विकासन्युज

नेपाल इन्स्योरेन्स कम्पनीको चैत २३ गते बुक क्लोज, शतप्रतिशत हकप्रद निष्कासन गर्दै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आगामी चैत २३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले सर्वसाधारणलाई शतप्रतिशत(१००) हकप्रद निष्कासन गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले १ः१ को अनुपात अर्थात ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बोर्डको अनुमति अनुसार इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता सेयर जारी गर्न लागेको हो । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आउँदो असारसम्म कम्पनीलाई चुक्तापूँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन नियामक बीमा समितिले निर्देशन दिएको छ ।

प्राधिकरणले भूकम्पबाट हल्लिएको २५ हजार घरलाई आवासयोग्य बनाउने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरहरुको प्रबलीकरणका लागि बिशेष अभियान संचालन गर्ने भएको छ । प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउने अभियान संचालन गर्ने निर्णय गरेको हो । हालसम्म भूकम्प प्रभावित ३२ जिल्लाका २४ हजार ९ सय ९१ निजी घरहरु प्रबलीकरण गर्ने सूचीमा छन् । प्रबलीकरणलाई अगाडि बढाउन विकास साझेदार संस्थाहरु डीएफआईडी, यूएनओपिएस तथा बिल्ड चेञ्जले प्राधिकरणलाई सहयोग गर्ने भएका छन् । प्राधिकरणले आगामी २ बर्षभित्र २ हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मीलाई प्रबलीकरणको तालिम दिने जनाएको छ । सरकारको सिफारिसमा जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घरहरु समेत प्रबलीकरण गरिने छन् । यूएनओपिएसले प्रबलीकरण सम्बन्धी आयोजना प्रस्ताव अध्ययन गरी प्राधिकरणमा पेश गरिसकेको छ । प्राधिकरणको आवास, वस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रुप दिई एक हप्ताभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई कार्यान्वयनको जिम्मा दिने छ । प्रबलीकरणलाई अघि बढाउन हाल प्राधिकरण, शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, यूएनओपिएस, डीएफआईडी, तथा बिल्ड चेञ्जका अधिकारीहरुले प्रबलीकरणको पाठयक्रम निर्माण गरिरहेका छन् । यसलाई चैत्र तेश्रो साताभित्रै अन्तिम रुप दिने तयारी भएको प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिए । पाठ्यक्रम निर्माण भएपछि २०७५ वैशाख पहिलो सातादेखि एकसाथ ४ स्थानमा प्राविधिक कर्मचारीहरुलाई प्रबलीकरण तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ । यस्ता छन्र  प्रबलीकरण गर्नुपर्ने घरको संख्या (जिल्लागत) १) सिन्धुपाल्चोक – ३७६ २) काभ्रेपलाञ्चोक – २,४१५ ३) दोलखा – ६३७ ४) रामेछाप – २,१४९ ५) गोरखा – २,०१९ ६) धादिङ – १,४९४ ७) नुवाकोट – ९३६ ८) रसुवा – ११७ ९) ललितपुर – ६६७ १०) ओखलढुंगा – १,६४३ ११) सिन्धुली – २,४०८ १२) मकवानपुर – ४,१५२ १३) काठमाडौं – ५७५ १४) भक्तपुर – २७८ १५) लमजुङ – ५३९ १६) सोलुखुम्बु – ४५६ १७) खोटाङ – २५३ १८) स्याङ्जा – ५६७ १९) चितवन – ५९३ २०) तनहुँ – ४६६ २१) पाल्पा – ३८४ २२) बागलुङ – ८२ २३) गुल्मी – १९५ २४) कास्की – २४२ २५) पर्वत – ४१७ २६) म्याग्दी – ७ २७) अर्घाखाँची – ६७ २८) नवलपरासी – ८ २९) धनकुटा – ७० ३०) भोजपुर – ४५३ ३१) संखुवासभा – ३२६  

सुजुकी सेलेरियो टेस्ट राइड अभियान सम्पन्न, भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ फिर्ता

काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियोकोे टेस्ट राइड अभियान सम्पन्न भएकाे छ । कावासोती, हेटौँडा, बीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जीतपुर र दाङ्गमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो महिना पूरा भएको छ । कम्पनीको अनुसार, तेस्रो महिनामा ५१७ टेस्ट राइड सञ्चालन भएको छ र ग्राहकको उत्साह सकारात्मक रहेको छ । नेपाली परिवारलाई खरिद अघि नयाँ अनुभव दिलाउने कम्पनीको उद्देश्य हालसम्मको ग्राहकको प्रतिक्रियासँगै पूरा हुँदै आएको छ । सेल्स, मार्केटिङ र स्ट्रेटजीका डीजीएम सिराज पन्तको अनुसार, “हामी हालसम्म प्राप्त भएको प्रतिक्रियासँग धेरै विश्वस्त छाैँ र यसरी नै अभियानको दोस्रो चरणमा जारी राख्ने आशा गर्दछौँ । ” सेलेरियो “द पर्फेक्ट फेमिली कार” को गत पुस महिनामा टेस्ट राइड अभियानसँगै प्रारम्भ भएको थियो जसमार्फत ग्राहकहरुलाई प्रत्येक टेस्ट राइडमा उपहार प्रदान गरिएको थियो । साथै, एक भाग्यशाली ग्राहकले १ लाख रुपैयाँको क्यास ब्याक प्राप्त गरेका छन् ।

