विकासन्युज

संचय कोषको प्रशासकमा ६ जनाको आवेदन

काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासकका लागि ६ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयलले गठन गरेको शिफारिश समितिले आवेदन बुझाउने अन्तिम मिति गत बिहीबार तोकिएको थियो । अन्तिम दिनसम्म प्रशासनकका लागि आवेदन दिनेमा कोषका कामु प्रशासक दीपक रौनियार, राजेन्द्र काफ्ले, जितेन्द्र धिताल, जीवनकुमार कटुवाल, लक्ष्मीप्रसाल श्रेष्ठ र सिआर पन्तले आवेदन दिएका छन् । रौनियारले जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरिसकेका छन् ।

के बाम गठबन्धनसँग डराएकै हो त सेयर बजार ?

काठमाडौं । ‘वामपन्थी गठबन्धनको सरकारलाई देखाएर केहि व्यक्ति तथा समूह सेयर बजार घटाउन लागिपरेका छन् । वास्तवमा बामपन्थी गठबन्धनबाट सेयर बजारलाई कुनै जोखिम छैन’, यो भनाई हो इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको । रौनियारकै भनाईलाई आधार मान्ने हो भने सेयर बजारमा निर्वाचनपछि यदी बामपन्थी गठवन्धनको सरकार बने उसले अख्तियार गर्ने आर्थिक नीतिको त्रास देखिन्छ । तर उनी आफैं भनिरहेका छन् की बामपन्थी गठबन्धनको सरकारबाट सेयर बजारमा कुनै प्रकारको जोखिम छैन । किनकी अहिले बाम गठबन्धनमा सामेल दलले यसअघि पनि सेयर बजार प्रतिकुल कुनै नीति लिएका थिएनन् । र, फेरी पनि त्यस्तो सम्भावना छैन् । बामपन्थीहरुले आफ्नो साझा घोषणा पत्रमा स्पष्ट भाषामा लेखेका छनः ‘निजी क्षेत्रलाई अर्थतन्त्रको राष्ट्रिय अर्थतन्त्रको महत्वपुर्ण अंगका रुपमा सामेल गरि प्रोत्साहन गरिनेछ । लगानीमैत्री वातावरण, अनुकुल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिनेछ । सार्वजनिक–नीजी साझेदारीलाई महत्वका साथ अवलम्बन गरिनेछ ।’ घोषणा पत्रमै स्पष्ट भाषामा लेखिएको र विगतका सबै बामपन्थी सरकारले खुल्ला बजार अर्थतन्त्रमा अंकुश नलगाएको इतिहासले पनि सेयर बजार घट्नुमा बामपन्थी गठबन्धन दोषी नगरेहेको ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीको भनाई छ । ‘बामपन्थी सरकार भएकै बेलामा नेप्से परिसूचकले उच्च विन्दु कायम गरेको रेकर्ड छ, भरतमोहन अधिकारीदेखि बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, बर्षमान पुन, बिष्णु पौडेल र कृष्ण बहादुर महराले अर्थमन्त्रालय सम्हाल्दा पुँजी बजारको विकासलाई उच्च महत्व दिएका थिए’, रेग्मीले भने । भरतमोहन अधिकारीले अर्थ मन्त्रालय सम्हाल्दा प्रमुख आर्थिक सल्लाहकार रहेका अर्थशास्त्री केशब आचार्यले पनि बाम गठबन्धनलाई देखाएर सेयर बजार ओरालो लाग्यो भन्नु हास्यास्पद तर्कको संज्ञा दिए । ‘बामपन्थी दलहरुले लोकतन्त्र प्रतिको आफ्नो प्रतिवद्धता जाहेर गरिरहेका छन, राष्ट्रिय पुँजीको विकास गर्ने भनिरहेका छन, यस्तो अवस्थामा पुँजी बजारका लगानीकर्ताले डराउनुपर्ने कुनै कारण छैन’, अर्थशास्त्री आचार्यले भने । काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओली पनि लोकतान्त्रिक मूल्य मान्यता प्रतिको आफुहरुको प्रतिवद्धतामाथी प्रश्न नगर्न आग्रह गरेका थिए । कति घट्यो बजार ? कात्तिक ५ गते १५७१.९२ अंकबाट ओरालो लागेको नेप्से परिसूचक कात्तिक २३ गते १४६०.७३ अंकमा आइपुगेको छ । यो अवधीमा बजार जम्मा १५ दिन खुलेको छ र १११.१९ अंकले ओरालो घटेको छ । १५ दिनसम्म बजार औषतले ७.४१ अंकले घटेको देखिन्छ ।  

