नेपाल र भुटानमा पाँच सय र हजारको भारु नोट चालु, प्रत्तिव्यक्ति २५ हजार भारु सिमा
९ माघ । भारतले नेपाल र भुटानमा पाँच सय र एक हजार भारु नोट चलन चल्तिमा ल्याउन खुला गरेको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक) ले विहीवार प्रेस विज्ञप्ति जारी गरेर यो नयाँ व्यवस्था गरेको हो । तर एक भारतीयले भुटान तथा नेपालमा आउँदा भने २५ हजार भारुसम्म ल्याउन पाउँने व्यवस्था गरेको हो । करिब ६ महिना अघि नेपाल भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदलाई सम्बोधन गर्दै पाँच सय र एक हजार भारु नोटको प्रचलनमा लागेको प्रतिबन्ध फुक्वा गर्ने घोषणा गरेको थिए । मोदीले गत नोभेम्बर २५ मा बीर हस्पिटल अन्र्तगतको नेशनल ट्रमा सेन्टर उदघाटनको क्रममा पाँच सय र एक हजार भारु नोटमा लागेको प्रतिबन्ध त्यही दिनबाट हटेको समेत घोषणा गरेका थिए । तर विहीवारबाट भने व्यवहारिक रुपमा लागु गर्न यस्तो व्यवस्था गरिएको बुझिएको छ । विहीवारदेखि भारतीय रिर्जभ बैंकले यसको कार्यान्वयन गरेको छ । यसअघि भने भारतिय नागरिकले आफुसाथ एक सय भारु सम्मका मुद्रा ल्याउन सक्थे । उनीहरुको लागि रकमको कुनै सिमा तोकिएको थिएन । नेपालमा करिब सन् २००० देखि पाँच सय र एक हजार भारु नोटको प्रचलनमा प्रतिबन्ध लगाइएका थियो ।
सिभिल बैंकको नाफा पाँच गुणा बढ्यो
९ माघ । गत त्रैमाशमा नोक्सानमा देखिएको सिभिल बैंकले नाफामा गुणात्मक वृद्धि गरेको छ । बैंकको गत आवको दोस्रो त्रैमाशको तुलनामा चालु आवको यो अवधिमा नाफा ५.२ गुणा अर्थात् ४२० प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी वृद्धिभएपछि नाफा बढेको हो । गत आवको दोस्रो त्रैमासमा तीन करोड ३९ लाख नाफा कमाएको बैंकले चालु आवको यो अवधिमा भने १७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद व्याज आम्दानी पनि ७८ प्रतिशतले बढेर ४२ करोड ३५ लाख पुगेको छ । बैंकले बैदेशिक बिनिमयबाट तीन करोड १२ लाख, फि कमिसनबाट दुई करोड ९४ लाख र अन्य आम्दानी तीन करोड २१ लाख गरेको छ । बैंकले राइट व्याक गरेको छैन । यसपाली बैंकको कुल कर्जामा खराब कर्जाको अनुपात केही बढेर १.९३ मा भएको छ । तर बैंकले गत बर्षको भन्दा यो पटक ७२ प्रतिशतले घटाएर सम्भावित जोखिम बापतको व्यवस्थामा तीन करोड २२ लाख रुपैयाँ राखेको छ । बैंकले कुल खराब कर्जाको लागि यो पटक रकम केही घटाएरु एक सय आठ प्रतिशत रकम व्यवस्था गरेको हो । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको छ । यी दुवै खर्च गरेर प्रशासनिक खर्च ४१ प्रतिशतले बढेर २१ करोड पुगेको छ । तरपनि बैंकको कोषको लागत घटेर ५.८५ मा सिमित भएको छ । बैंकसंग ५४ करोड ६३ लाख रुपैयाँ सञ्चिती छ । बैंकले प्रोभिजन अघि ५१ करोड सञ्चालन नाफा गरेको छ । बैंकको कुल सञ्चालन नाफा भने ४२० प्रतिशतले बढेर २७ करोड ८१ लाख भएको छ । बैंकको यो अवधिमा कर्जा लगानी ३८ प्रतिशतले बढेर २१ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप भने करिब २७ प्रतिशतले बढेर २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको देखिन्छ । बैंकको कर्जा निक्षेप अनुपात बढेर ७९.