नेपाल र चीनबीच व्यापार तथा लगानीका लागि व्यापारिक सम्झौता
काठमाडौं । नेपाल र चीन बीच व्यापार तथा लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता भएको छ । आइतबार बेजिङ्ग स्थित ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनीहरु र चिनियाँ उद्यमी, व्यापारीहरु बिच द्धीराष्ट्रिय व्यापार आदान प्रदान गर्ने सम्झौता भएको हो । ओबिओआर अन्तराष्ट्रिय व्यापार तथा लगानी मन्चको अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा नौ सदस्यीय व्यापारिक मण्डल दक्षिण एसिया तथा दक्षिण पूर्व एसिया लगानी तथा व्यापार मेलामा सहभागी भएको हो ।कार्यक्रममा सार्क उद्योग वाणिज्य संघका अध्यक्षसुरज बैध समेत चीनका ओविओआर अन्तराष्ट्रिय व्यापार तथा लगानी मञ्चका संस्थापक सु या कार्यकारी अध्यक्ष जोङ जुझाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त गोष्ठीको दोस्रो दिन नेपाल र चीनको बिज्ञापन व्यवसायलाई परिष्कृत बनाउन दुई देशिय व्यापारिक आदान–प्रदान गर्न एक सम्झौता पत्रमा आनका पूर्व अध्यक्ष निर्मल राज पौडेलले हस्ताक्षर गरेका छन् । साथै, व्यापारिक सहकार्य र संयुक्त लागानीका लागि राजेश बज्राचार्य र चिनिया कम्पनी बिच सम्झौता समेत भएको छ । चीनको सरकारी पदाधिकारी, नेपाल, बंगलादेश तथा भितनामका सरकारी पदाधिकारीहरु समेत सहभागिता रहेको थियो । नेपालबाट दमक औद्योगिक पार्क समितिका अध्यक्ष गोविन्द थापा, नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष एवं वेलकम गु्रपका अध्यक्ष निर्मल राज पौडेल, कार्यबिनायक ट्रेड समुहका राजेश बज्राचार्य, रज्जु श्रेष्ठ, विपिन तिमिला, राजु डंगोल लगायत उद्यमी व्यवसायीहरुको समेत सहभागिता रहेको छ । व्यापारिक मण्डल यहि माघ ४ गते चिन प्रस्थान गरेको थियो ।
५० प्रतिशत हकप्रद पछि एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार मात्रै एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८९२ रुपैयाँ रहेको थियो ।
बिजुलीको खपत घट्यो, उपभोक्ताले सघाएपछि कुलमानलाई राहत
काठमाडौं । उपभोक्ताले सहयोग गरेपछि यो वर्ष बिजुलीको माग प्रक्षेपण गरिएको भन्दा कम भएको छ । नेपाल विद्युत प्राधिकरणले यो वर्षको सुख्खायाममा बिजुलीको माग बढेर १ हजार ५ सय मेगावाट पुग्ने अनुमान गरेको थियो । हालसम्म बिजुलीको माग साँझ (पिकआवर) मा १ हजार २४१ मेगावाट मात्र भएको छ । लक्ष्य भन्दा २५९ मेगावाट बिजुली माग कम भएको हो । अघिल्ला वर्षको जस्तै यो वर्ष उपभोक्ताले सहयोग गरेका कारण बिजुलीको माग कम हुन गई व्यवस्थापनमा सहयोग पुगेको विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउछन् । उपभोक्ताले पिकआवरमा हिटर, राइसकुकुर, आइरन, एसिलगायत बढी बिजुली खपत गर्ने उपकरण प्रयोग नगर्दा माग घटेको उनको भनाई छ । “उपभोक्ताले सहयोग गर्दा मुलुक लोडसेडिङ मुक्त भएको छ” उनले भने । हालसम्म पिक आवरमा २७० मेगावाट अपुग भएको उनले बताए । प्राधिकरण, निजी क्षेत्रका आयोजना र भारतबाट समेत गरी ९७० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । भारतबाट मात्रै ४७६ मेगावाट बिजुली आयात भइरहेको छ । यो वर्षको लोडसेडिङ कम गर्न विद्युत प्राधिकरणले भारतबाट ४८० मेगावाटसम्म बिजुली आयातको लक्ष्य लिएको छ । यसैगरी विद्युत प्राधिकरणका आयोजनाबाट ३०९, निजी क्षेत्रबाट १८६ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । झण्डै आधा हिस्सा