विकासन्युज

बेरोजगार भएपछि पाइलटले खोले पेट्रोलपम्प, पाइलट पढ्न गरेको आधा अर्ब खेर

नेपालगन्ज । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । नेपालगन्ज-१३ का अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् । पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपयाँ खर्च गरे । अस्ट्रेलियामा पाइलट पढ्दै गर्दाका अभय । फोटो अन्नपूर्ण पोस्टबाट सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्ययन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन भने पाएनन् । प्रारम्भिक शिक्षा नेपालगन्जमा पढेका अभयले सेन्ट जोसेफ कलेज नैनितालबाट कक्षा १० र टेगोर इन्टरनेसनल स्कुल न्यू दिल्लीबाट १२ कक्षा पास गरे । न्यू दिल्लीमै केही समय काम गरेर पाइलट अध्ययनका लागि अस्ट्रेलिया गए । उनले पाइलट कोर्स सकेर नेपाल आउँदा निजीक्षेत्रका यती र बुद्ध मात्रै सञ्चालनमा थिए । अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कंदा नेपाली ध्वजावाहक नेपाल एयरलायन्स बन्द प्राय थियो । नेपाल एयरलायन्सका जहाज बिग्रेर थन्किएका थिए । बुद्ध र यतीमा जागिर खाने प्रयास गरे पनि अभयले सकेनन् । ‘जागिरको खोजीमा लागें, तर पाइनँ’, अभय भन्छन्, ‘नेपाल एयरलायन्स बन्द थियो । बुद्ध र यतीमा जागिर पाइएन ।’ मागभन्दा धेरै पाइलट उत्पादन भएकाले जागिर नपाएको टण्डनको भनाइ छ । अहिलेजस्तो धेरै कम्पनी सञ्चालन भएको भए जागिरको समस्या नहुने उनको दाबी छ । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि अभयलाई फ्रस्ट्रेसन भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । ‘मागभन्दा आपूर्ति धेरै भयो’, उनले भने, ‘अहिलेजस्तो धेरै एयरलायन्स कम्पनी भएको भए जागिरको समस्या हुँदैनथ्यो होला ।’ पढाइको सिलसिलामा उनले २५२.४ घन्टा जहाज उडाउन अभ्यास गरेका थिए । तर, नेपाल आएपछि उनले जहाज उडाउने अवसर पाएनन् । पाइलटको लाइसेन्स अवधि ६ महिना मात्रै हुने गरेको छ । जागिर खोज्दाखोज्दै उनको ६ महिना अवधि सकिहाल्यो । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि उनलाई ‘फ्रस्ट्रेसन’ समेत भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । व्यवसायी घरानाको व्यक्ति भएकाले उनलाई व्यवसाय सम्हाल्न गाह्रो भएन । ६ वर्षदेखि उनले नेपालगन्जको बीपी चोकनजिक भेरी प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पप्प सञ्चालन गरेका छन् । अहिले उनी विमान उडाउनेभन्दा पेट्रोलियम पदार्थको हिसाबकिताबमा पोख्त भएका छन् । सन २००९ देखि पेट्रोलियम व्यवसायमा रहेका अभय भन्छन्, ‘अहिले सन्तुष्ट छु, तैपनि पढेको गर्न नपाउँदा खिन्न हुन्छ, यसैभित्र सन्तुष्टि खोज्नुपर्छ ।’ नेपालजस्तो विकासोन्मुख मुलुकमा ‘ब्रेन ड्रेन’को समस्या बढी नै हुने गरेको उनको भनाइ छ । ‘पाइलट पढ्ने मात्र होइन, धेरै इन्जिनियर पनि यहाँ बेरोजगार छन्’, अभय भन्छन् । सीप भएका व्यक्तिलाई राज्यले जागिर दिन नसक्नु मुलुकका लागि दुर्भाग्य भएको उनी बताउँछन् । ‘हाम्रो जस्तो देशमा यस्तो समस्या धेरै छ, एकातिर दक्ष जनशक्ति छैनन्, भएकाले पनि काम पाएका छैनन्’, अभय भन्छन् । अभयका बुबा अजयकुमार नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव हुन् । ‘हाम्रो परिवार व्यावसायिक हो । अभयले पाइलट पढ्छु भन्यो, उसको इच्छाअनुसार पाइलट पनि पढायौं तर जागिर पाउन सकेन । त्यसपछि व्यवसायमा लगायौं अजयले भने । प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पम्प सञ्चालन गरेका छन् । अन्नपूर्ण पोस्टबाट ।

५० भन्दा बढी पुल जोखिममा, कहाँ कहाँ छ अवरोध ?

