१२० दिनसम्म चल्ने तङ्ग इल मोदोको प्रशिक्षण सुरू
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध भएर लोकप्रिय बन्दै गएको मार्सल आर्टस् सम्बन्धि खेल तङ्ग–इल मो–दो संघले नेपालमा पनि सफलता हात पार्दै गएको बताइएको छ । केही वर्षअगाडि मात्रै यो खेल राष्ट्रिय खेलकुद परिषद्मा १२८ नंम्बरमा दर्ता भएको थियो । नेपालमा दोस्रोपल्ट १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल तथा शान्ति अध्ययन विषयक प्रशिक्षण कार्यक्रम आइतबारबाट सुरु भएको छ । तङ्ग इल मोदो संघ नेपाल (एकीकृत मार्सल आर्ट) को आयोजनामा आइतबारदेखि विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालको राष्ट्रिय तालिम केन्द्र, जोरपाटीमा प्रशिक्षण शुरु भएको हो । पूर्वमन्त्री एकनाथ ढकालले प्रशिक्षणको उद्घाटन गरेको बताइएको छ । उनले सो अवसरमा तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको जानकारी गराएका थिए । उद्घाटन कार्यक्रममा युपीएफ नेपालका महासचिव विनोद डाँगीले तालिमको उद्घाटनमा आउन पाएकोमा खुसी व्यक्त गरे । साथै उनले खेलाडीले सिकेको शिप राष्ट्रको सम्पत्ति हुने बताए । तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले खेलकुद स्वस्थ जीवन, अनुशासन, राष्ट्रको गौरवका लागि महत्वपुर्ण हुने बारे प्रकाश पारे । उनले खेलाडीहरू देशका गहना र शक्ती रहेको बताए । तालिममा सहभागी खेलाडीहरूलाई मार्सल आर्टका अलवा अग्रेजी तथा कोरियन भाषा प्रशिक्षण, सरसफाई, सामाजिक उतरदायित्व , व्यक्तित्व विकास सामाजिक कार्यमा समेत सहभागिता गराइने राष्ट्रिय तालिम केन्द्रका निर्देशक रुपसिंह भण्डारीले जानकारी गराए । प्रशिक्षणमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १३० युवा–युवतीहरूको सहभागीता रहेने आयोजकको भनाइ छ ।
लक्ष्मी केयर्सको माउन्टेन बाइक र्याली सम्पन्न, २ सय बढी सहभागी
काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसै सिलसिलामा ‘गो ग्रिन’ अभियानअन्तर्गत रही ‘उज्यालो अभियान’को एक हिस्साको रुपमा १० औं वार्षिक लक्ष्मी केयरस् माउन्टेन बाइकर्याली केही दिन अघि सम्पन्न गरेको छ । २ सय भन्दा बढी साइकल यात्रीहरुको सहभागीता रहेको उक्त र्याली लीले १३ किलोमिटरको दुरी तय गरेको आयोजकको भनाइ छ । सो कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । र्याली जावलाखेलस्थित सदर चिडियाखानाबाट सुरु भइ टंगाल उड, टंगाल पुगी सकिएको थियो । सम्पन्न स्थलमा एड्रियन प्रधान एण्ड फ्रेन्डजको लाइभ कन्स्र्ट पनि भएको बताइएको छ । आयोजकको अनुसार वार्षिक कार्यक्रमले जनचेताना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गरेको छ । यस अघि उज्यालो अभियानले नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल एवं च्यारिटिसँग सम्बन्धित संघ संस्थाहरुमा सहयोग गर्दै आएको छ । गत वर्षहरुमाउज्यालो अभियानले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार क्षेत्र तथा बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सोलार लाइट जडान गरेको आयोजकको भनाइ छ ।
