विश्व बैंकद्धारा २६ अर्ब ६० करोड ऋण सहयोग घोषणा, वित्त व्यवस्थापन र सिंचाइमा लगानी हुने
काठमाडौ । नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैंकले २६ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता दिने घोषणा गरेको छ ।बैंक सञ्चालक कार्यकारी समितिको बुधबारको बैठकले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा सुधार ल्याउन तथा रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणको आधुनिकीकरणका निम्ति उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । एकात्मक शासन प्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएको ऐतिहासिक क्षणमा नेपाली नागरिकलाई सहज ढंगले सेवा प्रवाह गर्न आवश्यक पर्ने संघीयताको वित्तीय ढाँचालगायत पूर्वाधार स्थापनाका निम्ति नवनिर्वाचित सरकारलाई ऋण सहयोग प्रदान गर्ने निर्णय भएको बैंकका नेपाल, बंगलादेश र भुटानका देशीय निर्देशक चिम्याओ फ्यानले बताए । ऋणस्वरुप प्रदान गरिने उक्त रकम अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, वित्तीय जवाफदेहिता तथा बजेट व्यवस्थापन ऐन कार्यान्वयन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अयोग स्थापना, सार्वजनिक वित्त व्यवस्थापन प्रणालीको सुदृढीकरण र राजश्व संकलन सुधारमा उपयोग हुने उक्त बैंकले जनाएको छ । नेपालको नयाँ संवैधानिक व्यवस्थाअनुसार स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा त्यसको सराहना गर्दै बैंक सञ्चालक समितिले सहज सार्वजनिक सेवा प्रवाह, जवाफदेहिता र पारदर्शिताको प्रवद्र्धनका निम्ति नेपाल सरकारलाई सघाउने निर्णय गरेको स्पष्ट गरेको छ । साथै सञ्चालक समितिले बैंकलाई समावेशी विकास हासिल गर्ने नेपालको लक्ष्य प्राप्तिमा पूर्णरुपले सहयोग गर्न तथा नेपालको विकासका अन्य साझेदारहरुसँग समन्वय गरी विकास निर्माणका कार्यक्रम नपुगेका स्थानहरुमा पुग्न प्रोत्साहन गरेको छ । रासस
नेप्से २४ अंकले घट्दा यूनिलिभर नेपालको सेयर मूल्य १५१० रुपैयाँले वृद्धि
काठमाडौं । बैंकहरुको महंगो ब्याजदरका कारण सेयर बजार दिनानुदिन घट्दै गएको छ । निरन्तर घट्दै गएको बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको सो दिनको नेप्से परिसूचक अन्तत बजार बन्द हुँदा २४.४० अंकले घटेर १२३१ अंकमा झरेको छ । बैंकहरुको ब्याज दोहोरो अंकले बढेपछि सेयर बजारमा निकै नकरात्मक असर परेको देखिन्छ । सेयर बजार निरन्तर घट्दै गएपछि नेपाल इन्भेष्टर्स फोरमले सेयरधितो कर्जा सीमा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउन माग गरेको छ । बजारमा परिसूचकमा गिरावट आएतापनि सेयर कारोबारमा भने केही सुधार भएको छ । बुधबारको बजारमा अघिल्लो दिनको तुलनामा करिब ५ करोड रुपैयाँबढीको सेयर किनेबेच भएको छ । सो दिन कुल ३७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ३२ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । दोहोरो अंकले घटेको बजारमा पनि यूनिलिभर नेपालको सेयर मूल्यमा वृद्धि भएको छ । एकैदिन यस कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १५१० रुपैयाँ कमाएका छन् । अर्थात यस कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ६.११ प्रतिशतले बढेको छ । बुधबार मात्रै यस कम्पनीको सेयर मूल्य १५१० रुपैयाँले बढेर प्रतिकित्ता २६ हजार २११ रुपैयाँ भएको छ । बजारमा उत्पादनमूलक समूह ५८ अंकले उकालो लागेको छ भने कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूह १८६ अंकले घटेका छन् ।