तनहुँ जलविद्युतलाई १०४ मेगावाटको अर्ध जलशाययुक्त आयोजनाको लाइसेन्स

काठमाडौं । सरकारले तनहुँ हाइड्रोपावर लिमिटेडलाई १०४ मेगावाट क्षमताको तल्लोसेती जलविद्युत आयोजनाको लाइसेन्स दिएको छ । १४० मेगावाटको तनहुँ जलशाययुक्त आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावरले अर्को अर्धजलशाययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको छ । कम्पनीलाई आयोजनाको लाइसेन्स दिइएको विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । ‘ऊर्जा मन्त्रालयको कात्तिक २ गतेको निर्णयबाट आयोजनाको सर्वे लाइसेन्स कम्पनीलाई दिने निर्णय भएको छ’,सिंहले भने,‘लाइसेन्सको अवधि दुई वर्षको रहने छ ।’ गत वर्षको चैतमा तनहुँ जलविद्युतको स्थलगत निरीक्षणमा गएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको तल्लो तटमा पर्ने अर्को आयोजनाको लाइसेन्स लिने प्रक्रिया अगाडि बढाउन कम्पनीका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेलाई निर्देशन दिएका थिए । निर्देशन अनुसार कम्पनीले लाइसेन्सका लागि विभागमा दरखास्त हालेको थियो । सरकारको आरक्षण सूचिमा (बास्केट) रहेकाले कम्पनीले आयोजनाको लाइसेन्स लिन दुई वर्षको एक मुष्ट एक करोड ८० रुपैया दस्तुर बुझाएको विभागले जनाएको छ । तनहुँ जलविद्युत आयोजनाको जलशायमा सञ्चित भएको पानीलाई हिउँदमा विद्युत उत्पादन प्रयोग गरिने हुँदा तल्लो सेती आयोजना हिँउदको विद्युत व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको छ । तनहुँ जलविद्युत आयोजनाको सञ्चित पानीको फाइदा तल्लो सेतीले समेत पाउने देखिन्छ । तल्लो सेती (तनहुँ) जलविद्युत आयोजनाको बाँध अहिले निर्माण भइरहेको तनहुँ जलविद्युत आयोजनाको विद्युत गृहबाट करिब २० किलोमिटर तल्लो तटमा पर्ने केशरटारमा पर्छ । जुन स्थान त्रिशुली र सेती नदीको दोभानभन्दा करिव १९ किलोमिटर माथिल्लो तटमा र चितवको नारायणघाटबाट करिव ३३ किलोमिटरमा पर्छ । आयोजनाबाट वार्षिक करिव ४४ करोड युनिट ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाको अनुमानित लागत करिव २२ करोड अमेरिकी डलर छ ।