नयाँ शहर ‘इशान काठमाडौं’ डिजाइनको जिम्मा हेलेन जेभीलाई, उत्तरको डिजाइन कम्पनी पनि छानिदैं

काठमाडौं । ‘इशान काठमाडौं’ नामकोे १ लाख रोपनी क्षेत्रफलमा बन्ने नयाँ शहरको डिजाइन फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभी गर्ने भएको छ । डीपीआरका लागि ५ कम्पनीमध्ये फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभी उत्कृष्ट ठहरिएको   हाे। तर १५ दिनसम्ममा कुनै दाबी विरोध ४ कम्पनीहरुबाट परेमा समितीले दाबी विरोध गर्ने कम्पनीको विषयमा छलफल हुनेछ । कम्पनीको दाबी सहि ठहरिएमा कम्पनी फेरिन सक्ने उपत्यका विकास प्रधिकरण्का आयुक्त भाइकाजी तिवारीले बताए । उपत्यकाकामा बन्ने ४ नयाँ शहरमध्ये ललितपुर र भक्तपुरमा २० हजार रोपनी क्षेत्रफलमा बन्ने शहरको काम सुरु भैरहेको छ । यसको जिम्मा इआरएमसी एनइए सटी एडीए जेभीलाई दिइएको छ । यस कम्पनीले पहिलो महिनाको अध्यायन प्रतिवेदन बुझाइसकेको प्रधिकरणका इन्जिनियर भागवतभक्त खोखालीले जानकारी दिए । कम्पनीले १५ मिहनामा  डिजाइनकाे प्रतिवेदन बुझाउनेछ । इशान काठमाडौं नामक शहर काठमाडौंको उत्तर पुर्वी क्षेत्रमा पर्छ । १ लाख क्षेत्रफलमा फैलिने यो शहर पुर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तरतर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । तीन दिनभित्र ‘काठमाडौं उत्तर’को डीपीआर कम्पनी छनिने काठमाडौं उत्तर नामक १० हजार रोपनी क्षेत्रफलमा बन्ने शहरको डिजाइन गर्ने कम्पनी ३ दिनभित्र छानिने इन्जिनियर खोखालीले जानकारी दिएका छन् । यस शहरको पुर्वतिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म फैलिनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ ।  

श्वेत पत्रको आसमा हरियाली सेयर बजार, के ल्याउँछन् विज्ञ अर्थमन्त्रीले ?

काठमाडौं । सोमबार ५१ अंकले ओरालो लागेको सेयर बजार मंगलबार ३९.१६ प्रतिशतले बढेको छ । सोमबार ह्वात्तै घटेको बजार मंगलबार बढ्नुको कारण भने सरकाले ल्याउने भनिएको श्वेत पत्र रहेको लगानी कर्ता नै बताउँछन् । ‘अर्थमन्त्रालयले ल्याउने श्वेतपत्रबाट सेयर बजारलाई कुनै न कुनै रुपले सम्बोधन हुने बजारमा चर्चा चलेको छ, श्वेतपत्रकै आशमा सेलिङ प्रेसर घटेर बजार बढेको हो’, नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले विकासन्युजसँग भने । सरकारले शुक्रबार भित्रै श्वेतपत्र ल्याउने तयारी गरिरहेको छ । सोही श्वेतपत्र मार्फत सेयर बजारका लागि केहि राहतका कार्यक्रम आउने आसमा लगानी कर्ता उत्साहित भएका हुन् । अर्का तर्फ मंगलबार नै राष्ट्रिय सभामा सेयर बजारबारे आवाज समेत उठेको छ । जनप्रतिनिधीले संसदमै सेयर बजार घट्नुको कारण सरकारसँग मागेपछि लगानी कर्ता थप उत्साहित भएका हुन् । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सदस्य राधेश्याम अधिकारीले अर्थमन्त्रीका अभिव्यक्तिका कारण सेयर बजार घटेको आरोप लगाएका थिए । उनले सेयर बजारलाई अनुत्पादक भनेर अर्थमन्त्रीले जनताको खर्बाै लगानीमाथी खेलबाड गरेको बताएका थिए । ‘सेयर बजारबारे संसदमै कुरा उठेपछि आफ्ना मागको सुनुवाई हुने अपेक्षामा लगानी कर्ता हौसिएका हुन्, अब आफ्ना प्रतिनिधीले आफ्नो हितको रक्षा गर्ने लगानी कर्ताको आस छ’, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले भने ।

