विकासन्युज

रिलायन्स फाइनान्सले ४५ प्रतिशत हकप्रद निष्काशन गर्ने, चुक्ता पुँजी ७४ करोड नाघ्ने

काठमाडौं । रिलायन्स फाइनान्सले पुँजी वृद्धि गर्नको लागि ४५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बुधबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १० बराबर ४ः५ को अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार फाइनान्सले १०० अंकित दरको २३ लाख ६ हजार ५७१ कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २३ करोड ६ लाख रुपैयाँ बराबरको सेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडद्धारा निष्काशन गर्न लागेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड २५ लाख रुपैयाँ रहेको छ । ४५ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ रहेको छ ।

सरकारले चितवनबाट पर्सासम्म बाटो फराकिलो गर्ने

काठमाडौं । पर्साको थोरीदेखि चितवनको नारायणगढसम्मको बाटो फराकिलो बन्ने भएको छ । सडक विभागले ६८ किलोमिटर लामो सडक खण्डको स्तरोन्नती गर्ने भएको हो । थोरी–भरतपुर सडक खण्ड स्तरोन्नतिका लागि सडक विभागले वातावरण प्रभाव मुल्याङ्कन (ईआइए) प्रतिवेदन तयार पारीसकेको छ । उक्त आयोजना पर्साको अउरियाबाट सुरु भई भरतपुरको हाकिमचोकमा गएर अन्त्य हुनेछ । आयोजनाको मुख्य संरचनाहरुमा आयोजनाको डिजायन स्पीड १०० किलोमीटर प्रति घण्टा, सडकको स्ट्यान्डर्ड फिडर सडक, क्यारीजवेको चौंडाई ५.५ मीटर, साेल्डरको चौंडाई १.५ मी, फर्मेसनको चौंडाई ७.५–१० मीटर हुनेछ । साथै, ३ प्रतिशत भागमा कालापत्रे गर्ने भएको छ । त्यसैगरी, अधिकार क्षेत्र मध्य बिन्दुबाट दुबै तर्फ १५ किलोमीटरका दरले ३० मीटर कायम गरेको छ । यस आयोजनाबाट प्रभाव पर्न सक्ने क्षेत्र साविकको जगतपुर, पतिहानी, भरतपुर महानगरपालीका, साविकको गर्दी, अयोध्यापुरी, कल्याण्पुर, माडी नगरपालिका र साविकको थोरी गाउँपलीका रहेका छन् ।  

उत्तर भारतमा चिनी कारखानाबाट ग्याँस चुहावट, करिब २०० विद्यार्थी विरामी

नयाँ दिल्ली । उत्तर भारतको शाम्ली जिल्लामा एक चिनी कारखानाबाट चुहावट भएको विषाक्त ग्याँसका कारण नजिकैको विद्यालयमा अध्ययन गरिरहेका करिब २०० विद्यार्थी विरामी परेपछि उनीहरूलाई उपचारका लागि भर्ना गरिएको भारतीय प्रहरीले जनाएको छ । विषाक्त ग्याँसका कारण विरामी बनेका विद्यार्थीलाई तत्कालै स्थानीय एक अस्पतालमा लगिएकोमा १७५ जना सामान्य उपचारपछि घर फर्केका छन् भन २५ जनालाई भर्ना गरी थप उपचार भैराखेको छ । विद्यार्थीले ग्याँसबाट भएको प्रदुषणका कारण पेट दुख्ने, वान्ता हुने, आँखा पोल्ने लगायतका समस्या भएको बताएपछि तुरुन्तै अस्पताल लगिएको थियो । उपचाररत दुई जनामा गम्भीर समस्या देखिएपछि उनीहरूलाई शाम्लीबाट पानीपट लगिएको राज्य प्रहरी नियन्त्रण कक्षका एक प्रहरी अधिकारीले बताए । स्थानीय केही समाचार माध्यमले प्रभावित विद्यार्थीको सङ्ख्या करिब ३०० रहेको बताएका छन् । सरकारले घटनाको तत्काल अनुसन्धान शुरु गर्न निर्देशन दिएको छ । रासस/सिन्ह्वा

लक्ष्मी बैंकको दुई नयाँ शाखा ओखलढुङ्गा र पाचँथरमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो दुई नयाँ शाखा ओखलढुङ्गा र पाचँथरको फिदिममा संचालनमा ल्याएकोे छ । संयुक्त राष्ट्र संघ पूँजी विकास कोष(यूएनसीडीएफ) तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित “उन्नति – बित्तमा पहुँच(एटुएफ)” परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पुर्याउने योजना अन्तर्गत यी शाखाहरु सञ्चालन गरिएको हो । यी दुई शाखा सहित बैंकको ७१ वटा शाखा, ३ हस्पिटल सेवा काउन्टर, ९२ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देश भरि विस्तार गर्ने लक्ष्य लिएको छ ।

झलनाथ खनालका छोरा भन्छन्: भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीले फसायो

