सिर्जना फाइनान्सले ३४ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ४० करोड नाघ्ने
काठमाडौं । सिर्जना फाइनान्सले सेयरधनीलाई ३४.२१ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले ३२.५० प्रतिशत बोनस र १.७१ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय मंसिर २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पारित गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीको आगामी वार्षिक साधारणसभा आगामी पुस २२ गते हुने भएको छ । हाल फाइनान्सको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । ३२.५० प्रतिशत बोनस सेयर पछि कम्पनीको पुँजी ४० करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।
रसुवाका भूकम्प पीडितलाई नुवाकोटमा एकिकृत बस्ती, सडक, बत्ति र खानेपानी सरकारी लगानीमा
काठमाडौं । रसुवा जिल्लाका २४ परिवार भूकम्प पीडितका लागि नुवाकोटमा एकिकृत नमुना बस्ती निर्माण सुरु भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले रसुवाको डाडागाउँका २४ परिवार भूकम्प पीडितलाई नुवाकोटको शान्ति बजारमा एकिकृत नमुना बस्ती बनाएर सार्न लागेको हो । उनीहरुका लागि प्राधिकरणले प्रति परिवार २ लाख रुपैंयाँ तिरेर घडेरी खरिद गरेर लालपुर्जा समेत हस्तान्तरण गरिसकेको प्राधिकरणका नापी शाखा प्रमुख कमल घिमिरले विकासन्युजलाई जानकारी दिए । सो एकिकृत नमुना बस्तीमा प्राधिकरणले नै सडक, बत्ति, खानेपानी, ढल लगायतका अन्य पुर्वाधारहरुको निर्माण गरिदिनेछ । हाल प्राधिकरणले सो एकिकृत नमुना बस्तीको डिजाइन तयार गरिरहेको छ । आगामी एक हप्ता भित्र रसुवाकै बोगटीटारमा ४७ परिवार र नुवाकोटको शान्ति बजारमा छेउमै २१ परिवारका लागि एकिकृत नमुना बस्ती निर्माणको प्रक्रिया अघि बढ्ने पनि घिमिरेले जानकारी दिए । एक हप्ताभित्र नै सिन्धुपाल्चोकका भूकम्प पीडितका लागि पनि एकिकृत नमुना बस्ती निर्माणको कार्य आरम्भ हुने उनले बताए । प्राधिकरणले नुवाकोटको उर्लेनीका २४ परिवार भूकम्प पीडितलाई खरानीटारमा एकिकृत नमुना बस्ती निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । सो स्थानमा हाल कित्ता काट तथा नक्सांकनको काम भैरहेको छ । एकीकृत वस्ती बिकास सम्बन्धी कार्य्बिधी अनुसार भूकम्प प्रभावित जिल्लामा सरकारी प्रक्रिया र मापदण्ड अनुसार कम्तीमा १० घरपरिवारले एकीकृत वस्ती निर्माण गर्न चाहे हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराई वा शहरी क्षेत्रमा ३ लाख रुपैयासम्म प्रति घरपरिवारको हिसावले सरकारले पुर्वाधार बिकास लागि खर्च गर्ने व्यवस्था छ । २०७४ असार २८ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको दशौं बैठकले जोखिमयुक्त वस्तीका भूकम्प पीडितलाई सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिद गर्न दुई लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको थियो । यो पनि पढ्नु होस उर्लेनीका २४ परिवार भूकम्प पीडितलाई सरकारले दियो ८ रोपनी घडेरी, बाटो, बत्ति र खानेपानी पनि बनाईदिने
उन्नति माइक्रोफाइनान्सले एक करोड ६५ लाखको आईपीओ निष्कासन गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ६५ लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार मात्रै यस संस्थालाई सो मात्राको आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ६५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्कासन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
