युएस ब्राण्डद्धारा ह्विलपुलका उत्पादन नेपाली बजारमा
काठमाडौं । ह्विलपुल कर्पोरेशनका उत्पादन नेपाली बजारमा आएको छ । काठमाडौंस्थित केरोना ट्रेडलिङ्क प्रा.लि.सँगको सहकार्यमा युएस ब्राण्डले घरायसी सामानहरु बजारमा ल्याएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ह्विलपुल थ्रि डि इन्भर्टर एयर कन्डिसन सार्वजनिक गरेका छन् । यससँगै इन्भटर, एसि, डिप फ्रिज, माइक्रो ओभन, वाशिङ मेशिन लगायतका सामानहरु बजारमा आएको छ । यी सामानहरु सस्तो र गुणस्तरीय रहेको ट्रेडलिङ्ककी व्यवस्थापन निर्देशक बेबी दाहाल चापागाईँले बताइन् ।
राष्ट्रिय बीमा संस्थाको प्रशासकमा ३ जनाको नाम शिफारिश
काठमाडौं । राष्ट्रिय बीमा संस्थाको प्रशासकमा ३ जनाको नाम शिफारिश भएको छ । शिफारिश समितिले व्यवसायिक योजना र अन्तरवार्ताका आधारमा क्रमश कविप्रसाद पाठक, झापा, डा. डिल्लीराज अर्याल गुल्मी र बुद्धकाजी श्रेष्ठ काठमाडौंलाई शिफारिश गरेको हो । सरकारले वर्णानुक्रमअनुसार प्रक्रिया अघि बढाए पाठक प्रशासक बन्ने छन् । अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि निर्णय हुने छ । यस्तै लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा शिफारिशमा परेनन् । प्रशासक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समिलिाई उम्मेदवारले आइतबार संस्थाको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । सोमबार अन्तरवार्ता लिएको थियो ।
स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग
काठमाडौं । निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीका लागि ल्याइएको स्वेच्छिक अवकास प्रक्रिया अघि बढाउन माग गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले रोकेको अवकाश प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् । अघिल्लो सरकारले ल्याएको स्वेच्छिक अवकाश व्यवस्था वर्तमान सरकारले खर्चिलो र अनुभवी कर्मचारी अवकाश लिने भन्दै रोकेको छ । अध्यक्ष ढकालले अवकासका लागि राजीनामा दिएर बसेका कर्मचारीलाई पुनः काममा पठाउन समस्या हुने भएकाले अवकाशको प्रक्रिया थाल्नुपर्ने बताए । ‘‘एउटा सरकारले ल्याएको अवकाशलाई अहिले अर्को सरकारले रोकेको छ,’’ उनले भने, ‘‘एउटाले बनाएको कानून अर्कोले परिवर्तन गर्न पाइँदैन, अवकाशका लागि निवेदन दिएका कर्मचारीलाई प्रक्रिया पुर्याई अवकाश गर्नुपर्दछ ।’’ चार सचिवसहित करीब नौ हजार ६७१ जना कर्मचारीले अवकाशका लागि निवेदन दिएका छन् । यस्तै अध्यक्ष ढकालले समायोजन गर्दा कर्मचारीको भावनाअनुरुप गर्नुपर्नेमा पनि जोड दिएका छन् । कार्यक्रममा युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले राजीनामा दिएका कर्मचारीलाई अवकाश दिएर नयाँ कर्मचारी राख्नुपर्ने बताए । उनले राजीनामा दिएका कर्मचारीको काम गर्ने इच्छा नहुने भएकाले अवकाश दिनुपर्ने बताएका छन् । यस्तै, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष केदारप्रसाद देवकोटाले सरकारले कर्मचारी खटाउन नसक्दा जनताको काम प्रभावित भइरहेको भन्दै विधि प्रक्रियाले कर्मचारी खटाएमा जाने बताए । नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपाल पोखरेलले समायोजन ऐनअनुसार नै स्थायी रुपमा कर्मचारीलाई खटाउनुपर्ने बताएका छन् । यस्तै, आधिकारिक ट्रेड युनियनले तलब भत्ताको पुनरावलोकन हुनुपर्नेसमेत माग राखेका छन् । अहिलेको बढ्दो महँगीका कारणले तलबले जीवन धान्नमा समस्या परेकाले तलब बढाउनुपर्ने माग आधिकारिक ट्रेड युनियनको छ । रासस
