विकासन्युज

नेपालमै पहिलो पटक अक्सन मेला हुँदै, ६० भन्दा बढी ब्राण्डेड गाडीहरु समावेश

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को सह-कम्पनी सिप्रदी अर्स्योड प्रा.लिले नेपालमा गाडीहरुको अक्सन मेला आयोजना गर्ने भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस अक्सन मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी ब्राण्डेड गाडीहरु समावेश हुनेछन् । यही जेठ ११ र १२ गते थापाथलीमा हुने यस मेलामा ग्राहकहरुले आफूलाई मन परेको गाडी खरिद गर्न सक्नेछन् । साथै, ग्राहकहरुले मेलामा वारेण्टी सहित गाडीहरुको नामसारी पनि गरिनेछ ।

उपसचिव खगेन्द्रप्रसाद सुवेदी ५० हजार हातमा लिने बित्तिकै पक्राउ

काठमाडौं । उप सचिव खगेन्द्र प्रसाद सुवेदी ५० घुस लिदाँलिदै पक्राउ परेका छन् । सुवेदीले विद्यालयमा योजना पारिदिने भन्दै ५० हजार घुस लिदै गर्दा पक्राउ परेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई, सुनसरी जिल्ला शिक्षा कार्यालयका समन्वय अधिकृत उपसचिवमा कार्यरत सुवेदीले भन्टावारीको विद्यालय भवन तथा शौचालय निर्माणको योजना पारिदिने प्रयोजनका लागि घुस मागेका थिए । घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सुवेदीलाई पक्राउ गरेको हो । सुवेदीलाई सुनसरी, इनरुवा नगरपालिका स्थित निजको सरकारी निवासबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।

कलङ्किको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा

काठमाडौं । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर-बल्खुपुल-कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो । कलङ्की चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर कलङ्की-खसीबजार भागको ‘फिनिसिङ’ को कामसमेत सम्पन्न भएको आयोजनाले जनाएको छ । असार दोस्रो सातासम्म कलङ्की-बाफल भागको ४०० मिटर ‘फिनिसिङ’ को काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । यो संगै कोटेश्वर-बल्खुपुल-कलङ्की १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । नौ किमिको काम सम्पन्न भई एक दशमलव चार किमीको काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । “कोटेश्वर-बल्खुपुलको सबै काम सम्पन्न भएको छ, बल्खुपुलबाट कलङ्कीसम्म सडक विस्तार अन्तिम चरणमा पुगेको छ, मंसिरसम्म सबै काम सकेर सडक हस्तान्तरण हुन्छ”-उनले भने । चिनियाँ युआन २१ करोड २० लाख रूपैयाँ अर्थात् नेपाली करीब पाँच अर्ब रूपैयाँ अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ । दोस्रोचरणमा कलङ्कीबाट महाराजगञ्जसम्म आठ दशमलव पाँच किमी सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । यो खण्डको किनारका संरचना हटाउने काम शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताए । साउनसम्म यो खण्डको पनि प्रारम्भिक डिजाइन तयार हुने विभागले जनाएको छ । त्यस लगत्तै काम शुरु हुनेछ । यो खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ । २८ किमी चक्रपथमध्ये महाराजगञ्ज-कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन । रासस

गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छः मन्त्री अधिकारी

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन् । निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् उनले निजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन नसकिने बताएका छन् । मन्त्री अधिकारीले आउँदो वर्ष विमानस्थल सञ्चालनमा आउने गरी काम अगाडि बढाउन आफूले निर्देशन दिइसकेको र १५/१५ दिनमा निर्माणाधिन विमानस्थलको अनुगमन गरिरहेको जानकारी दिएका छन् । “हवाई रुटको बारेमा छलफल भइरहेको छ, विमानस्थलको निर्माण कार्य सम्पन्न हुनु अगावै रुटको कुरा टुंगिन्छ, उनले भने, “शुरुमा पुरानो टर्मिनलबाट काम शुरु गर्छौ, काठमाडौँको विकल्पका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहनेछ ।” मन्त्री अधिकारीले विमानस्थल निर्माण कार्यलाई तीव्रताकासाथ अगाडि बढाउन आवश्यक उपकरण थप्नुपर्ने अवस्था आए सरकारले उपकरणको व्यस्थापन गर्ने बताउँदै विमानस्थलको काम सन्तोषजनक रुपमा अगाडि बढिरहेको धारणा व्यक्त गरेका छन् । यसअघि चैत २४ गते पनि उहाँले विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए । सो अवसरमा आयोजना प्रमुख इञ्जिनियर ओम शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिँदै रनवेको सव वेसको काम सकिएर बेस लेयरको काम भइरहेको अवगत गराएका छन् । वर्षातपछि रनवेको पिचको काम शुरु हुने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय टर्मिनल भवनकोे अन्तिम तल्लाको ढलाइ यसै हप्ताभित्र पूरा हुनेछ भने कन्ट्रोल टावर र प्रशासनिक भवनको काम आधा भन्दा बढिसकिएको छ भने । प्रमुख इञ्जिनियर शर्माका अनुसार, विमानस्थलमा दैनिक दुई सयजना मजदुरले काम गरिरहेका छन् । विमानस्थलको ७० प्रतिशत भौतिक संरचनामध्ये ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र ३० प्रतिशत बाँकी रहेको छ । विद्युतीय र मेसिनरीको कामको भौतिक संरचना पूरा हुने वित्तिकै बाँकी ३० प्रतिशत काम पनि पुरा हुनेछ । सन् २०१९ लाई अपरेशन वर्षको रुपमा लिएर काम भइरहेको आयोजनाले जनाएको छ । रासस

नेपाल इन्भेष्टमेण्ट बैंक र आइएफसीबीच कर्जा सम्झौता, तरलता कम हुने अपेक्षा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र विश्व बैंक समूहअन्तर्गतको ईन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच कर्जा सम्झौता भएको छ । बुधबार(आज) सम्पन्न सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र आइएफसीकातर्फबाट आवाशीय प्रतिनिधी एमरेहान रशिदले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि नेपाल इन्भेष्टमेण्ट बैंकले आइएफसीसँग कर्जा लिन पाउने छ । अन्तराष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्रावधान छ । सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । आइएफसीबाट प्राप्तकर्जालाई राष्ट्र बैंकले तोके अनुसारको क्षेत्रमा उपलव्ध गराउने छ । यस अघि नेपाल इन्भेष्टमेण्ट बैंक र आइएफसीबीच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ । व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका थिए । प्राप्त रकम नेपालीे साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको कृषि विकास बैंकको खातामा मात्रै २ हजार

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको कृषि विकास बैंक लिमिटेडमा २ हजार रुपैयाँ मात्रै बचत रहेको देखिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री ज्ञवालीको कृषि विकास बैंक लिमिटेडको खातामा २ हजार रुपैयाँ मात्रै बचत रहेको देखिएको हाे । यद्यपि एभरेष्ट बैंक लिमिटेडमा स्तम्भ लेख, रोयल्टी लगायतको पारिश्रमिकबाट आएको २ लाख ५७ हजार रुपैयाँ बचत रहेको प्रधानमन्त्री कार्यलयले जनाएको छ । कार्यालयको अनुसार सरस्वती ज्ञवाली अर्यालको नाममा २१ लाख रुपैयाँ बराबरको एक तले घर, अनुमानित २ तोला सुन सम्पत्तिको नाममा रहेको देखिन्छ ।

ट्रम्पको कर्पोरेट कर कटौती नीतिले अन्तराष्ट्रिय बजारमा डलर महंगिदै, नेपालमा पनि ११० नजिक

