स्याङ्जामा १५० टन क्षमताको तरकारी तथा आलुको बिऊको स्टोरेज बन्ने
काठमाडौं । सरकारले स्याङ्जामा तरकारी तथा आलुको बिऊ भण्डारण गर्ने कोल्ड स्टोर पुन निर्माण गर्ने भएको छ । स्टोरमा १५० मेट्रिक टनसम्मको बिऊ भण्डारण गर्न मिल्छ । कृषि मन्त्रालय अन्तर्गतको सिचाईं तथा जल स्रोत व्यवस्थापन परियोजनाले स्याङ्जाको गाल्याङ १५० मेट्रिक टन बिऊ अट्ने स्टोरेज बनाउन सार्वजनिक सूचना जारी गरेको छ । अन्तराष्ट्रिय विकास संघबाट ऋण प्राप्त गरी सरकारले स्टोरेज बनाउने तयारी गरेको हो ।
१० कम्पनीको १ अर्ब २२ करोडको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता
काठमाडौं । आर्थिक वर्ष ०७४/०७५ सुरु भएयता धितोपत्र बोर्डमा १० कम्पनीको बोनस सेयर दर्ता भएको छ ।हालसम्म १ अर्ब २२ करोड ३३ लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ३३ हजार ४३० कित्ता बोनस सेयर दर्ता भएकोे बोर्डले जानकारी दिएको छ । बोर्डमा दर्ता भएका कम्पनीमा सांग्रीला विकास बैंकको ४५ करोड ७३ लाख ९४ हजार, भागर्व विकास बैंकको २ करोड ४० लाख, सेती फाइनान्स लिमिटेडको ५७ लाख १० हजार, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० लाख रुपैयाँ दर्ता भएको छ । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३ करोड २५ लाख र लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २६ करोड ५२ लाख २४ हजार रुपैयाँको बोनस सेयर दर्ता भएको छ । गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ करोड ४० लाख रुपैयाँ बराबरको ४४ लाख र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको १ लाख ६४ हजार कित्ता बोनस सेयर बोर्डमा दर्ता भएको छ । यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ करोड १२ लाख ९ हजार ९ सय र मिसन डेभलपमेन्ट बैंकको ४ करोड २८ लाख ८३ हजार ५ सय रुपैयाँको बोनस सेयर दर्ता भएका छन् । यी मध्ये अधिकाँशको बोनस सेयर नेपाल स्टक एक्चेन्ज लिमिटेडमा कारोबारका लागि सुचिकृत भएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन गत आवको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । अन्य कम्पनीको बोनस सेयर दर्ता हुने क्रममा रहेको छ । गत वर्ष बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा र उत्पादनमुलक क्षेत्रका गरी १६४ कम्पनीको ३४ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ बराबरको ३५ करोड २६ लाख ९८ हजार रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जानकारी दिएको छ ।
च्याम्पियन्स लिगमा रियल मड्रिडको लज्जास्पद पराजय
कठमाडौं । च्याम्पियन्स लिगमा गत सिजनको बिजेता रियल मड्रिडको लज्जास्पद पराजय व्यहोरेको छ । इङिलस क्लाब टोटेनह्यामले रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । रियलले पहिलो हाफमा एक गोल खाएको थियो भने दोश्रो हालमा थप २ गोल गोल खायो । टोटेनह्यामका लागि डेल अलीले २ गोल गरेका हुन् । तेश्रो गोल भने एरिक्सनले हानेका थिए । रियल मड्रिडका लागि सान्त्वना एक गोल भने रोनाल्डोले गरेका थिए । जितसँगै ४ खेलबाट १० अंक जोडेको टोटेनह्याम नकआउट चरणमा पुगेको छ भने रियलको ७ अंक रहेको छ ।
मेगा बैंकसंग टुरिजम डेभलपमेन्ट बैंक गाभिने, दुबैले मंसिर ४ गते बोलाए साधारणसभा