राजधानीमा शुक्रबारदेखि खाद्य मेला, जाति जनजातिका परिकारसहितका ७८ स्टल सहभागि हुने
काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपको बगैंचामा चैत ९,१० र ११ गते तेस्रो खाद्य मेला–२०४ हुने भएको छ । स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरुको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको संयुक्त आयोजनामा मेला सञ्चालन हुन लागेको हो । ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौंः असल पोषणका लागि खाने बानीमा सुधार गरौं’ भन्ने नारा रहेको उक्त मेलामा मुख्य गरि खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषण सम्बन्धि जनचेतनामूलक कार्यक्रम हुने बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि विभागले जानकारी गराएको छ । कार्यक्रमको आसरमा विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले मेलामा थारु, नेवार, राई लगायत विभिन्न जाति जनजातिका लोकप्रिय पौष्टिक परिकारको प्रदर्शनी, बिक्री वितरणका साथै झाँकी प्रदर्शनी हुने बताए । स्थानीय स्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थहरुको उत्पादन विविधीकरण तथा पौष्टिक महत्वका बारेमा समेत विविध जानकारी मेलाको अवसरमा गराइने उनको भनाइ छ । आयोजकका अनुसार मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १४ स्टल, विभिन्न संघसंस्थाका जानकारीमूलक २४ स्टल र विभिन्न उद्योगहरुबाट उत्पादित खाद्य वस्तु बिक्री विवतरण गर्ने गरी ४० वटा गरि ७८ स्टल सहभागि हुनेछ । निशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त मेलामा सहभागीमध्ये खाद्य उद्योग, खाद्य सम्बन्धी प्रदर्शनी तथा खाद्य परिकार समूह गरी तीन विधामा प्रथम, द्वितीय तथा सान्त्वना हुनेलाई नगद पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जानकारी गराएको छ ।
जनता बैंकको नयाँ निक्षेप खातामा वार्षिक ७ प्रतिशत व्याज सहित १० लाखको दुर्घटना बीमा
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आकर्षक बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ । यो बचत योजना यहि चैत ७ गते देखि लागु हुनेछ । विभिन्न विशेषताहरु सहित ल्याएको यस योजनामा न्यूनतम निक्षेप १० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ । त्यस्तै, वार्षिक ७ प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने र बचतकर्ताको १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा प्रदान गर्ने बैंकले जनाएको छ । त्यसैगरी, बचतकर्ता बिरामी भई अस्पताल भर्ना हनु पर्दा १ लाखसम्म र भर्ना नभई उपचार गर्दा ५ हजार रुपैयाँसम्मको उपचार खर्चको बीमा गरिएको छ । साथै, यस योजना अन्तर्गत बैंकले बचतकर्तालाई लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिएको छ । त्यस्तै, अन्य खातामा जस्तै एटीएम, एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सीआश्वा सुविधामा पनि रहेको बैंकले जनाएको छ । यस नयाँ निक्षेप खाता सबै उमेर समूहका ग्राहकहरुले खोल्न सक्नेछन् । यसको लागि ग्राहकले खाता खोल्दा भर्ने नियमित फारामको अतिरिक्त बीमा सम्बन्धि एउटा फाराम भर्नु पर्नेछ । यस बचत योजना नेको इन्स्युरेन्सको सहकार्यमा ल्याइएको हो । यस योजनाबाट ग्राहकहरुले निक्षेपमा आकर्षक ब्याज पाउनुको साथै स्वास्थ्य सेवामा हुने आकासिदो खर्चबाट राहत पाउने बैंकको विश्वास छ । बैंकले हाल देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
