विकासन्युज

प्रभु बैंकको नयाँ शाखा ज्ञानेश्वरमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ शाखा कार्यालय ज्ञानेश्वरमा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोमबार बैंकका संचालक पुष्पबहादुर प्रधानले गरेका हुन् । बैंकको दरवारमार्ग शाखा कार्यालयको कारोवारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सेयर बजार घटेको दिन नेपाल बैंकको मात्र झण्डै १० करोडको कारोबार, यस्तो छ कारण

काठमाडौं । सेयर बजार घटेका बेला नेपाल बैंकको सबैभन्दा बढी किनबेच भएको छ । बैंकको प्रतिकित्ता ३६३ रुपैयाँमा ९ करोड ५९ लाख रुपैयाँ बराबरको २ लाख ६० हजार ६५८ कित्ता सेयर किनबेच भएको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता ३६८ रुपैयाँमा कारोबार भएकोमा सोमबार ५ रुपैयाँ गिरावट आएको छ । नेपाल बैंकको सेयर मूल्य सस्तो हुनु र सोमबार चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएपछि बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको हो । नेपाल बैंककको सेयर मूल्य सस्तो भएको हुदा लगानीकर्ताले सुरक्षित ठानेर लगानी बढाउदा बढी कारोबार भएको एक ब्रोकरले बताए । सस्तो मूल्य र वित्तीय विवरणले लगानीकर्तालाई लोभ्याएको ती ब्रोकरको भनाई छ । बैंकले सोमबार चालु आवको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरी खुदनाफा २ अर्ब ५६ करोड रुपैयाँ भएको जानकारी दिएको थियो । यस्तै बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ बढी छ । यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको पनि प्रतिकित्ता १३ हजार १०० रुपैयाँमा ४ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

लगानीकर्ताले विश्वास गुमाउँदा २७ अंकले बजार घट्यो, १ अर्ब ५० कराेडकाे काराेबार

काठमाडौं । लगातार १० दिनदेखि उकालो लाग्दै आएको सेयर बजार सोमबार आएर घटेको छ । निरन्तर बढेपछि सोमबार करेक्सन भएपनि घट्न थालेपछि लगानीकर्ताले धमाधम बिक्री बढाउदा यसको असर बजारमा परेको हो । सोमबारकाे बजार २७.६४ अंकले घटेको छ । बजार घटेर नेप्से परिसूचक १ हजार ४१० अंकमा झरेको छ । बजार घट्ने संकेत पाएपछि लगानीकर्ताले नाफा जोगाउन धमाधम सेयर बिक्रीका लागि ब्रोकरमा बुक गर्न थालेपछि यसको असर बजारमा परेको एक ब्रोकरले बताए । आइतबार ५० अंकले बढेर एैतिहासिक उछाल आएको सेयर बजार सोमबार दोहोरो अंकले घटेको छ । बजारमा मागभन्दा बढी आपूर्ति भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् । सोमबार परिसूचकमा गिरावट भएतापनि सेयर कारोबारमा भने सकारात्मक संकेत देखिएको छ । दोहोरो अंकले घटेको बजारमा पनि १७० कम्पनीको १ अर्ब ५१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ८८ अंकले घटेको छ । त्यस्तै, फाइनान्स र ट्रेडिङ समूह क्रमशः ९ र ५ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् । सोमबार नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ ।

बाग्लुङ र डोल्पा जिल्लामा टेलिकमकाे जीएसएम सेवा 

काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको ढोरपाटनमा थ्रीजी विटिएस स्थापना गरी जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो । ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू-भाग र  बोबाङको केही भागमा घन् सेवा सञ्चालनमा आएको छ । यो बाग्लुङ सदरमुकाम देखि १ सय २४ किलोमिटरको सडक दूरीमा र करिब ३ हजार २ सय मिटर उचाईमा अवस्थित छ । अब यो सेवाबाट त्यस स्थानका करिव ५ सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको सुरक्षाको लागि समेत यो सेवाले सहयोग गर्ने छ । त्यसैगरी डोल्पा जिल्लाको दुर्गम ग्रामीण क्षेत्र धो मा भि स्याट प्रविधि मार्फत जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ । डोल्पा बुद्ध गाँउपालिका धो मा स्थापित विटिएसबाट त्यस स्थानका करिव २ हजार बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । यो दुनै सदरमुकाम देखि करिब ३ दिनको पैदल दूरीमा अवस्थित छ । सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ । स्थानीय वासिन्दाहरुले अव त्यस क्षेत्रमा पनि सहज सञ्चार सुविधाबाट पर्यटन विकासमा सहयोग पुग्ने बताएका छन् ।दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र  तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न रेटिङ गराउदै नेपाल बैंक