भारतबाट आयाति बिजुलीले थेगेको छ । फागुनसम्म उत्पादन अझै घट्ने प्राधिकरणले जनाएको छ । फागुनदेखि तापक्रम बढ्ने भएकाले तराईमा बिजुलीको माग बढ्न सक्ने अधिकारीको भनाई छ । गर्मि बढेर पंखा चल्दा त्यहाँ बिजुलीको माग बढ्ने छ । तराई क्षेत्रमा बढी बिजुली चोरी हुने गरेको छ । यो वर्ष १३८ मेगावाट बिजुली थपिदै चालु आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १३८ मेगावाट मात्र बिजुली थप हुने भएको छ । विद्युत प्राधिरकरण र निजी क्षेत्रको लगानीमा १७ आयोजना सम्पन्न भइ यो परिमाणमा बिजुली थप हुने भएको हो । यो वर्षदेखि नेपालको जडित क्षमता बढेर १ हजार १ सय मेगावाट नाघने भएको छ । विद्युत प्राधिकरणले यो वर्ष सार्वजनिक र निजी क्षेत्रबाट गरी साढे २ सय मेगावाट बिजुली थप हुने अनुमान गरेको थियो । बिजुली उत्पादन लक्ष्य भन्दा ११२ मेगावाट कम हुने भएको छ । चालु आवमा निजी क्षेत्रबाट २०५ र विद्युत प्राधिकरणबाट ४५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणले प्रगतिका आधारमा यो वर्ष आउने संभावना भएको आयोजनाको संशोधित अनुमान सुची तयार पारेको छ । सो सुचिअनुसार लक्ष्य भन्दा कम बिजुली थप हुने देखिएको हो । यो वर्ष विद्युत प्राधिकरणबाट ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो गरी ४४ मेगावाट बिजुली थप हुने अनुमान गरिएको थियो । यो वर्ष चमेलिया मात्र सम्पन्न भएको छ । चमेलियाबाट परीक्षणको रुपमा बिजुली उत्पादन भइरहेको छ । औपचारिक रुपमा बिजुली उत्पादन माघदेखि हुने प्राधिकरणले जनाएको छ । कुलेखानी तेस्रो आयोजना अझै अनिश्चित बनेको छ । हालसम्म निजी क्षेत्रका ९ आयोजना सम्पन्न भई प्रणालीमा ४२ मेगावाट थप भइसकको छ । हालसम्म सम्पन्न हुने आयोजनामा द्रोणाञ्चल हाइड्रोपावर कम्पनीको ६ सय किलोवाटको ढुङेजिरी, गज्र्याङ उपत्यका हाइड्रोपावरको २.८ मेगावाटको छ्याकेखोला, दिब्यश्वरी हाइड्रोपावर लिमिटेडको ४ मेगावाटको सभाखोला, पुवाखोला १ हाइड्रोपावरको ४ मेगावाटको पुवाखोला १ आयोजना रहेका छन् । सम्पन्न भएका अन्य आयोजनामा मन्दाकिनी हाइड्रोपावरको ४ मेगावाटको सार्दिखोला, सिवानी हाइड्रोपावर कम्पनीकोे ४ मेगावाटको फावाखोला, माइभ्याली हाइड्रोपावरले ५ मेगावाटको माइ सी आयोजना, माउन्ट कैलाश इनर्जीको १३.६ मेगावाटको थापाखोला र युनियन हाइड्रोपावरले ३ मेगावाटको मिदिम करापु आयोजना हुन् । यस्तै यो वर्षभित्र ७ वटा जलविद्युत आयोजना सम्पन्न हुने भएका छन् । यो वर्षभित्र सम्पन्न हुने अवस्थामा रहेका आयोजनामा बराही हाइड्रोपावरले १.५ मेगावाटको थेउलेखोला, मोलुङ हाइड्रोपावरले ७ मेगावाटको मोलुङखोला, हिमाल दोलखा हाइड्रोपावरले ८ मेगावाटको माई साना क्यासकेड, अपि पावर कम्पनीले ८ मेगावाटको माथिल्लो नौगाड छन् । यस्तै विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुदीखोला ए, सिकलेस हाइड्रोपावरले १३ मेगावाटको मद्क्युखोला र मनाङ ट्रेडलिंकले २० मेगावाटको तल्लोमोदी सम्पन्न हुने चरणमा रहेका छन् ।
कामना सेवा विकास बैंकको नाफा १३ करोड ६० लाख
काठमाडौं । कामना सेवा विकास बैंकले १३ करोड ६० लाख नाफा कमाएको छ । बैंकले चालु आवको पुस मसान्त अवधीमा सो नाफा कमाएको हो । बैंकले गत आवको सोही अवधीमा भने जम्मा १० करोड नाफा कमाएको थियो । कामनाले ६ महिनामा १३ अर्ब ८७ करोड निक्षेप संकलन गरेर १२ अर्ब ३९ करोड कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.१३ प्रतिशत रहेको छ भने १६ करोड प्रोभिजन गरेको छ । बैंकले ४ करोड ७२ लाख राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ ।
