विकासन्युज

भाइटीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा

काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको राससलाई जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिए। कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ । रासस

सूर्योदय लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने, पुँजी चार करोड ७६ लाख पुग्ने

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि एक प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव राखेको छ । उक्त प्रस्ताव असोज २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी चार करोड रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी चार करोड ७६ लाख रुपैयाँ पुग्ने छ ।

स्वदेशी लघुवित्तले १५ प्रतिशत बोनस पछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर पश्चात सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १५ प्रतिशत बोनस पश्चात कायम हुन आउने चुक्ता पुँजीमा एक बराबर एक(१ः१)को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १० करोड ४९ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १२ करोड ७ लाख रुपैयाँ हुने छ । बोनस पछि कायम भएको पुँजीमा शतप्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी २४ करोड १४ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

छिमेक लघुवित्तको वार्षिक साधारण सभा कात्तिक २४ गते , ४५ प्रतिशत लाभांश दिने

काठमाडौं । छिमेक लघुवित्त विकास बैंकको १६औं वार्षिक साधारण सभा आगामी कात्तिक २४ गते हुने भएको छ । उक्त सभामा कम्पनीले सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । सञ्चालक समितिको ४५ प्रतिशत लाभांश दिने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट भने पारित भइसकेको छ । राष्ट्र बैंकबाट पारित भएको उक्त प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । यस लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५.११ प्रतिशत (बोनस सेयरको कर सहित) नगद लभांश र १९.८९ प्रतिशत बोनस सहित सो मात्राको लाभांश दिने भएको छ ।

६ जिल्लाका भूकम्प पीडितले काठमाडौंमा घर बनाउन पाउने, सात जिल्लाले नपाउने

काठमाडौं । भूकम्पबाट अति प्रभावित ६ जिल्लाका पीडितहरुले सरकारी अनुदानबाटै काठमाडौंमा घर बनाउन पाउने भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको असोज २४ गतेको बैठकले सरकारी अनुदानबाट छिमेकी जिल्लामा घर बनाउन पाउने सुबिधा दिएको हो । यो सुबिधा अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये ७ जिल्लाका पीडितहरुले काठमाडौंमा घर बनाउन पाउनेछन् । सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, भक्तपुर र ललितपुरका भूकम्प पीडितले काठमाडौंमा घर बनाउन पाउनेछन् । गोरखा, रसुवा,  सिन्धुली, दोलखा, काभ्रे, रामेछाप र ओखलढुंगाका भूकम्प पीडितले भने काठमाडौंमा घर बनाउन पाउने छैनन् । ‘सिमाना जोडिएको छिमेकी जिल्लामा सरकारी अनुदान लिएर घर बनाउन पाउने व्यवस्था गरेका हौं, बसाईसराईको संख्या धेरै बढ्ने देखिएपछि छिमेकी जिल्लामा मात्रै घर बनाउन पाउने निर्णय गराएका हौं’, पुननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुषालले विकासन्युजसँग भने । पुरानो घर भएको जिल्ला र नयाँ घर बनाउने जिल्ला बिचको समन्वयका आधारमा सरकारी अनुदान प्रयोग गरेर घर निर्माण प्रक्रिया अघि बढाउन सकिनेछ । ‘कुन बैंकबाट रकम लिने हो र कुन प्राबिधिकले घरको प्राबिधिक जाँच गर्ने हो भन्ने एकिन गर्नुपर्छ, यो दुई जिल्लाबिचको समन्वयले निर्धारण गर्छ’, प्राधिकरणका प्रवक्ता भुषालले भने । उनले बसाई सराईको अत्याधिक चाप हुने देखिएपछि छिमेकी जिल्लामा मात्रै घर सार्न पाउने व्यवस्था गरिएको स्पष्ट पारे । हालसम्म ६ लाख ४० हजार ८ सय ९ परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ भने ६ लाख १ १५ हजार ४ सय ४७ परिवारले पहिलो किस्ता वापतको रकम लिएका छन् । दोश्रो किस्ता लिने भुकम्प पीडितको संख्या ८० हजार ४ सय ४१ पुगेको छ भने ८ हजार ५ सय ६२ परिवारले तेश्रो किस्ताको रकम पनि लिईसकका छन् । हाल १ लाख ४० हजार २ सय ४२ घर निर्माण भैरहेका छन भने ५७ हजार ७८ घर निर्माण सम्पन्न भैसकेका छन् ।  