एनएमबि बैंक र आइसीएफसीबीच ऋण सम्झौता, तरलताको समस्यामा सहयोग पुग्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले बिश्व बैकको सदस्य संस्था इन्टरनेशनल फाइनान्स करपोरेसन(आइसीएफसी)सँग ऋण सम्झौता गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बिश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले उक्त सम्झैतापत्र हस्तान्तरण गरेका छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झौताले मुर्त रुप पाउने बैकले जनाएको छ । यस सम्झौताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझौला व्यवसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैकले जनाएको छ ।

संसद पस्यो सेयर बजार, राधेश्याम अधिकारीले भने-जनताको लगानी डुब्नु भएन

काठमाडौं । राष्ट्रिय सभामा सेयर बजारबारे कुरा उठेको छ । काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका राधेश्याम अधिकारीले सेयर बजारमा गरिएको जनताको लगानी डुब्न नहुने धारणा राखेका हुन् । राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्दै अधिकारीले अर्थमन्त्रीकोे अभिव्यक्तिका कारण सेयर बजार ओरालो लागेर जनताको खर्बाै लगानी डुबेको आरोप पनि लगाए । उनले भने–सेयर बजारमा जनताको पनि लगानी छ, अर्थमन्त्रीको अभिव्यक्तिका कारण बजार घेटेको हो, जिम्मेवार व्यक्तिका अभिव्यक्तिहरु पनि जिम्मेवार नै हुनुपर्छ । सेयर बजारलाई अर्थमन्त्रीले अनुत्पादक भनेपछि लगानी कर्तामा त्रास फैलिएको आरोप पनि अधिकारीले लगाएका थिए ।

नेपालमा पहिलो पटक भेन्डिङ उपकरणको प्रयोग हुँदै, फोहोर राखेर पैसा लिन सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्लाष्टिकजन्य वस्तु प्रयोग गर्दै हुनुहुन्छ ? भेन्डिङ उपकरणमा फोहर राख्नुस् पैसा लिनुस् । प्लाष्टिकजन्य वस्तु प्रयोग गरेपछि निस्कने फोहर वस्तुलाई थप व्यवस्थापन र पुनः प्रयोग गर्नका लागि भेन्डिङ उपकरणको उपयोगसंगै नयाँ अवधारणाका साथ कामपा अघि बढ्न लागेको हो । पछिल्लो समय प्लाष्टिकजन्य फोहरबाट शहर प्रदूषित भएकाले आगामी दिनदेखि त्यसलाई नियन्त्रण गर्न निश्चित स्थानमा फोहर संकलन गर्ने भाँडो राखी शहरलाई व्यवस्थित गर्न लागिएको कामपाका निजी साझेदारी एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिएका छन् । उनले भने, “भेन्डिङ उपकरण त्यो हो जुन निश्चित स्थानमा राखिन्छ र त्यसमा नागरिकले प्लाष्टिकजन्य फोहर राखेर आफ्नो परिचय खुलाएपछि सामग्रीको अनुपातका आधारमा सोही व्यक्तिको मोबाइलमा ब्यालेन्स प्लस हुन्छ ।” उक्त उपकरणलाई एटिएम प्रयोग गरे जसरी प्रयोग गर्न सकिन्छ । उक्त उपकरणको प्रयोगबाट शहर सफा हुनाका साथै सर्वसाधारणले फोहर निश्चित स्थानमा राखेबापत केही रकम पाउनेछन् । त्यसरी जम्मा गरिएको फोहरलाई पुनः प्रयोग गरिनेछ । भेन्डिङ उपकरण पुनः प्रयोग गर्न सकिने प्लाष्टिकजन्य फोहर संकलन गर्ने भाँडो हो जस्मा पानी, कोक, चिजबल, चाउचाउको प्याकेटलाई राख्न सकिन्छ जुन प्लाष्टिक पुनः प्रयोग गर्न सकिन्छ । यस किसिमको अभ्यास अन्तर्राष्ट्रियस्तरमा लामो समयदेखि प्रयोगमा आइसकेको भए पनि नेपालमा भने पहिलो हो । शुरुवात्को समय भएकाले हाल अन्तर्राष्ट्रिय विमानस्थल, न्यूरोड, दरबारमार्गलगायत मानिसको बढी आवतजावत हुने सात स्थानमा यस्ता उपकरण राखिने योजना कामपाको छ । रासस