राजधानीमा लाइभ स्ट्याण्ड–अप कमेडी शो, दर्शकले पेट मिचि मिचि हाँसे
काठमाडौं । विगत केही महिनादेखि यूट्युबमा चर्चा कमाउदै आएको नेप–जीएएसएम स्ट्यान्ड–अप कमेडी शोले सेलीब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुत्त आयोजनमा लाइभ स्ट्याण्ड–अप कमेडी गरेको छ । उक्त शो राजधानीको मीनभवनस्थित पानस रेस्टोरामा सम्पन्न भएको बताइएको छ । शोमा गायक तथा कलाकार सत्यराज आचार्य र गायक स्वरुपराज आचार्यको विशेष उपस्थिति रहेको थियो । उनीहरुले यस्ता शो भइराख्नु पर्नेमा जोड दिएका छन् । कमेडी शोमा पाँच जना हाँस्य कलाकारहरु लेखमणी त्रिपाल, सहर्ष केसी, रुपक बुढाथोकी, योजना थापा, बिभोर अधिकारीका अतिथिक कलाकार रोशन सुवेदीको बेजोड प्रस्तुतीहरु रहेको जनाइएको छ । शोमा उपस्थिति दर्शकले पेट मिचि मिचि हासेको आयोजकको भनाइ छ ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणको संगठन समायोजन सुरु
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालै पारित नयाँ संगठनात्मक संरचनाअनुसारको समायोजन प्रक्रिया शुरु गरेको छ । प्रधानमन्त्री एवम् प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा चैत्र २० गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले विभिन्न मन्त्रालयअन्तर्गत रहेका आयोजना कार्यान्वयन इकाईहरुलाई प्राधिकरणको प्रत्यक्ष मातहत ल्याउने निर्णय गरेको थियो । आइतबार प्राधिकरणका निमित्त सचिव राजुमान मानन्धरको अध्यक्षतामा बसेको बैठकमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईहरुको कार्यालय समायोजन तथा दरबन्दी मिलानसम्बन्धमा बृहत् छलफल भयो । ३१ वटा भूकम्प प्रभावित जिल्लामा रहने इकाईले भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान वितरण तथा स्थानीय पूर्वाधार पुनर्निर्माणसम्बन्धी कार्यहरु गर्दछ । त्यस्तै, अर्को छुट्टै बैठकमा शिक्षाको केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाइको कर्मचारी समायोजन, दरबन्दी मिलान सम्बन्धमा छलफल भएको छ । शिक्षाको एउटा केन्द्रीय र २० वटा जिल्ला आयोजना कार्यान्वयन इकाइ रहने छन् जसले विद्यालय भवनहरुको पुनर्निर्माणको काम गर्दछन् । नयाँ संगठनात्मक संरचना २०७४ चैत्र २९ बाट क्रियाशील हुनेछ । प्राधिकरणले त्यसअघि सबै कार्यालय समायोजन तथा दरबन्दी मिलानको कार्य सम्पन्न गर्ने प्राधिकरणका प्रवक्ता यमलाल भूसालले जानकारी दिए । पुरानो संरचनाबाट संचालन भइरहेको आर्थिक कारोबारलाई नयाँ संरचना अनुसार समायोजन गर्न प्राधिकरणका जनशक्ति व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद दवाडीको