काठमाडौं । नियमित मर्मत नहुँदा जोखिममा रहेका रणनीतिक महत्वका ५० भन्दा बढी पुल बाढी तथा डुबानका कारण झनै जोखिममा परेका छन् । महेन्द्र राजमार्गको पलथैलाबाट ढल्केवरसम्मका सबै पुल जोखिममा छन् । यीबाहेक देशभरका राष्ट्रिय राजमार्गका पुल उच्च जोखिममा छन् । कोशी पुल उद्घाटनको फाइल फोटो सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार पूर्वको रातु खोलाको पुल र इटहरीको लबी खोलाको पुल भाँचिएर यातायात अवरुद्ध भएको छ । नुवाकोट बट्टारको पुल, बुटवल नारायणगढको नारायणी पुल, बुटवलको तिनाउँ खोलाको पुल उच्च जोखिममा छन् । यातायात नै अवरुद्ध भएकादेखि बाढीपहिरोले थप जोखिममा पारेकासहित यस्ता पुललाई प्रतिस्थापन गरी नयाँ नै बनाउनुपर्ने थापाले जानकारी दिए । विकल्प खोज्नुपर्ने महाशाखाका अनुसार अहिलेसम्म नयाँ बनाउनुपर्ने गरी जोखिममा परेका पुलमा बुटवल नारायगढको नारायणी पुल, बुटवलको तिनाउँ पुल, हेटौंडा नारायगढ सडकको लोथर पुल, पूर्वमा रातु खोला पुल छन् । पुल भाँचिएका र तत्काल विकल्प खोज्नुपर्ने यस्ता पुलका कारण यातायात अवरुद्ध छन् । कहाँ कहाँ छ अवरोध ? – रातु खोलाभन्दा चार किमि पश्चिममा पर्ने जंघा खोलाको पुलमा बाढीले ल्याएको रूख तथा अन्य अवरोध -पथलैयाबाट १४ किमिको धन्सार खोला पुलमा अवरोध -पथलैयाबाट पाँच किमिको दूरीमा रहेको दुधौरा खोलामा पनि अवरोध -झापाको कन्काई पुल, हेटौंडाको राप्ती खोला पुलमा समस्या देखिँदा राजमार्ग अवरुद्ध -दाउन्नेबाट बुटवल खण्डको ४४ किमिमा कल्भर्ट बाढीले थुनिएको छ -दाङको तुल्सीपुरबाट लहमीतर्फको बाटोमा पनि कल्भर्टमा क्षति -पूर्व९पश्चिम राजमार्गको अगैया खोला पुल पनि अवरुद्ध -रौतहटमा पनि एक कल्भर्ट बाढीले बगायो -गौर जाने बाटोमा पानीको निकास दिन स्थानीयले सडक काटेका कारण यातायात अवरुद्ध अन्नपूर्ण पोस्टबाट ।