आइएमई जनरल इन्स्योरेन्सको २३औं शाखा न्यूरोडमा, थप १६ शाखा खोल्ने तयारी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा न्यूरोडको खिचापोखरीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् । कार्यक्रममा अध्यक्ष चापागाईले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिएका छन् । साथै, उनले सबैले बीमालाई बाध्यताको कारण नभै आफ्नो सम्पत्तीको सुरक्षाको लागि बीमा गर्ने बानी बसाल्न आजैदेखि लाग्नुपर्ने भनि उपस्थित सबैलाई आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न आग्रह गरेका छन् । सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान जारी यसै आ.ब.को अन्तसम्ममा कम्पनीको चुक्ता पूंजी ९७ करोड २० लाख रुपैयाँ पुर्याउने भएका छन् । साथै, कम्पनीले अबको २ महिना भित्र थप १६ शाखा तथा सम्पर्क कार्यालयहरु खोलेर आफ्नो शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । यस नयाँ शाखा सहित कम्पनीले २३ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३६ स्थानबाट सेवाग्राहीहरुलाई सेवा दिँदै आइरहेको छ ।
२ साताभित्र भारतबाट छुट्दैछ पाइप, १ महिनापछि मोतिहारी-अमलेखगञ्ज पाइपलाइन निर्माण सुरु
काठमाडौं । दुई साताभित्र भारतले महाराष्ट्रबाट नेपालका लागि पाइप ढुवानी गर्ने भएको छ । नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने उद्येश्यले निर्माण हुनलागेको मोतिहारी-रक्सौल-अमलेखगञ्ज पाइपलाइन परियोजनाका लागि पाइप ल्याउन लागिएको हो । भारतको महाराष्ट्रमा करिब ४३ किलोमिटर लामो पाइप निर्माण भइसकेको नेपाल आयल निगमका प्राविधिक विज्ञ शरद पौडेलले जानकारी दिए । उनले विकासन्युजसँग कुरा गर्दै भने, ‘प्राप्त जानकारी अनुसार पाइप निर्माण कार्य सम्पन्न भइसकेको छ । अब दुई हप्ताभित्रै महाराष्ट्रबाट पाइप ‘सिफ्ट’ हुने कुरा जानकारीमा आएको छ ।’ सम्भवत: पाइप भारतको महाराष्ट्रबाट पटनादेखि सिभान हुँदै मोतीहारीसम्म आइपुग्ने उनले बताए । भारतीय आयल निगमले गत अक्टोबरमा नै टेण्डरबाट पाइप निर्माण कार्य सुरु गरेको थियो । उनले भने, ‘पाइप कुन रुटबाट आउने तय भइसकेको छैन। दुई साताभित्र रुट पनि तय हुनेछ ।’ नेपालको वीरगञ्जसम्म पाइप आइपुग्न करिब एक महिना लाग्ने अनुमान गरिएको छ । गत कात्तिकमा भारतबाट पेट्रोलियम पदार्थ ल्याउने यो परियोजना निर्माण कार्य डिसेम्बरदेखि अघि बढाउन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)का अधिकारी सहमत भएको थियो । परियोजना निर्माण कार्य थाल्ने सहमति भएपछि नेपाली अधिकारी उत्साहित बनेका छन् । पाइपलाइन बिछ्याउने रुटको स्थलगत अध्ययनपछि आइओसीका प्राविधि टोली सकारात्मक देखिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए । उनले भने, ‘आइओसीका टोलीका अनुसार पाइपलाइन निर्माणका लागि लोकेसन (स्थान) निकै उपयुक्त छ ।’ पाइपलाइन लम्बाइ ३७ किलोमिटर हुनेछ । ४ अर्ब २० करोड रुपैयाँ लागतमा यो परियोजना निर्माण गर्न लागिएको हो । त्यसमा भारतले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता छ । निगमले पाइप तथा अन्य सामग्री राख्नका लागि बिरगञ्ज चिनी कारखानाको जग्गा भाडामा लिएको छ । ३ विगाह क्षेत्रफलमा रहेको उक्त जग्गालाई मासिक २ लाख रुपैयाँ बुझाउने शर्तमा भाडामा लिइएको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए । सिमानादेखि अमलेखगञ्जसम्म पिलर निगमले भारतको सिमाना रक्सौल नाकादेखि अमलेखगञ्जसम्म पाइपलाइन बिछ्यानका लागि सडकको दायाँ-बायाँमा (राइट अफ वे) दिशानिर्देश गर्न पिलर गाड्ने काम पनि पुरा गरिसकेको छ । सडक विस्तारका क्रममा पाइपलाइन परियोजनालाई अवरोध पुग्नबाट रोक्न उक्त पिलर गाडिएको उनले जानकारी दिए । निगमले १५ * २५ * ७५ सेन्टीमिटर आकारका पिलर गाडिसकेको पौडेलले जानकारी दिए । उनका अनुसार त्रिभुवन राजपथको ८१ वटा घुम्ती र ६२ वटा मध्यवर्ती क्षेत्रमा पिलर गाड्ने काम सम्पन्न भइसकेको छ । सडकको केन्द्रबिन्दुदेखि १४.