काठमाडौं । भैरहवा बिमानस्थल नेपालको पर्यटन क्षेत्रको विकासका लागि अपरिहार्य आयोजना हो । हामीले २०७२ साल साउन महिनामा सब कन्ट्राक्टरको जिम्मेवारी लिएका थियौं । त्यो भन्दा पहिले हामीले अर्कै कम्पनी मार्फत निर्माण सामग्री ढुवानी मात्रै गर्दै आएका थियौं । हिमालयन इन्फ्राटेक कम्पनी मार्फतमा हामीले समान दिन्थ्यौं । पछि त्यो कम्पनीले काम नगरेपछि चिनियाँ कम्पनीले नै हामीलाई सब कन्ट्राक्टर अफर गरेको थियो । हामीले उसकै अफर अनुसार नयाँ कम्पनी दर्ता गरेर सब कन्ट्राक्टरको सम्झौतामा हस्ताक्षर गरेका थियौं । हामीसँग सब कन्ट्रयाक्टको २ वटा ठुला फाइल सुरक्षित छन् । तर हामीसँग गरिएको सब कन्ट्राकको सम्झौता नै गैर कानुनी जस्तो देखियो । हामीले निरन्तर काम गर्दै आयौं तर चिनियाँ ठेकेदारले भुक्तानी दिन आनाकानी गर्यो । एक अर्थमा भन्ने हो भने भैरहवा बिमानस्थलमा हामीलाई चिनियाँ कम्पनीले फसायो । भैरहवा बिमानस्थल ६ अर्ब २२ करोडको आयोजना हो । यसमा हालसम्म २६ प्रतिशत भौतिक प्रगति भएको छ तर वित्तिय प्रगति जम्मा १०-१२ प्रतिशत मात्रै भएको छ । भौतिक प्रगति अनुसार वित्तिय प्रगति नहुन नै चिनियाँ ठेकेदारले हामीलाई भुक्तानी नदिएको प्रमाण हो । चिनियाँ कम्पनीले नेपाल सरकारबाट एक अर्ब ५६ करोेड भुक्तानी लिईसकेका छन् । हामीलाई भने जम्मा ७७ करोड मात्रै दिएका छन् । ३२ करोड लिन बाँकी रकममध्ये १५ करोड मात्रै दिने भनेका छन् । हामीले बाँकी १७ करोड पनि मागेका छौं जुन हामीले काम गरे वापतकै रकम हो । त्यो रकम नपाएपछि ९ महिनादेखि हामीले काम गरेका छैनौं । त्यसअघिसम्म बिमानस्थल निर्माणको सबै काम हामीले गरिरहेका छौं । त्यहाँ प्रयोग भैरहेका उपकरण, ढुवानीका साधन, निर्माण सामग्री सबै हाम्रै हुन् । हामीलाई काम गरे अनुसार भुक्तानी नदिने अनि उल्टै हामीले काम गर्न दिएनौं भनेर प्रचार गरिएको छ । काम गरेको पैसा नपाएसम्म काम गर्ने अवस्था छैन् । मासिक ६ प्रतिशतको हाराहारीमा भौतिक प्रगति हुनुपर्ने थियो तर अहिले १ प्रतिशत मात्रै भैरहेको छ । हामीले पुरानो भुक्तानी नपाएसम्म कामको गति बढाउन अवस्था छैन् । हामीले अझै ३२ करोड रुपैंयाँ भुक्तानी पाएका छैनौं । चिनियाँ कम्पनीले जम्मा १५ करोड मात्रै भुक्तानी दिन्छौं भनेर लिखित सम्झौता गरेको छ । तर हामीलाई ३२ करोड नै चाहिन्छ किनकी हामीले अन्य कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ । हाल युवराव संग्रौलालाई भुक्तानी सेटलमेन्टका लागि मध्यस्थकर्ता तोएिको छ । हामी त्यो प्रतिवेदनको पर्खाइमा छौं । हामीलाई नेपाल र चिनको सम्बन्धबारे चिन्ता छ । त्यसैले ठुलो नोक्सानी हुँदा हुँदै पनि हामीले काम गर्न खोजिरहेका छौं । हाम्रै मेसिन हामीले किन कब्जा गर्ने ? वास्तवमा हामी नराम्रोसँग फसेका छौं, हामीलाई चिनियाँ कम्पनीले फसायो । उल्टै दुई देशको सम्बन्ध बिगार्न लागेको आरोप पनि आयो । नागरिक उड्डयन प्राधिकरणलाई जमानी राखेर मात्रै हामीसँग सब कन्ट्राक्ट दिएछ । हामीलाई भवन र रनवे बनाउने पुरै जिम्मेवारी हामीलाई दिएको थियो लिखित रुपमै । मौखिक रुपमा त हामीलाई सबै काम गर्नुस भनेको थियो । अहिले चिनियाँ कम्पनीले पैसा दिन मान्दैन, परियोजनाले हामीलाई चिन्दैन, अनि हामीले काम गर्न नदिएको भन्ने आरोप छ । यस्तो पनि हुन्छ ? (पुर्व प्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक खनाल नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिका सञ्चालक हुन् । उनको यो कम्पनीले भैरहवा विमानस्थलमा सब कन्ट्राक्टरको जिम्मेवारीमा काम गरिरहेको छ )