लहानदेखि झापासम्म विद्युत् अवरुद्ध, भारी वर्षाले जनजीवन अस्तव्यस्त

काठमाडौं ।  केही दिनदेखिको अविरल वर्षाका कारण मध्य तथा पूर्वी तराईमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख विष्णुप्रसाद श्रेष्ठले तीन दिनदेखिको अविरल वर्षाका कारण सिरहाको लहानदेखि पूर्व झापासम्म विद्युत् प्रसारण अवरुद्ध भएको जानकारी दिए। उनले अविरल वर्षाका कारण प्रसारण लाइन, सबस्टेसन तथा वितरण प्रणालीलगायतका संरचनामा ठूलो क्षति भएकाले विद्युत् वितरणमा समस्या आएको हुँदा पूर्वाञ्चलका सम्पूर्ण जिल्लामा विद्युत् आपूर्ति हुन नसकेको जानकारी दिए। पानीको सतह कम नभएसम्म डुबेका सबस्टेसन तथा वितरण प्रणालीको परीक्षण सम्भव हुन नसक्ने बताउँदै उनले सम्पूर्ण परीक्षणपछि मात्र विद्युत् वितरण पुनः सुचारु हुन सक्ने स्पष्ट पारे। उनका अनुसार दमक–गोधाक खण्डको १३२ केभी लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं। १७ ढलेको, काबेली कोरिडोर अन्तर्गतको ट्रान्समिसन लाइन ढलेको, हेटौँडा सिमेन्ट कारखानानजिक रहेको ६६ केभी टावर पल्टिन लागेकाले सो फिडर बन्द गरिएको, दुहबी सबस्टेसन, दमक सबस्टेसन र अनारमनी सबस्टेसन जलमग्न भएकाले ती स्टेसनहरू बन्द भएका छन् । त्यसैगरी चन्द्रपुर–पथलैया, ढल्केबर–चन्द्रपुर, बालाजु–त्रिशूली शुक्रबारदेखि नै सञ्चालनमा आउन नसकेको बताउँदै उहाँले नयाँ संरचनामा रक्सौल–परवानीपुर खण्डको भलुहीमाटावरनमा बाढीले क्षति पुगेको जानकारी उनले दिए। गोरखापत्र दैनिकबाट ।

राष्ट्रिय विपद संकटकाल घोषणा गरिने ः मन्त्री विश्वकर्मा

भक्तपुर, २९ साउन । वाणिज्य मन्त्री मीन विश्वकर्माले लगातारको वर्षाका कारण आएको बाढी पहिरोको व्यवस्थापनका लागि सरकारले राष्ट्रिय विपद संकटकाल घोषणा गर्ने बताउनुभएको छ । रफत् सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सरकारले सोचेजसरी बाढीपहिरोलगायतको विपद् व्यवस्थापन गर्न नसकेकाले आज बस्ने मन्त्रिपरिषद् बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेका बताउनुभएको हो । यतिबेला विपद् व्यवस्थापन गर्न सरकारलाई ठूलै चुनौती आइपरेको बताउँदै उहाँले कोशी ब्यारेजका केही ढोका खुल्न सरकारले गरेको कूटनीतिक पहल सफल भएको बताउनुभयो । ब्यारेजका सबै ढोका खुल्दा भारतको विहार डुबानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले विपद्का बेला सोचेर मात्र काम गर्नुपर्नेमा सरकार सजग रहेको उहाँको भनाइ थियो । अहिलेको विपद्ले तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने भए पनि सरकार चुनौतीको सामना गर्दै निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । मन्त्री विश्वकर्माले भन्नुभयो, “माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संवैधानिक संकटको अवस्था आउँछ, त्यसैले सरकारले हचुवाको भरमा संसद् र प्रदेशको निर्वाचन मिति घोषणा गर्दैन, निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने छ ।” दुवै निर्वाचन एकैपटक गर्न सरकारले निर्वाचन आयोगसँग गरेको परामर्शमा निर्वाचन आयोगले कुनै निर्णय नगर्दा अन्यौलता बढेकामा चिन्ता व्यक्त गर्नुभयो । संविधान संशोधनमा दुई तिहाइ बहुमत पु¥याउन नेपाली काँग्रेसले विपक्षी दलहरुसँग छलफल तीव्र्र पारेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार ल्याउने र व्यापार घाटाका बारे छलफल हुने बताउँदै उहाँले चीनका उपप्रधानमन्त्रीको टोलीले गर्ने नेपाल भ्रमण नेपाल र नेपालीको हिता अनुकूल हुने उहाँले दाबी गर्नुभयो । रासस