काठमाडौं । मेगा बैंकसंग टुरिजम डेभलपमेन्ट बैंक गाभिने (मर्जर) भएको छ । मर्जरमा जान दुबै बैंकले मंसिर ४ गते साधारणसभा बोलाएका छन् । मेगाले विशेष र टुरिजमले सातौ वार्षिकसभा बोलाएका हुन् । दुबै संस्थाले साधारणसभा बोलाएकाले मर्जरमा जाने लगभग निश्चित भएको छ । मर्जरका लागि दुबै बैंककको चलअचल सम्पत्ति दाइत्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए) अनुसार टुरिजमका १ सय रुपैयाँको सेयर बराबर मेगामा ९५ रुपैयाँ हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम गर्न सभामा प्रस्ताव पेश हुने छ । टुरिजमले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७ करोड १० लाख ७७ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुने छ । दुबै संस्था एकआपसमा गाभिने सम्बन्धमा गत माघ ६ गते सैद्धान्तिक सहमति भएको थियो । मेगाले ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरी चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरणपछि मर्जरविनै बैंककको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ । टुरिजम्को चुक्ता पुँजी ९१ करोड ९७ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको ३ महिनामा मेगा बैंकको खुदनाफा ६ करोड रुपैयाँ भन्दा बढीले घटेको छ । चालु आवको पहिलो त्रैमाशमा बैंकले ८ करोड ११ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता गरेको छ । बिहिबार बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य वृद्धिको निर्णय फिर्ता गरेको निगमका प्रवक्ता बिरेन्द्र गोइतले विकासन्युजलाई जानकारी दिए ।’ बिहान १० बजेबाटै मूल्य वृद्धिको निर्णय फिर्ता भएर पुरानै मूल्य काम गर्ने निर्णय निगम सञ्चालक समितिले गरेको छ’, निगमका प्रवक्ता गोइतले भने । बुधबार साँझ मात्रै निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि मूल्य बढाउने निर्णयबाट निगम पछि हटेको हो । निगमले बुधबार पेट्रोलमा प्रतिलिटर २ रुपैया मूल्य बढाएको थियो । डिजेलमा एक रुपैयाँ ५० पैसा बढाएर प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुर्याएको थियो । त्यस्तै, खाना पकाउने ग्यासको भाउ २५ रुपैंयाँ बढाएर प्रतिसिलिन्डर १ हजार ३५० रुपैयाँ पुर्याएको थियो । निर्वाचनका मुखमा मूल्य वृद्धि जस्तो अलोकप्रिय निर्णय गर्न नहुने भन्दै प्रधानमन्त्री देउवाले निगम सञ्चालक समितिलाई तत्काल मूल्य घटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि नै बिहिबार बिहान बसेको निगम सञ्चालक समितिले मूल्य वृद्धिको निर्णय फिर्ता गरेको हो ।
३ महिनामा एनएमबी बैंकको नाफा १० करोड बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा एनएमबी बैंकले खुदनाफा १० करोड रुपैयाँ बढाएको छ । असोजसम्म बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३५ करोड ३६ लाख रुपैयाँ थियो । बैंकले बिहीबार सार्वजनिक गरेको ३ महिनाको अपरिष्कृत विवरणमा वित्तीय सुचक सकरात्मक रहेको देखाएको छ । समीक्षा अवधिमा बैंकको खराव कर्जा १.६७ प्रतिशत रहेको छ । पुँजीगत लागत दोब्बर बढेर ७.१४ प्रतिशत पुगेको छ । प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात ७७.८४ प्रतिशत रहेको छ । बैंकको आधार दर बढेर १०.२१ प्रतिशत पुुगेको जानकारी दिएको छ । कर्जा निक्षेपबीचको ब्याज दर अन्तर ४.०९ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९४ पैसा छ । ३ महिनामा बैंकको निक्षेप परिचालन २ अर्ब रुपैयाँ घटेर ७१ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ७३ अर्ब २२ करोड रुपैयाँ थियो । कर्जा लगानी बढेर ६२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत असारमा ६१ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचित कोष बढेर ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