गरिमा विकास बैंकको नाफा १८ कराेड, निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गरिमा विकास बैंकको खुदनाफा बढेको छ । गत पुससम्म बैंकले १८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको यस्तो कर्जा १ प्रतिशत थियो । बैंकको निक्षेप लागत बढेर ८.१४ प्रतिशत पुगेको छ । गत असारमा बैंकको लागत ७.९५ प्रतिशत थियो । बैंकको सीडी रेसियो ७७.३४, आधार ब्याजदर ११.६३ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ६ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २५ पैसा छ । समीक्षा अवधिमा बैंकले १७ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै १५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषमा ४६ करोड ९९ लाख रुपैयाँ छ । बैंकको चुक्तापँुजी बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद लिलाम हुदै, बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २६
काठमाडौं । कम्युनिटी डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद सेयर लिलाम हुने भएको छ । बैंकको ३ लाख ७० हजार २४३ कित्ता हकप्रद लिलाम हुन लागेको हो । आउदो माघ २६ गते हकप्रद लिमामी हुने बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउन असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा बिक्री नभएको संस्थापक सेयर लिलाम हुन लागेको हो । बोलपत्रका लागि एनआईबीएलको लाजिम्पाट काठमाडौं, ललितपुरको लगनखेल र पोखराको चिप्लेढुङामा आवेदन बुझाउन सकिने छ । यस्तै बैंकको केन्द्रीय कार्यलय बुटवल तथा सबै शाखा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढीमा पनि आवेदन संकलन केन्द्र रहेको एनआईबीएलले जनाएको छ ।
माघ २६ गतेदेखि नेको इन्स्योरेन्सले ३९ करोड २० लाखको हकप्रद निष्कासन गर्ने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले माघ २६ गतेदेखि ३९ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन चैत १ गते बन्द हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद बाँडफाँडपछि चुक्तापुँजी बढेर १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ । बीमा समितिले आउदो असारसम्म १ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि नेकोले हकप्रद सेयर निष्कासन गरेको हो ।
धितोपत्र बोर्डले रोक्यो सामुदायिक लघुवित्तको आईपीओ, मंगलबार निष्कासन नहुने
काठमाडौं । धितोपत्र बोर्डले सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन रोकेको छ । नेपाल राष्ट्र बैंकले रोक्न पत्राचार गरेपछि तत्कालका लागि आईपीओ निष्कासन स्थगन गर्न निर्देशन दिएको बोर्डका निर्देशक निरन्जय घिमिरेले बताए ।संस्थाले पुस ९ गते मंगलबार ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो । धितोपत्र बोर्डले आईपीओ निष्कासन तत्काल रोक्न निर्देशन दिएपछि हाललाई स्थगन गरिएको संस्थाले जनाएको छ । मंगलबारदेखि आईपीओ निष्कासन गरी शुक्रबार बन्द गर्ने संस्थाकाे तयारी थियो । बोर्डले अनुमति दिएपछि मात्र आईपीओ निष्कासन हुने सामुदायिकले जनाएको छ ।तत्कालका लागि आईपीओ निष्कासनको सबै काम स्थगन भएको संस्थाले जनाएको छ । सामुदायिकमा ७ करोड रुपैयाँ अर्थात ७ लाख कित्ता संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।