अध्यक्षतामा अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालका प्रतिनिधि एवम् प्राधिकरणका आर्थिक प्रशासन शाखा प्रमुख कमान सिंह खत्री सदस्य रहेको कार्यदल गठन भएको छ । त्यस्तै, पुनर्निर्माण सम्बन्धी ऐन, नियमावली, निर्देशिका र कार्यविधिलाई परिमार्जन गरी नयाँ संरचना अनुकूल बनाउनका लागि सुझाव पेश गर्न जनशक्ति महाशाखाका प्रमुख दवाडीकै अध्यक्षतामा प्राधिकरणका पाँचवटै महाशाखाका उपसचिव सदस्य एवम् कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव सदस्य–सचिव रहने गरी अर्को कार्यदल पनि गठन गरिएको छ । यी कार्यदलहरुले विषयवस्तुको विस्तृत अध्ययन पश्चात् यथाशीघ्र प्रतिवेदन बुझाउने गरी कार्य सुरु गरिसकेको प्रवक्ता भूसालले जानकारी दिए ।
पानी, वातावरण र जलवायु परिवर्तन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन मंगलबारदेखि, २० राष्ट्रका विज्ञ सहभागी
काठमाडौं । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा चैत्र २७ देखि २९ गतेसम्म काठमाडौंमा ‘खाने पानी, वातावरण र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । आयोजक समिति एवम् सोफेनका अध्यक्ष रामदीप साहले जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालको लागि यो सम्मेलन महत्वपूर्ण हुने बताए । उनको अनुसार बढ्दो जनसंख्याका कारण भैरहेको वनजंगल विनास र औद्योगिकरणको प्रभावले वायु मण्डलमा थपिदै गएको कार्वन मनो अक्साइड, कार्वनडाई अक्साइड र हरितगृह ग्यासको प्रभावले पृथ्वीको वायुमण्डलभित्रको तापक्रम बढेको छ । सोफेनको अनुसार विश्वव्यापी तापक्रम बृद्धिले जलवायुमा परिवर्तन ल्याएको छ । यसको असरबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकमा नेपाल समेत पर्दछ । पृथ्वीको तापक्रममा भएको बृद्धिले हाम्रो हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढेको छ । हिमाली भेगमा धेरै हिमतालहरु देखा परेका छन् । हिमनदीहरुको लम्वाई छोटिदै छ । हिउँले ढाकिएका कतिपय उच्च पर्वतहरु हिउरहित भएका छन् । पहाडमा पानीको मूल सुक्दै गएका छन् । अतिवृष्टि,अनाबृष्टि, खण्डबृष्टि जस्ता घटना बढेका छन् । बाढी पहिरो र प्राकृतिक प्रकोप बढेको छ । सम्मेलनमा खानेपानी,वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय, विज्ञ,अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु गरि २० राष्ट्रका विज्ञहरुसहित करिब ५ सय जनाको सहभागिता रहने जनाइएको छ । त्यस्तै सम्मेलनमा नेपालका २८ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखहरुले सहभागिता रहनेछ भने १० वटा खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्षहरु , खुला दिसामुक्त हुन बाँकी रहेका ११ जिल्लाका जिल्ला समन्वय समितिका अध्यक्षहरु,जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका इञ्जिनियरहरु,सहभागी हुनेछन् । सम्मेलनलाई दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री, एशियाली विकास बैंकका उपाध्यक्ष, अर्थमन्त्री डा.