नेपाल बायु सेवा निगममा १०६ जनालाई जागिर खुल्यो

काठमाडौं । नेपाल बायुसेवा निगमले १०६ जनाका लागि जागिर खुलाएको छ । निगमले आइतबार सार्वजनिक सूचना निकालेर बिभिन्न पदमा १०६ जनाका लागि दरखास्त आव्हान गरेको हो । निगमले असोज २९ गतेदेखि २१ दिनभित्र कार्यालय समयमै निगम केन्द्रिय कार्यालमा आवेदन दिन सकिने जनाएको छ । महिला, खुल्ला, दलित, जनजाति, पिछडिएको क्षेत्र, अपांग लगायतको समावेशी कोटामा जहाज मर्मतदेखि प्रशासन अधिकृतसम्मका लागि दरखास्त आव्हान गरेको हो । प्लस टु र सिटिइभीटीबाट प्राबिधिक बिषय अध्ययन गरेकाहरुले आवेदन दिन सक्नेछन् । लोक सेवा आयोगको सहभागीतामा लिखित परिक्षा लिइनेछ । चौथो र पाँचौं तहमा आवेदन दिनेले ५ सय रुपैंयाँ दस्तुर तिर्नुपर्नेछ भने छैठौं र सातौँ तहमा आवेदन दिने ७ सय रुपैंयाँ दस्तुर तिर्नुपर्नेछ । एक भन्दा बढि समुहमा आवेदन दिँदा चौथो र पाँचौं समुहकाले थप २५० र छैँठौं र सातौँ समुहकाले ३५० रुपैंयाँ दस्तुर तिर्नुपर्नेछ ।  

वेष्टर्न डेभलपमेन्ट र नमस्ते वित्तीय संस्था गाभिए, आइतबारदेखि एकिकृत कारोबार

काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंक र नमस्ते वित्तीय संस्था एकआपमा गाभिएर आइतबारदेखि एकिकृत बैंकिङ कारोबार सुरु गरेका छन् । दुबै संस्था गाभिएर वेष्टर्न डेभलपमेन्टको नाममा बैंकिङ आइतबारदेखि एकिकृत कारोबार सुरु गरेका छन् । गाभिएपछि बैंकको केन्द्रीय कार्यलय दाङको घोराहीमा रहने छ । चुक्तापुँजी बढाउन दुबै संस्था एकआपसमा गाभिएका हुन् ।

नुवाकोटबाट धार्के जोड्ने दुई लेनको ४० किलोमिटर लामो लोकसञ्चार मार्गको निर्माण सुरु

