खेलमार्फत ‘टिम नेपाल’लाई हौसाला
काठमाडौं । मे १०, २०१८ मा रसियाको मस्कोमा आयोजना हुन गईरहेको १८ वर्ष मुनिका फुटबल खेलाडीहरुबीच हुन लागेको सडक बालबालिकाहरुको ‘स्ट्रीट चिल्ड्रेन वल्ड कप–२०१८’ मा नेपाल २२ वटा देशहरु मध्ये छनोटमा परेको छ । उक्त नेपालको प्रतिनिधि टिम ‘टिम नेपालका’ प्रतियोगीहरुको हौसला बढाउन सन्राइज बैंकले बैंकका कर्मचारीहरु र टिम नेपालका प्रतियोगीहरुबीच मैत्रीपूर्ण खेल सातदोबाटो स्थित एन्फाको खेल मैदानमा सम्पन्न गरेको छ । सडक बालबालिकाहरुलाई उचित तालिम र अन्य सहयोग शेल्टर आश्रय नेपाल नामक गैर सरकारी संस्थाले पुर्याउदै आएको छ । बैंकका अनुसार उक्त मैत्रीपूर्ण खेलमा नेपालको प्रतिनिधि गर्ने टिम नेपाल ६–० को अन्तरले बिजयी भएको छ ।
एनआइसी एशिया बैंकको मलेसियाबाट इनवार्ड रेमिटेन्स शुरु
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले म्याक्स मनी एसडीएन बीएचडीसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई मलेसियाबाट इनवार्ड रेमिटेन्स शुरु गर्न लागेको हो । राष्ट्र बैंकले यस बैंकलाई गत फागुन २७ गते उक्त सेवा शुरु गर्न स्वीकृति दिएको थियो । उक्त सम्झौता अनुसार म्याक्स मनी एसडीएन बीएचडीको मलेसियामा रहेका सम्पूर्ण शाखाबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने छन् । साथै, एनआइसी एशिया रेमिट मार्फत पठाएको विप्रेषण रकम यस बैंकको सञ्चालमा आएका सम्पूर्ण शाखा तथा सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने कम्पनीले जनाएको छ ।
तारा एयरले सगरमाथा क्षेत्र सर-सफाईका लागि १०० टन फोहोर एयरलिफ्ट गर्ने
लुक्ला । यती एअरलाईन्स–तारा एयरले २०१८ मा सगरमाथा क्षेत्रबाट काठमाडौंमा रिसाइकल गर्न प्राकृतिक रुपमा नष्ट नहुने १०० टन फोहोर मैला एयरलिफ्ट गर्ने प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ । एयरले खुम्बु: पासाङ ग्रामिण नगरपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लव र संयुक्त राष्ट्र विकास कार्यक्रमसँगको साझेदारीमा उक्त काम गर्न लागेको हो । एअरलाइन्सले शनिवार लुक्ला एयरपोर्टमा एक कार्यक्रम आयोजना गरेर पहिलो पटक उडान भर्दै आफ्नो सफाई अभियानको सुरुवात गरेको हो । एअरलाइन्सले सगरमाथा क्षेत्रका विभिन्न सङ्कलन केन्द्रहरूमा जम्मा भएका फोहोर मैलाको मात्रा र तिनलाई व्यवस्थित गर्न तोकिएको एक निश्चित समयको जानकारी सार्वजनिक गरेको थियो । सो दिन लगभग ५००० किलो फोहोर त्यही दिन एयरलिफ्ट गरिएको थियो । यती एअरलाइन्स–तारा एअरले विशेषतः जिम्मेवार खपत र उत्पादन (एसडीजी १२), जलवायु परिवर्तन (एसडीजी १३), जैविक विविधताको खपत (एसडीजी १५) र साझेदारी (एसडीजी १७) सम्बन्धित दिगो विकास लक्ष्य (एसडीजी) प्रतिकोआफ्नो प्रतिवद्धताको रूपमा सगरमाथा क्षेत्रबाट २०१८ मा १०० टन फोहोर हटाउने महत्वाकांक्षी उद्देश्य तय गरेको हो । सङ्कलन गरिएका फोहोर रिसाइकल गर्न काठमाडौं पुर्याइनेछ । एसपिसिसिसँगको सम्झौता अन्तर्गत सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नामक एक स्थानीय पर्यावरणीय संरक्षण सङ्गठन र हिमालय क्लब लुक्लाले सगरमाथा क्षेत्रमा फोहोर सङ्कलनका लागि समन्वय गर्दछन् भने ब्लू वेस्ट टुभ्यालु, काठमाडौंको एक रिसाइक्लिङ कम्पनीले त्यस फोहोर रिसाइकल गर्दछ । सङ्कलन भएका फोहोरमा प्रायः बियरका खाली बोतल र क्यान, खाली खाद्म सामाग्रीका टिन र ट्रेकिङका उपकरणहरु रहेका छन् । यती एअरलाईन्स–तारा एअरका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले यस्तो सहयोगी प्रयासहरूले हाम्रो ग्रहको दुर्वल प्राकृतिक अवस्थाको सुरक्षामा सफलताको लागि नेतृत्व गर्नेछ र भावी पिडीहरूले त्यसको आनन्द उठाउँने बताएका छन् । लुक्लाबाट काठमाडौं फोहोर एयरलिफ्ट गर्ने यस कार्य एक बहुमूल्य सहयोगको रूपमा देखिएको खुम्बु पासाङ ल्हामु ग्रामीण नगरपालिकाका अध्यक्ष तथा एसपीपीसीका उपसभापति निम दोर्जी शेर्पाले बताए । यस्ता गतिविधिहरूले नैतिक र जिम्मेवार व्यवसाय संस्कृतिको प्रचार गर्न मद्दत