भार्गव विकास बैंकको ७ लाख ५३ हजार कित्ता हकप्रद सेयर लिलामीमा, जेठ ३ देखि बिक्री खुला
काठमाडौं । भार्गव विकास बैंकको हकप्रद बिक्री नभएपछि पुनः लिलामी हुने भएको छ । चुक्तापूँजी बढाउन बैंकले निष्कासन गरेकोमध्ये संस्थापक र सर्वसाधारणको गरी ७ लाख ५३ हजार कित्ता हकप्रदका लागि आवेदन नपरेपछि बैंकले पुनः लिलामी गर्न लागेको हो । संस्थापक समूहको ६ लाख ६७ हजार ७०६ र सर्वसाधारणको ८५ हजार ६६४ कित्ता सेयर रहेको छ । सेयर खरिद खुला जेठ २ गतेबाट सुरु भई १० गते बन्द हुने बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले कात्तिक २४ देखि पुस १४ गतेसम्म हकप्रद निष्कासन गरेको थियो ।
सिद्धार्थ बैंकको हकप्रद सेयर लिलामीमा, जेठ १० गते बोलपत्र पेश गर्ने अन्तिम दिन
काठमाडौं । सिद्धार्थ बैंकको आवेदन नपरेका हकप्रद सेयर पुनः लिलामी हुने भएको छ । चुक्तापुँजी बढाउन बैंकले निष्कासन गरेको मध्ये सर्वसाधारण र संस्थापक गरी २ लाख १४ हजार ३३५ कित्ता हकप्रदको जेठ २ देखि खुला हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । बिक्री बन्द जेठ १० गते हुने छ । बैंकको सर्वसाधारण समूहको १ लाख ७४ हजार ३१५ र संस्थापकको ४० हजार २० कित्ता रहेको छ । हकप्रद सेयर खरिदका लागि सिद्धार्थ क्यापिटलको राजधानीको नक्साल, र बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढीबाट सिलबन्दी बोलपत्र पेश गर्न सकिने छ ।
थोरै ब्याजदरमा ऋण चाहियो ? राष्ट्रिय वाणिज्य बैंक जानुस्
काठमाडौं । तपाईले महंगो ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न सक्नु भएको छैन ? सस्तो ब्याजको खोजिमा हुनुहुन्छ ? अब चिन्ता नलिनुस् सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सबैभन्दा सस्तो छ । बैंकले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदरले २८ बैंकमध्ये सबैभन्दा सस्तो देखाएको हो । गत चैतसम्म राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ६.२० प्रतिशत छ । यसमा ५ प्रतिशत प्रिमियम जोड्दा राष्ट्रिय वाणिज्यको ११ प्रतिशत ब्याजमा कर्जा पाउन सकिने सार्वजनिक नयाँ दरले देखाएको छ । आधार र स्प्रेडदर जोड्दा ११.१५ प्रतिशत हुने बैंकले जनाएको छ । अघिल्लो ३ महिनामा सबैभन्दा सस्तो ब्याजदर स्ट्याण्डर्ड चाटर्ड बैंकको थियो । स्ट्याण्डर्डलाई पछि पार्दै राष्ट्रिय वाणिज्य सस्तो दरमा कर्जा दिने भएको हो । कर्जाको सस्तो ब्याजदर हुनेमा राष्ट्रिय वाणिज्यपछि नेपाल बैंक र त्यसपछि मात्र स्ट्याण्डर्ड चाटर्ड देखिएको छ । अधिकाँश बैंकको आधार ब्याजदर १० प्रतिशत माथि छ । तर राष्ट्रिय वाणिज्यको आधार दर सबैभन्दा कम रहेकाले कर्जाको ब्याजदर अन्यको भन्दा सस्तो हुन पुगेको हो । केही वाणिज्य बैंकको ब्याजदर आधारमा प्रिमिय जोड्दा १८ प्रतिशतसम्म पुगेको छ । बैंकले निक्षेपमा दिने ब्याज कम भएपछि कर्जाको ब्याजदर अन्य बैंकको भन्दा सस्तो हुन गएको हो । बैंकले सामान्य वचतमा २ देखि ४ प्रतिशत ब्याज दिने गरेको छ । मुद्धति निक्षेपमा न्युनतम साढे ५ देखि ७ प्रतिशत हारहारीमा छ । अधिकाँश बैंकले साधारण निक्षेपमा ८ र मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिएका छन् । राष्ट्रिय वाणिज्यको औद्योगिक र हाउजिङ तथा रियलस्टेट कर्जा न्युनतम ९.