काँग्रेस सांसदको एक महिनाको तलब बाढीपीडितलाई

काठमाडौँ, २९ साउन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो पार्टीका २०७ सांसदको एक महिना बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले देशभित्र र देशबाहिर रहेका पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई बाढीपीडितको राहतका लागि पार्टीले स्थापना गर्ने राहत कोषमा रकम जम्मा गर्न आग्रह गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सांसदहरुले सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने र अन्य व्यक्तिले पार्टीले स्थापना गरेको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो । बैठकले राहत तथा उद्धारमा जुट्न सरकारलाई आग्रह गर्नुका साथै पार्टी कार्यकर्तालाई पनि बाढी तथा पहिरो पीडितको उद्धारमा खटिन निर्देशन दिएको छ । रासस

सत्ताइस घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । अविरल वर्षापछि ठाउँठाउँमा पहिरो खसेर २७ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज साँझ ५ बजेबाट सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिन क्षेत्र, कालिखोला, चोर खोला, भालुखोला, सेतीदोभान र भोर्लेलगायत क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो । शनिबार अपराह्न २ बजेबाट जारी वर्षासँगै ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । यस्तै पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डमा झरेको पहिरो पन्छाएपछि एकातर्फी सडक सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार दुईतर्फी सञ्चालन गर्न भने साँझसम्म सकिएको छैन । मध्याह्न १२ बजेदेखि एकतर्फी रुपमा यातायात सञ्चालन भए पनि अघिल्लो दिनदेखि रोकिएका सवारीसाधन चार वटासम्म लाइन बनेर बसेकाले आवातजावत गराउन निकै कठिन भएको छ । उहाँका अनुसार पहिरोका कारण बाटो नरोकिएको भए पनि सवारी जामका कारण सो सडकमा समस्या उत्पन्न भएको हो ।

सडक विस्तारमा भत्किने घरको क्षतिपूर्ति बढ्दै, प्रति स्क्वायर फिटको ३ हजार पाइने

काठमाडौं । सडक विस्तारका क्रममा भत्काइने घर तथा भौतिक संरचनाहरुको क्षतिपुर्ति रकम बढ्ने भएकोछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यका भित्र सडक विस्तारका क्रममा भत्काइने घर तथा अन्य भौतिक संरचनाहरु वापत नागरिकलाई दिइदै आएको क्षतिपुर्ति रकम बढाउने प्रक्रिया अघि सारेको हो । प्राधिकरणले आइतबार क्षतिपुर्तिको नयाँ दर सम्बन्धी  प्रस्ताव शहरी विकास मन्त्रालययमा दर्ता गराएको हो ।‘हामीले नयाँ दर रेट निर्धारण सम्बन्धी पत्र मन्त्रालयमा दर्ता गराएका छौं, साउन भित्रै नयाँ दर रेट तय हुन्छ’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले भने । उनले प्रति स्क्वायर फिटको ३ हजार रुपैंयाँ दिने व्यवस्था प्रस्ताव गरेको बताए । हाल प्रति स्क्वायर फिटको २६ सय रुपैंयाँ क्षतिपुर्ति दिने व्यवस्था रहेको छ । ‘अहिले प्रतिवर्ग फुट २६ सय रुपैंयाँ दिने व्यवस्था छ, कन्ट्याक्टर लगाउँदा र रास कट्टी गर्दा १८ सय जति पनि हातमा पर्दैन, त्यसले भत्किएको घर बनाउनै नपुग्ने अवस्था देखेपछि नयाँ दर तोक्न प्रक्रिया सुरु गरेका हौंं’, तिवारीले भने । केहि समय अघि मात्रै काठमाडौं उपत्यकाका तीनै जिल्लाका जन निर्वाचित प्रतिनिधीहरुले सडक विस्तारमा सघाउने प्रतिवद्धता व्यक्त गरेको थिए । तर क्षतिपुर्ति रकम बढाउनुपर्ने उनीहरुको सर्त थियो । ‘जनप्रतिनीधिले सडक विस्तारमा सघाउँछु भनेका छन र क्षतिपुर्ति दर बढाउनुपर्ने माग छ ।’, तिवारीले भने । हालसम्म उपत्यकाका तीन जिल्लामा ३५० किलोमिटर सडक विस्तार सम्पन्न भएको छ । सोमध्ये २६३ किलोमिटर काठमाडौंमा, ५७ किलोमिटर ललितपुरमा र ३० किलोमिटर भक्तपुरमा सम्पन्न भएको हो । काठमाडौंमा १०० किलोमिटर, ललितपुरमा २० किलोमिटर र भक्तपुरमा १० किलोमिटर सडकमा विस्तारका लागि चिनो लगाएर राखिएको पनि उनले बताए । प्राधिकरणले काठमाडौंमा ४०० किलोमिटर, ललितपुरमा १३७ किलोमिटर र भक्तपुरमा १३० किलोमिटर गरि कुल ६३० किलोमिटर सडक विस्तारको योजनामा अनुसार काम गरिरहेको छ । हालसम्म सडक विस्तारकै क्रममा क्षतिपुर्तिका लागि मात्रै २ अर्ब ९४ करोड खर्च भएको तिवारीले जानकारी दिए । सो रकममध्ये ७५ प्रतिशत रकम घरको क्षतिपुर्तिमा लागेको पनि उनले बताए ।