गर्नेछ, जसले अन्ततः दिगो विकास लक्ष्य प्राप्त गर्न योगदान पुर्याउनेछ”, नेपालका लागि संयुक्त राष्ट्र संघका स्थानीय संयोजक तथा यूएनडीपीका स्थानीय प्रतिनिधि वालेरी जुलियानले भनिन् । “हामी व्यापारीक समुदायलाई एसडीजी प्रचार गर्ने हाम्रो प्रयासमा एक महत्वपूर्ण साझेदार मान्दछौं र देशको स्थायी विकासमा उनीहरूको सक्रिय संलग्नताको लागि प्रोत्साहित गर्दछौँ ।” यो अभियान एअरलाइनको २००८ देखि शुरु गरिएको सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यावरण जागरणप्रति केन्द्रित सीएसआर कार्यक्रमको निरन्तरता हो ।
सोमबारदेखि अन्तर्राष्ट्रिय विमानस्थलको आयात निर्यात सुचारु हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द हुँदै आएको आयात निर्यात कार्य सोमबारदेखि सुचारु हुने भएको छ । नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा आइतबार गएको व्यवसायीहरुको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसँग भेटवार्ता गरेको थियो । उक्त भेटवार्तामा व्यवसायीहरुसँंग भएको सहमतिअनुसार प्रबन्ध शुल्क लिएर वन्द आयात निर्यात कार्यलाई सुचारु गर्ने विश्वास दिलाएका छन्। वरिष्ठ उपाध्यक्ष मल्लको नेतृत्वमा चेम्वर कार्य समिति सदस्य एवं भन्सार सभापति निरज राई, नेफाका सभापति प्रकाश सिंह कार्की, भन्सार एजेन्ट महासंघका अध्यक्ष भरत घिमिरे लगायत सहभागी रहेको टोलीसँंग मन्त्री अधिकारीले निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गरी अघि बढ्ने विश्वास दिलाएको बताइएको छ । यसअघि बिमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट सञ्चालित एअर कार्गो बिल्डीङबाट आयात निर्यात गरिने माल सामानहरुको कार्गो प्रवन्धशुल्क बृद्धि गरिएको थियो । बृद्धिपछि व्यवसायीहरुले विरोधस्वरुप चैत १ गतेदेखि आयातनिर्यात ठप्प पार्दै आएका थिए । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीलिबाट चैत्र १ गतेदेखि लागु हुने गरी सूचना जारी गरी शुल्क बृद्धि गरेको थियो । नेपाल चेम्वर अफ कमर्सले बिगतमा सरोकारवाला सवै निकायहरुको छलफल गरी निजी क्षेत्रको सुझाव तत्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमक्ष पनि राखेको थियो । यस सम्वन्धमा गठित कार्गो प्रवन्ध सेवा दस्तुर सम्वन्धी उपसमितिका संयोजकलाई सुझावहरु प्रस्तुत गरे अनुसार शुल्क कायम गर्ने मौखिक सहमति समेत भएको हो ।
बैंक आक्रमक हुँदा निक्षेप भन्दा १०८ अर्ब बढी कर्जा लगानी
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन भन्दा १०८ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा निक्षेप ११.८ र कर्जा लगानी १६.७ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेप भन्दा बढी कर्जा लगानी गरेपछि बैंकको प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत हारहारीमा पुगेको छ । सीसीडको डिलमा पुगेपछि अधिकाँश बैंक लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । गत माघसम्म बैंक तथा वित्तीय संस्थाले २५ खर्ब २३ अर्ब २६ करोड रुपैयाँ निक्षेप परिचालन गरेका छन् । समीक्षा अवधिमा बैंकको कर्जा लगानी २२ खर्ब ४३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । गत माघमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२, ३६.६ र ४३.९ प्रतिशत रहेको छ । संस्थागत निक्षेपको अंश ४४ प्रतिशत छ । निजी क्षेत्रतर्प प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको १३.२, विकास बैंकको १८.८ र वित्त कम्पनीको ४.८ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६१.५ कर्जा घर जग्गाको धितोमा र १४.६ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६१.८ प्रतिशत अर्थात ३९ अर्ब ८६ करोड वृद्धि भई १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यस्तै हायर पर्चेज कर्जा ८.४ तथा ओभरड्राफ्ट कर्जा १०.९ प्रतिशत बढेको छ । रियल स्टेट व्यक्तिगत आवासीय घर कर्जा समेत १०.७ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । उत्पादनशील क्षेत्रतर्प लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउ सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । माघसम्म बढेर ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा लगानी भएको छ । भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ माघ मसान्तमा १ अर्ब २७ करोड ९१ लाख रुपैयाँ उपयोग भएको छ । सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार २०३ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ६ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ । ३३ करोड ७३ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।
सिद्धार्थ बैंकको १४ प्रतिशत बोनस सेयर पारित
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १४ प्रतिशत बोनस सेयर पारित भएको छ । आइतबार(आज) सम्पन्न बैंकको १६औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ बोनस पश्चात बैंकको पूँजी ७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । साथै, बोनस सेयर अघि नै स्वीकृत भई जारी भइरहेको १० प्रतिशत हकप्रद सेयर समेत गरी बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ । हाल बैंकले १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०७ एटीएम र ६८७ पीओएस् मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । गत फागुन मसान्तसम्म बैंकको कुल निक्षेप ८७ अर्ब ५७ करोड रुपैयाँ र कर्जा लगानी ७९ अर्ब २९ करोड रुपैयाँ रहेको छ । सोहि अवधीसम्म बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीसँग एफएनसीसीआईका अध्यक्ष राणाको भेटवार्ता
काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल भ्रमणमा आएकी भारतीय उद्योग परिसंघ (कन्फेडेरेशन आफ इण्डीयन इन्डस्ट्रिज)का अध्यक्ष एवं अपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडका कार्यकारी उपाध्यक्ष सोबना कामिनेनीको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले नेपाल समृद्धिको मार्गमा अगाडी बढेकाले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न सीआईआईका अध्यक्ष कामिनेनीलाई आग्रह गरेका थिए । उनले मुलुकको समृद्धिनै आफ्नो प्रमुख प्राथमिकता रहेको भन्दै दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थालाई लागनी गर्नका लागि अनुरोध गरेका थिए । सो अवसरमा महासंघका अध्यक्ष राणाले आगामी अप्रिलमा दुवै महासंघको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलनको गृहकार्य भैइरहेको जानकारी गराइन् । नेपालमा भारतीय लगानी विस्तारको लागि सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ छ । त्यस्तै सीआईआईका अध्यक्ष कामिनेनीले प्रधानमन्त्री ओलीलाई भारतीय निजी क्षेत्रकातर्फबाट बधाई दिदै नेपालको आर्थिक विकासको अभियानमा सहभागी हुन भारतीय निजी क्षेत्र उत्साहित रहेको बताइन् । उनले संयुक्त लगानी विस्तार गर्न पर्नेमा जोड दिएकी थिइन् । लगानीका क्षेत्रको पहिचान लगायतको लागि आगामी दिनमा ठोस गृहकार्यसहित अगाडी बढ्नु पर्ने उनको धारणा छ ।
विदेशी विनिमय संचिती घट्यो, ९ महिनाको वस्तु आयात मात्र धान्न पुग्ने
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा मुलुकको वित्तीय अवस्था कसिलो भएको छ । बढ्दो चालू खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेका कारण विदेशी मुद्रा सञ्चितीमा कमी आउदा वित्तीय अवस्था कसिलो भएको हो । आगामी दिनमा सरकारी खर्चमा आउने वृद्धिले विद्यमान वित्तीय अवस्थामा सुधार हुदै जाने अनुमान नेपाल राष्ट्र बैंकको छ । आयातमा वृद्धि र निकासीमा कमी भएपछि शोधानान्तरको अवस्था ऋणात्मक भएको छ । विदेशी विनिमय संचित २.८ प्रतिशत घटेर १० खर्ब ४० अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ विदेशी विनिमय संचिती थियो । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७४/७५ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.३ महिनाको वस्तु आयात र ९.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।