युवराज खतिवडा, एशिया वाटर काउन्सिल र कोरिया वाटराका अध्यक्षहरु, भारतको डा.मोदी विश्वविद्यालयका उपकुलपति, एआईटी बैंकक, आईआईटी कानपुर, राजस्थान विश्वविद्यालया, कोरियन विश्वविद्यालय लगायत विभिन्न मुलुकका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापकहरुबाट प्रमुख सम्बोधन हुने आयोजकको भनाइ छ । सम्मेलनमा १७ वटा कि नोट पेपर प्रस्तुत हुनेछन् । २६ वटा शत्रमा विभिन्न १५ विषयमा १ सय १६ वटा कार्यपत्र प्रस्तुत गरिनेछन् । ती कार्यपत्र उपर विज्ञहरुबाट टिप्पणी हुनेछ । त्यसलाई सहभागीहरुबीच छलफल गरी परिस्कृत र पारिमार्जन गरिनेछ समेत कार्यक्रम छ । सम्मेलनबाट निस्केका सुझाव र प्रतिवेदन सहभागीहरु, संवन्धित संस्थाहरु र संवन्धित मुुलुकका लागि अत्यन्त उपयोगी हुने आयोजकको विश्वास छ । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने जानकारी दिइएकाे छ।
असमझदारी अन्त्य गर्न भ्रमण सफलः प्रधानमन्त्री ओली
नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताएका छन् ।प्रधानमन्त्री ओलीले आज यहाँ नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताए। प्रधानमन्त्री ओलीले भने, “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए, सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पु¥याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले भूमिका खेलेको छ ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार भएको विशेष भेटवार्ताले नै अबको नेपालसँगको भारतीय सम्बन्ध मजबुत भएको तथा भारतीय सहयोगको तत्परताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको प्रष्ट पारेको उनले उल्लेख गरे । नेपाललाई सहयोग गर्ने भारतको तत्परता, रक्सौल–काठमाडौँ रेल तथा गङ्गाको बाटो हुँदै नेपालका नदीमा पानीजहाजमार्फत सामान ढुवानी गर्नेजस्ता कुराको आवश्यक प्रक्रिया अघि बढाउने कुराले विश्वासको वातावरण पैदा गरेको सिद्ध भएको प्रभानमन्त्रीको भनाइ थियो । “भ्रमणका क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत सबै पक्षसँगको भेटवार्ता र छलफलका क्रममा नेपालको सार्वभौमसत्ता एक स्वतन्त्र राष्ट्र अहस्तक्षेपकारी नीतिमा छ र आफ्ना सवालमा स्वतन्त्र ढंगले आफै निर्णय गर्छ भन्ने नेपाली भाव प्रष्ट प्रकट भएको छ,”–उनले भने। प्रधानमन्त्री ओलीले परिवर्तित सन्दर्भमा २१ औँ शताब्दी अनुकूल आजको आवश्यकता नेपाल र भारतबीचको सम्बन्ध समानता, पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा अघि बढ्छ भन्ने आधार भ्रमणले स्पष्ट गरेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले जनताले दिएको अभिमत, फैसलाका आधारमा बनेको संविधान र त्यसको