७ प्रतिशत छ । बैंकको बेस रेट (व्याजको आधार दर) घटेर ८.६७ भएको छ । बैंकले कर्जा र निक्षेपको व्याज अन्तर (स्प्रेड दर) ४.२७ कायम गरेको छ । बैंकले रियल इस्टेट कर्जा १५ प्रतिशतले घटाएर एक अर्ब ५२ करोड रुपैयामा सिमति पारेको छ । तर कुल कर्जामा यो कर्जाको अनुपात बढि नै छ । यो अनुपात करिब ७.२१ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.२२, प्रतिसेयर नेटवर्थ एक सय २० रुपैयाँ रहेको छ । बैंकको पुँजीकोष पर्याप्तता अनुपात ५.८५ रहेको छ ।
निर्जीबन बीमा ब्यवसायमा आधा हिस्सा मोटर बीमाको
८ माघ । निर्जीबन बीमा कम्पनीहरु मोटर बीमामा नै बढी केन्द्रित भएको पाइएको छ । मोटर बीमा वापद उठेको रकम कूल बीमा शुल्कको झण्डै आधा रहेको छ । सवै निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा उठाएको बीमा शुल्कको तथ्यांकले यस्तो देखाएको हो । बीमा समितिका अनुसार निर्जीबन बीमा ब्यवसायको करिब ५० प्रतिशत हिस्सा भने मोटर बीमा शुल्ककै रहेको छ । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा २ अर्ब ८६ करोड रुपैयाँ कुल बीमा शुल्क उठेकोमा मोटर बीमा शुल्क मात्रै १ अर्ब २० करोड रुपैयाँ रहेको छ । कुल बीमा शुल्का मोटर बीमा वापद उठेको शुल्कको हिस्सा ४२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । गत असोज महिनामा मात्रै निर्जीबन बीमा वापतको शुल्क ९५ करोड ९० लाख रुपैयाँ संकलन भएको छ । गत भदौ महिनामा सवै निर्जीबन बीमा कम्पनीहरुले १ अर्ब ९० करोड १८ लाख रुपैयाँ बीमा शुल्क उठेकोमा असोज महिनामा बढेर २ अर्ब ८६ करोड ८ लाख रुपैयाँ संकलन भएको छ । असोज मसान्तसम्ममा अग्नि बीमा वापत ७३ करोड ३१ लाख रुपैयाँ शुल्क उठेको छ । भदौ महिनामा यस्तो शुल्क ६१ करोड ३९ लाख रुपैयाँ संकलन भएको थियो । असोज महिनामा मात्रै अग्नि बीमा बापत ११ करोड ९१ लाख रुपैयाँ शुल्क उठेको छ । असोज महिनामा मोटर बीमा शुल्क ५१ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ । भदौमा ६८ करोड ६३ लाख रुपैयाँ मोटर बीमा शुल्क उठेकोमा असोज महिनामा १ अर्ब २० करोड १० लाख रुपैयाँ संकलन भएको हो । असोज महिनामा सामुन्द्रिक बीमा बापत ६ करोठ ४० लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा १४ करोड ८५ लाख रुपैयाँ सामुन्द्रिक बीमा शुल्क उठेकोमा असोज महिनासम्ममा यस्तो शुल्क २० करोड ८६ लाख रुपैयाँ उठेको तथ्यांकले देखाएको छ । असोज महिनामा मात्रै हवाइ बीमा वापत ७ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा ११ करोड ३१ लाख रुपैयाँको हवाइ बीमा शुल्क उठेकोमा असोजमा यस्तो शुल्क १९ करोड २३ लाख रुपैयाँ उठेको छ । असोज महिनामा इन्जिनियरिङ बीमा शुल्क वापत ३ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा ८ करोड ५५ लाख रुपैयाँ यस्तोबीमा शुल्क उठेकोमा असोज महिनासम्ममा ११ करोड ९० लाख रुपैयाँ उठेको छ । असोज महिनामा विविध बीमा शुल्क भने १४ करोड ८४ लाख रुपैयाँ बीमा शु्ल्क उठेको छ । भदौ महिनासम्ममा २५ करोड ८१ लाख रुपैयाँ विविध बीमा शुल्क उठेकोमा असोज महिनासम्ममा यस्तो शुल्क ४० करोड ६६ लाख रुपैयाँ उठेको समितिको तथ्यांकमा उल्लेख छ ।