५ देखि १५ मिटर दुरीमा पिलर गाडएको छ । दुई सातामा नेपालका लागि पाइप छुटाउने तयारीमा वीरगञ्ज आइपुग्ने नेपाल आयल निगमले जनाएको छ । पौडेलका अनुसार पहिलो चरणमा पाइप निर्माणका लागि पटनादेखि सिभानसम्म पाइप आउनेछ । त्यसपछि सिभानबाट दुईवटा गन्तव्य- मोतीहारी र बेतानपुरमा पाइपको ढुवानी गरिने उनले बताए । भारतले नेपालसँगसँगै भारतको बेतानपुरमा पनि पेट्रोलियम पाइपलाइन निर्माण काम गरिरहेको छ । साइड क्लियरेन्समा ढिलाइ भारतबाट पाइपलाइन परियोजनाको तयारी अन्तिम चरणमा पुगिरहँदा नेपालमा साइड क्लियरेन्सको काम अझै बाकी रहेको छ । पेट्रोलियम पाइपलाइन बिछ्याउने क्रममा केहि भागमा रुख काट्नु पर्ने देखिएपछि ‘साइड क्लियरेन्स’को काममा अवरोध पुगेको छ । पाइपलाइन बिछ्याउनका अधिग्रहण गर्नुपर्ने स्थानमा रहेका रुखहरु काट्नका लागि निगमले बुझाएको वातावरणीय प्रभाव मूल्याकंन (इआइए) प्रतिवेदन वन मन्त्रालयले फिर्ता पठाएको छ । गत नोभेम्बरमा मन्त्रालयले प्रतिवेदनमा ‘अपुग’ देखिएका कुराहरु पुरा गर्न आपूर्ति मन्त्रालयलाई फिर्ता पठाएको हो । आपूर्ति मन्त्रालयले महत्त्वपूर्ण परियोजनालाई सघाउन तिव्र गतिबाट रुख काट्न वन मन्त्रालयलाई पत्राचार गरेको थियो । यद्दपी मन्त्रालयले फेरि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्न निर्देशन दिएको थियो । मन्त्रालयका उपसचिव प्रेम आचार्यले भने, ‘आपूर्तिले प्रारम्भिक चरणको प्रतिवेदन पेश गर्दा बन मन्त्रालयले केही कुरा अपुग भन्दै प्रतिवेदन फिर्ता पठाएको छ ।’ गत असोजमा इआइए सहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो । पेट्रोलियम पाइपलाइनमा पर्ने रुख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिएको भट्टराईले बताए । राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बीचमा पर्ने करिब १३ हजार रुख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन मन्त्रालयमा प्रस्ताव पठाएको थियो।
हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने, पुस १४ गतेदेखि बुक क्लोज
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो मात्राको लाभांश दिने कम्पनी सञ्चालक समितिले निर्णय गरेको छ । सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी पुस ३० गते हुन लागेको वार्षिका साधारणसभाले पारित गर्दै छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज हुँदै छ ।
एनबीआईले नबिल बैंकका कर्मचारीहरुलाई तालिम दिने
काठमाडौं । नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एन.बी.आई) बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार आर्थिक वर्ष २०७४/७५ काे लागि एनबीआईले नबिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनीलकुमार खनाल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
सिटिजन्स बैंकले ल्यायो नयाँ मुद्दती योजना, वार्षिक ब्याजदर ९.५ प्रतिशत
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरि विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा उक्त योजना बजारमा ल्याएको हो । व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात १ लाख रुपैयाँ रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत वार्षिक ब्याजदर रहेको छ । साथै, यस योजनाबाट सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ । बैंकका अनुसार १४ अञ्चलमा रहेको बैंकका ६७ वटा शाखाबाट यो सुविधा उपलब्ध हुने छ ।