पनि सेनाले पाए सरहको उपचार सुविधा उपलब्ध गराउनु पर्ने र रक्षा मन्त्रालय अन्तर्गतका बिभिन्न कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षण भत्ता, जोखिम भत्ता सम्बन्धमा कारबाही अगाडि बढेको तर निर्णय प्रकृयामा ढिलाई पाइएकोले चुस्त रुपमा यसालाई कार्यन्वयनमा ल्याउनु पर्ने माग निजामती कर्मचारीको छ । आफूहरुका माग कार्यान्वयनका लागि सम्बन्धित अधिकारीलाई निरन्तर दबाब दिने निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति रक्षा मन्त्रालयका सचिव रमानन्द प्रकाश सिंहले जानकारी दिए ।
रक्सी पिउने नेपालीको सख्या बढ्दै, एक करोड २८ लाख लिटर विदेशी रक्सी एक बर्षमै झ्वाम
काठमाडौं, ६ असोज । नेपालमा दैनिक ६० लाख मुल्य बराबरको ३५ हजार लिटर विदेशी रक्सी भित्रिने गरेको छ । प्रत्येक महिना औषतमा सवा चार लाख लिटर विदेशी रक्सी भित्रिने नेपालमा स्वदेशी रक्सीको माग पनि उत्तिकै बढिरहेको छ । गत आर्थिक वर्षमा मात्रै नेपालीले एक करोड २८ लाख लिटर विदेशी रक्सी पिएका छन् । यसको मुल्य दुई अर्ब २० करोड रुपैंयाँ पर्छ । आयात भन्दा ३ गुणा बढि रक्सी नेपालमै उत्पादन हुने गरेको छ । नेपालमा चीन, फिलिपिन्स, सिंगापुर, मेक्सिको, जर्मनी, फ्रान्स, अमेरिका, जापान, भारत, पोर्चुगल, ब्राजिल, स्विडेन लगाएतका तीन दर्जन मुलुकबाट रक्सी आयात गरिन्छ । समाचार श्रोतः अन्नपुर्णपोष्ट
८ खर्ब ३८ अर्बको पुननिर्माणमा बीमा गर्न आलटाल, संसदिय समितिको निर्देशन पनि थन्कियो
काठमाडौं, ६ असोज । २०७२ सालको बैशाख १२ गते गएको भूकम्पले ४ लाख ९८ हजार ८ सय ५२ वटा निजी घर भत्कायो भने २ लाख ५६ हजार ६ सय ९७ वटा निजी भवनमा आंशिक क्षति पुग्यो । ९ हजार विद्यालय ध्वस्त भए भने ११ सय वटा सरकारी कार्यालय भत्किए । भूकम्पले ७ खर्ब ६ अर्बको क्षति भौतिक सम्पति क्षति गर्यो तर जम्मा १७ हजार ८ सय ४० घरको मात्रै बीमा दावी पर्यो । ती घरको १६ अर्ब ६३ करोड ६७ लाख रुपैंयाँ बराबर बीमा दावी गरिएको थियो । यसरी बीमा दावी गरिएका अधिकांश घर बैंकबाट ऋण लिएर निर्माण गरिएका थिए । बैंकबाट ऋण लिइएका घरहरुको बीमा अनिवार्य गरिएकाले मात्रै सो मात्रामा बीमा दावी परेको बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल बताउँछन् । ‘बैंकबाट ऋण लिएर बनाइएका घरहरुमा अनिवार्य बीमा पोलिसीका कारण मात्रै सो मात्रामा बीमा दावी परेको हो’, बैंकर्स संघका अध्यक्ष पौडेलले भने । अहिले पुननिर्माणका लागि ८ खर्ब ३८ अर्ब रुपैंयाँ आवश्यक पर्ने आंकलन गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि भन्दै हालसम्म ३ लाख ७५ हजार ७ सय १५ भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि १८ अर्ब ७८ करोड ५७ लाख ५० हजार रुपैंयाँ भुक्तानी गरिसकेको छ । यस अघि बीमा नगरिएका कारणले पुननिर्माणको बोझ सरकारको काँधमा थपिएको भन्दै व्यवस्थापिका संसदको विकास समितिमा सांसद रामकुमार भट्टराईले पुननिर्माणमा बीमा अनिवार्य गर्न माग गरे । भट्टराईको माग अनुसार भदौ २० गते बसेको विकास समितिको बैठकले ‘पुनर्निर्माणको क्रममा बनाइने निजी तथा सार्वजनिक संरचनाहरुको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाउन’ सरकारलाई निर्देशन दिएको थियो । ‘बीमा नगरिएकाले पुननिर्मााणको ठुलो बोझ सरकारको काँधमा आयो, अब पनि बीमालाई अनिवार्य गरिएन भने भोली आइपर्ने यस्ता विपत्तिहरुको बोझ फेरी सरकारकै काँधमा आउँछ, त्यसकारण बीमा गरेर जोखिम हस्तान्तरण गर्नु आवश्यक ठानेर नै मैले विकास समितिमा कुरा उठाएको हुँ, समितिले निर्देशन पनि दिएको छ, अब हामी निरन्तर दबाव दिन्छौ’, विकास समितिका सदस्य भट्टराईले भने । बीमा समितिले भने पुननिर्माणका क्रममा बनाइने सबै भौतिक संरचनाको बीमा गराउनेबारे छलफल भैरहेको बताए । उनले पुनः भूकम्प लगायतका प्राकृतिक विपत्ति आउन सक्ने भन्दै जोखिम हस्तान्तरणका लागि पनि बीमा अनिवार्य भएको बताए । व्यवस्थापिका संसदको विकास समितिले दिएको निर्देशन अनुसार सबै संरचनाहरुको बीमा गराउन बीमा कम्पनीहरु तयार रहेको उनले दावी गरे । पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने समितिको निर्देशन अनुसार पुननिर्माणका क्रममा बन्ने निजी तथा सार्वजनिक सरंचनाहरुको अनिवर्या बीमा गराउन सरकारले कार्यबिधी बनाउनु पर्ने बताए । उनले अनिवार्य बीमा गराउने सम्बन्धी निर्देशन कार्यान्वयनका लागि सरकारले नै पहल कदमी लिनुपर्ने बताए । निजी तथा सार्वजनिक सम्पदाहरुको धमाधम पुननिर्माणको क्रम अघि बढ्दा समेत अनिवार्य बीमा गराएर भविष्यमा आउन सक्ने सम्भावित जोखिम न्युनिकरणमा सरकारले ध्यान नदिएको देखिन्छ ।
भारतमा एप्पलले आईफोनको मूल्य २२ हजार भारु घटायो, नेपालमा पनि घट्न सक्ने
काठमाण्डौं, ५ असोज। बजारमा प्रभाव घट्दै गएको एप्पलले आफ्नो आईफोनको बिक्रि बढाउन आईफोन ६ को मूल्यमा ठूलो कटौती गरेको छ। भारतीय बजारमा मात्र यो आईफोन ६ मा २२ हजार भारुले मूल्य कटौती गरेको हो। आफ्नो नयाँ आईफोन ७ सार्वजनिक गरेपछि पहिलेको मोडलमा एप्पलले मूल्य समायोजन गरेको हो। प्रतिस्पर्धी सामसुङका फोनहरु ब्याट्रीको समस्याले भकाभक बजारबाट फिर्ता हुँदै गर्दा एप्पले आफ्नो ठूलो बजार रहेको भारतमा मूल्य घटाएको छ। भारतीय बजारमा घटेको पुराना मोडलको एप्पलका आइफोनले नेपाली बजारमा पनि प्रभाव पार्ने देखिन्छ। केही समयमा नेपाली बजारमा पनि आईफोनको मूल्य केही गिर्ने सम्भावना रहेको छ।
इन्स्टाग्रामले ल्यायो ‘किओर्ड मोडरेसन टुल’, कमेन्ट फिल्टरसहित नचाहिएकोलाई ब्लक गर्ने मिल्ने
काठमाण्डौं, ५ असोज। काठमाडौं। सोसियल नेटवर्किङ साइट इन्टाग्रामले नयाँ फिचर थप गरेको छ। यो सँगै इन्टरनेटमा हुने ट्रोल विरुद्ध इन्स्टाग्रामले महत्वपूर्ण कदम चालेको छ। फेसबुकको फोटो सेयरिङ एप इन्स्टाग्रामले ‘किओर्ड मोडरेसन टुल’ को सुविधा ल्याएको छ, जसले भद्धा कमेन्टहरु आफै हटाइदिनेछ। कुन शब्द, वा वाक्य आफुलाई मनपर्दैन सेटिङमा गई ‘कस्टम किओर्ड’ मा ती शब्द इन्ट्री गरेपछि सो शब्द उल्लेख गरि कसैले कमेन्ट गरे सो कमेन्ट देखिने छैन। यो भन्दा अघि स्वाइप गरेर कमेन्ट डिलिट गर्ने सुविधा पनि कम्पनीले प्रयोगकर्तालाई दिएको थियो। यो नयाँ ‘किओर्ड मोडरेसन टुल’ पहिले ठूला ब्रान्ड अनि व्यावसायिक प्रयोगकर्ताको लागि मात्र उपलब्ध थियो। अब यो सुविधा सबै प्रयोगकर्ताले पाउने भएका हुन। इन्स्टाग्रामले हालै आफ्नो अपडेटेड एपमा पिन्च एण्ड जुम फिचर पनि थपेको छ। यो सुविधासंगै इन्स्टाग्राममा तस्बिर र भिडियो पिन्च जुम गर्न सकिनेछ। आईओएसमा मात्र रिलिज भएको यो फिचर छिट्टै एन्ड्रोइड एपमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। गत जुनमा इन्स्टाग्रामले आफ्नो सक्रिय प्रयोगकर्ता पाँचसय मिलियन नाघेको घोषणा गरेको थियो।