काठमाडौं । नेपाल बैंकले प्रिमियम मूल्य थप निष्कासन(एफपीओ) ल्याउन रेटिङ को काम सुरु गरेको छ । एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा जानुअघि बैंकले रेटिङको काम थालेको हो । रेटिङको काम सकिएपछि एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । उनले एफपीओको काम सकिएको जानकारी दिदै रेटिङको काम सकेर छिट्टै बोर्डमा जाने जानकारी दिए । उनले सकेसम्म छिट्टै एफपीओ निष्कासन गर्ने बताए । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व रहनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

सोमबारबाट नगरपालिकाका काम सञ्चालन, जनप्रतिनिधिद्धारा सुरक्षाको माग

भक्तपुर । मध्यपुरथिमि नगरपालिका सोमबारबाट काम सञ्चालन भएको छ । मध्यपुरथिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाले संयुक्त विज्ञप्तिमार्फत नगरप्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेलार्ई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै आइतबारबाट जिल्लाका सबै नगरपालिकाका काम ठप्प पार्ने निर्णय गरेको थियो । यद्यपि सधैँ काम रोक्दा सेवाग्राही मर्कामा पर्ने भएकाले सेवाग्राहीलाई ध्यानमा राख्दै आजबाट नगरपालिकाको काम नरोक्ने निर्णय सहित सबै नगरपालिकाले काम सञ्चालन गरेको मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिएका छन् । आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै जनप्रतिनिधिको सुरक्षा माग गरिएको उनले बताएका छन् । यता प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल समक्ष जिल्ला समन्वय समिति, तीन वटा नगरपालिकाका कार्यालयका प्रतिनिधिले आक्रमणकारीलाई कारवाही गर्न, नगरपालिकामा सुरक्षा व्यवस्था गर्न र जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । जिल्ला समन्वय समितिले पत्रकार सम्मेलन नै गरेर प्रमुख श्रेष्ठमाथिको सांघातिक आक्रमणको घोर निन्दा गर्दै २४ घण्टाभित्र आक्रमणकारीलाई पक्राउ गर्न माग गरेको हो । जिसस प्रमुख नवराज गेलालले दिनदहाडै प्रमुखकै घरमा पुगेर उहाँको निजी सवारी साधन तोडफोड गर्दै प्रमुखमाथि सुनियोजित रुपमा आक्रमण भएको बताउँदै आक्रमणकारीलाई पक्राउ गरी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन्। पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले निरङ्कुश पञ्चायती व्यवस्था र १० वर्षे जनयुद्धमा समेत प्रभाव नपरेको भक्तपुरमा अहिले राजनीतिमा दरार ल्याउने, नगरपालिका र पार्टीमा फुट ल्याउने तत्वबाट श्रेष्ठमाथि आक्रमण भएको आशंका गर्दै जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गरे। प्रमुख जिल्ला अधिकारी पोखरेलले भने श्रेष्ठमाथिको आक्रमण आतंककारी गतिविधिको एउटा नमूना भएको बताउँदै दोषी कानूनी कारवाहीबाट कुनै हालतमा उम्कन नसक्ने बताए । उनले आक्रमणकारी छिट्टै पक्राउ हुने र सुरक्षा व्यवस्था कडा पार्ने बताएका छन् । यता नेकपा (एमाले) भक्तपुरजिल्ला कमिटीले पनि प्रेस विज्ञप्ति जारी गर्दै एमाले भक्तपुर जिल्ला कमिटी सचिवालय सदस्य एवं एमाले मध्यपुरथिमि नगर संयोजकसमेत रहनुभएका श्रेष्ठमाथि भएको आक्रमणको निन्दा गर्दै आक्रमणकारीलाई कारवाहीको माग गरेको छ । एमाले जिल्ला अध्यक्ष बचन देउजाले आक्रमणकारीलाई २४ घण्टाभित्र पक्राउ गरी कारवाही नगरे कडा आन्दोलन गर्ने बताए । त्यस्तै नेपाली काँग्रेस मध्यपुर नगर समितिले पनि नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनले पनि दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । रासस

२० प्रतिशत हकप्रद पछि कुमारी बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कुमारी बैंक लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३०३ रुपैयाँ रहेको थियो ।

नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढ्न लाखाै खर्चने दिन सकिए, अब १०० रुपैयाँमा पाइने