स्वदेशमा रोजगारी सरकारको प्राथमिकताः मन्त्री विष्ट
काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले स्वदेशमा नै रोजगारीको अवशर सिर्जना आफ्नो प्राथमिकतामा भएको बताएका छन् । उनले यसका लागि सरकार, रोजगारदाता र ट्रेड युनियन मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । उनले श्रम क्षेत्रमा गर्नुपर्ने सुधार र तत्काल गर्नुपर्ने कामका बारेमा आफूले सबैको सल्लाह लिएर उचित निर्णय गर्ने जानकारी गराएका छन् । मन्त्री विष्टलाई नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का तर्फबाट श्रम ऐन वमोजिम तत्काल गर्नु पर्ने कामहरु, सामाजिक सुरक्षा अन्तर्गत तत्काल गर्नु पर्ने काम, अन्य कानूनी व्यवस्थामा गर्नु पर्ने सुधारहरु, संस्थागत विकास सम्वन्धमा थप सुझावहरु र रोजगारी सिर्जनाका सम्वन्धमा सुझावहरु दिइएको थियो । जिफन्टका सचिव रमेश बडालले श्रम ऐन वमोजिम केन्द्रिय श्रम सल्लाहकार समिति गठन गर्न तथा हाल कानून मन्त्रालयमा पुगेको श्रम नियमावली छिटो पारित गर्न आग्रह गरेका छन् । यसैगरी स्थाई न्युनतम पारिश्रमिक निर्धारण समिति गठन गर्न र वैशाख १ गतेदेखि काम शुरु गरी असारमसान्त भित्र घोषणा गर्न सुझाव दिए । नयाँ दर श्रावण १ बाट लागु हुने व्यवस्था मिलाउन पनि बडालले आग्रह गरेका छन् । योगदान आधारित सामाजिक सुरक्षा ऐन आए पनि नियमावली तयार नभएको भन्दै जिफन्टले नियमावली तुरुन्त तयार गरि यस अन्तरगतको सुरक्षा योजना अर्थात स्कीमहरु तयार गर्नुपर्ने मन्त्री विष्टलाई अवगत गराएको छ । सामाजिक सुरक्षा कोषलाई निजामती कर्मचारीबाट नभई विज्ञ मार्फत नेतृत्व गर्न कार्यकारी निर्देशक, निर्देशकहरु र केहि कर्मचारी तुरुन्त नियुक्ति गर्न आवश्यक रहेको सचिव बडालले बताएका छन् । साथै, उनले प्रत्येक प्रदेशमा सामाजिक सुरक्षा कार्यालय स्थापना र सञ्चालन तत्काल गर्न आवश्यक रहेको जानकारी गराएका छन् ।
सरकारले दियो पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानलाई २५ लाख
काठमाडौं । सरकारले पूर्व रक्षामन्न्त्री तथा वर्तमान संघीय सासंद भिमसेनदास प्रधानलाई २५ लाख रुपैंया आर्थिक सहायता प्रदान गरेको छ । देउवा सरकारले गत माघ १५ गते प्रधानलाई उपचार खर्च वापत २५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । उनले फागुनमा सो रकम बुझेका हुन् । प्रधानले आर्थिक सहायता शिर्षकमा नेपाली राजदुतावास टोकियोमार्फत परराष्ट्र मन्त्रालयको नाममा रकम लिएका हुन् । उनले नेपालमै सम्भव हुने रोगको उपचारको जापानमको हस्पिटलमा गराएर सरकारबाट रकम लिएका हुन् । यसैगरी अन्य आर्थिक साहायताको नाममा अर्थमन्त्रालयले कोष तथा लेखा कार्यलयमा कार्यरत लेखनाथ आचार्यलाई औषधी उपचारको लागि २ लाख १४ हजार ७४० रुपैंया प्रदान गरेको छ । उनिलाई निजामति सेवा नियामावाली २०५० अनुसार रकम प्रदान गरिएको हो ।
ब्याजदर दोहोरो अंकले उकालो लागेपछि उद्योग व्यवसाय ओरालो, के होला अर्थतन्त्र ?