कार्यान्वयन स्वरुप निर्वाचित सरकारप्रति जनसमर्थनको आदरभाव ‘जुन भारतमा देखिएको छ त्यसले सबै कुरा स्पष्ट गरेको छ’ भने। भारतसँग भएका विगतका समझदारी कार्यान्वयनका लागि कसरी समन्वयका साथ अघि बढाउने भन्नेबारे छलफल गरी साझा संयन्त्र बनाएर अघि बढ्ने उहाँको भनाइ थियो । समृद्ध नेपाल निर्माण अभियानमा भारतीय निजी क्षेत्र लगानी गर्न तत्पर रहेको र नेपालमा लगानीमैत्री वातावरण रहेको भन्ने धारणा पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीप्रतिको विश्वास र व्यवहारिक कार्यान्वयनका लागि आवश्यक पहल गरिने बताए। रासस
अबको शिक्षा लौरो देखाएर होइन, मल्टिबोर्ड देखाएर
अन्तरवार्ता गर्दै गर्दा राज्यलक्ष्मी बैदारको कुर्सी फिलिलि घुम्यो, झण्डै लडेकी । बढो आत्मविश्वासका साथ आफूले सञ्चालन गरेको सौगात मन्टेश्वरी स्कूल, यसको पठनशैली, विद्यार्थी, शिक्षक, अभिभावकबाट पाएको फिड्व्याक सुनाउँदै थिइन् उनी । ‘तपाईसँग एकदमै धेरै आत्मविश्वास देखियो, कसरी ?’ राज्य लक्ष्मी बैदार, संस्थापक तथा प्रिन्सिपल, सौगात मन्टेश्वरी यो प्रश्नले उनलाई कक्षा सातमा पढ्दै गर्दा काठमाडौंको पद्मोदय माविमा वक्तित्वकला प्रतियोगितामा भाग लिँदाको क्षण स्मरण गरायो । ‘वक्तित्वकलामा भाग लिन्छु भनेँ । टिचरले मलाई पद्मोदयमा लैजानु भयो । बोल्न मञ्चमा गएँ । सम्बोधन पछि केही पनि बोल्न आएन । करिव दुई मिनेट त्यत्तिकै उभिएँ । त्यतिबेलाको दृष्यहरु अहिले पनि म सम्झन्छु’ – उनले भनिन् – ‘नानी केही भनिनौ । निर्णायक मण्डलका एक जनाले मलाई भने । त्यसपछि म रुँदै फर्किएँ ।’ त्यतिबेलाको शिक्षणशैली प्रति असन्तुष्टि जनाउँदै उनले भनिन् – ‘के बोल्नुपर्छ केही सिकाएकै होइन । अभ्यास गराएकै होइन । के बोल्ने ? कसरी बोल्ने ? टिचरले केही सिकाउनु पर्दैन ? मलाई दुःख लाग्यो । त्यसपछि कलेज पढ्दासम्म उनी कहिल्यै पनि स्टेजमा गइनन् । आत्मबल कमजोर हुँदाको पीडा सम्बन्धि दोस्रो घट्ना पनि सुनाईन् उनले । घोकेर बल्ल बल्ल एसएलसी पास गरेको । म अंग्रेजीमा कमजोर थिएँ । भाईवहिनी एलआरआईमा पढ्थे । अंग्रेजी बोल्न सिक्ने, अभ्यास गर्ने चाहाना थियो । एलआरआईको फाउण्डर शिवराज पन्तले ‘आउन त, साना कक्षामा पढाऊ, अभ्यास पनि हुन्छ’ भन्नुभयो । ‘म गएँ । एक शिक्षिकाले मलाई चार कक्षाको सोसल पढाउन लैजानुभयो, अबजर्भेशन क्लासको लागि । अगाडि उभिएर किताव पढ्न पनि धेरै गाह्रो भयो । किताव समाउँदा हात थरथर काम्यो । उहाँले ‘यस्तो नजान्ने मान्छे कसले ल्याएको’ भन्दै समाएर बाहिर निकाल्नुभयो । डरले म बेहोस् भएँ । त्यसपछि चार दिनसम्म अस्पतालमा बसेर उपचार गरेँ ।’ ‘पन्त सरले मलाई भोलेन्टेयरको रुपमा राख्नु भएको थियो । पहिलाे क्लासमा लैजाने टिचरले पेइड टिचर नै ठानेर त्यस्तो व्यवहार गर्नुभयो’ घट्नाबारे स्मरण गर्दै उनले भनिन् – ‘त्यो घट्नाले पन्त सरलाई दुःखी बनायो । फेरी मलाई बोलाएर पढाउने अभ्यास गराउनु भयो ।’ चार महिनाको अभ्यासपछि २०४९ सालदेखि २०५९ सालसम्म उनले सोही स्कूलमा पढाइन् । एलआरआई स्कूलमा १० वर्ष पढाएपछि उनीमा गर्व थियो कि ‘मैले १० वर्ष पढाएँ, मैले धेरै जानेको छु, लामो अनुभव हासिल गरेकी छु ।’ अाफूले एलअारअार्इ स्कूलबाट धेरै कुरा सिकेकाे र संस्थापक शिवराज पन्तले करिअर विकासमा ठूलाे याेगदान गरेकाे स्मरण गरिन् । जब उनी मन्टेश्वरीको तालिम लिन गइन् तब उनलाई थाहा भयो कि ‘अहिलेसम्म मैले किताव मात्र पढाएँछु, घोकाएँछु र लेखाएँछु । विद्यार्थीलाई सिकाउनु पर्ने धेरै कुरा सिकाउन जानेको नै रहेनछु ।’ प्रिन्सिपल बैदारले २००३ मा एनएमटीसी (नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टर) बाट तालिम लिइन् । उनले मन्टेश्वरीकाे थप तालिम जर्मनीबाट लिइन् । मन्टेश्वरी शिक्षण विधिबारे उनले नर्बे, स्वीडेन, डेनमार्क र फ्रान्समा अध्ययन भ्रमण गरिन् । ‘तालिम लिनुअघि किताव पढाउनुपर्छ भन्ने मात्र ज्ञान थियो । कसरी पढाउने भन्ने ज्ञान पनि थिएन । हामीले विद्यार्थीको मानसिकता बुझेका रहेनछौं, वालवालिकाको मर्म बुझेका रहेनछौं’ बैदार भन्छिन् – ‘सिपमुलक, व्यवहारिक, सिर्जनात्मक शिक्षा दिन सकेका रहेनछौं ।’ आफै स्कूल खोल्ने निर्णय सन् २००८ मा उनी रातो बंगलामा ट्रेनिङमा गइन् । ‘त्यहाँको पढाईशैली मलाई धेरै मन पर्यो । सोही स्कूलमा मेरो छोरी पढाउने इच्छा भयो । तर शुल्क महँगो भएकोले मैले पढाउन सकिनँ’ धेरै मान्छेको चाहना र वाध्यता जस्तै समस्या उनलाई भएको रहेछ । मध्यम वर्गका परिवारले आफ्ना छोराछोरीलाई रातो बंगलामा जस्तो शिक्षा दिन सके हुन्थ्यो भन्ने सोच उनको मस्तिष्कमा पलायो । उनी थप अध्ययनसँगै नयाँ स्कूल खोल्ने तयारीमा जुटिन् । ‘१६ वर्ष पढाएपछि, करिव ५ वर्षको तयारीपछि मैले स्कूल खोलेको हुँ’ उनले भनिन् ‘मन्टेश्वरी खोल्नुपूर्व मैले काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश स्कूल भ्रमण गरेँ । त्यहाँको पढाउने तरिका, शिक्षकहरुले पाएको तालिमको अवस्था, पूर्वाधार, वातावरण सबै अध्ययन गरेपछि मैले आफूले यो स्कूल खोलेको हुँ ।’ सौगात खोल्दा जम्मा ५ जना विद्यार्थी थिए । एक वर्षमा ७० जना विद्यार्थी भर्ना भए । अहिले करिव १७० जना विद्यार्थी छन् ।’ शिक्षण विधि ‘पहिला हामी कक्षामा प्रवेश गर्दा अनिवार्य लौरो लिएर जानु पर्थ्याे । प्रिन्सिपलले एसेम्लीमा परैबाट लौरोले झटारो हानेकाे हामीले देख्याैं ’ शिक्षण पेशा शुरू गर्दाकाे दिन सम्झदै उनले भनिन् । यस्तो पृष्ठभूमिबाट शिक्षण पेशामा आएकी बैदारले आफूले चलाएको स्कूलमा टिचरले विद्यार्थी गाली गर्न पनि अनुमति दिएकी छैनन् । ‘हामी विद्यार्थीलाई ‘हजुर’, ‘तपार्इं’, ‘भनिस्यो’ भन्न सिकाउँछौ । सौगात मन्टेश्वरी स्कूलले ‘हजुरबुबा हजुरआमा सम्मान कार्यक्रम’ आयोजना गर्ने गरेको, ‘म