माघ १० देखि २ साताका लागि मध्यमस्र्याङ्दी बन्द हुदै, लोडसेडिङ बढ्ने
७ माघ । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्र मर्मतका लागि माघ १० गतेदेखि २ साता बन्द गरिने भएको छ । आयोजनाको बाँध क्षेत्रदेखि विद्युत गृहसम्मका सबै जडित संरचनाहरु बालुवाका कारण धवस्त भई विद्युत उत्पादनमा समस्या आएपछि यसपटक २ सातासम्म आयोजना नै बन्द गरी बृहत मर्मत गरिने भएको हो । आयोजनाको नियमित मर्मतका लागि प्राधिकरणले फागुन चैतमा मिति तोक्ने गरिएपनि अहिले बाँधक्षेत्रमा अत्याधिक मात्रामा बालुवा जमेकोले त्यसलाईल निकाल्न आयोजनाबाट विद्युत उत्पादन नै बन्द गरी मर्मत गर्न लागिएको केन्द्रका प्रमुख राजेश कुमार पाण्डेले बताए । आयोजनाको इन्टेकमा रहेको सर्फिङ गेटको मर्मत गर्नुपर्ने, इन्टेकमा थुप्रिएको बालुवालाई फाल्नुपर्ने भएकोले २ सातासम्म पुरै विद्युत उत्पादन बन्द गर्नुपर्ने मध्यमस्र्याङेदी केन्द्रले जनाएको छ । निरज अधिकारी/लमजुङ सडक निर्माणको साथै मस्र्याङ्दी नदिका माथिल्लो भेगमा निर्माण भइरहेका जलविद्युत आयोजनाका कारण निस्किएका ढुंगामाटोले आयोजनाको संरचनामा धक्का पुग्ने गरेको केन्द्रको ठम्याई रहेको छ । पानीको बहावमा आधारित रहेको आयोजना भएपनि पानी बस्नुपर्ने स्थानमा अत्याधिक बालुवा जम्मा भएपछि यसले विद्युत गृहको टर्वाइन तथा अन्य भागहरुमा गम्भिर असर पारेको केन्द्रले जनाएको छ । हरेक बर्ष परियोजनाको बाँधस्थल सफा गर्दापनि बाँधस्थलमा ५ हजार ‘पिपिएम’ बालुवा हुनुपर्नेमा गत बर्ष २१ हजार ‘पिपिएम’ र यसबर्ष १० हजार ‘पिपिएम’ भन्दा बढि बालुवा जम्मा हुन पुगेको छ । आयोजनाको बा“ध स्थलमा रहेको ‘रोलर बकेट’, ‘अपस्टिम रिपर्याप”, वालुवा थिग्राउने पोखरीको ‘डिसेन्डिङ फेरी’, वालुवा थिग्राएर फाल्ने ‘ङ्खलसिङ टनेल’ Ôेत्र, विद्युत उत्पादन गृहमा टर्बाइनको ‘रनर’ जस्ता संरचना बालुवाका कारण जीर्ण बन्दै गएको केन्द्रले जनाएको छ । बा“धस्थल वरपर भू–भागमा बाढीको कटान, निर्मित संरचना भत्किने, स्वचालित ‘अपरेटिङ सिस्टम’ बन्द हुने जस्ता समस्या आएको बताइएको छ । अनावश्यक पानी सुरुङमा नपठाई नदीकै बहावमा फ्या“क्ने तीनवटा बाटो ‘रोलर बकेट’ Ôेत्रमा ढलान फुटेर रड बाहिर निस्किएको, भित्तामा चिरा परेको, प्लास्टर उप्किएको, फलामे लिगमा खिया लागेर जीर्ण बन्दै गएको छ । गतबर्ष बाँधस्थलमा जम्मा भएको बालुवाले आयोजनाको बा“ध क्षेत्रमा रहेको सर्भिस गेट र लेफ्ट बैंकको रिप¥याप तथा बिद्युत गृहमा रहेका इलेक्ट्रोमेकानिकल अन्तर्गतका टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर, गाइडभेन, बटम रिङ लगायतका मेकानिकल पार्टस्हरु बिग्रिएपछि मोटो रकम खर्चेर मर्मत गरिएको थियो । परियोजनाको बाँधस्थल हुदै विद्युत गृहमा पुगेको बालुवाले