काठमाडौं । लगानीयोग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले कर्जाको ब्याजदर दोब्बरसम्म बढाएपछि उद्योग व्यवसाय ओरालो लागेको छ । लगानीयोग्य पुँजीको अभाव देखाउँदै बैंकले ब्याजदर बढाएर १४ प्रतिशतसम्म पुर्याएका छन् । यसअघि कर्जाको ब्याजदर ७ प्रतिशत हारहारीमा थियो । ब्याज बढेपछि सेयर बजार, सवारीसाधन बिक्री, घरजग्गा किनबेच, विपन्न कर्जा, जलविद्युत र उद्योग व्यवसायमा नकरात्मक असर परेको व्यवसायीले बताएका छन् । साथै, उद्योगमा मन्दी नै दखिन थालेको व्यवसायी बताउँछन् । पुँजी नभएपछि बैंक तथा वित्तीय संस्थाले दिने सेयर, घरजग्गा, सवारीसाधान र उद्योग व्यवसाय कर्जा वृद्धिदरमा भारी गिरावट आएको छ । पुँजीको अभाव देखाउँदै बैंकले ब्याजदर दोब्बर बढाएको व्यवसायीले गुनासो गरेका छन् । बैंकको चर्को ब्याजदरले व्यवसाय सञ्चालनमा समस्या परेको भन्दै घटाउन व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकको ब्याजदर दोब्बर बढेर १४ प्रतिशत पुगेको जाकारी दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडासँग भएको भेटमा अध्यक्ष श्रेष्ठले ७ प्रतिशत हाराहारीमा रहेको ब्याजदर अहिले दोब्बर बढेर १४ प्रतिशत कटेको जानकारी गराएका थिए । उनले १४ प्रतिशत ब्याजमा पनि कर्जा नपाएको गुनासो गरे । हालको ब्याजदरले व्यवसाय गर्न नसक्ने अवस्था आएको भन्दै घटाउन अर्थमन्त्री खतिवडाको ध्यानकर्षण गराएका छन् । निक्षेप तान्न बैंकले मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति गरेका छन् । यस्तै साधारण वचतको ब्याजदर पनि बढेर ८ प्रतिशत पुगेको छ । ब्याजदर बढाउँदा पनि बैंकले निक्षेप बढाउन सकेका छैनन् । पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत पुगेपछि अधिकांश बैंकले कर्जा लगानी गर्न छाडेका छन् । गत माघसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप संकलन भन्दा १०८ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा निक्षेप ११.८ र कर्जा लगानी १६.७ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष बैंकले दिने सेयर कर्जाको वृद्धिदर ५० प्रतिशत घटेको छ । ७ महिनामा बैंक तथा वित्तीय संस्थाले दिने सेयर कर्जा ६.८ प्रतिशत मात्र बढेको छ । अघिल्लो आवको सोही अवधिमा सेयर कर्जा १२.४ प्रतिशत बढेको थियो । चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाले २ अर्ब ७५ करोड ७९ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्ष ४ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो । बैंक तथा वित्तीय संस्थाले हालसम्म ४३ अर्ब २३ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल सेयर बजार घट्नुको मुल कारण महंगो ब्याजदर भएको बताउँछन् । बैंकले लिने ब्याजदर नघटेसम्म सेयर बजारमा सुधार नहुने उनको भनाइ छ । सेयर बजार निरन्तर घट्दै गएपछि फोरमले सेयरधितो कर्जा सीमा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउन माग गरेको छ । यस्तै सवारीसाधन कर्जा (अटोलोन) मा भारी गिरावट आएको छ । गत आर्थिक वर्षमा ३२.९ प्रतिशत बढेको अटो कर्जा चालु आवमा वृद्धिदर घटेर ८.४ प्रतिशतमा सीमित भएको छ । चालु आवको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ अटोलोन प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा ३६ अर्ब २५ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंककाअनुसार सवारीकर्जा १ खर्ब ६१ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । ब्याजदर बढ्न थालेपछि यसको असर सवारीसाधन बिक्रीमा परेको अग्नि इनकर्पोरेट प्रालिका सहायक निर्देशक वरदान बस्नेतले बताए । बैंकको ब्याजदर बढेपछि फागुनदेखि यसको असर सवारीसाधन बिक्रीमा