काठमाडौं २ मा माधव नेपाल ९३०१ मतले अगाडी
माधव कुमार नेपालसँग प्रदेश सभाका उम्मेदवारद्धय सानुकुमार श्रेष्ठ र मणिराम फुँयाल काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा बामपन्थी गठबन्धनका साझा उम्मेदवार नेकपा(एमाले)का बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ९३०१ मतले अगाडी देखिएका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रका वडा अध्यक्षहरुले पाएको मतका आधारमा नेपाल ठुलो मत अन्तरमा अघि देखिएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा काठमाडौं महानगरपालिकाको ९ र ३२ नम्बर वडा, कागेश्वरी मनहरा नगरपालिकाको ४ देखि ९ नम्बरसम्मका वडा र शंखरापुर नगरपालिकाका ९ वटै वडाहरु समेटिएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा एमाले एक्लैको मत १९१९६ रहेको छ । यहाँ काँग्रेसको मत १५६२७ रहेको छ । यो निर्वाचन क्षेत्रमा काँग्रेस भन्दा एमाले एक्लैको मत ३५६९ बढि छ । यसमा माओवादीको कुल मत ५७३२ जोड्दा २४९२८ पुग्छ । यो मत काँग्रेसको भन्दा ९३०१ मतले बढि हो । महानगरपालिकाका २ वडामध्ये ९ नम्बरमा एमाले उम्मेदवारले २५१७ मत पाएर विजयी भएका छन भने ३२ नम्बरमा ५८७९ मत पाएर एमाले उम्मेदवार नै विजयी बनेका छन् । महानगरका २ वडामा एमालेको मत ८३९६ रहेको छ । ९ नम्बर वडामा काँग्रेसको मत २१२५ र ३२ मा ४०१९ गरि ६१७५ मत रहेको छ । महानगरमा माओवादीको मत ९ नम्बरमा ५८५ र ३२ मा ७६३ गरि १३४८ मत रहेको छ । महानगरपालिका २ वटा वडामा एमाले र माओवादीको मत जोड्दा ९७४४ पुग्छ । कागेश्वर मनहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ सम्म यहि निर्वाचन क्षेत्रमा पर्छन् र यहाँ एमालेले मेयर र उपमेय दुबै जितेको छ । यी ६ वडामध्ये ४ वटा वडा जितेको एमालेको मत ६१४१ छ भने २ वडा जितेको काँग्रेसको मत ५८५९ छ । यहाँ माओवादीले १६४४ मत पाएको देखिन्छ । एमाले र माओवादीको मत जोड्दा ७७८५ मत पुग्छ । उता शंखरापुर नगरपालिकामा पनि मेयर र उपमेयर दुबै पद एमालेले नै जितेको छ । शंखरापुरका ९ मध्ये पाँच वडा जितेर एमालेले ४६५९ मत ल्याएको छ । यहाँ काँग्रेसको मत ३५९३ छ भने माओवादीको मत २७४० रहेको छ । शंखरापुरमा एमाले र माओवादी मिल्दा ७३९९ मत पुग्छ । यो मत काँग्रेसको भन्दा ३८०६ ले बढि हुनआउँछ ।
शुक्रबार मात्रै चार कम्पनीको सेयर मूल्य समायोजन, क-कसको भयो?
काठमाडौं । शुक्रबार मात्रै विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आरएसडीसी लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, देवः विकास बैंक र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । नेप्सेले आरएसडीसीकाे समायोजन पश्चात यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १ हजार २९२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १ हजार १९ रुपैयाँ रहेको थियो । त्यस्तै, नेप्सेले लक्ष्मी लघुवित्तको १० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन गराएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १ हजार २२७ रुपैयाँ रहेको छ भने जसको आधार मूल्य प्रतिकित्ता १ हजार २४५ रुपैयाँ रहेको थियो । त्यसैगरी, देवः विकास बैंकको पनि १७.१ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०२ रुपैयाँ रहेको छ । साथै, एनएमबी माइक्रोफाइनान्सको २० प्रतिशत बोनस सेयरपछिको सेयर मुल्य समायोज गरेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सो मात्राको बोनस पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८७६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १ हजार ४५६ रुपैयाँ रहेको छ ।
माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको कहिलेदेखि बुक क्लोज ?
