याङग्री र लार्केका लागि परामर्शदाता छान्ने काम अघि बढ्यो
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले याङग्री र लार्के नदिको पानी काठमाडौं ल्याउने कामका लागि परामर्श दाता छनौट अघि बढाएको छ । आयोजना विकास समितिले ६ वटा कम्पनीलाई परामर्श सेवाका लागि प्रारम्भिक छनौटमा पारेको हो । यी कम्पनीहरुसँग प्राबिधिक र वित्तिय प्रस्ताव माग गरिएको छ । आयोजनाले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरेर पाँच वटा कम्पनीलाई तोकिएको मिति भित्रै वित्तिय र प्राबिधिक प्रस्ताव पेश गर्न भनेको हो । आयोजनाका इञ्जिनियर रमाकान्त दुवाडीका अनुसार अहिले छनौट गरिएको परामर्श दाता कम्पनीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम र दोश्रो चरणमा अघि बढ्ने याङग्री र लार्के नदिको काममा परामर्श सेवा उपलब्ध गराउनेछ । आगामी जनवरीभित्र छनौट हुने एउटा परामर्श दाता कम्पनीले आगामी पाँच बर्षसम्म काम गर्नेछ ।
एनआईबिएल र एस क्यापिटल एक आपसमा गाभिने, चुक्ता पूँजी २७ करोड पुग्ने
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटल लि. बीच एक आपसमा गाभिने (मर्जर) सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार सम्पन्न उक्त सम्झौतामा एनआईबिएल क्यापिटल मार्केट्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटलको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गरेका छन् । नेपाल धितोपत्र बोर्डको निती तथा निर्देशनले समेत एकै मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभ्नु/गाभिनु (मर्जर) पर्ने व्यवस्था गरेकोले एक आपसमा गाभ्ने/गाभिने सम्झौता गरिएको हो । दुई कम्पनी गाभिए (मर्ज) पश्चात कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुग्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । एनआईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटल दुवै संस्थाहरु हाल नेपाल इन्भेष्टमेण्ट बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनीहरु हुन गएका छन् । एस क्यापिटलको मूख्य कम्पनी एस डेभलपमेण्ट बैंकलाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ती गरी नेपाल इन्भेष्टमेण्ट बैंकमा समाहित भएको हुनाले सो मात्राको लगानी रहेको कम्पनीले जनाएको छ ।
युनियन र साझालाई प्राप्ति पश्चात देवद्धारा बिहीबारदेखि एकिकृत कारोबार शुरु
काठमाडौं । देवः विकास बैंकले युनियन फाइनान्स तथा साझा विकास बैंकलाई प्राप्ति गरी बिहीबार(आज)देखि एकिकृत कारोबार शुरु गरेको छ । उक्त “शुभारम्भ कार्यक्रम” को उद्घाटन बिहीबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले गरेका हुन् । यी दुई कम्पनी एक्युजिशन पश्चात् देवः विकास बैंकको चुक्ता पूँजी १ अर्ब ६३ करोड पुग्ने छ । त्यस्तै कार्यक्रममा देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले नपुग पूँजीका लागि चाँडै नै ४० प्रतिशत हकप्रद सेयर जारी गरिने तथा बोनस सेयर वितरण गरिने बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले देवः विकास बैंकले शाखा विस्तार सँगसँगै गुणस्तरिय सेवाको विकासमा समेत जोड दिएर उत्कृष्ट बैंकको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् । यसैगरी, यस अवसरमा कैलालीको धनगढीमा आयोजित “शुभारम्भ कार्यक्रम” को नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, नारायणप्रसाद पौडेलले उद्घाटन गरेका छन् । साे अवसरमा कास्कीको पोखरामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, पोखरा क्षेत्रिय कार्यालयका मुख्य व्यवस्थापक पोमनाथ गौत्तमले उद्घाटन गरेका छन् । युनियन फाइनान्स र साझा विकास बैंकको प्राप्ति पछि देवः विकास बैंकको निक्षेप १२ अर्ब ७८ करोड रुपैयाँ तथा कर्जा ११ अर्ब २८ करोड रुपैयाँ पुगेको देव विकास बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल सम्म बैंकले कुल ४९ वटा शाखा बाट बैंकिङ सेवा दिँदै आइरहेको छ । त्यसैगरी, नेपालगञ्ज, कोहलपुर, वुटवल र विरगञ्जमा थप शाखा विस्तार पछि यस बैंकको व्यवसाय मध्य तराइमा समेत विस्तार हुने बैंकले जनाएको छ ।
१४ दिनमा १११ अंकले किन घट्यो सेयर बजार, यस्ता छन् कारण