परियोजनाको महत्वपूर्ण पार्टसहरु ध्वस्त पारेपछि नेपाल विद्युत प्राधिकरणले बार्षिक रुपमा ४० देखि ५० लाख रुपैयाँ खर्च गरी मर्मत गर्दै आएको छ । यसरी प्राधिकरणले हरेक बर्ष यतिका रकम खर्च गरी मर्मत गर्छ तर त्यो एक बर्षपनि नटिक्ने बताइएको छ । नदिमा पानीको बहाव कम भएपछि ३५÷३५ मेगावाट क्षमताको २ वटा टर्बाइन जडित यस आयोजनाबाट अहिले ४० मेगावाट मात्रै विद्युत उत्पादन भएको छ । प्राधिकरणका अनुसार मध्यमस्र्याङ्दी बन्द भएपछि दैनिक एक घण्टा लोडसेढ्ङि बढ्नेछ ।
कुन बीमा कम्पनीको बजार हिस्सा कति ? (सूचिसहित)
७ माघ । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा बीमा लेख, बीमा शुल्क र दाबी भुक्तानीको आधारमा शिखर इन्स्योरेन्स कम्पनी अगाडि देखिएको छ । संचालनमा रहेका १७ निर्जीबन बीमा कम्पनीमध्ये यी तीनवटा आधारमा शिखरको बजार हिस्सा बढी भएको पाइएको हो । बीमा समितिले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा शिखरले ३० हजार ८४ ओटा बीमा लेख जारी गरेको छ । संख्या सवै निर्जीबन बीमा कम्पनीहरुले जारी गरेको बीमा लेखको १४ प्रतिशत हो । यो अवधिसम्मा नेपालमा २ लाख १४ हजार ३ सय ७० ओटा बीमा लेख जारी भएको थियो । यस्तै बीमा शुल्क संकलनमा शिखरले १२ दशमलब ४ प्रतिशत बजार हिस्सा ओघटेको छ । निर्जीबन बीमा कम्पनीहरुले २ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बीमा शुल्क उठाएकोमा शिखरले मात्रै ३२ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क उठाएको समितिले जानकारी दिएको छ । अर्काे निर्जीबन बीमा कम्पनी एनएलजीले बजारमा दोस्रो सशक्त उपस्थिति जनाएको छ । चालु आर्थिक बर्षको तीन महिनामा एनएलजीले २९ हजार ६ सय ६८ ओटा बीमा लेख जारी गरेको छ । बीमा लेख जारी गर्नेमा एनएलजीको बजार हिस्सा १३ दशमलब ८४ प्रतिशत बजार हिस्सा रहेको छ । बीमा शुल्क संकलनमा एनएलजीले ८ दशमलब ७७ प्रतिशत बजार हिस्सा ओघटेको छ । उसले चालु आर्थिक बर्षको तीन महिनामा २३ करोड २६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । यस्तै ५ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेर एनएलजीले दाबी भुक्तानीमा आफ्नो बजार हिस्सा ७ दशमलब ८२ प्रतिशत पुर्याएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको अवस्था पनि प्रतिस्पर्धात्मक नै देखिएको छ । चालु आर्थिको २६ हजार ३ सय ८५ बीमा लेख जारी गरी आफ्नो बजार हिस्सा १२ दशमलब ३१ प्रतिशत पुर्याएको छ । यस्तै बीमा शुल्क संकलनमा ६ प्रतिशत र दाबी भुक्तानीमा ६ दशमलब ९६ प्रतिशत बजार हिस्सा लुम्बिनीको छ ।
गोर्खा विकास बैंक सुधार मोडल,समस्याग्रस्त अन्य वित्तीय संस्थामा पनि