काठमाडौं । माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको बुक क्लोज हुँदै छ । यी दुबै बैंकले आ-आफ्नो साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोज गर्न लागेका हुन् । माछापुच्छ्रे बैंकको आगामी मंसिर १ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज हुँदै छ । यस बैंक आगामी मंसिर १५ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त साभामा बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश( ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लभांश) दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ । त्यस्तै, लक्ष्मी बैंकको पनि मंसिर ११ गतेदेखि मंसिर २८ गतेसम्म बुक क्लोज हुन लागेको छ । यस बैंक मंसिर २८ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । यस बैंकले पनि साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट सेयर पुँजीको १० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने छ । असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ७ अर्ब ४७ करोड रूपैयाँ छ । बोनस सेयर थप गर्दा पुँजी ८ अर्ब २२ रूपैयाँ हुनेछ ।
झापा क्षेत्र नं १ मा कडा प्रतिस्पर्धा
भद्रपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेन्द्रकुमार कार्की र काँग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका हुन्। अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा दुबै उम्मेदवारले जनताका घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।पाँच निर्वाचन क्षेत्र रहेको झापामा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रले एक र नेकपा एमालेले तीनवटा क्षेत्रमा उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकको वडा नं ४,५,६ र ७ तथा भद्रपुर नगरपालिकाको वडा नं ९ र १० रहेको निर्वाचन क्षेत्र नं १ मा एक लाख पाँच हजार ४७५ मतदाता रहेका छन् तीमध्ये ५२ हजार ८४६ महिला छन् । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सात जना र प्रदेशसभा सदस्यका लागि ‘क’ र ‘ख’ मा आठ÷आठ गरी १६ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सभामा नेपाली काँग्रेसबाट ‘क’ मा केशव पाण्डे र ‘ख’ मा अशोक पोखरेलले उम्मेदवारी दिएका छन् भने वाम गठबन्धनबाट ‘क’ मा नेकपा एमालेका श्रीप्रसाद मैनाली र ‘ख’ मा नेकपा एमालेकै गोपालचन्द्र बुढाथोकीले उम्मेदवारी दिएका छन् । अहिले उनीहरु जनतासँग मत मागिरहेका छन् । खुल्ला सीमाका कारण भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट हुने जनधनको क्षति प्रमुख समस्याका रुपमा रहेको यो क्षेत्रमा आम मतदाताले स्वास्थ्य, सडकबाटो, बिजुली, सिँचाइ, शिक्षा, रोजगारजस्ता समस्या समाधान गर्न उम्मेदवारहरुलाई आग्रह गर्ने गरेका छन् । शान्ति सुरक्षा कायम भई मानिसले अमनचयन तरिकाले आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने जस्ता माग पनि उनीहरुले अगाडि सारेका छन् । यस क्षेत्रमा अहिले वाम गठबन्धन बलियो देखिए पनि वाम गठबन्धनका उम्मेदवार गैरझापाली र नेपाली काँग्रेसका उम्मेदवार स्थानीय भएकोले निर्वाचन परिणाम फरक ढंगले आउनसक्ने काँकरभिट्टाका विजय सुवेदीले बताए । रासस
बेवास्तामा विशाखापट्टनम बन्दरगाह, कतिञ्जेल धान्ला कलकत्ताले ?