काठमाडौं । कात्तिक ५ गते १५७१.९२ अंकबाट ओरालो लागेको नेप्से परिसूचक कात्तिक २३ गते १४६०.७३ अंकमा आइपुगेको छ । यो अवधीमा बजार जम्मा १४ दिन खुलेको छ र १११.१९ अंकले ओरालो घटेको छ । १४ दिनसम्म बजार औषतले ७.९४ अंकले घटेको देखिन्छ । इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको बुझाईमा सेयर बजार ओरालो लाग्नुमा आधा दर्जन जति कारण छन् । रौनियारका अनुसार यतिबेला लगानी कर्ताको मनोबल ह्वात्तै घटेको छ । लगानी कर्ताले यतिबेला बैंकको ब्याजदर घट्ने आस गरेका थिए तर अझै पनि ब्याजदर १२/१३ प्रतिशतमै छ । चर्काे ब्याजदरका कारण लगानी कर्ताले सेयरमा लगानी बढाउने हिम्मत गरिरहेका छैनन् । अर्काे पक्ष भनेको कात्तिक २१ गतेबाट अनलाइन सेयर कारोबार आरम्भ हुने नेप्सेको पुर्व घोषणा २०७५ जेठमा सरेको छ । यसले पनि लगानी कर्तालाई केहि हदसम्म झस्काएको उनी बताउँछन् । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पनि बैंकको ब्याजदर नघट्नु, अनलाईन सेयर कारोबार पछि धकेलिनु र बजारमा सेयरको आपुर्ति बढेकाले सेयर बजार ओरालो लागेको बताए । रेग्मीले बैंक तथा वित्तिय संस्थाहरुको पहिलो त्रैमासिकको वित्तिय विवरणले सकारात्मक संकेत नदेखाएकाले लगानी कर्ता हच्किएको दावी पनि गरे ।‘हाम्रो पुँजी बजार भनेको बैंक तथा वित्तिय संस्थाहरुको ठुलो हिस्साले भरिएको छ, पहिलो त्रैमासिकको रिपोर्टले राम्रो अवस्था नदेखाएपछि लगानी कर्ता हच्किएका हुनसक्छन’, रेग्मीले भने । उता, रौनियारले भने बाम एकताले सेयर बजार तहसनस पार्ने हल्ला फिँजाएर केहि तत्वले बजारलाई प्रभावित पारेको दावी पनि गरे । ‘बाम एकताको डर देखाएर केहि तत्वकाले बजार घटाउने र त्यसबाट फाइदा लिन खोजेको जस्तो पनि देखिन्छ, तर नेपालको पुँजी बजार त बामपन्थी सरकारकै पालामा उच्चतम विन्दुमा पुगेको छ’, रौनियारले भने । नेपाल धितोपत्र बोर्डले भने बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया भएको बताएको छ । ‘बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया नै हो, धितोपत्र बोर्डले हेर्ने भनेको बजार असामान्य तवरले बढेको वा घटेको छ की छैन भन्ने मात्रै होे’, बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले भने । ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने बाम गठबन्धनले सेयर बजार घटाउन कुनै भूमिका नखेलेको बताए ।
एनआईसी एशिया बैंकले एकैसाथ खोल्यो थप ५ नयाँ शाखा, शाखा सङ्ख्या १३५ पुग्यो
काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ थप ५ नयाँ शाखा कार्यालयहरु खोलेको छ । बैंकले बुधबार मात्रै दोलखा स्थित चरिकोट शाखा, कैलाली स्थित पहलमानपुर शाखा, केराबारी स्थित केराबारी शाखा, सिरहा स्थित भगवानपुर शाखा तथा सिरहा स्थित नरहा शाखाको एक कार्यक्रम बीच उद्घाटन गरेको हो । उक्त ५ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३५ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
सेयर बजारमा ४६ करोडको कारोबार, समता माइक्रोफाइनान्सको सेयर मूल्य १०%ले वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा ४६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिन(बुधबार)को तुलनामा एक करोड रुपैयाँ घटी हो । बुधबारको बजारमा ४७ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबारको बजारमा कुल १५४ कम्पनीको १० लाख कित्ता सेयर कारोबार भएको छ । बजारमा सेयर कारोबारका साथ साथै नेप्से परिसूचकमा पनि गिरावट आएको छ । बिहीबारको परिसूचक ५.८९ अंकले घटेर १४६०.७३ अंकमा अडेको छ । घटेको बजारमा पनि समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य करिब १०प्रतिशतले बढेको छ । ९.९८ प्रतिशतले बढेको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५१ रुपैयाँ रहेको छ । जुन रकम बुधबारको तुलनामा प्रतिकिता ५० रुपैयाँ बढी हो । सबैभन्दा बढी रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.६ प्रतिशतले घटेको छ । त्यस्तै, उता बीमा समूहको परिसूचक सबैभन्दा बढी २४ अंकले राताम्मे भएको छ ।
नेपाल बङ्गलादेश बैंकको वार्षिक साधारणसभा मंसिर ३ गते, केके छन् विशेष प्रस्ताव?