काठमाडौं । तपाईले नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढ्न लाखौ रुपैयाँ खर्च गर्नुपरेको छ । शुल्क महंगो भएर अध्ययन गर्न पाउनु भएको छैन ? अब चिन्ता नलिनुस् समता अस्पतालले तपाइको इच्छा पुरा गर्ने छ । समताले १ सय रुपैयाँमा नर्स, अहेव, एचए र ल्यावटेक्निसियनको अध्ययन गराउने भएको छ । यसका लागि अस्पतालले काम शुरु गरेको छ । यही वर्षदेखि सञ्चालनमा ल्याउने तयारी समताको छ । यसबाट न्युन आय भएका व्यक्तिले पनि नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए विषय पढ्न पाउने भएका हुन् । अस्पतालले भर्ना फि लगायत गरी सबै कोर्शका लागि १ सय रुपैयाँ तिरेपछि पठ्न पाइने छ । एक पटक १ सय रुपैयाँ तिरेपछि विद्यार्थीले थप शुल्क तिर्नुपर्दैन । अहिले नर्स पढ्नका न्युनतम ४ देखि ७ लाख रुपैयाँसम्म खर्च लाग्छ । यस्तै अहेव, ल्यावटेक्नीसिएन र एचए पढ्न पनि लाखौ रुपैयाँ खर्च गर्नुपर्छ । यसले गर्दा यी विषयमा कम आय भएका व्यक्तिको पंहुच बाहिर रहेको छ । समताले अध्ययन शुरु गरेपछि गरिवको पंहुच यी विषयमा हुने छ । पैसा भएकाले मात्र पढ्न पाएकोमा अब समताले १ सय रुपैयाँमा पुरै कोर्स अध्यन गर्न सकिने छ । यो वर्षदेखि १ सय रुपैयाँमा कक्षा शुरु गर्ने तयारी समताले थालेको छ । हाल अस्पताल मात्र सञ्चालन गरिरहेको समताले अब १ सय रुपैयाँमा स्वास्थ्यकर्मी उत्पादन गर्न लागेको हो । सरकार नर्स, अहेव कक्षा सञ्चालनका लागि सरकारसंग अनुमति मागेको छ । सरकारले यो वर्षभित्र सञ्चालन गर्न अनुमति दिने प्रतिवद्धता जनाएको समता अस्पताल सञ्चालक उत्तम सञ्जेलले बताए । असपतालले पहिलो चरणमा नर्स, अहेव, ल्यावटेक्निसियन र एचएका लागि ४०÷४० जना भर्ना लिने भएको छ । न्युनआय भएका व्यक्तिहरु धेरै पैसा नभएको कारणले अस्पताल जान डराउँछन् । शरीरमा रोग पालेर बस्ने गर्छन् । बिरामीलाई यस्तो अवस्थाबाट मुक्त गर्न यो अस्पताल खोलिएको हो । बाँसबाट बनाईएको अस्पताल, बाहिरबाट हेर्दा कुनै कटेज चिटिक्क देखिन्छ । होलबडी चेकअप गराउन १ हजार ५०० शुल्क लिएको छ । आफुलाई लागेको रोगको जानकारी बाहिरको काउन्टरमा बस्ने व्यक्तिले तपाईको रोग अनुसारको डाक्टरको नाम सिफारिस गर्छन् र तपाईको हातमा एउटा पूर्जी थमाउँछन् ।अस्पतालमा जनरल फिजिसियन, बाल, नशा तथा हाडजोर्नी, स्त्री, मुट, छाला तथा यौन, रोगका २५ जना विशेषज्ञ डाक्टर उपलव्ध छन् । बिरामीले प्याथोलोजी सेवा लिनु परे या ईसीजी वा अल्ट्रासाउन्ड गर्नुपरे थप शुल्क तिर्नु पर्दैन । अझ ज्येष्ठ नागरिक परिचयपत्र भएका बिरामीलाई त अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । अपाङ्ग तथा महिलाको लागि पनि अबस्था हेरेर अस्पतालले शुल्कमा छुट दिँदै आएको छ । आर्थिक अवस्था कमजोर भएका आम नगरिकहरु दिन दिनै पैसाको चिन्ताले झनै बिरामी भहिरहेका छन् । तर अब यस्तो अवस्थाबाट मुक्त गर्न अस्पताल खोलिएको अस्पतालका संस्थापक उत्तम संजेल बताउँछन् । अस्पताल सञ्चालनमा आएको १ वर्ष भएको छ । १ वर्षमा यस अस्पतालले ३० हजार बिरामीलाई उपचार गरी सकेको साथै दैनिक करिब २ सय जना बिरामीले यस अस्पतालबाट सेवा लिईरहेका छन् ।