काठमाडौं । अघिल्लो वर्ष तेस्रो मुलुकबाट सामान आयात गर्नकालागि नेपालले विषाखापट्टनम बन्दरगाह प्रयोग गर्ने सम्झौता गरेको थियो । तर सम्झौता भएको डेढ वर्षपुग्दा पनि आयातकर्ताले यसको उपयोग गर्न सकेका छैनन् । बढ्दो आयातको चापका कारण नेपालका लागि सामान लोड गरी आएका ७१० कन्टेनर कलकत्ता बन्दरगाहमा अलपत्र परेका छन् । तेस्रो मुलुकसँगको कारोबारका लागि भारतले उपलब्ध गराएको दुई विकल्पमध्ये विषाखापट्टनम बन्दरगाह उपयोगमा नआउँदा कलकत्तामा चाप बढेको हो । गत वर्ष सबै कानुनी तथा प्रक्रियागत कार्य पूरा भई जुनको पहिलो सातादेखि नेपालले औपचारिक रूपमा प्रयोग गरेको विशाखापट्टनम बन्दरगाहमा यतिबेला नेपालको त्यति धेरै कारोबार छैन । यो बन्दरगाहको उपयोग नहुँदा कलकत्ता बन्दरगाहमा चाप बढी हुने गरेको वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताए । व्यवसायीले दुई बन्दरगाहलाई प्रतिस्पर्धा गराएर फाइदा लिन नसकेको उनले बताए । कलकत्ताको एकाधिकारका कारण सेवामा ढिलाइ हुने गरेको उनले बताए । उनले भने, ‘कलकत्ताबाट भन्दा विशाखापट्टनबाट सामान ल्याउँदा धेरै फाइदा छ । तर आयातकर्ताले अझै यो बन्दरगाहको उपयोग गर्न सकेका छैनन् । आयातकर्ताले विशाखापट्टनमबाट सामान ल्याउने हो भने यो समस्या आउँदैन ।’ कलकत्ता बन्दरगाहभन्दा धेरै कारणले यो बन्दरगाह नेपालका लागि फाइदाजनक छ । रेल र सडक मार्ग कलकत्ताभन्दा दोब्बर भए पनि समग्रमा यो आधुनिक प्रविधिमा आधारित पेपरलेस बन्दरगाह नेपालका लागि धेरै उपयोगी रहेको अधिकारीहरू बताउँछन् । तर सडक मार्ग भने निकै लामो भएकाले प्रयोग गर्ने कार्य त्यति सहज छैन । रेल र सडक मार्ग कलकत्ताभन्दा दोब्बर भएकाले विशाखापट्टनबाट कारोबार अगाडी बढ्न नसकेको नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालले बताए । टाढा भएकाले नै आयातकर्ताले विशाखापटनमको उपयोग गर्न नसकेको उनले बताए । कोलकातादेखि वीरगन्ज नाकासम्मको दूरी ७५२ किलोमिटर छ भने विशाखापट्टनमदेखि वीरगन्जसम्म १४ सय ७१ किलोमिटर दूरी पर्छ । सिपिङ कम्पनीको पनि विशाखापटनप्रतिको आकर्षण कम देखिएको अग्रवालले बताए । उनले भने, ‘अहिले सम्म कलकत्ताबाहेक सिपिङ कम्पनीको विशाखापटनममा त्यति ठुलो आकर्षण छैन । त्यसैले यो बन्दरगाहबाट धेरै ठुलो मात्रामा सामानहरु आउन सकेको छैन ।’ अपर्याप्त रेलवे र्याक वाणिज्य मन्त्रालयका सचिव घिमिरेले दशैंयता यो बन्दरगाहमा थुप्रै मालवाहक कन्टेनर अड्किएको बताए । रेलवे र्या कको अभावका कारण पनि कन्टेनरहरु अड्किएको उनले जानकारी दिए । मन्त्रालयले उक्त कन्टेनर ल्याउनका लागि कन्सुलर कार्यालय तथा नेपाल-भारत महावाणिज्य दूतावास मार्फत अपरेटरलाई समस्याको समाधान गराउन प्रयास भइरहेको उनले बताए । ‘म पहिला कलकत्ता बन्दरगाह मै काम गरेर आएको हु,’ उनले भने, ‘हरेक वर्ष यो समयमा यस्तो समस्या आउनेगर्छ । २०० वटा भन्दा बढी कन्टेर बढ्नेबित्तिकै त्यहाँ समस्या आउनेगर्छ । धेरै कन्टेनर हुँदा त्यसलाई ओसारपसार गर्न र्यााकको मात्रा बढाउनुपर्ने देखिन्छ ।’ दशैं, तिहारमा आयातकर्ताले धेरै सामान आयात गर्ने भएकाले बन्दरगाहमा चाप बढ्ने गरेको छ । घिमिरेका अनुसार दसैंमा कन्टेनरको संख्या १४ सय सम्म पुगेको थियो । दोस्रो अपरेटर कोलकत्ताबाट सामान वीरगञ्जसम्म ल्याइदिने कम्पनीमा रहेको एकाधिकारका कारण पनि आयातमा समस्या देखिएको सचिव घिमिरेले बताए । रेल्वे र्या क भारतीय रेल्वेको भगिनी कम्पनी कोंकरको हो । नेपाल-भारत रेलवे सम्झौता अनुसार कोलकत्ताबाट सामान ल्याइदिने जिम्मा कोंकरलाई मात्र दिइएको छ । उनले भने, ‘सम्झौता अनुसार कलकत्ताबाट वीरगञ्ज ल्याउने एउटामात्र अपरेटर कोंकर हो । हामीले कोंकरसँगै अर्को विकल्प खोज्नुपर्ने भइसक्यो । एउटा मात्रै कम्पनीले सामान ल्याउने हुँदा यस्तो समस्या आएको हो । र्याकको अभाव भएकाले अरु अपेरटरलाई पनि जिम्मा दिइयो भने यस्तो समस्या देखिदैन होला ।’