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड रुपैंयाँ लगानी गर्ने भएको छ । नेपाल पुर्वाधार विकास कम्पनी र चाइना रेल वे कम्पनीबिच भएको सम्झौता अनुसार कुल लागतको ८० प्रतिशत सेयर लगानी गर्ने भएको हो । चाइना रेल वे कै प्राबिधिकहरुकै संलग्नतामा डिपिआर पुनरावलोकनका क्रममा सुरुङ मार्गको लागत ४८ अर्ब पुग्ने देखिएको थियो । चाइना रेल वे कम्पनीले कुल लागतको ८० प्रतिशत सेयर लगानी गर्ने सम्झौतामा करिब ६ महिना अघि नै हस्ताक्षर गरिसकेको छ । केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीमा संलग्न चाइना रेलवे कम्पनीको टोलीले शनिबार सुरुङ मार्गमा लगानी गर्नेबारे छलफल गरेको थियो । ‘रेलमार्ग निर्माणबारे अध्ययन गर्न आएको चिनियाँ टोलीमा संलग्न चाइना रेलवे कम्पनीको टोलीले सुरुङ मार्ग निर्माणबारे थप छलफल गरेको छ, रेलमार्ग भन्दा पहिले नै सुरुङमार्ग निर्माण सम्पन्न गर्ने सहमति भएको छ, अब काम अघि बढाउँछौं’, नेपाल पुर्वाधार विकास कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरीले विकासन्युजसँग भने । चाइना रेलवे कम्पनीका प्राबिधिकहरुको टोलीले सुरुङमार्गको डिपिआर, वातावरणिय प्रभाव मुल्यांकन रिपोर्ट, अनुमानित लागत सबैको एक महिना लगाएर गहिरो अध्ययन गरेको थियो । २ पटक स्थलगत अध्ययन गरेर चिनियाँ टोलीले सबै प्रतिवेदन चिन लगेको छ र चाइना निर्यात आयात(एक्जिम) बैंकसँग ऋणका लागि प्रस्ताव पेश गरिसकेको छ । ‘चाइना एक्जिम बैंकसँग ऋणका लागि आवेदन दिईसकेको जानकारी पाएका छौं, चाइना रेलवे कम्पनीले ८० प्रतिशत सेयर लगानी गर्छ, नेपालीको तर्फबाट २० प्रतिशत लगानी पुर्वाधार विकास कम्पनीले गर्छ’, ठकुरीले भने । उनका अनुसार चिनियाँ प्राबिधिकको सल्लाहपछि सुरुङ मार्गको एलाइनमेन्ट केहि ठाउँमा परिवर्तन गरिएको छ । त्यस्तै सुरुङ मार्गको लम्बाई नबढ्ने गरि केहि स्थान पनि बदलिएको छ । चाइना रेलवे कम्पनीका प्रतिनिधीसँग छलफल गर्दै नेपाल पुर्वाधार विकास कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरी लगायत ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, भिमफेदी गाउँपालिका हुँदै हेटौडाँ उप महानगरपालिकामा जोडिने काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गको लम्बाई ५७.३७५ किलोमिटरको हुनेछ । ५० मिटरको राइट अफ वे हुने यो सडक ४ लेनको हुनेछ । २६ वटा पुल, ४ किलोमिटरको सुरुङ रहने सडकले १०८ हेक्टर वन र ९० हेक्टर निजी जमिन तथा बागमति किनारका ७ वटा दाहसंस्कार स्थल प्रभावित हुनेछ । नेपाल पुर्वाधार विकास कम्पनी २०६८ भदौं २० गते स्थापना भएको थियो । कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी छन् । २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता (पिपिए) गरि अनुसन्धान कार्यारम्भ गरेको थियो । कम्पनीले २०६९ माघ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर औपचारिकता पाएको थियो । कम्पनीले २०७० जेठ १ गते नेपाल सरकारबाट सुरुङ मार्ग निर्माणको अन्तिम स्विकृति पायो । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ऐन अन्तर्गत सरकारले पूर्वाधार विकास कम्पनीलाई यो परियोजना सुम्पेको हो । कम्पनीले निर्माण पश्चात ३० वर्षसम्म सञ्चालन गरेर सुरुङ मार्गको स्वामित्व सरकारलाई फिर्ता गर्नु पर्ने सम्झौतामा छ । २०७० कात्तिक २५ गते सुरुङमार्गको शिलान्यास भएको थियो । सुरुङ मार्गले ५८ किलोमिटरको हुने डिपिआर रिपोर्टम उल्लेख छ । विभिन्न तीन स्थानमा करिब ४.५ किलोमिटर सुरुङ निर्माण गरिनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको आईपीओ नआउने

काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर (आईपीओ) नआउने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) मा सरकारी बैंकले सेयर निष्कासन गर्नलाई वाध्यकारी व्यवस्था नगरेपछि तत्काललाई आईपीओ नआउने भएको हो । सरकारी बैंकले आईपीओ जारी गर्नुपर्ने वाध्यत्मक अवस्था नभएकाले निष्कासन नगर्ने बैंकका डेपुटी सीईओ भुपेन्द्र पाण्डेले बताए । “३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्छ भन्ने थियो”उनले भने “बाफियाको नयाँ संसोधनले सरकारी बैंकले सेयर जारी गर्नु नपर्ने भन्ने व्यवस्था गरेको छ । त्यसकारण अब बाणिज्य बैंकको सेयर कहिले आउँछ भन्ने कुरा सरकारी निर्णयमा भरपर्छ ।” बैंकको एनआइडिसी डेभलपमेन्ट बैंकलाई गाभ्ने काम गरिरहेको उनले बताए । “यतिबेला हामी बैंकको इमेज बनाउन लागिपरेका छौं” उनले भने पहिलो प्राथमिकता भनेको आईपीओ भन्दा पनि बैंकलाई अझ मजवुत बनाउने हो ।” तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराका पालामा आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढेको थियो । वाणिज्य व्यवस्थापनले आईपीओ निष्कासन मापदण्डलगायत अन्य कामका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर अर्थले हालसम्म यसको कुनै निर्णय गरेको छैन् । एनआईडीसी गाभ्ने (मर्जर) सम्बन्धमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ । आउदो माघ १ गते देखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५० करोड रुपैयाँ मात्र नाफा गरेको थियो ।

सेयर किन्न आवेदन दिएको रकम फिर्ता गर्ने जनता बैंकको निर्णय, रकम फिर्ताको सूचना आउदै

काठमाडौं । जनता बैंकको साधारण सेयर खरिद गर्न आवेदन दिने लगानीकर्ताको पैसा फिर्ता हुने भएको छ । जनता बैंकको सञ्चालक समिति बैठकले आवेदन दिने सबैको पैसा फिर्ता दिने निर्णय गरेको हो । बैंकले शुक्रबार नै फिर्ता गर्ने निर्णय गरेको अध्यक्ष केशवबहादुर रायमाझीले बताए । “आज वा भोली पैसा फिर्ताको सुचना आउदै छ” उनले भने । लगानीकर्ताको पैसा धेरै दिन राख्न नमिल्ने भएकाले फिर्ता दिने निर्णय गरिएको उनको भनाई छ । उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेबाट जफत जनता बैंकको साधारण सेयर लिलामी नगर्ने आदेश दिएपछि बैंकले फिर्ता दिन लागेको हो । बैंकले गुरु न्यौपानेबाट जफत गरिएको ८५ हजार १ कित्ता साधारण सेयर लिलामीका लागि खुला गरेकोमा अन्तिम दिन मंगलबारसम्म ७ सय जनाको आवेदन परेको थियो । गुरु न्यौपानेले सेयर जफतको विरुद्धमा रिट हालेपछि उच्च अदालत पाटनले तत्कालका लागि सेयर लिलामी रोक्न मंगलबार प्रारम्भीक आदेश दिएको छ । काठमाडौं क्यापिटलले अर्को सुचना प्रकाशित नभएसम्मका लागि सेयर लिलामी रोकिएको जानकारी गराइसकेको छ । बैंकको सञ्चालक भएका बेला गुरु न्यौपाने संस्थागत सुशासन उल्लंघन गरेर श्रीमति सावित्रादेवी न्यौपाने नाममा ठुलो परिमाणमा भित्री रुपमा सेयर किनेको (इन्साइडर ट्रेडिङ) गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले गुरुकी श्रीमति सावित्रीदेवीको नाममा रहेको ८५ हजार १ कित्ता सेयर जफत गर्न निर्देशन दिएको थियो । प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्य रहेको सेयर बिक्री गर्दा हालको बजार मूल्यअनुसार २ करोड १९ लाख रुपैयाँ हुन्छ ।