बिहीबार धरानमा एनसेल मेला हुँदै
काठमाडौं, ५ असोज । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आयोजना गरेको एनसेल मेला २०७३ धरान पुगेको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुशीयाली साट्न र चाडपर्वको शुभकामना आदान प्रदान गर्न एनसेलले बिहीबार पब्लिक हाई स्कुल मैदान, धरानमा यो मेला आयोजना गर्न लागेको हो । नारायणगढ, पोखरा र बुटबलमा दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्दै मन जित्न सफल यो मेलाले धरानका दर्शकहरुलाई पनि उतिकै रोचक र गीत संगीतमय रमाईलो भेटघाटको अवसर प्रदान गर्ने विश्वास लिईएको छ । बिहान ११ बजे शुरु हुने यस मेलामा दर्शकहरुले चर्चित कलाकारहरुको प्रस्तुती लगायत विविध कार्यक्रम र गतिविधीहरुको मज्जा लिन सक्नेछन् । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलामा रहेनछन् । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, सन्दिप क्षेत्री, रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुतीहरु रहनेछन् । त्यसैगरी चर्चित सांगितीक समुह एक्स व्याण्डले आफ्नो उत्कृष्ट गीतहरु प्रस्तुत गर्ने छ भने डिजे रुपेश र कार्टुन्ज क्रुको प्रस्तुतीले दर्शकहरुलाई थप मनोरन्जन प्रदान गर्नेछ । साँझको समयमा युभि एन्जल्स् (विदेशी कलाकारहरु) ले आफ्ना विषेश प्रस्तुती गर्ने कार्यक्रम रहेको छ । मेलामा सबै उमेर समुहका दर्शकहरुलाई ध्यानमा राखेर रोचक कार्यक्रम तथा स्टलहरु समावेश गरिएका छन् । बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु रहनेछन् । गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउनेछन् । विभिन्न मनोरञ्जनात्मक गतिविधीहरुका साथ साथै मेलाका दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर लिन सक्नेछन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेल एक्सपेरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था मिलाईएको छ । त्यसैगरी एनसेल हाईटेक जोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनौठो अनुभव बटुल्न सक्नेछन् । लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी पनि मेलामा समावेश गरिएका छन् भने नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् । धरान पश्चात एनसेल मेला अब असोज ८ गते बिर्तामोडमा पुगेर आयोजना पश्चात समापन हुनेछ । “तीन शहरहरुमा भव्य आयोजना पश्चात पुर्वमा नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्नो ग्राहकहरुसँग शुभकामना आदानप्रदान गर्न र खुसीयाली साट्न यो मेला आयोजना गरिदैछ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । मनोरन्जनात्मक कार्यक्रमहरुले भरिपुर्ण एनसेल मेलाले सबैलाई खुसी बाँड्ने र परिवारजन, आफन्त र साथीभाईसँग नजिक रहन थप उर्जा प्रदान गर्ने कुरामा हामी विश्वस्त छौ । ”