मेलम्चीको सुरुङ फिनिसिङ गर्न १० वटा ट्रान्जिट मिक्स्चर ल्याइँदै, दैनिक २०० मिटर तयार हुने
काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङ गर्न १० वटा आधुनिक ट्रान्जिट मिक्स्चर मेसिन ल्याइने भएको छ । आयोजनाका इञ्जिनियर रमाकान्त दुवाडीका अनुसार आगामी एक हप्ताभित्रै १० वटा आधुनिक ट्रान्जिट मिक्स्चर नेपाल आइपुग्नेछन् । ती मेसिनहरुले दैनिक २०० मिटर सुरुङमा इन्भर्ट लाइनिङ गर्नेछन् । इञ्जिनियरिङ भाषामा सुरुङ फिनिसङको कामलाई इन्भर्ट लाइनिङ भनिन्छ । मेलम्चीको अझै १२०० मिटर सुरुङ खन्न बाँकी छ । यस अघि नै सुन्दरीजलदेखि सिन्धुसम्मको ९.५ किलोमिटर सुरुङ ब्रेक थ्रु भैसकेको छ भने अम्बाथानदेखि हेडवक्र्ससम्मको २ किलोमिटर पनि ब्रेक थ्रु भैसकेको छ । हालसम्म जम्मा २ किलोमिटर सुरुङमा मात्रै फिनिसिङको काम सकिएको छ । सुरुङ फिनिसिङको बाँकी कामलाई तिब्रगतिमा अघि बढाउन ट्राञ्जिट मिक्स्चर ल्याउन लागिएको हो । ‘सुरुङको काम धमाधम अघि बढिरहेको छ, सुरुङ ब्रेक थ्रु सकिए लगत्तै फिनिसिङको काम धमाधम अघि बढाउनुपर्छ, त्यसैका लागि मिक्स्चर ल्याएका हौं’, मेलम्ची खानेपानी विकास समितिका इञ्जिनियर दुवाडीले विकासन्युजसँग भने । मेलम्चीले दोश्रो चरणमा अघि बढाउन लागेको याङग्री र लार्के नदिको कामका लागि परामर्श दाता छनौट प्रक्रिाय पनि अघि बढाईसकेको छ । आयोजनाले ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर प्राबिधिक तथा वित्तिय प्रस्ताव मागेको छ । सुन्दरीजलमा निर्माण भएको पानी प्रसोधन केन्द्रको गुणस्तर तथा प्राबिधिक परिक्षण पनि सम्पनन्न भैसकेको छ । त्यस्तै राजधानीका सडकमा बिछ्याइएका पाइपहरुको हाइड्रोलिक टेष्टको काम पनि सम्पन्न भैसकेको छ ।
मोवाईल एपबाट घरमा रेमिट्यान्स पठाउन सकिने, सिटी एक्सप्रेसको रेमिट सेवा कोरियामा विस्तार
काठमाडौं । जापानको प्रतिष्ठित रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान र कोरियन कम्पनीको संयुक्त लगानीमा स्थापित कम्पनी जीमनी ट्रान्सले मंसिर १ गतेदेखि आफ्नो सेवा शुरु गर्ने भएका छन् । दक्षिण कोरिया सरकारले यही जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुल्ला गरेको थियो । रेमिट्यान्स सेवा सञ्चालनको अनुमतिको लागि थुप्रै कम्पनीहरुले आवेदन दिएकोमा अनुमति प्राप्त गर्ने केही सीमित कम्पनी मध्य जीमनी ट्रान्स एक हो । हाललाई कम्पनीको आन्सान शाखाबाट सेवा सञ्चालन गर्न लागेको जीमनी ट्रान्सले केही दिन मै मोबाइल एपबाट पनि सेवा शुरु गर्नेछ । हाल विद्यमान रेमिट्यान्स कम्पनीको अनलाइन सेवा लिन सेवाग्राही कम्तिमा एक पटक शाखा जानु पर्ने झन्झटिलो प्रक्रिया सहज होस् भन्ने अभिप्रायका साथ जीमनीले आफ्नो मोबाईल एप सेवा पूर्ण अनलाइन रजिष्टर गर्न मिल्नेखालको ल्याउन लागेको हो । जीमनीको मोबाईल एप शुरु भैसकेपछि सेवाग्राही कहि नगई स्वयम आफैले घरमै बसेर दर्ता गर्न सक्ने सिटी