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्पोरेट करमा भारी कटौती गर्ने भएपछि अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढ्दै गएको छ । राष्ट्रपति ट्रम्पले आगामी सन् २०१९ देखि लागु हुने गरी कर्पोरेट कर ३५ प्रतिशतबाट २० प्रतिशतमा झार्ने प्रस्तावमा हस्ताक्षर गरेपछि अन्तराष्ट्रिय बजारमा डलर महंगिदै गएको हो । कर्पोरेट कर घट्ने भएपछि भारतलगायत अन्य मुलुकबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । करको दर सस्तो भएपछि लगानीकर्ता अमेरिकातर्फ आकर्षित हुँदा त्यहाँको अर्थतन्त्र मजवुत भएको छ ।ट्रम्पको कर्पोरेट कर कटौती नीतिले भारतलगायत मुलुकमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ । भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा पनि परेको हो । नेपाल राष्ट्र बैंकले बुुधबारका लागि १ डलर बराबर बिक्री मूल्य १०९ रुपैयाँ १७ पैसा तोकेको छ । यस्तै भारु निरन्तर कमजोर हुँदै गएपछि नेपाली रुपैयाँ अमेरिकी डलरसंग अवमूल्यन भएको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको असर बजार मूल्यमा पर्ने गर्छ । डलर मजवुत भएपछि बजार भाउ बढ्छ । वैशाख शुरु भएयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । भारतीय रिजर्व बैंक (आरबीआई) ले बुधबार १ डलर बराबर ६८ रुपैयाँ २१ पैसा भारु तोकेको छ ।गत मार्चमा १ डलर बराबर १०३ रुपैयाँ ९५ पैसा थियो । २ गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो । अघिल्लो वर्ष मंसिरमा डलर मजवुत भएर १११ रुपैयाँ नजिक पुगेको थियो ।डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ । डलर बलियो हुँदाका बेफाइदा डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।

महत्वकांक्षी प्रधानमन्त्री र विज्ञ अर्थमन्त्रीको पहिलो बजेटः ठूला आयोजनालाई यथेष्ठ पैसा

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका ठुला आयोजनालाई यथेष्ठ बजेट उपलब्ध गराउने रणनीति अख्तियार गर्ने भएको छ । यस अघिका १८ वटा राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त रकम उपलब्ध गराउने र केहि नयाँ आयोजनालाई पनि राष्ट्रिय गौरवमा समावेश गर्ने तयारी गरेको हो । सरकारले आगामी आर्थिक बर्षको बजेटमा बुढिगण्डकी जलविद्युत आयोजनालाई १८ अर्ब रुपैंयाँ उपलब्ध गराउँदैछ । त्यस्तै काठमाडौं र तराईलाई जोड्ने फास्ट ट्रयाकलाई १० अर्ब रुपैंयाँ उपलब्ध गराउँदैछ । त्यस बाहेक रेलमार्गका लागि ३ अर्ब रुपैंयाँ विनियोजन गर्दैछ । ‘बुढीगण्डकी जलविद्युत आयोजनालाई १८ अर्बको बजेट सिलिङ प्राप्त भएको छ’, उर्जा मन्त्रालयको बजेट महाशाखाका उप सचिव गोकर्ण पन्थले भने । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले फास्ट ट्रयाकका लागि १० अर्ब बजेट सिलिङ प्राप्त भएको बताए । उनले रेलमार्ग निर्माणका लागि ३ अर्बको सिलिङ तय गरिएको पनि जानकारी दिए ।‘ठुला आयोजनाका लागि यथेष्ठ बजेट विनियोजन हुने गरि सिलिङ प्राप्त भएको छ’, शर्माले भने । निजगढ र पोखरा विमानस्थलका लागि पनि सरकारले उच्च प्राथमिकताका साथ बजेट विनियोजन गर्ने तयारी गरेको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए । ‘ठ्याक्कै सिलिङ याद भएन तर पर्याप्त रकम आउँछ भन्ने आश्वासन पाएका छौं’, उपाध्यायले भने । चालु आर्थिक बर्षका लागि सरकारले १२ खर्ब ७९ अर्बको बजेट बनाएको थियो । सो बजेटको २६.१९ प्रतिशत अर्थात ३ खर्ब ३५ अर्ब रुपैंयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको थियो । पुँजीगत खर्चका लागि विनियोजन गरिएको बजेटमध्ये १८.८० प्रतिशत अर्थात ६३ अर्ब रुपैंयाँ राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन गरिएको थियो । हाल उर्जा, सिंचाई, सडक, खानेपानी, रेल र पर्यटन लगायतका क्षेत्रलाई समेटिएका १८ वटा राष्ट्रिय गौरवका आयोजना छन् । सरकारले नीति तथा कार्यक्रममै फास्ट ट्रयाक, मध्यपहाडी, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग, केरुङ काठमाडौं पोखरा लुम्बिनी र काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्ग, निजगढ, पोखरा र भैरहवा विमानस्थलको निर्माणलाई बिशेष महत्वका साथ उल्लेख गरेको छ ।