
काठमाडौं । अमेरिकाको निजी अन्तरिक्ष विमान, रकेट उत्पादक तथा अन्तरिक्ष बाहन कम्पनी स्पेशएक्सले मार्च महिनामा दुई नासा अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट फिर्ता ल्याउने भएको छ ।
बिग्रिएको अन्तरिक्षयानले उनीहरूको आठ दिने यात्रा नौ महिनासम्म लम्ब्याएपछि स्पेशएक्स अघि सरेको हो ।
स्पेशएक्सको स्थापना एलन मस्कले सन् २००२ मा गरेका थिए । उनी यस कम्पनीको प्रमुख कार्यकारी निर्देशक (सीईओ) पनि हुन् ।
मस्कले यी दुई अन्तरिक्ष यात्रीहरू राजनीतिक कारणले अर्बिट (कक्ष)मा अड्किएको बताउँदै उनीहरूलाई आफूले चाँडै उद्धार गर्न सक्ने दावी गरे । अन्तरिक्ष यात्रीहरू मस्कको कुरा विश्वास गर्छन्,तर उनीहरू वास्तवमा के भयो भन्ने कुरामा अनभिज्ञ छन्।
विश्वकै धनी व्यक्ति मस्कले दुई नासा अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा फर्काउन मद्दत गर्न लागेका हुन् । बोइङ अन्तरिक्षयानमा आएको प्रविधिगत समस्याले उनीहरूलाई ९ महिना आईएसएसमा बस्न बाध्य बनाएको थियो । मस्कले यो प्रक्रिया छिटो गर्न सकिने दाबी गरेका छन् ।

बोइङको स्टारलाइनर अन्तरिक्षयानतर्फ प्रस्थान गर्नुअघि बुच विलमाेर र सुनीता विलियम्स ।
९ महिनाको लामो प्रतिक्षा
२०२४ को जुन ५ मा बुच विलमोर र सुनीता विलियम्स बोइङ स्टारलाइनरमार्फत आईएसए प्रस्थान गरेका थिए । उनीहरूको आठ दिन आईएसएसमा बिताउने योजना थियो, तर अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि अवस्था बदलियो ।
नासाले स्टारलाइनरलाई असुरक्षित घोषणा गर्यो र सेप्टेम्बरमा अन्तरिक्षयानलाई चालकविहीन पृथ्वीमा फिर्ता पठायो । यसले विलमोर र विलियम्सलाई घर फर्किने साधनबिना आईएसएमा छोड्यो ।
अब यी नासा अन्तरिक्ष यात्रीहरू मार्च १९ वा २० मा स्पेशएक्सको क्रू-नाइन उडानमा पृथ्वी फर्कने तयारीमा छन् ।
राजनीतिक प्रभाव ?
गत वर्ष मस्कले यी अन्तरिक्ष यात्रीहरूलाई चाँडै फर्काउने प्रस्ताव राखेका थिए, तर बाइडेन प्रशासनले अस्वीकार गरेको उनको दाबी छ ।
‘उनीहरूलाई राजनीतिक कारणले त्यहाँ छोडियो, जुन राम्रो होइन,’ मस्कले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर्वार्तामा भने ।
जो रोगनसँगको अन्तर्वार्तामा मस्कले बाइडेन प्रशासनले नियतवश ‘उनीहरूको फिर्ती मिति राष्ट्रपतीय उद्घाटनपछि धकेलेको’ आरोप लगाए ।
गत मंगलबार पत्रकार सम्मेलनमा विलमोर र विलियम्सलाई मस्कका दाबीबारे सोधिएको थियो । विल्मोरले भने, ‘यो पूर्ण रूपमा सत्य हो ।’ तर उनी तटस्थ देखिन खोज्दै थिए ।
‘हामीले बाहिर भनिएका कुरा सुनेका छौं,’ विलमोरले भनेल, ‘हामी मस्कलाई सम्मान गर्छौं, साथै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पनि सम्मान छ । राजनीतिका कुरा जीवनको एक हिस्सा हुन् र हामी यस प्रणालीलाई १०० प्रतिशत समर्थन गर्छौं ।’
विलमोरले थपे कि उनीहरू ‘कुनै जानकारीबिना’ बसेका थिए । ‘हामीलाई कुनै पनि जानकारी दिइएन, त्यसैले म मस्कलाई विश्वास गर्छु,’ उनले भने ।

बेरी विलमाेर र सुनीता विलियम्स ।
नासाको प्रतिक्रिया
नासाले विलमोर र विलियम्सलाई जानकारी दियो कि दिएन भनेर स्पष्ट छैन । तर, नासाको वेबसाइटअनुसार आईएसएमा इन्टरनेट पहुँच छ । यसले उनीहरूले मस्कको उद्धार प्रस्तावबारे थाहा पाउने सम्भावना देखाउँछ ।
नासाले औपचारिक प्रतिक्रिया नदिए पनि यसअघि संस्थाले कुनै पनि राजनीतिक हस्तक्षेपको आरोप अस्वीकार गरेको थियो ।
‘व्यक्तिगत रूपमा भन्नुपर्दा राजनीतिले यो निर्णयमा कुनै भूमिका खेलेको छैन,’ नासाका तत्कालीन प्रशासक बिल नेल्सनले अगस्ट २४ मा भनेका थिए ।
अन्तरिक्ष यात्रीहरूको मनोबल उच्च
पृथ्वी फिर्तीको प्रतीक्षामा रहेका विलमोर र विलियम्सले आईएससमा राम्रो महसुस गरिरहेको बताएका छन् ।
‘हामी एकदमै ठीक छौं । हामीसँग खाना छ, लुगा छ, राम्रो टोली छ,’ विलियम्सले सीएनएनलाई फेब्रुअरीमा भनेका थिएल, ‘हामी परित्यक्त महसुस गरिरहेका छैनौं, हामी अड्किएको पनि महसुस गरेका छैनौं ।’ ( एजेन्सीहरूको सहयोगमा)