एक्स्प्रेस मनी ट्रान्सफरले जनाएको छ । कोरियाबाट पठाएको १० मिनेट मै नेपालमा रहेका आफन्तजनहरुले नेपाल अधिराज्यभरका सिटी एक्सप्रेस मनी ट्रान्सफरका ५००० भन्दा धेरै भुक्तानी केन्द्रहरु बाट पैसा पाउन सक्नेछन् । साथै नेपालमा कुनै पनि बैंक खातामा पनि सजिलै रकम जम्मा गर्न मिल्नेछ । न्mयलभथको सेवा उपयोग गर्दा तोकिएको रकम पठाउने न्यूनतम शुल्क बाहेक कुनै पनि अतिरिक्त शुल्क लाग्ने छैन । सरल , सुरक्षित , छिटो ,छरितो र सहज सेवाका साथ सञ्चालनमा आउन लागेको जिमनीको सेवा शुरु भैसकेपछि कोरिया र नेपालमा रेमिट्यान्सको नयाँ आयाम थपिनुका साथै हुण्डी कारोवार पनि उल्लेखित मात्रामा घट्ने अपेक्षा गरिएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिका, जापान, यूएई ,भारत, साउदी अरब, कतार, मलेसिया, बेलायत लगायत नेपालीहरु कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
मध्यभोटेकोशी जलविद्युतको ३ अर्बको आईपीओ आउँदै, निष्कासनका लागि साधारणसभामा प्रस्ताव जादै
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक सेयरधनीका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, आयोजना प्रभावित सिन्धुपाल्चोक, सर्वसारण र मध्यभोटेकोसीको कर्मचारीलाई २ अर्ब ९४ करोड रुपैयाँ बराबरको २ करोड ९४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आईपीओ निष्कासनका लागि आउँदो मंसिर १८ गते छैठौ वार्षिक साधारणसभा बोलाएको छ । सभामा सर्वसाधारणलाई छुट्टाईएको ४९ प्रतिशत बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासनको प्रक्रिया थाल्ने कम्पनीले जनाएको छ । प्रथम चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल जारी पूँजीको १९.५ प्रतिशतले हुन आउने १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको ३.५ प्रतिशतले हुन आउने २१ करोड बराबरको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको १ प्रतिशतले हुन आउने ६ करोड बराबरको ६ लाख कित्ता सेयर निष्कासन हुने छ । यस्तै दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि कुल जारी पूँजीको १० प्रतिशतले हुन आउने ६० करोड बराबरको ६० लाख कित्ता तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीका लागि कूल जारी पूँजीको १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड., एस क्यापिटल लिमिटेड, सिबीआईएल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले संयुक्त रुपमा निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेबार पाएका छन् । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो ३ वर्षमा सम्पन्न हुने छ । नेपाल विद्युत प्राधिकरण, चिलिमे हाइड्रोपावर लिमिटेड र सर्वसाधारणको लगानीमा निर्माण सुरु भएको आयोजना आउदो सन् २०१९ को जुन ३० मा सम्पन्न हुने गरी नयाँ कार्यतालिका तयार भएको हो । ठेकेदार चीनको क्वाँङ सी हाइड्रो इलेक्ट्रिक कन्ट्रक्सन व्युरोले गत मार्चबाट पुनः निर्माण सुरु गरेको हो ।सुरुङको कुल लम्बाई ७ किलोमिटर बढी छ । ९ अर्ब रुपैयाँ अनुमानित लागतमा सुरु भएको आयोजनाको काम जुरेपहिरो, भूकम्प र सीमा नाकावन्दीले गर्दा ढिलाइ भएपछि लागत बढेर १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । ३४ मेगावाट क्षमताका ३ वटा युनिटबाट वार्षिक ५४ करोड २२ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाको कुल हेड २३५ मिटर छ ।