परेको उनले जानकारी दिए । ब्याजदर बढेर १४ प्रतिशत पुगेको जानकारी दिँदै उनले भने “मंहंगो ब्याजदरमा पनि बैंकबाट कर्जा पाउन सकिएको छैन, ब्याज बढ्यो भन्दा पनि बैंकबाट कर्जा पाउनु नै ठुलो कुरा भएको छ ।” बैंकले सवारीकर्जा प्रवाह नगरेपछि गत माघदेखि नै असर देखिन थालेको र फागुनदेखि पुरै मन्दी आएको बस्नेत बताउँछन् । अधिकांशले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर गाडी किन्ने भएकाले समस्या देखिएको उनको भनाई छ । यस्तै बैंकको ब्याजदरको असर रियलस्टेटमा पनि परेको छ । चालु आर्थिक वर्षमा बैंकको रियलस्टेट कर्जा ६.७ प्रतिशत मात्र बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा १६.३ प्रतिशत बढेको थियो । ७ महिनामा बैंक तथा वित्तीय संस्थाले ८ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ रियलस्टेट क्षेत्रमा कर्जा लगानी गरेका छन् । गत आवको सोही अवधिमा १७ अर्ब ६२ करोड ४८ लाख रुपैयाँ थियो । यस्तै विपन्न क्षेत्रमा जाने कर्जाका वृद्धिदर पनि घटेको छ । ७ महिनामा ८.६ प्रतिशतले मात्र यो क्षेत्रमा जाने कर्जा बढेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा १७.८ प्रतिशत थियो । यसअवधिमा आयात कर्जा ४ सय प्रतिशत बढेको छ । चालु आवमा ६१.८ प्रतिशत बढेर ३९ अर्ब ८६ करोड रुपैयाँ पुगको छ । गत आवको सोही अवधिमा १० अर्ब ४२ करोड रुपैयाँ थियो । महंगो ब्याजदरले जलविद्युत आयोजनाको लागत बढेको छ व्यवसायी बताउछन् । ६ महिनामा बैंकको ब्याजदर ५ प्रतिशत बढ्दा यसको असर उद्योगमा परेको नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् । ब्याजदर बढेपछि बस्तुको उत्पादन लागत बढेको र प्रतिस्पर्धी क्षमतामा कमी आएको उनको भनाई छ । अनुमान गरिएको भन्दा बढी ब्याजदर बढेपछि नयाँ उद्योग आउन नसकेको र बैंकले कर्जा पनि नदिएको उनको गुनासो छ । ब्याजदर बढेपछि उद्योगको लागत बढेकाले उत्पादन महंगो हुने अर्का उद्योगी प्रवलजंग पाण्डेको भनाइ छ । बैंकलाई तिर्ने ब्याजदर बढेपछि यसको असर उद्योगको उत्पादन लागतमा परेको उनले बताए । निक्षेपमा दिने ब्याजदर अनियन्त्रित हुन थालेपछि नेपाल बैंकर्स एसोसियसनले मुद्धति निक्षेपमा ११ र साधारण बचतमा ८ प्रतिशत भन्दा बढी ब्याज नदिने आन्तरिक सहमति गरेका छन् । बैंकले सोही आधारमा निक्षेप उठाउनका लागि सूचना प्रकाशित गरेका छन् । बजारमा लगानीयोग्य पुँजी नभएपछि महंगोमा निक्षेप उठाउँदा यसको असर कर्जामा परेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहाल बताउँछन् । उनले पुराना ऋणलाई आधार ब्याजदर (वेस रेट) र नयाँलाई १४ प्रतिशतसम्म कर्जामा ब्याज लिने गरेको बताए । पछिल्लो समयमा बैंकले कर्जा लगानी धेरै कम गरेको उनको भनाई छ ।
असोजभित्रमा मेलम्चीको पानी काठमाडौंमा- खानेपानी मन्त्री मगर
काठमाडौं । खानेपानी मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। रिपोटर्स क्लब नेपालद्धारा यहाँ बुधबार आयोजित साक्षात्कारमा मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम गर्न निर्देशन दिएको बताएकी छिन् । “केही दिनदेखि मेलम्चीको काम रोकिएको रहेछ, मैले त्यहाँको भ्रमण गरेर तत्काल काम अगाडि बढाउन निर्देशन दिएको छु, अब २५ दिनभित्रमा सुन्दरीजल र दशैँसम्ममा काठमाडौंमा मेलम्चीको पानी आउँछ”-मन्त्री मगरले भने । मन्त्रालयले जतिसक्दो चाँडो राजधानी काठमाडौंसँगै तराई– मधेश, पहाडी र हिमाली जिल्लामा समेत सरसफाइ अभियान सञ्चालन गर्दै २०७५ साललाई राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गर्ने मन्त्री मगरको भनाइ छ । मन्त्री मगरले आगामी एक/दुई वर्षमा वाग्मती र विष्णुमतिलाई सफा गरी पर्यटकीय क्षेत्र बनाउने बताएकी छिन् । रासस