बाढीले विद्युत् प्राधिकरणको दुई अर्ब क्षति

काठमाडौ । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भने, “प्राधिकरणको संरचनामा अर्बौंको क्षति भएको छ । हामी अनुसन्धानकै क्रममा छाै । थप क्षतिको विवरण भने अध्ययनपछि नै थाहा हुनेछ ।” अविरल वर्षाका कारण पूर्वी तथा मध्य तराईको सम्पूर्ण विद्युत् सेवा कटौती हुन पुगेको छ । यस्तै भरतपुर सबस्टेसनअन्तर्गतको सेवासमेत कटौती हुन पुगेको प्राधिकरणले जनाएको छ । दुर्घटना कम होस् भन्नेतर्फ विशेष सावधानी अपनाएर विद्युत् लाइनपूर्ण रुपमा कटौती गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। दुहवी सबस्टेसन पानीमा, दर्जनौ टावर समस्यामा बाढी तथा पानी जम्दा दुहवी सबस्टेसन, दमक सबस्टेसन, अनारमनी सबस्टेसन पूर्ण रुपमा डुबेको छ । सबस्टेसनका सम्पूर्ण उपकरण तथा सञ्चालन प्रणालीसमेत समस्या आएको छ । यही साउन २७ गते बिहानदेखि ती सबस्टेसन पूर्णरुपमा बन्द भएको प्राधिकरणले जानकारी दिएको छ । यस्तै, दमक गोदाक खण्डको १३२ केभी प्रसारण लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं १७ बाढीको कारण ढलेको छ । हेटाँैडा सबस्टेसनअन्तर्गतको हेटौँडा सिमेन्टनजिक रहेको ६६ केभी टावर पल्टिन लागेकाले उक्त औद्योगिक फिडर पूर्ण रुपमा बन्द रहेको छ । नेपाली सेनाको सहयोगमा उक्त टावरको सुरक्षाको उपाय अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । चन्द्रनिगाहापुर पथलैया १३२ केभी, ढल्केबर चपुर १३२ केभी, बालाजु त्रिशूली र रक्सौल परवानीपुर १३२ केभीको भुलहीमा बाढीले दुईवटा टावरको फेदमा समस्या पैदा गरेको छ । तराईका सम्पूर्ण फिडरमा समस्या प्राधिकरणका अनुसार लहान सबस्टेसनअन्तर्गत रुपनी र स्थानीय फिडरबाहेक सम्पूर्ण ३३ केभी तथा ११ केभी बन्द रहेको छ । सो फिडरको ३६ मेगावाट मागमध्ये दुई मेगावाट मात्रै खपत भएको छ । ढल्केबर सबस्टेसनअन्तर्गत जनकपुर फिडरबाहेक सम्पूर्ण फिडर बन्द रहेका कारण एक मेगावाट मात्रै विद्युत् खपत हुन सकेको छ । सो फिडरमा कुल ३५ मेगावाट विद्युत् माग हुने गरेको थियो । चपुर सबस्टेसनअन्तर्गत हरसाहा ३३ केभी तथा स्थानीय फिडर चार्ज भएको छ । गौर, हरिपुर तथा निजगढ ३३ केभी प्रसारण लाइनमा समस्या पैदा भएका कारण ३२ मेगावाट माग हुने स्थानमा १.