काठमाडौं । नुवाकोटमा ४० किलोमिटर लामो दुई लेनको लोकसञ्चार मार्ग निर्माण सुरु भएको छ । डिभिजन सडक कार्यालय नुवाकोटले निर्माण सुरु गरेको हो । झन्डै डेढ अर्ब रुपैयाँ लाग्ने उक्त सडकको पहिलो खण्डको १० किलोमिटर सडकको शुक्रबारदेखि निर्माण सुरु भएको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डको लागि ५० करोड ८५ लाख रुपैयाँ लाग्ने उल्लेख गरिए पनि सवा २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यलयले जनाएको छ । जिलिङ्गको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने सो सडक तीन खण्डमा निर्माण हुने कार्यलयले जानकारी दिएको छ । सडक कार्यालय नुवाकोटका अनुसार पहिलो खण्ड जिलिङ्गको सिमखेत बालुवाखानीदेखि केउरिनी हुँदै हर्रेसम्म र दोस्रो खण्ड हर्रेदेखि कुमरीको बाह्रबीसेअन्र्तगत कोल्पुखोला पुलसम्म हुनेछ । कोल्पुखोलाको पुलदेखि धार्केसम्मको तेस्रो खण्डको काम भने डिभिजन सडक कार्यालय भरतपुरले गर्नेछ । सरकारको पहिलो प्राथमिकतामा रहेको सडकको जिलिङ पाँचखलेमा आयोजित एक कार्यक्रममा डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले निर्माणको शुभारम्भ गरे । निर्वाचन आचारसंहिता लागू भएको कारण राजनीतिक दलका नेता तथा मन्त्रीहरुलाई नबोलाई सडक कार्यालय आफैंले काम सुभारम्भ गरेको हो । लोकसञ्चार मार्गको पहिलो चरणको सिमखेत–केउरिनी–हर्रे खण्डको ९ किलोमिटर ९ सय मिटर सडक कालोपत्रेमा स्तरोन्नति गर्न स्वच्छन्द/वल्र्डवाईड/अमृत जे.भीले २४ करोड २८ लाख ८४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् । पहिलो खण्डको कालोपत्रेसम्मको काम ठेकेदार कम्पनीले २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि २ वर्षमै सक्ने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयले उक्त सडकको पहिलो खण्डलाई ५० करोड ८५ लाख रुपैयाँको काम बहुवर्षीय ठेक्काबाट गर्न २०७३ साल मंसिर २७ गते सहमति दिएको थियो । ठेक्काको प्रक्रिया लामो भएको कारण गत असार मसान्तमा मात्र ठेकेदार कम्पनीसँग सडकले सम्झौता गरेको थियो । सम्झौता गरे लगत्तै वर्षायाम सुरु भएको कारण असोजमा मात्र सडकको स्तरोन्नति सुरु गरिएको हो । अर्थले दिएको भन्दा आधा रकममा ठेक्का सम्झौता भएको कारण बाँकी पैसाको दोस्रो खण्डको ठेक्का आव्हान सडकले चाँडै नै गर्ने तयारी गरेको छ । यसैगरी दोस्रो चरणमा हर्रे–बाह्रबीसे (कुमारीको कोल्पुखोला पुल) खण्डमा सडक विभागले गरेको डीपीआरको प्रारम्भिक रिपोर्टमा १ अर्ब ५ करोड ६६ लाख २७ हजार रुपैयाँ बजेट लाग्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा केही संशोधन भई रकम थप÷घट हुन सक्ने अनुमान सडक विभागले गरेको छ । उक्त खण्डको डीपीआर सडक विभागले कन्सल्टेन्सी लगाएर गरेको हो । यो सडकको जिलिङदेखि धार्केसम्मकै डीपीआर भने तयार भइसकेको छ । लोकसञ्चार मार्ग रसुवागढी–गल्छी सडकको नुवाकोट जिल्लाको हालको बेलकोटगढी नगरपालिका–८ सिमखेत बालुवाखानीबाट सुरु भएर पुरानो जिलिङ गाविस भवनहुँदै केउरिनी हर्रे, बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोर हुँदै कुमरीबाट निर्माणाधीन बाह्रबिसेको मोटरेवल पुलबाट धादिङको आचार्य पोखरीबाट पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको मिलनबिन्दु नजिक नौबिसेमा पृथ्वीराजमार्गमा जोडिने छ । यो सडक त्रिभुवन राजपथबाट तराईसँग जोडिने हुनाले यसको निर्माण पूरा भएपछि पृथ्वीराजमार्गमा समस्या आए पनि नेपालको तराईबाट सिधैं रसुवागढीसम्म र रसुवागढीबाट सिधै तराईसम्मको व्यापार तथा आवागमनमा सहजता प्रदान गर्ने छ । सोही कारण यो सडकलाई वैकल्पिक राजमार्गको रुपमा हेरिएको छ । सडक निर्माणले नुवाकोट र धादिङका कयौं गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् कार्यक्रममा सञ्चारकर्मी रामप्रसाद पुडासैनीले यातायातको विकास नै सम्पूर्ण विकासको आधार भएकाले सडक निर्माणको काममा सहयोग गर्न सबैसँग अपील गरे ।