विकासन्युज

गाईपालन व्यवसायबाट मनग्य आम्दानी

 कपिलवस्तु । नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ बोडगाउँका किसान खुमानन्द पौडेलले पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका हुन् । तेह्र वटा गाईबाट व्यवसाय शुरु गरेका पौडेलले पाँच कट्ठा जमिन भित्र गाईपालनका लागि गोठ बनाएका छन् । उनले तीन बिगाहा जमिन भाडामा लिएर पशुपालन व्यवसायका लागि घाँसखेती, धानखेतीसमेत गर्दै आउनुभएको छ ।७ लाखबाट व्यवसाय शुरु गरेका पौडेलले अहिलेसम्म गाईपालनमा १५ लाख रूपैयाँ बराबरको लगानी गरिसकेका छन् । विसं २०७० देखि आफ्नै जग्गामा व्यावसायिक गाईपालनतर्फ लागेका पौडेलको फार्ममा होलस्टिन र जर्सी जातका २१ वटा गाई र दुई वटा भैँसीसमेत छन् । दैनिक १०० देखि १२५ लिटर दूध बेचेर उहाँले मासिक १ लाख २५ हजार रूपैयाँसम्म आम्दानी गरछन्। गाईपालन मेहनतको पेशा भएकाले घरपरिवारको सहयोगमा मिलेर काम गर्ने गरेको छु भन्दै उनले यसबाट बालबच्चाको शिक्षा, घरपरिवारको दैनिक खर्च कटाएर मासिक रु ५० हजार जति आम्दानी हुने गरेको जानकारी दिए । पौडेलले भने, “स्थानीय दुग्ध सहकारीमा दूध बिक्री गरेर राम्रो आम्दानी गर्दै आएको हुँ ।” सरकारले किसानलाई अनुदान दिने विषयमा ढिलासुस्ती गर्दा किसान मारमा परेको उनको गुनासो छ । भारतमा ३० वर्षसम्म रोजगारी गरेर नेपाल आएका पौडेलले अनुभवका आधारमा गाईपालन व्यवसाय शुरु गरेका हुन् । नेपालमा पशुपालन कृषकलाई दाना, मल, बिजुली बत्ती, पानीमा अनुदान दिनुपर्ने मागसमेत उनकाे छ । “कृषि प्रधान देश भनेर भन्ने गरे पनि कृषि पेशाप्रति राज्य उदासीन छ, उनले भने , यो पाराले देशमा कृषि क्रान्ति हुँदैन ।” विगत केही वर्षयता जिल्लामा व्यावसायिक गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको छ । यातायातको सुविधा गाउँगाउँसम्म पुगेपछि गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको हो । स्थानीयस्तरमा दुग्ध सहकारी संस्था सञ्चालनमा आएपछि झनै किसानलाई राहत मिलेको छ । जिल्लामा १०० भन्दा बढी गाईपालन फार्म दर्ता भएको जिल्ला पशु विकास अधिकृत अब्दुल सलामले बताउनुभयो । जिल्लाको उत्तरी क्षेत्र वाणगंगा र बुद्धभूमि नगरपालिकामा सबैभन्दा बढी व्यावसायिकरुपमा गाईपालन गरिँदै आएको अधिकृत सलामको भनाइ छ । कपिलवस्तुबाट वार्षिक २१ हजार मेट्रिक टन दूध उत्पादन हुँदै आएको पशु विकास कार्यालयले जनाएको छ । यहाँको दूध बुटवल, भैरहवा हुँदै चितवनसम्म पुग्ने गरेको छ । जिल्लाको दक्षिणी भेगमा व्यावसायिकरूपमा भैँसीपालन गर्ने किसानको संख्या बढे पनि उत्तरी क्षेत्रमा व्यावसायिक गाईपालन हुने गरेको कार्यालयले जनाएको छ । “गाईपालन गरेका कृषकलाई कार्यालयले बेलाबेलामा अनुदान दिँदै आएको छ उहाँले भने, त्यसले गर्दा किसानलाई उच्च मनोबल मिलेको छ ।” –––

‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रजातन्त्र रहने कि साम्यवाद ल्याउने भन्नेबीच भएको बताएका छन्। विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भने “प्रजातन्त्रलाई संगठित रुपमा सिध्याई साम्यवाद स्थापना गर्न एमाले र माओवादी एक भएर लागेका छन्, यसका विरुद्ध जनताले निर्वाचनमा प्रजातन्त्र पक्षमा मत दिई फैसला दिनुपर्छ ।” काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय निकायको निर्वाचनमा जनताले कम्युनिष्ट दललाई पहिलो स्थानमा पुयाए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसलाई पहिलो स्थान दिन जनतासित आग्रह गरे । “कम्युनिष्ट शासन आएमा खुलेर बोल्न, निर्धक्क लेख्न पाइन्न, बहुदलीय प्रतिष्पर्धा त कता हो कता, मानवअधिकार भन्ने केही रहन्न ”, उहाँले भने । प्रधानमन्त्री देउवाले आफ्नो पार्टी जहानियाँ राणा शासन, पञ्चायत तथा निरंकुश तत्कालीन राजा ज्ञानेन्द्रका विरुद्धमा अग्रमोर्चामा लडेको र अब पनि प्रजातन्त्रविरुद्ध देखा पर्नेका विरुद्ध लड्ने बताए । प्रधानमन्त्री देउवाले निर्वाचनमा आफ्नो पार्टीले पहिलो स्थान प्राप्त गरेमा प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिको यात्रामा देश अगाडि बढ्ने छ भने । उहाँले प्रजातन्त्र स्थापना गर्न सिंहले देखाउनुभएको त्याग, समर्पण र निष्ठालाई सबैले अनुसरण गर्नुपर्छ भने। कार्यक्रममा काँग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंह अवसरवादी राजनीतिभन्दा सिद्धान्तको राजनीतिमा अडिग र निष्ठावान् व्यक्तित्व भएको स्मरण गर्दै उनले नेपाली जनतालाई रैतीबाट सार्वभौम बनाउन जीवनभर लडिरहेकाे बताए । सर्वाेच्च कमाण्डरका सुपुत्र सिंहले विसं २०४६ को ऐतिहासिक जनआन्दोलन गणेशमानको नेतृत्वमा भएको र कम्युनिष्टलाई बहुदलीय प्रतिष्पर्धाको राजनीतिमा ल्याउन उच्च उदारता देखाएको बताए । फाउण्डेशनका अध्यक्ष एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाली राजनीतिमा गणेशमान लौह पुरुषका रुपमा रहिरहने बताउँदै प्रजातन्त्रका लागि उनको योगदान, त्याग र निष्ठाको स्मरण गरे । आफ्नो सक्रिय राजनीतिक जीवनको छ दशकमध्ये गणेशमानले १५ वर्ष कारागार र १५ वर्ष निर्वासनमा बिताउनुपरेको थियो । विसं १९९७ मा उहाँ राणाशासनका विरुद्ध सक्रिय राजनीतिमा उत्रिएका िथए ।  रासस

५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने

काठमाडौँ  । नेकपा(माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने बताएका छन् ।  सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको उनले जानकारी दिए । गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पुयाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गरे । हालसम्म अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभएकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालन गर्ने योजना नेकपा(माओवादी केन्द्र) ले राखेको जानकारी दिए । त्यस्तै जिल्लामा चार वटा शीतभण्डार स्थापना गरी तरकारी तथा फलफूल भण्डारण गरेर बेमौसमा बजारमा पठाइने व्यवस्था मिलाइने जनाइएको छ । रासस