६ माघ । समस्याग्रस्त घोषणापछि नेपाल विकास बैंक, सम्झना फाइनान्स, युनाइटेड विकास, क्रिष्टल फाइनान्स, हिमालय फाइनान्स, खारेजी नै भए । कुवेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई खारेजीमा लैजाने तयारी भएको केही समयअघि राष्ट्र बैंकले बताएको थियो । खारेजी भएका कुनै पनि वित्तीय संस्थामा निक्षेपकर्ताको सावा गुमेको छैन । तर सेयरधनीको लगानी गुम्दै आएको छ । अब राष्ट्र बैंकले सेयरधनीको पनि लगानी सुरक्षीत गर्ने र कुनै पनि वित्तीय संस्था खारेजी गर्नु नपर्ने विकल्प खोज्दैछ । गोर्खा विकास बैंकमा यो मोडेल विकास गरिदैछ र अन्य समस्याग्रस्त वित्तीय संस्थामा यस मोडललाई अपनाईदैछ । ‘हामीले गोर्खा विकास बैंकको चुक्तापूँजी ३० प्रतिशतमा झारेर मर्जरमा जान भनेका छौं, मर्जर प्रक्रियाको लागि कुराकानी भइरहेको बुझेका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने । २०६७ चैतमा समस्याग्रस्त घोषणा भएको गोर्खा विकास बैंकको सञ्चालन राष्ट्र बैंकबाट गएको समूहले समेत गरेको थियो । गोर्खा विकास बैंकको डयु डेलिजेन्स अडिट रिपोर्ट अनुसार चुक्तापूँजी ३० प्रतिशतले झारेर १९ करोड ८३ लाख रुपैयाँ कायम गरिएको छ । यसअघि बैंकको चुक्तापूँजी ६६ करोड आठ लाख रुपैयाँ रहेको थियो । अहिले चुक्ता पुँजी घटाए पनि संस्था मर्ज गरेर सेयरधनीको लगानी बताउन सकिने राष्ट्र बैंकको भनाई छ । निक्षेपकर्ताको बचतको रक्षा गर्न तथा लगानीकर्ताको लगानी नडुबोस भन्ने उदेश्यले राष्ट्र बैंकले नयाँ तरिका अवलम्बन गरेको हो । २०६७ चैतमा गोर्खा विकास बैंक समस्याग्रस्त घोषणा भयो । प्रोफेशन टिम आएर चलाए, सफल भएन । बैंककै नयाँ सञ्चालक समिति आए, नयाँ व्यवस्थापन आए, चलाए । उनीहरु पनि असफल भए । त्यसपछि धेरैले अनुमान गरेका थिए, गोर्खा विकास बैंक पनि नेपाल विकास बैंक झै खारेजी हुनेछ । तर अहिले यो बैंक खारेजी नहुने, अरु कुनै बैंकले यसलाई खरिद गर्ने वा राम्रो संस्थामा मर्ज हुने बाटोमा छ । यो बैंकको सञ्चालन राष्ट्र बैंकको डेपुटी डाईरेक्टर विषरुट थापा नेतृत्वमा भईरहेको छ । यो बैंक सुधारको क्रममा नयाँ मोडेल सिर्जना गरिदैछ । समस्याग्रस्त घोषणाा गरिदा बैंकको चुक्तापूँजी ६६ करोड आठ लाख रुपैयाँ रहेको थियो । अहिले चुक्तापूँजी ७० प्रतिशतले झारेर १९ करोड ८३ लाख रुपैयाँ कायम गरिएको छ । राष्ट्र बैंकले गराएको डयु डेलिजेन्स अडिट रिपोर्टका आधारमा चुक्ता पुँजीलाई न्युन मूल्याङकन गरिएको हो । ‘हामीले गोर्खा बिकास बैंकको चुक्तापूँजी ३० प्रतिशतमा झारेर मर्जरमा जान भनेका छौं, मर्जर प्रक्रियाको लागि कुराकानी भइरहेको बुझेका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी देशविकासलाई भने । निक्षेपकर्ताको बचतको रक्षा गर्न तथा लगानीकर्ताको लगानी नडुबोस भन्ने उदेश्यले राष्ट्र बैंकले नयाँ तरिका अवलम्बन गरेको उनको भनाई छ । पूँजी कटौती (हेयर कट) पछि मर्जरमा लैजाने गोर्खा विकास बैंकको जस्तै अभ्यास अन्य समस्याग्रस्त वित्तीय संस्थामा लागू गर्न राष्ट्र बैंकले गृहकार्य गर्दैछ । समस्याग्रस्त घोषणा गरिएका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र जनरल फाइनान्सलाई पनि यहि मोडलमा सुधार गर्ने तयारी भईरहेको बताईएको छ । यसरी पुनः सञ्चालनमा ल्याउन नसकेको अवस्थामा मात्र संस्था खारेजी गरिने भएको छ । २०६९ माघ ९ गते समस्याग्रत घोषणा