बाबुराम भट्टराईको छुद्र आलोचनामा ओर्लिए नारायणकाजी श्रेष्ठ, तीन महिनापछि बामपन्थी सरकार बन्ने दावी
गोरखा । गोरखा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्य उमेद्वार नारायणकाजी श्रेष्ठले गोरखालाई समृद्ध र बिकसित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गोरखाको निर्वाचन क्षेत्र नं. २ को सिरान चौक गाउ“पालिका वडा नं. ७ अर्कूलस्थित मंगलबार प्रदेशसभा निर्वाचन कार्यालयको उद्घाटन गर्दै श्रेष्ठले कुनै विचार र प्रस्ट सिद्धान्त नभएका बाबुराम भट्टराईलाई चुनावमा भोट नहाल्न समेत मतदातालाई आग्रह गरे । भट्टराईको अब कुनैपनि बिकल्प नभएकाले मनि (पैसा ) र मसल (गुण्डा) प्रयोग गर्नसक्ने भएकाले सजग हुन पनि स्थानीय बासिलाई सचेत गराए । “हाम्रो जित सुनिश्चित छ, हाम्रो जित्ने आधार स्पस्ट भएकाले जनताले त्यसको मुल्याङ्गन गर्नेछन् ,जनता मूर्ख छैनन् जनतालाई झुुक्याउनुपर्दैन” उनले भने । श्रेष्ठले अबको तीन महिनामा बाम गठबन्धनको सरकार बनाउने पनि बताए । कहिले कुुन पार्टी त कहिले कुुन पार्टी चाहार्दै हिंड्ने बिचार र सिद्धान्त नभएका बाबुरामले जितिहाले पनि व्यक्ति एक्लैले अव केही गर्न नसक्ने श्रेष्ठ भनाई छ । सोही कार्यक्रममा पूर्व मन्त्री हितराज पाण्डेले बामपन्थीको सरकार आवश्यक रहेकाले समृद्धिकालागि पनि नारायणकाजीलाई जिताउनैपर्ने बताए । सोही कार्यक्रममा नया“ शक्ति तथा नेपाली कांग्रेस छोडेर बामगठबन्धनमा कही युवाहरु प्रवेश गरेका छन् । मंगलबारनै सिरानचौक गाउ“पालिका र अजिरकोट गाउँपालिकाको घरदैलो कार्यक्रममा श्रेष्ठले भारतको पाउ मोल्ने अनि देशलाई समेत बर्वादीतर्फ धकेल्ने बाबुरामलाई भोट नदिन मतदातालाई अनुरोध गरे ।
प्राइम बैंकको नाफा ३४ करोड १७ लाख, ३ महिनामा नाफा १० करोड बढ्यो
काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा बढाउन सफल भएको छ । बैंकले असोजसम्म ३४ करोड १७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैैंकले २५ अर्ब १० करोड रुपैयाँ मात्र नाफा गरेको थियो । बैंकको झण्डै १० करोड रुपैयाँ नाफा बढेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको ३ महिनाको वित्तीय विवरणमा नाफा, निक्षेप परिचालन र कर्जालगानीलगायत अन्य वित्तीय सूचक सन्तोषजनक रहेको देखाएको छ । गत असारको तुलनामा बैंकको खराव कर्जा अनुपात बढेर १.३७ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा ०.७८ प्रतिशत थियो । यस्तै पुँजीगत लागत बढेर ८.२२ प्रतिशत पुगेको छ । गत असारमा ८.१५ प्रतिशत थियो । बैंकको निक्षेप कर्जा अुनपात ७५.७० प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २१ रुपैयाँ ६१ पैसा छ । गत असारमा ईपीएस २३ रुपैयाँ २४ पैसा थियो । समीक्षा अवधिमा बैंकले ६८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असारमा ६५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप थियो । ३ महिनामा बैंकले निक्षेप ३ अर्ब रुपैयाँ बढी परिचालन गरेको छ । यस्तै कर्जा लगानी विस्तार भई ५९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो कर्जा ५७ अर्ब ७१ करोड रुपैयाँ थियो । कर्जा लगानी पनि ३ अर्ब रुपैयाँ हारहारीमा वृद्धि भएको छ । बैंकको संचित कोष बढेर ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ३२ करोड रुपैयाँ छ ।