महालक्ष्मी विकास बैंकको सीईओमा कृष्णराज लामिछाने नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णराज लामिछाने नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले आउदो चार बर्षका लागि उनलाई सीईओ नियुक्त गरेकाे हाे । विकासन्युजसंग कुरा गर्दै सीईओ लामिछानेले आइतबारदेखि नै कार्यभार सम्हाल्ने बताए । व्यवस्थापनमा स्नातकोत्तर अध्ययन पूरा गरेका लामिछाने कानुन विषयमा पनि स्नातक छन् । उनी विकास बैंक संघका पूर्वअध्यक्ष समेत हुन् । रमेशकुमार भट्टराईले सीईओकाे पद छाडेपछि लामिछाने नियुक्त भएका हुन् । बैंकिङ क्षेत्रमा लामो समय बिताएका लामिछाने कैलाश विकास बैंकमा दुई कार्यकाल सीईओ भइसकेका छन् । उनकाे नेतृत्वमा कैलाश विकास बैंक विकास बैंक मध्ये उत्कृष्ट बैंक भएकाे थियाे । हाल महालक्ष्मी विकास बैंक चुक्ता पुँजी, निक्षेप, कर्जा, शाखा संख्या लगायतका सूचकांङ्कका अाधारमा सबैभन्दा अगाडि छ । नयाँ सीर्इअाेकाे नेतृत्वमा बैंकले थप उचार्इ हासिल गर्ने विश्वास बैंकले लिएकाे छ ।

गुरु न्यौपानेको राष्ट्र बैंकमा बयान- सावित्रादेवी न्यौपाने मेरी श्रीमती हैनन र म उनलाई चिन्दिन

काठमाडौं । गुरुप्रसाद न्यौपानेले जनता बैंकको सञ्चालक हुदा अवैधरुपमा किनेको साधारण सेयरलाई वैधता दिन सावित्रादेवी न्यौपाने आफनो श्रीमती नभएको र उनलाई आफूले नचिन्ने बयान दिएको खुलासा भएको छ । जनता बैंकको सञ्चालक हुदा भित्रभित्रै श्रीमती सावित्राको नाममा सेयर किनेको उजुरी परेपछि नेपाल राष्ट्र बैंकले स्पष्टिकरण माग गर्दा उनले सावित्रा श्रीमती नभएको र आफूले उनलाई नचिनेको जानकारी गराएका थिए । संस्थापक सेयरधनी गुरुको श्रीमती सावित्रादेवी हुन भन्ने रेकर्ड बैंकमा छ । आफनी श्रीमतीलाई हैन र चिन्दिन भनेर झुठा विवरण पेश गरेपछि कानून विपरित श्रीमतिको नाममा खरिद गरिएको साधारण जफत गर्न जनता बैंक व्यवस्थापनलाई निर्देशन दिएको राष्ट्र बैंक प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । बैंकको सञ्चालक हुदा र सञ्चालकबाट हटेको १ वर्षसम्म सोही बैंकको सेयर परिवारका कुनै पनि सदस्यको नाममा खरिद गर्न नपाउने व्यवस्था भएको उनले बताए । “गुरु न्यौपानेले सावित्रादेवीलाई श्रीमती नभएको र नचिन्ने जस्ता झुटा विवरण दिएपछि जफत गर्न निर्देशन दिएको हो” उनले भने । गुरु न्यौपानेले आफु सञ्चालक हुदा श्रीमतिको नाममा भित्रभित्रै अवैधरुपमा जनता बैंकको सेयर खरिद गरेपछि राष्ट्र बैंकमा उजुरी परेको थियो । सावित्रादेवीको नाममा रहेको सेयर पछि बोनस र हकप्रद गरी ८५ हजार १ कित्ता पुगेको थियो । यता उच्च अदालत पाटनले प्रारम्भीक सुनुवाई गर्दै तत्कालका लागि सेयर लिलालीको काम यथास्थानमा राख्न आदेश दिएको छ । अदालतको आदेशपछि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले अर्को सुचना प्रकाशित नभएसम्मका लागि सेयर लिलामी रोकिएको जानकारी दिएको छ । प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्य रहेको सेयर बिक्री गर्दा हालको बजार मूल्यअनुसार २ करोड १९ लाख रुपैयाँ हुन्छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरीद गर्न नपाउने ब्यवस्था गरेको छ । सोही व्यवस्था विपरित गुरुले श्रीमतीको नाममा सेयर खरिद गरेको प्रमाणीत भएको छ ।