बाहिरी चक्रपथ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु

काठमाडौँ । बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किलोमिटर लामो चक्रपथ निर्माणको काम अघि बढेको छ । चक्रपथ निर्माणको पहिलो चरणमा चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गर्न जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान शहरी विकास मन्त्री दिलनाथ गिरीले यसै साता निर्णय गरेका हुन्  । मन्त्रिपरिषद्ले निर्णय गरेपछि जग्गा प्राप्ति ऐनअनुसार जग्गा विकासको काम शुरु हुन्छ । लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माण गर्न सरकारले चालु आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले गतवर्ष चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न ठोस निर्णय गरेको थियो । जग्गा विकासका लागि त्यस क्षेत्रका जग्गाधनीको असहमति भए ३५ दिनभित्र उजुरी दर्ता गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो । यसमा ९६ जनाले उजुरी दर्ता गरेका थिए । आयोजना रोकिन कम्तीमा पनि चार हजार असहमतिका उजुरी पर्नुपर्नेमा ९६ वटा मात्र उजुरी परेपछि काम शुरु भएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी िदए । “चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी क्षेत्रमा अनुमानित सात हजार व्यक्तिको जग्गा छ, यसको ५१ प्रतिशतले असहमति जनाएका भए बाहिरी चक्रपथको काम रोकिन्थ्यो, धेरैको सहमति भएकाले बाहिरी चक्रपथको काम शुरु भएको हो”–उहाँले भने । बाहिरी चक्रपथको सडक ५० मिटरको हुनेछ । राजमार्ग जस्तै केन्द्रबाट दुवैतिर २५/२५ मिटर जग्गा लिएर चक्रपथ बनाइने प्राधिकरणले जनाएको छ । सडकका लागि प्राधिकरणले जग्गा अधिग्रहण गर्दैन । नमिलेको जग्गालाई योजनाबद्ध रुपमा विकास गरी समुदायलाई हस्तान्तरण गर्छ । जग्गा विकास गरिदिएबापत जग्गाधनीले बाहिरी चक्रपथ र जग्गा विकास गरिने ३.५ वर्ग किमी क्षेत्रमा छ, आठ र ११ मिटरका अन्य तीन सहायक सडक निर्माणका लागि आवश्यक जग्गाको योगदान गनुपर्ने उनले बताए । “असहमति जनाएका ९६ जना जग्गाधनीमध्ये पनि अधिकांशले बाहिरी चक्रपथ निर्माण हुनुहुँदैन भन्ने नभई आयोजना छिटो सम्पन्न होस् र २० प्रतिशत भन्दा कम जग्गा काटियोस् भनी माग गर्नेको संख्या धेरै छ, पूर्ण रुपमा असहमति राख्नेको संख्या कम छ” – प्रवक्ता न्यौपानेले भने। बाहिरी चक्रपथ निर्माण प्रक्रियामा पाँचवर्ष अघि कीर्तिपुर नगरपालिकाका स्थानीयवासीले चर्को विरोध गरेका थिए । यसपटक कीर्तिपुरका मानिसले बाहिरी चक्रपथ निर्माणका लागि सकारात्मक सहयोग गरेको प्राधिकरणले जनाएको छ । यसबीचमा विसं २०७२ वैशाख १२ गते आएको भूकम्पले स्थानीयवासीको मन परिवर्तन भएको प्राधिकरणको बुझाइ छ । प्राधिकरणले जनचेतना जगाएकाले पनि स्थानीयवासी सकारात्मक बनेका हुन् । सूचनामा सकारात्मक प्रतिक्रिया आएपछि छिटो गरी बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी निर्माण कार्यअघि बढ्ने भएको छ । बाहिरी चक्रपथको यो खण्डमा त्रिभुवन, पृथ्वी, काठमाडौँ–तराई दु्रतमार्ग र काठमाडौँ–केरुङ मार्गसमेत जोडिने छ । यसअघि बाहिरी चक्रपथ निर्माणका लागि गरिएका प्रयासमा यही खण्डमा विवाद आएकाले काम रोकिएको थियो । यही खण्ड निर्माणको सुनिश्चितता भएपछि बाहिरी चक्रपथ बन्ने पक्का भएको हो । रासस