७ देखि अधिकतम ११.७ प्रतिशतसम्म छ । यस्तै आवास कर्जा (होमलोन) वर्षअनुसार फरक छ । ५, १० र १५ वर्षको होमलोनको ब्याजदर भने फरक छ । होम लोनको ब्याजदर न्युनतम ९.२ देखि अधिकतम १२.२ प्रतिशतसम्म रहेको बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ दरमा सवारीसाधन कर्जा (अटोलोन) न्युनतम ९.२ देखि अधिकतम् १०.२ प्रतिशतसम्म रहेको छ । सेयरधितो कर्जा पनि न्युनतम १०.२ देखि अधिकतम १२.६ प्रतिशत छ । यसैगरी कृषि, व्यक्तिगत, ओभर ड्राफट कर्जा पनि सस्तो छ । सबैभन्दा महंगो ब्याजदर हुनेमा सरकार स्वामित्वकै कृषि विकास बैंक रहेको छ । कृषि विकासको आधार ब्याजदर सबैभन्दा बढी १२.७२ प्रतिशत छ । यो आधार दर राष्ट्रिय वाणिज्यको भन्दा दोब्बर बढी छ । कृषि विकासले ५ प्रतिशत प्रिमियम जोड्दा उसको ब्याजदर १८ प्रतिशत पुग्ने देखिन्छ । नेपाल बैंकको ७.११ प्रतिशत छ । यसपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको ७.२० प्रतिशत छ । अघिल्लो ३ महिनामा सबैभन्दा सस्तो ब्याज स्ट्याण्डर्ड चाटर्डको थियो । स्ट्याडर्ड चाटर्डको आधारदर ५ प्रतिशत तल रहेकोमा बढेर ७ प्रतिशत कटेको छ । अघिल्लो त्रैमाशमा बैंकको आधारदर ५.८ प्रतिशत मात्र थियो । यस्तै नविल बैंकको आधार दर ७.३३ र नेपाल इन्भेष्टमेन्ट बैंकको ९.१२ प्रतिशत छ । अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत माथि रहेको हालै सार्वजनिक गरिएको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा उल्लेख छ । महंगोमा निक्षेप उठाएपछि लागत बढ्न गई आधार ब्याजदर महंगो हुन गएको हो । गत फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.९६ र निक्षेपको ६.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । बढी आधार ब्याजदर हुनेमा कृषि विकासपछि निजी क्षेत्रको सिभिल बैंक भएको छ । सिभिलको आधारदर १२.३६ प्रतिशत छ । १२ प्रतिशत भन्दा बढी आधार ब्याजदर हुनेमा सेञ्चुरी कमर्शियल बैंकको १२.६ र नेपाल क्रेडिट एन्ड कमर्श बैंकको १२.३ प्रतिशत रहेको वित्तीय विवरणले देखाएको छ । पछिल्लो समयमा बैंकर्सले मुद्धति निक्षेपमा ११ र साधारणमा ८ प्रतिशत ब्याज लिने आन्तरिक सहमति जनाएका छन् ।
डिजिटल बन्दै कर्णाली प्रदेश, महशुल तिर्न कार्यालय धाउन नपर्ने
काठमाडौं । पछिल्लो समय समृद्ध कर्णालीको नारा लिएर अगाडी बढिरहेको प्रदेश नं ६ मा अवस्थित सुर्खेतबासीले पनि इसेवाबाट खानेपानीको महशुल तिर्न सक्ने भएका छन् । १६ हजार ग्राहक रहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्त संस्थाले आफ्नो संस्थालाई डिजिटलाइज गर्नुका साथै इसेवाबाट महशुल भुक्तानी गर्न सकिने सेवा दिएको हो । कम्पनीले आफ्ना सबै क्रियाकलाप अटोमेशनमा लगेको जानकारी दिएको छ । त्यस्तै विरेन्द्रनगर नगरपालिकाका स्थानीय खानेपानीको महशुल भुक्तानीकै लागि संस्थाको कार्यालयसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ । संस्थाले अनलाइन पेमेन्टका साथै कार्यालयका सम्पूर्ण कार्यलाई अटोमेशनमा लगेको छ । दियालो टेक्नालोजिजले बनाएको ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयर प्रयोग गरि सबै कार्यलाई अटोमेशनमा लगेको हो । यो सफट्वेयरले बिलिङ, लेखा पद्धती, जिन्सी व्यवस्थापनदेखि मिटर रिडिङसम्मका कार्यलाई डिजिटलाइज गर्ने कम्पनीको भनाइ छ । संस्थाका अध्यक्ष कुलमणी देवकोटाले भने ‘प्रविधिको प्रयोग नगर्दा हामीलाई सेवा दिन निकै गाह्राे भइरहेको थियो । ग्राहक धेरै हुँदा ३/४ घण्टा लाइनमा बसी महशुल भुक्तानी गर्नुपर्ने बाध्यता थियो ।’ इसेवासँगको सहकार्यले अब लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको छ उनकाे भनाइ छ । यसअघि सुनसरीकोे इटहरी खानेपानी, भक्तपुरको बालकोट खानेपानी र दधिकोट खानेपानी, पर्वतको कुश्मा खानेपानी लगायत करिब दुई दर्जन खानेपानी संस्थाले अनलाइनबाट महशुल तिर्न सकिने सुविधा उपभोक्तालाई दिइसकेका जानकारी दिइएको छ । कम्पनीकोअनुसार प्रविधिमार्फत खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाइल एप्लिकेशनबाट गर्न सकिन्छ । आफ्नो मोबाइल तथा इन्टरनेटबाट महशुल भुक्तानी गर्न सकिन्छ । अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने भएपछि महशुल बुझाउन जाने समय र खर्चमा कटौती हुँदा उपभोक्तालाई ठूलो राहत भएको छ । सन् २००९ देखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ ।
शनिबार अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्वन्धि सम्मेलन, २३ मुलुक सहभागी हुदै
काठमाडौं । शनिबार काठमाडौंमा अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्बन्धि सम्मेलन हुने भएको छ । नेपाल चार्टर एकाउन्टेन संस्था (आइक्यान) को आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । आइक्यानका अध्यक्ष सिए प्रकाश थापाले सम्मेलनमा अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थापन प्रणाली, संघियतामा वित्तीय प्रवन्ध, सार्वजनिक क्षेत्रमा लेखा परीक्षणको कार्य, सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धमा विभिन्न देशको अभ्यासका विषयमा सत्रहरु सञ्चालन हुने बताए । उनका अनुसार सम्मेलनमा २३ देशका ३२ वटा संस्थाका प्रतिनिधिसहित २५० भन्दा बढीको प्रतिनिधित्व हुनेछ । काप्पा र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायीत्व (पेफा) कार्यालयको सहकार्यमा हुने उक्त कार्यक्रमा पेफा सचिवालयले नेपालमा वित्तीय व्यवस्थापनको सम्बन्धमा कार्यपत्र पस्तुत गर्नेछ । ‘सम्मेलनले सार्वजनिक वित्त अवधारणा कार्यन्वयनमा रहेका चुनौती र सार्वजनिक वित्त व्यवस्थापनलाई सुदृढ गर्नमा सम्वद्ध पक्षको तयारीलाई सहयोग पुग्नेछ,’ अध्यक्ष थापाले भने । आयोजकका अनुसार सम्मेलन अवधिमा काप्काका विभिन्न समितिको बैठक र साधरण सभा पनि नेपालमै हुने बताइएको छ । सोमबार सिए शिक्षा मेला त्यस्तै आइक्यानले सोमबार ‘सिए शिक्षा मेला–२०१८ ‘ गर्ने भएको छ । राजधानीको पुलिस क्लवमा आयोजना हुने मेलामा आइक्यान तथा आइक्यानबाट सम्वन्धन प्राप्त कोचिङ सेन्टरहरूका स्टल राखिने जनाइएको छ । मुलुकमा आइक्यानका हालसम्म ८ हजार ४ सय सदस्य रहेका छन् भने लेखा व्यवसायमा प्रवेश गर्न चाहने ७ हजार विद्यार्र्थी अध्ययनरत रहेका छन्
एनएमबि बैंकले पर्वतीय क्षेत्रको सम्वृद्धि गर्ने, आईसीआईएमओडीसँग सम्झौता