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २३औँ वार्षिक साधारणसभा मंसिर ३ गते हुने भएको छ । उक्त सभामा बैंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको ३.७९ प्र्रतिशत नगद लभांश(कर समेत) वितरण गर्ने भएको छ । त्यसैगरी, सभामा ४ वर्षे कार्यकालको लागि कुल ६ जना संचालकको निर्वाचन गर्ने कम्पनीले जनाएको छ । सो प्रयोजनको लागि कात्तिक १३ गतेदेखि मंसिर ३ गतेसम्म बैंकको बुक क्लोज रहने छ ।
भारी सवारी साधनको लाइसेन्स नखुल्दा दक्ष चालक उत्पादन हुन सकेन
काठमाडौं । लामो समयदेखि भारी सवारी साधन (ट्रक, डोजर, लोडर, बस)लगायतको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नखुल्दा दक्ष चालक उत्पादन हुन सकेको छैन । सरकारले चार वर्षदेखि भारी सवारी साधनका लागि सवारी चालक अनुमतिपत्र नखुलाउँदा चालक लाइसेन्स लिनबाट वञ्चित भएका हुन् । भारी सवारी साधनकोे लाइसेन्स लिनका लागि कार, ट्याक्सी, जिपलगायतको लाइसेन्स अनिवार्य लिनुपर्ने व्यवस्था गरे पनि लामो समयदेखि लाइसेन्स नखुलाएपछि चालक समस्यामा परेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बेला बेलामा लाइसेन्स नखुल्दा भारी सवारी साधन चलाउने सवारी चालकको अभाब भएको बताए । उत्पादन भएका चालक रोजगारीका लागि विदेशिएका र लाइसेन्स नखुल्दा चालक अभाव भएको उनको भनाइ थियो । सिटौलाले अहिले मुलुकलाई ३० हजार भारी सवारी चालक आवश्यक परेको बताए। चालक कम हुँदा चालकका लागि विज्ञापन गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् । अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष सोम तामाङ आफूले लामो समयदेखि दक्षताअनुसार लाइसेन्स दिनुपर्छ भन्ने आवाज उठाए पनि सुनुवाइ नभएको गुनासो गरे । “सहचालक भएर सवारी चलाउन योग्य भएका चालकलाई प्रतिस्पर्धाका आधारमा लाइसेन्स दिनुपर्छ”: उनले भने । चालकलाई प्रतिस्पर्धाका आधारमा लाइसेन्स र पूर्वाधार निर्माण गरिदिए चालकलाई अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने व्यवस्था गर्न आफ्नो संघले पहल थाल्ने अध्यक्ष तामाङले स्पष्ट पारेका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डे विगतमा लाइसेन्स लिने प्रक्रिया सहज भए पनि भारी सवारी साधनका लागि केही गाह्रो प्रक्रिया भएको छ भने । “कर्णाली, मेची र धौलागिरिबाहेक सबै अञ्चलबाट हामीले लाइसेन्स वितरण गरिरहेका छौँ, धेरै सवारी साधनको लाइसेन्स छुट्टाछुट्टै मितिमा दिनुपर्ने भएकाले भारी सवारी साधनको लाइसेन्स वितरणमा ढिला भएकै हो”, उनले बताए । विभागले एकपटक लाइसेन्स लिनका लागि आवेदन खुल्ला गर्दा हजारौँको संख्यामा आवेदन आउने र त्यो समयमा सबैलाई लाइसेन्स दिन नपाउँदा लाइसेन्स पाएनौँ भन्नु स्वाभाविक भएको उल्लेख गर्दै प्रवक्ता पाण्डेले भारी सवारी साधनको प्रयोगात्मक परीक्षा दिने ठाउँ पर्याप्त नभएको पनि जानकारी दिएका छन्। दक्ष चालक नभएका कारण दुर्घटना बढेको चर्चा गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, “चालक जति धेरै उत्पादन हुन्छन् त्यति नै धेरै प्रतिस्पर्धाका आधारमा चालक नियुक्त गर्दा दुर्घटना कमी आउँछ ।” यातायात व्यवस्था विभागका अनुसार हाल नेपालमा २७ लाख ८३ हजार ४२८ र काठमाडौं उपत्यकामा १० लाख ४२ हजार ८५६ सवारी साधन छन् । रासस