र मेरो परिवार’, ‘म र मेरो समाज’का बारेमा स्थलगत अध्ययन गराउने, आफू, परिवार र समाजबारे जिम्मेवार बन्न सिकाउने गरेको छ । ‘सबै टिचर ट्रेन हुनैपर्छ । मन्टेश्वरीको लेबल वानको तालिम हुनैपर्छ । काम थालेपछि पनि तालिम बारम्बार दिन पठाउँछौं’ उनले भनिन् । तर टिचर नपाएर धेरै समस्या भएको उनको दुःखेसो छ । तालिम प्राप्त टिचर पनि दीगो हुँदैनन् । ट्यालेन्ट टिचर छोडिहाल्छन् । उनीहरुले छोड्नुको तीन कारण हुन्छन् । धेरै जसो विदेश जाने भनेर छोड्छन् । विदेश जाने लहर नै स्कूल टिचर अभाव हुनुको मुख्य कारण हो । ‘अरुको कुरा के गर्नु, मेरो छोरी पनि विदेश गइन्’ उनले आफ्नै घरको उदाहरण दिईन् । महिला टिचरहरु विवाह गरेर वा सुत्केरी भएर स्कूल छोड्छन् । केही टिचरहरु आफैं स्कूल खोल्छु भनेर छोड्छन् । ‘दुई वर्षको सम्झौता गरेर टिचर राख्दा पनि बीचमै छोडेर हिँड्छन्’ उनले समस्या सुनाईन् । ‘आफ्नो छोरा छोरीलाई शिक्षक/शिक्षिका बन भनेर कुनै पनि बुबा आमाले भन्दैनन् । हाम्रो समाजको ठूलो दुर्भाग्य हो । टिचर पाउनै मुस्किल छ । तालिम प्राप्त टिचर पाउन त झनै कठिन छ’ उनले भनिन् – ‘स्कूल चलाउन सबैभन्दा गाह्रो कर्मचारी व्यवस्थापन भएको छ ।’ प्रयोगात्मक शिक्षा स्कूलका हरेक कक्षामा वाल पुस्तकहरु रहेको पुस्तक र्याकहरु छन्, मिनि लाईब्रेरी । प्रयोगात्मक कक्षाको लागि वाल स्टेजसहितको हल छ । पुस्तकहरु मात्र होइन, दुलर्भ हुँदै गएको बस्तुहरुको ‘नमूना सामाग्री’ संग्रह राखिएका छन् । साना केटाकेटीहरु सुत्नको लागि एउटा अछ्यान पनि राखिएको छ । यो जमानामा कम्प्यूटर ठूलो र नयाँ कुरा भएन, कक्षा कोठामा प्रोजेक्टर, बहुउपयोगि डिजिटल मल्टिबोर्ड राखिएको छ । विद्यार्थीले प्रयोग गर्ने शिक्षण सामाग्री आ–आफ्नो स्थानमा राख्नको लागि खुला र्याक तथा बन्द दराजहरुको व्यवस्था गरिएको छ । कक्षा भित्र र वाहिर केटाकेटीलाई धेरै प्रकारका खेलौनाहरु उपलब्ध गराईएको छ । त्यति मात्र होइन, यस स्कूलले विद्यार्थीलाई धान रोपार्इँबारे जानकारी दिन धान रोपिरहेको खेतमा लैजाने, धान काटेको देखाउन धान काटिरहेको ठाउँमा लैजाने, वातावरण दिवसका दिन विरुवा रोप्न लैजाने, दुध कसरी आउँछ, गाई दुहेको देखाउने, ट्राफिक नियम के हो, बग्गीखानामा लगेर ट्राफिकबाट सिकाउने, पुलिसको काम के हो, प्रहरी हेडक्वाटर लगेर देखाउने, ढिकी, जाँतो, ठेकी, मदानी, सिङमाङ के हुन्, बस्तुलाई नै देखाएर पढाउने गरेको उनले बताईन् । ‘हामी घोकाएर पढाउँदैनौँ’ उनले फेरी जोड दिइन् । सबै विषयको पढाई प्रयोगात्मक गर्दा कोर्ष कसरी सकिन्छ ? प्रिन्सिपल बैदार भन्छिन् – दैनिक १/२ घण्टा प्रयोगात्मक कक्षा सञ्चालन गर्दा विद्यार्थीमा स्फूर्ति आउँछ । धेरै कुरा सिक्छन् । प्रयोगात्मक अभ्यासले विद्यार्थीमा पढ्ने, लेख्ने, अभ्यास गर्ने वानिको विकास गराउँछ । सिर्जनात्मक क्षमताको विकास हुन्छ । नेतृत्व विकास हुन्छ । आफूहरुले अहिले पनि ५० प्रतिशत मात्र मन्टेश्वरी मेथड प्रयोग गरेको र ५० प्रतिशत शिक्षा अझै परम्परागत विधिबाट दिने गरेको उनी बताउँछिन् । ‘घोकेको शिक्षाले क्षमता घटाउँछ भने बुझेको शिक्षाले क्षमता बढाउँछ, सिर्जनशिलता बढाउँछ’ उनले भनिन् – बाबुनानीलाई सामाजिक बन्न सिकाउनुपर्छ । अनुशासित बनाउन सिकाउनुपर्छ । आफ्नो काम आफैं गर्न सिकाउनुपर्छ । अरुलाई सम्मान गर्न सिकाउनुपर्छ । रमाईलो वातावरणमा पढाउनुपर्छ ।’ ‘यति कुरा थाहा पाउँदा पाउँदै पनि हामी फेरी पढ्ने र लेख्ने कार्यमा जोड दिन्छौं । किनकी अभिभावकले पनि पढ्न र लेख्नमा मात्र जोड दिन्छन् । हाम्रो छोरा छोरीलाई विक्ने बनाउनु पर्यो भन्छन् । फलफूलको जस्तो’ उनी भन्छिन् – आफ्नो छोराछोरीको शारीरिक विकास, बौद्धिक विकासमा भन्दा घोकन्ते शिक्षामा कमजोर होला कि भन्ने चिन्ता उनीहरुलाई छ । सबै आम्दानी खर्च सौगात मण्टेश्वरीले प्रति विद्यार्थीसँग औषतमा मासिक ६ हजार ५०० रुपैयाँ शुल्क लिन्छ । आम्दानी सबै खर्च हुने गरेको उनले बताइन् । ‘कर्मचारीलाई १५ हजारदेखि ४० हजारसम्म तलब दिनुपर्छ । ३४ जना कर्मचारीलाई तलब खुवायो, प्रशासनिक खर्च हुन्छ, बचत गर्न सकेको छैन’ उनले भनिन् । २०७२ सालको भूकम्पले पहिलाको स्कूल भवन चर्कियो । त्यसपछि कलंकी मैत्रीनगरमा १५ वर्षको लागि जग्गा लिजमा लिएर प्रिफेव्रिकेटेड भवन निर्माण गरेकी छिन् । नयाँ संरचना बनाउँदा करोड भन्दा बढी खर्च भएको उनले बताइन् । यस वर्षदेखि कक्षा २ सम्म पढाउने स्कूलको तयारी छ । प्रि–स्कूल सेटअप भए पनि ठूलो पूर्वाधारको अभावमा स्कूलको माथिल्लो कक्षा सञ्चालन गर्न कठिन भएको छ । ‘नयाँ शैलीमा पढाउन धेरै खर्चिलो छ । त्यसको लागि स्रोत साधनको कमी कमजोरी छ’ उनले चुनौति पनि सुनाइन् ।
ओमको शाखा अब चनौली र हेटौंडामा पनि
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । बैंकले चितवनको चनौली र मकवानपुरको हेटौंडा शाखाको फरक फरक कार्यक्रमबीच उद्घाटन गरेको छ । चनौली शाखा उद्घाटन उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले भिमनगर माबिका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै गरेका थिए । हेटौंडा शाखा उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मकवानपुर बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रावृत्तिको घोषणा गर्दै शाखा तथा एटीएमको उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकको बिविध पक्षहरुको जानकारी गराएको जनाइएको छ । बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी रु १६ अर्ब ३२ करोड कर्जा लगानी गरेकोछ। त्यस्तै ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गर्नुको साथै बिना धितो १५ लाख रुपैयाँसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आएको बैंकको भनाइ छ ।