काठमाडौं । एनएमबि बैंकले नेपालको पर्वतीय क्षेत्रको आर्थिक, सामाजिक सम्बृधिका लागि र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट(आईसीएमओडी)सँग सहकार्य गर्ने भएको छ । सहकार्य सम्बन्धि सम्झौतापत्रमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईसीएमओडीका डाइरेक्टर जेनेरल डा. डेभिड मोलडेनले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार दुबै संस्थाले आफ्नो नेपाल भरी फैलिएको सन्जाल मार्फत आफ्नो प्राबिधिक सीप तथा दक्षता प्रयोग गरी स्थानीय समुदायको सामाजिक आर्थिक बिकासका लागि काम गर्ने छन् । सम्झौताले पर्वतीय क्षेत्रको स्थानीय समुदायहरुका लागि मुख्य तीन कार्य क्षेत्रलाई संबोधन गर्नेछ जसमा बित्तिय क्षेत्रमा पँहुच, लगानीको प्रभाव र संस्थागत सामाजिक उत्तरदायित्व रहेको छ । एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला व्यवसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले सहकार्यहरु गर्दै आएको छ ।
मुक्तिनाथ विकास बैंक मोरङ्गको विराटनगरमा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विराटनगरको मेनरोड जलजला चोकमा आफ्नो ७८औं शाखा विस्तार गरेको छ । बुधबार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् । खड्काले बैंकले नेपाल राज्यभर ग्राहकमैत्री सेवा सुविधा प्रदान गर्ने बताएका छन् । साथै, प्रदेश नं. १ मा रहेका ग्रामिण तथा शहरी सम्भावित बजार क्षेत्रमा पनि अन्य शाखाहरु विस्तार गर्ने बैंकले जनाएको छ । कार्यक्रममा बैंकका ब्राण्ड एम्बास्डर सिताराम कट्टेल(धुर्मुश) र कुञ्जना घिमिरे(सुन्तली) ले यस बैंक बैंकिङ्ग कारोबारसंग मात्र आवद्ध नभई सामाजिक उत्तरदायित्वमा पनि संगसंगै अगाडि बढेको बैंक भएकोले सम्पूर्ण नगरवासीलाई बैंकसंग आवद्ध हुन आग्रह गरेका छन् । कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनले बताए ।
९३ कम्पनीको ३० अर्बको बोनस सेयर कारोबारका लागि सुचिकरण, कसको कति ?(विवरणसहित)
काठमाडौं । साउनयता विभिन्न ९३ कम्पनीको ३० अर्ब रुपैयाँ बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ । बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत र उत्पादनमुलक कम्पनीको सेयर कारोबारका लागि सुचिकृत भएको हो । यो बोनस सेयर मात्र हो । लगानीकर्तालाई यी कम्पनीले अर्बौ रुपैयाँ नगद लाभांश पनि वितरण गरेका छन् । सबैभन्दा बढी बोनस सेयर दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले लगानीकर्तालाई गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११४ प्रतिशत बोनस सेयर दिएको छ । यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका लघुवित्त विकास बैंकको ६५, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० र एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो । अधिकाँश कम्पनीले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर दिएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन बोनस सेयर वितरण गरेका छन् । अधिकाँश बैंक तथा वित्तीय संस्थाको चुक्तापूँजी पुगिसकेकाले आउँदो आर्थिक वर्षदेखि नगद लाभांश बढी हुने छ ।(विवरण हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)