शिखर शुज क्रेजिमेलाको म्याद दुई दिन थप, कात्तिक २८ गते सम्म हुने

काठमाडौं । शिखर शुजले भृकुटीमण्डपमा जारी गरेको शुज क्रेजिमेलाको म्याद दुई दिन थप भएको छ । २० दिनसम्म चल्ने भनिएको उक्त मेला अब कात्तिक २८ गते सम्म हुने भएकोे छ । कात्तिक ६ गतेदेखि शुरु भएको उक्त मेलामा मेलामा शिखर शुजले हरेक जुत्ता चप्पलको खदिमा १० देखि ७० प्रतिशत सम्मको छुट दिँदै आएको छ । जाडोयामको जुत्ता, छालाको जुत्ता र स्कुलका जुत्ता किन्न गा्रहक वर्गको दिनहुँ घुँइचो लागि रहेको कुरा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिएका छन् । ग्राहकहरुको आग्रहलाई ध्यानमा राखी यो मेला थप २ दिनसम्म लम्बाइएको उनले बताए । उक्त मेलामा हरेक शिखर जुत्ताका खरिदमा १० देखि ७० प्रतिशत सम्मको छुट पाउनुको साथ ५०० रुपैयाँमा छालाको, कपडाको जुत्ता छानी छानी पाइनेछ । कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको एवम जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । यस उद्योगमा अहिले ७ सयभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ । कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चापदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

झापामा अर्बौको विकास कार्यक्रम पारेको नेता सिटौलाको दावी

झापा । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले शान्ति र संविधानको जिम्मेवारी लिएर दोश्रो संविधान सभा निर्वाचनमा विजय प्राप्त गरेपछिका चार बर्षमा क्षेत्र नं ३ मा १ अर्व बढीका विकास योजना ल्याएको दावी गरेका छन् । शुक्रवार भद्रपुरमा पत्रकारहरुसित अन्तर्क्रिया गर्दै नेता सिटौलाले पहिलो संविधान सभाले संविधान जारी गर्न नसक्दा शान्ति प्रकृया पनि अलपत्र परेपछि दोस्रो संविधान सभा निर्वाचनमा जनतासित परिवर्तनलाई संस्थागत गर्ने प्रतिबद्धता गरेर गएको बताए । उहाँले २०६२र०६३ को लोकतान्त्रिक गणतन्त्रको परिवर्तन रोक्न सुरज विश्वास र राजन गिरीलाई गोली हान्नेहरु परिवर्तकामी झापाली जनताका प्रतिनिधि बन्न अयोग्य भएको बताए । उनले संघीयता र लोकतान्त्रिक गणतन्त्र अस्वीकार गरिरहेको राप्रपालाई एमाले र माओवादीले उम्मेद्वार बनाएकोमा आफू अचम्मित भएको बताउँदै दुवै पार्टीले २०४६ सालको जनआन्दोलनका पहिलो सहिद राम थापाको बलिदानलाई अवमूल्यन गरेको बताए । सिटौलाले आफू परिवर्तनको लडाँईमा अविचलित भएर निरन्तर लागेको स्पष्ट पार्दै शान्ति र सम्बृद्धिको सपना पूरा गर्न नेपाली कांग्रेसको विजय अपरिहार्य रहेको बताए । उनले अलपत्र हुलाकी सडक र मेची अञ्चल अस्पतालको स्तरीकरण आफ्नै कार्यकालमा भएको उल्लेख गरे । सिटौलाले खानेपानी, ग्रामीण सडक, सामुदायिक भवन, विद्यालय भवन जस्ता भौतिक संरचनाका काम तीव्र गतिमा भइरहेको बताएका छन् । नेता सिटौलाले प्रदेश नम्वर १ को सरकारी मेडिकल कलेजका रुपमा मेची अस्पताल विकसित हुने प्रकृयामा गइसकेको उल्लेख गर्दै मेची नदी नियन्त्रण र देउनिया खोला पूल निर्माण अगाडि बढिरहेको उल्लेख गरेका छन् । झापाको सदरमुकाम समेत रहेको झापा क्षेत्र नम्वर ३ नेपालको राजनीतिक परिवर्तनको उद्गम भएको उल्लेख गदैै सिटौलाले अग्रगमनका पक्षधर झापाली जनता राजनीतिक परिवर्तनलाई उल्ट्याउनेहरुको पक्षमा जान नसक्ने बताए । उनले सबै मतदातासंग नेपाली काँग्रेसलाई मतदान गर्न अनुरोध गरेका छन् । झापाको क्षेत्र नं ३ मा एमाले र माओवादीको गठवन्धनले उम्मेद्वार उठाएको छैन् । यसैगरी नेता सिटौलाले शुक्रबारै भद्रपुरमा संचारकर्मी, शिक्षक, उद्योपति, विभन्न धर्मका गुरुहरु, वौद्धिक वर्गसित छलफल गरेका छन्।