रिक्त कर्मचारी दरबन्दीको विज्ञापन खुलाउने प्रक्रिया शुरु

काठमाडौं । लोकसेवा आयोगले रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान शुरु गरेको छ । ‘कर्मचारी समायोजन ऐन’ संसद्बाट पारित भएपछि आयोगले सरकारलाई चाहिने कर्मचारीे पदपूर्ति बुधबारबाट शुरु गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । आयोगले पहिलो चरणमा सहसचिव र उपसचिवका लागि दर्खास्त आह्वान गरेको हो । उनका अनुसार आयोगले १९९ सहसचिव र ५५६ उपसचिवका लागि दर्खास्त आह्वान गरेको छ । उपसचिवसमेत रहेका सुवेदीले सहसचिवमा रिक्त रहेका पदमध्ये ८३ खुला र ११६ बढुवामार्फत तथा उपसचिवमा रिक्त रहेका पदमध्ये ३५९ खुला र १९७ बढुवामार्फत पदपूर्तिका लागि दर्खास्त आह्वान गरिएको बताए । सबभन्दा बढी आयोगले प्रशासनतर्फ दर्खास्त आह्वान गरेको छ जस्मा ५९ वटा पद सहसचिवमा र ८९ वटा पद उपसचिवमा रहेको छ । दर्खास्त आह्वान गरिएका विज्ञापनमा आगामी मंसिर मसान्तमा परीक्षा हुने भएको छ । मंसिरको दोस्रो हप्ता परीक्षा हुने भनेता पनि निर्वाचनका कारण मंसिर मसान्तमा पुगेको उपसचिव सुवेदीले बताए । यस्तै अधिकृत तहका लागि पनि आगामी कात्तिक वा मंसिर मसान्तमा विज्ञापन गर्ने तयारी भइरहेको उनले बताए । अहिले आयोगले सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दीको सङ्ख्या उपलब्ध गराउन निर्देशन दिएको छ । रासस

उपत्यकाका ८ हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान, बिल लिएर मात्र यात्रा गर्नुपर्ने

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गरेको छ । विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि गत पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य शुरु गरेको हो । काठमाडौं उपत्यकामा रहेका नौ हजार ७०० ट्याक्सीमध्ये आठ हजार ७०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । विभागले २०७४ साल साउनसम्म उपत्यकाका सबै ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिने गरी काम गरेपनि यसमा भने केही ढिलाई भएको छ । प्रिन्टर मेसिन जडानको सिलसिलामा केही महिना अगाडि ट्याक्सी व्यवसायीसँग पैसा मागेको आरोपमा विभागको ट्याक्सी ट्याम्पो इकाइ प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ समेत गरेको थियो । अहिले दैनिक ५० देखि १०० को हाराहारी ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने काम भइरहेको महानिर्देशक पुडासैनीले बताए । प्रिन्टर मेसिन जडान गर्दा पाँचदेखि आठ हजारसम्म खर्च लाग्ने गरेको छ । विभागले आम ट्याक्सी चालकलाई आफ्नो ट्याक्सीमा प्रिन्टर जडान गर्न तथा सेवाग्राहीलाई बिल लिएर मात्र यात्रा गर्न आग्रह समेत गरेको छ । समयमा ट्याक्सीमा प्रिन्टर मेसिन जडान नगर्ने ट्याक्सी चालकलाई ट्याक्सी चलाउन रोक लगाउने विभागले जनाएको छ । रासस

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानलाई सर्वसम्मतिले पारित

काठमाडौं । व्यवस्थापिका-संसद्को बुधबारको बैठकले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानलाई सर्वसम्मतिले पारित गरेको छ । जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले सो विधानलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए । सो विधानको सैद्धान्तिक छलफलमाथि नेपाल मजदुर किसान पाटीका दिल्ली काफ्ले र प्रेम सुवालले भाग लिँदै विज्ञान र प्रविधिको वर्तमान युगमा नवीरकणीय ऊर्जा आवश्यक भएको बताए । छलफमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानबाट नेपाललाई ज्ञान, सीप ,अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने जानकारी दिएका थिए । यसैगरी, बैठकले “भाषा आयोगको विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । सभामुख ओनसरी घर्तीले बैठकमा सो प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाको अनुपस्थितिमा समितिका सदस्य आनन्दी पन्तले “राजर्षिजनक विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७४” लाई सदनको बैठकमा प्रस्तुत गरेका थिए । उपनियम निलम्बन यसैगरी सदनको बुधबारको बैठकले व्यवस्थापिका-संसद् नियमावली १२७ को उपनियम एकलाई पनि बहुमतले निलम्बन गरेको छ । व्यवस्थापिका-संसद्को बैठकले भाषा आयोग विधेयक, २०७३ लाई यही असोज २७ गतेभित्र पारित गर्न आवश्यक भएकाले सो नियमावलीलाई बैठकले निलम्बन गरेको हो । निलम्बनसम्बन्धी सो प्रस्तावलाई बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक रेखा शर्माले समर्थन गरेका थिए। व्यवस्थापिका–संसद्को अर्को बैठक यही २०७४ असोज २६ गते दिनको १ बजे बस्नेछ । रासस