गरिएको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स सुधारको चरणमा रहेको छ । त्यस्तै २०६८ माघमा समस्याग्रस्त घोषणा भएको नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको गत बर्ष माघबाट राष्ट्र बैंक आफैले व्यवस्थापन सम्हाली रहेको छ । यो कम्पनी पनि सुधारको क्रममा रहेको छ । २०७० सालमा समस्याग्रस्त घोषणा भएका जनरल फाइनान्स र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स अहिले सुधारकै चरणमा रहेको छ । राष्ट्र बैंकले यो नयाँ रणनीति अपनाउनु अगाडी भने ५ संस्थालाई खारेजीमा पठाइसकेको छ ।
एनबी इन्स्योरेन्समा नयाँ सञ्चालक समिति, अम्बिकाप्रसाद पौडेल अध्यक्ष
५ माघ । खारेजीको संघारमा पुगेको एनबी इन्स्योरेन्स कम्पनीले पुनर्जीवन पाएको छ । कम्पनीमा नयाँ लगानी प्रवेशसंगै नयाँ सञ्चालक समिति गठन भएको छ । सोमवार गठन भएको समितिमा आइएमइ समूहबाट अम्बिका प्रसाद पौडेल र योगेश्वर ढकाल शर्मा, प्रतापजंग पाण्डे, एनबी समूहबाट एलसन श्रेष्ठ सदस्य रहेका छन । कम्पनी नेतृत्व अध्यक्षको रुपमा पोडेलले गर्दैछन् । पोडेल हाथवेका प्रबन्ध निर्देशक हुन् । कम्पनीमा नेपाल बंगलादेश बैंकबाट सुरेश देवकोटाले प्रतिनिधित्व गरेका छन । देवकोटा नेपाल बंगलादेश बैंकमा प्रमुख वित्त अधिकृत हुन् । कम्पनीका सञ्चालकलाई नियामक निकाय बीमा समितिले १५ दिनभित्र चुक्तापूँजी २५ करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । कम्पनीको हाल चुक्तापूँजी १४ करोड १९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको खुद सम्पत्ती भने १९ करोड १६ लाखले ऋणात्मक रहेको छ । इन्स्योरेन्सको कुल सेयर कित्ता १४ लाख २० हजार रहेको छ । हालै आइएमइले संस्थागत रुपमा रहेको केही सेयर खरीद गरेको हो। संस्थागत सेयर मध्ये समूहले एनबी बैंकको नाममा रहेको ३५ प्रतिशत र एनसिसी बैंकको स्वामित्वमा रहेको १० प्रतिशत सेयर खरीद गरेको हो । अंकित मूल्य एक सय रुपैयाँ भएको यसको सेयर आइएमइ समूहले प्रति कित्ता ८१ रुपैयाँ ५० पैसाका दरले किनेको हो। यस्तै हाथवेले ८६ रुपैयाँका दरले खरिद गरेको हो। यो सेयर खरिद विक्रि पछि एनवी इन्स्योरेन्समा आइएमइ समूहबाहेक सर्वसाधारणको २०, एनबी बैंकको १० , हाथवेको ५ प्रतिशत र बाँकी अन्यको हुनेछ।
संस्थागत सुशासनप्रति बीमा समिति कै वेवास्ता, तीन महिनामा गर्नुपर्ने पदपूर्ति वर्षौसम्म खाली
‘बीमा समितिले अन्यथा निर्देशन दिएको अवस्थामा बाहेक सञ्चालक समितिले कार्यकारी प्रमुखकोे पद रिक्त भएको अवस्थामा उक्त पद तीन महिना भित्रपूर्ति गरिसक्नु पर्नेछ ।’ बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०६९ दफा ३८ को उपदफा ४ मा उक्त यो विषयले यतिबेला बीमा समिति र बीमा कम्पनीहरुलाई गिज्याईरहेको छ । आफैले बनाएर जारी गरेको यो निर्देशिका कार्यन्वयन गर्न बीमा समिति असफल भएको छ । बीमा कम्पनीका सञ्चालकहरुले निर्देशिका लत्याएर अगाडि बढिरहेका छन् । हाल सञ्चालनमा रहेकामध्ये ६ वटा कम्पनी प्रमुखविहीन छन् । कतिपय कम्पनीले पटकपटक प्रमुखको माग गर्दै सूचना जारी गरेका छन् । तर उनीहरुले योग्य व्यक्ति नपाएको भन्दै नयाँ नियुक्ती गरेका छैनन् । बीमा समतिले यही निर्देशिकामा बीमा कम्पनीको कार्यकारी प्रमुखको योग्यता तोकेको छ । तर बजारमा योग्यता पुगेका जनशक्तिको खाँचो रहेको कारण कम्पनीहरुलले प्रमुख भेट्टाउन सकेका छैनन् । स्नातकोत्तर गरेको र कानुनी रुपमा गठन भएको संस्थाको व्यस्थापकको रुपमा १० वर्ष काम गरेको व्यक्ति बीमा कम्पनीको प्रमुख हुन पाउने व्यवस्था छ । साथै, प्रमुख हुने व्यक्तिसंग बीमा क्षेत्रमा दुई बर्ष काम गरेको अनुभव हुनुपर्ने व्यवस्था छ । हाल प्रमुख विहिन कम्पनीहरुमध्ये गुराँस लाइफ इन्स्योरेन्स सबैभन्दा लामो अवधिदेखि प्रमुख छैन । यस कम्पनीमा करिब तीन बर्षदेखि प्रमुख छैन । २०६८ मा तत्कालिन प्रमुख कार्यकारी सुनिल देवकोटाले छोडेपछि केही समय आशिष सिंह नायब महाप्रबन्धकको रुपमा रहेका थिए । सिंहले पनि त्यो पद त्यागेपछि नारायण कुमार भट्टराई छन् । करिब ११ महिनादेखि एभरेष्ट इन्स्योरेन्स कायम मुकायम सहायक महाप्रबन्धक प्रदिप मोहन धौभडेलको नेतृत्वमा सञ्चालन भइरहेको छ । गत वर्षको फागुन ११ गते चुनिएको नयाँ सञ्चालक समितिले उनलाई फागुनदेखि नै त्यो पदमा रहने गरि नेतृत्वको जिम्मा दिएको थियो । यसअघि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा केवलकृष्ण श्रेष्ठ रहेका थिए । उनलाई आर्थिक अपचलन गरेको भन्दै कम्पनीले निलम्बित गरेको थियो । करिब १९ महिनादेखि नेको इन्स्योरेन्समा पनि प्रमुख पद खाली छ । गत जेठदेखि कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा विश्वतिमिलाले नेतृत्व गरिरहेका छन । प्रिमियर इन्स्योरेन्ससंग मर्जर गर्ने पक्कापक्की भएपछि त्यसअघिका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माको कार्यवधि नथपिएको थियो । तर पछि यो मर्जरले भने पूर्णता पाएन । सिद्धार्थ इन्स्योरेन्सका तत्कालिन महाप्रबन्धक एस के तमोट र नेपाल इन्स्योरेन्सका तत्कालिन महाप्रबन्धक केशव दुवाडीले योग्यता नपुगेकै कारण कम्पनी छोड्नु परेको थियो । २०७० चैत १७ गतेदेखि सिद्धार्थ इन्स्योरेन्सको नेतृत्व बिरेन्द्र बैदवार क्षेत्रीले गरिरहेका छन । उनी कम्पनीमा कायम मुकायम महाप्रबन्धकको रुपमा कार्यरत छन । नेपाल इन्स्योरेन्सको कायम मुकायम महाप्रबन्धकको रुपमा करिब ६ महिनादेखि चन्द्रसिंह साउदले नेतृत्व लिइरहेका छन । संस्थागत सुशासन निर्देशिकामा उल्लेख अन्य विषयहरु पनि कार्यन्वयन हुन सकेका छैनन् । कार्यन्वन गर्न कठिन भएका र अव्यवहारिक विषय संशोधन गर्न लागेको बीमा समिति बताउदै आएको छ । तर उसले लामो समयदेखि यसमा काम गर्न सकेको छैन । आफैले बनाएको नियम अव्यवहारिक भएको बीमा समितिका अधिकारीहरुले पनि स्वीकार गर्दै आएका छन् । त्यसैले कार्यन्वयनमा जटिलता देखिएको उनीहरु स्वीकार गर्दछन् । ‘हामीले व्यवहारिकता पनि हेर्नुपर्छ, त्यसैले कडा रुपमा लागू गराउन नसकेका हौं,’ बीमा समितिका प्रवक्ता राजकुमार अर्यालले भने ।