चिनियाँ टोलीको निष्कर्षः नेपालमा रेलमार्ग निर्माण गर्न सकिन्छ, केरुङ-काठमाडौं प्राथमिकतामा

काठमाडौं । चिनियाँ उपमन्त्री नेतृत्वको उच्चस्तरिय प्रतिनिधीमण्डलले नेपालमा रेलमार्ग निर्माणको सम्भावना रहेको निष्कर्ष निकालेको छ । नेपालमा रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न आएको उपमन्त्री नेतृत्वको टोलीले नेपालमा रेल मार्ग निर्माणको सम्भावना रहेको निष्कर्ष निकालेको हो । टोलीले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीसँग मिटिंग माइन्युटमा हस्ताक्षर गर्दै रेल मार्ग निर्माणका लागि द्धिदेशिय सहकार्य गर्ने बताएको हो । ‘नेपालको भुबनोट, प्रशासनिक तथा कानुनी उल्झन र राजनीतिक कारणले केहि जटिलता भएपनि रेलमार्ग बनाउन सकिन्छ भन्ने निष्कर्ष चिनियाँ टोलीले निकालेको छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने । चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणबारे अध्यययन गरेको थियो । अध्ययन टोलीमा रेल चिनियाँ रेलवे प्रशासनका प्राबिधि, वित्तिय व्यवस्थापक लगायतको सहभागीता रहेको थियो । चीनले नेपालमा रेलमार्ग निर्माणमा आफ्नो सहयोग रहने तर प्रशासनिकत जटिलता र नितिगत अस्पष्टता भने समयमै अन्त्य हुनुपर्ने बताएको छ । चिनले पहिलो चरणमा केरुङ हुँदै रसुवागढीबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणमा चासो देखाएको छ । रेल मार्ग निर्माणका लागि चिन संसारमै अब्बल मानिन्छ । चिनले उच्च पहाड र हिमाली भुखण्डमा पनि द्रुतगतिको रेलमार्गहरु निर्माण गरिरहेको छ । आफ्नो महत्वकांक्षी परियोजना ओबिओआरको विस्तारका क्रममा चिनले नेपाल हुँदै आफ्नो रेलमार्ग भारत र दक्षिण एसियासम्म विस्तार गर्न चाहेको छ ।

दुई कम्पनीको १३ करोडको बोनस सेयर सूचिकृत, क-कसको भयो?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एकैदिन दुई बीमा कम्पनीको १३ करोड ६४ लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर सूचिकृत भएको छ । बिहीबार मात्र नेपाल इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सो मात्राको बोनस सेयर सूचिकृत भएको हो । बोर्डमा नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत(एक लाख ४३ हजार ८०४ कित्ता) बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको २५ प्रतिशत(अर्थात १२ लाख २० हजार ०४० कित्ता) बोनस सेयर सूचिकृत भएको हो । बोर्डमा यी दुई कम्पनीको गरी जम्मा १३ लाख ६४ हजार २०४ कित्ता बोनस सेयर थपिएको छ । यी दुई कम्पनी सहित धितोपत्र बोर्डमा हालसम्म १२ कम्पनीको एक अर्ब ३५ करोड ९७ लाख ६३ हजार ४८५ रुपैयाँ बराबरको बोनस सेयर सूचिकृत भएको छ ।