५ मेगावाट मात्रै खपत भएको छ । हरिपुर र गौर नजिकको फिडरमा एक फिटभन्दा बढी पानी जमेको र पोल बगाएको छ । परवानीपुर सबस्टेसन मातहतको गण्डक र हिमाल फिडरमा समस्या आएको प्राधिकरणले जनाएको छ । सिमरा सबस्टेसनको स्थानीय फिडरमा एक मिटरभन्दा बढी पानी जमेको छ । हेटाँैडा सबस्टेसन मातहतको स्थानीय फिडरमा दुई मेगावाट मात्रै चालु रहेको छ । सो फिडरमा १२ मेगावाट विद्युत् खपत हुने गरेको थियो । भरतपुर सबस्टेसन र पर्सा सबस्टेसनमा पूर्ण रुपमा जलमग्न रहेको, भरतपुरअन्तर्गतको गँैडाकोट फिडरबाट ४० मेगावाट विद्युत् खपत हुने गरेकामा दुई मेगावाट मात्रै सञ्चालनमा रहेको छ । प्राधिकरणका अनुसार शिवपुर सबस्टेसनअन्तर्गत ११ केभी र बहादुरगञ्ज फिडर बन्द रहेको छ । उता कोहलपुर सबस्टेसनअन्तर्गत राझा फिडर बन्द हुन पुगेको छ । सो फिडरमा कुल ४० मेगावाट माग रहेकोमा दुई मेगावाट मात्रै प्रयोग भइरहेको छ । अधिकांश आयोजना ट्रिपिङमा कार्यकारी निर्देशक घिसिङले मुलुकका अधिकांश आयोजना ट्रिपिङमा रहेका छन् । कालीगण्डकी ‘ए’ १४४ मेगावाट क्षमतामा नै चलाउन सकिएको छैन । सो आयोजनाबाट हाल १०० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । आयोजनाको कुल क्षमतामध्ये न्यूनतम ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भइरहेको छ । मध्य–मस्र्याङदी जलविद्युत् आयोजनाले २५ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । सो आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुन्छ । मस्र्याङदी जलविद्युत् आयोजनाबाट ३२ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । बालाजु त्रिशूली ६६ केभी सर्किट ट्रिपिङ भएकाले चिलिमे र त्रिशूली सात÷सात मेगावाट र देवीघाट पाँच मेगावाट मात्र उत्पादन गरिएको छ । गण्डक विद्युत् बाढीका कारणले बन्द अवस्थामा रहेको छ । भारतबाट आउने विद्युत् बन्दप्रायः भारतबाट आयात हुने विद्युत् लगभग पूर्ण अवस्थामा बन्द हुन पुगेको छ । ढल्केबर– मुजफरपुरबाट हाल सात मेगावाटदेखि ३३ मेगावाट मात्रै विद्युत् आयात भइरहेको छ । सो प्रसारण लाइनबाट १४५ मेगावाट विद्युत् आयात हुने गरेको छ । यस्तै, विहार र टनकपुरबाट हुने आयात हुने विद्युत्समेत बन्द भएको छ । ढल्केबरबाट आयात हुने विद्युत् लिए पनि नलिए पनि प्राधिकरणले महसुल भने तिर्नुपर्नेछ । एक दिन विद्युत् आयात रोकिँदा रु एक करोड २० लाखभन्दा बढी प्राधिकरणलाई घाटा हुन्छ । काठमाडौँका केही फिडरमा समेत समस्या पैदा भएको छ । रासस