मापदण्डभन्दा कम पेट्रोल बिक्री गर्ने नारायणी पेट्रोल पम्पको नोजल सिल
काठमाडौं । मापदण्डभन्दा कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि नारायणी पेट्रोल सेन्टरको नोजल सिल गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको संयुक्त बजार अनुगमनको क्रममा काठमाडौंको बाफलस्थित नारायणी पेट्रोल सेन्टरमा मापदण्डभन्दा कम पेट्रोल झरेको भन्दै समस्या देखिएको नोजल सिल गरेको हो । उक्त पम्पको २/२ वटा नोजलहरु मध्ये पेट्रोलको १ वटा नोजबाट मापदण्डभन्दा २५ एमएल कम पेट्रोल झरेको थियो । अनुगमन टोलिले उक्त समस्या फेला पारेपछि तत्काल सो नोजललाई सिलबन्दी गरिएको विभागका शाखा अधिकृत दुण्डिराज पोखरेलले जनाए । त्यस्तै उनले पम्पमा डिजेलको १ वटा नोजलबाट लिकेज भएको हुँदा मर्मत गरी सञ्चालन गर्न निर्देशन दिएको जनाए । अग्नि नियन्त्रक यन्त्रको व्यवस्था गर्न तथा व्यवसाय दर्ता नविकरण गरी ७ दिनभित्र विभागमा पेश गर्न निर्देशन दिएको उनको भनााइ छ । त्यस्तै विभागले साेही दिन काठमाडौं, भक्तपुरका विभिन्न खाद्य पशलहमा समेत अनुगमन गरेकाे थियाे ।
सार्वजनिक निजी साझेदारमा ५ वर्षमा सोलारबाट मात्रै ५०० मेगावाट बिजुली उत्पादन
काठमाडौं । सार्वजनिक निजी साझेदारीमा आउदो ६ वर्षभित्र सोलार प्लाण्टबाट मात्रै ५ सय मेगावाट बिजुली उत्पादन हुने भएको छ । प्रत्येक वर्ष १०० मेगावाटका दरले आउदो ५ वर्षमा सोलारको जडित क्षमता ५०० मेगावाट पुर्याउन लागिएको हो । उर्जा मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७६/०७७ देखि आव ०८०/०८१ सम्म ५०० मेगावाटका विभिन्न सोलार आयोजना सम्पन्न भई ७० करोड युनिट बिजुली उत्पादन हुने अनुमान गरिएको छ । ऊर्जा मिश्रणका लागि सोलार आवश्यक भएपछि योजना ल्याइएको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बताए । काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सुन्दरीघाटमा भूमिगत पानी तान्नका लागि सोलार प्लाण्टबाट ६८० किलोवाट बिजुली उत्पादन गरिरहेको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदानमा सोलार प्लाण्ट जडान गरिएको हो । आउदो १ वर्षमा नुवाकोटमा २५ मेगावाटको सोलार प्लाण्टबाट बिजुली उत्पादन सुरु हुने भएको छ । सोलार प्लाण्टका लागि काम सुरु गरिसकेको नेपाल विद्युत प्राधिरकणले जनाएको छ । विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीस“ग ४ अर्ब रुपैयाँमा ९३ करोड ८० लाख अमेरिकी डलर० ठेक्का सम्झौता गरिएको छ । यता निजी लगानीमा २१ वटा सोलार प्लाण्टबाट ६१ मेगावाट बिजुली उत्पादन गर्ने काम अघि बढेको छ । विद्युत खरिद दरमा कुरा मिल्न बाँकी रहेको छ । खरिद दर भएमा निजी क्षेत्रले १ वर्षमा सबै सोलार प्लाण्ट सञ्चालनमा ल्याउने छ । यी आयोजना सम्पन्न भएमा १० करोड ६० लाख ६९ हजार युनिट बिजुली सोलार प्रविधिबाट उत्पादन हुने छ ।
बुधबारको बजारमा सामान्य सुधार, २२ करोडको सेयर किनबेच
काठमाडौं । निरन्तर ओरालो लागिरहेको बजारमा बुधबार भने सामान्य सुधार आएको छ । बजारमा नेप्से परिसूचक ४.१५ अंकले बढेर १३३८ अंकमा पुगेको छ । मंगलबारको जस्तै बुधबारको बजारमा पनि केवाइसीको प्रभाव परेको देखिन्छ । बुधबारको बजारमा २२ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८ करोड रुपैयाँ बढी हो । सो दिन कुल १५८ कम्पनीको ४ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन एक करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १८६० रुपैयाँ रहेको छ । बजारमा उत्पादनमूलक र फाइनान्स समूह बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूह ४६ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावरको १३.१३ अंकले बढेको छ ।
अन्तर बैंक चेक कारोबार बढ्यो, दैनिक ४० हजार चेकबाट २६ अर्ब भन्दा बढीको कारोबार
काठमाडौं । नेपाल क्लियरिङ हाउसले दैनिक ४० हजार अन्तर बैंक चेक क्लियरिङ गर्दै आएको छ । सन् २०११ देखि सेवा सञ्चालन गर्दै आएको हाउसले ७४ वटा बैंक तथा वित्तीय संस्थाको ४० हजार भन्दा बढी चेक क्लियरिङ गर्दै आएको हो । हाउससँग अाबद्ध बैंक तथा वित्तीय संस्थाको ४० हजार वटा चेक बाट दैनिक २६ देखि २७ अर्बको कारोबार हुँदै आएको हाउसका व्यापार विकास अधिकृत विवेक गिरीले बताए । ‘अहिले अन्तर बैंकिङ कारोबार बढ्दै गएको छ, गत वर्षमा ३५ हजार को हाराहारीमा चेक क्लियरिङ भैरहेकोमा यो वर्ष ५ हजार बढी चेक क्लियरिङ भैरहेको छ,’ अधिकृत गिरीले विकासन्युजसँग भने । हाउसले एउटा सामान्य चेक २४ घण्टाभित्र क्लियरिङ गर्ने गरेको छ । साधारण चेकलाई दिनको २ बजे भन्दा अघि नै क्लियरिङमा पठाउनु पर्नेछ । एक्सप्रेस चेकलाई ३ भागमा विभाजन गरिएको छ । पहिलो एक्सप्रेस चेकलाई १० देखि ११ बजेसम्म हाउसमा पठाउनुपर्ने हुन्छ त्यस्तै दोस्रो र तेस्रो एक्सप्रेस चेकलाई दिनको १२ बजेसम्म बुझाउनु पर्नेछ । हाई भ्यालु चेकको लागि दिनको १० देखि साढे ११ बजेसम्म बुझाउनु पर्नेछ । चेक अनुसार सेवा शुल्क फरक लाग्ने अधिकृत गिरीले बताए । गिरीका अनुसार हाउसले अब चेक मात्र नभएर राजस्व, फिल्म टिकट, हवाई टिकट र अन्य सेवा सुविधाको खरिद बिक्री समेत हाउसबाटै ई पेमेन्ट गर्न सकिनेछ ।
आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच बैंक्यास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंकको तर्फबाट सहायक महाप्रबन्धक केशबराज पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले यस बैंकको जुनसुकै शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । सोही अवसरमा आईएमई जनरलका सीईओ युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । कार्यक्रममा कम्पनीका सीईओ युगेशभक्त वादे श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै जाने प्रतिवद्ध जनाएका छन् ।