
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले निजी उद्योगीहरूको एक गोष्ठीलाई सम्बोधन गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त गोष्ठीमा अलिबाबाका सह-संस्थापक ज्याक मा लगायतका प्रविधि व्यवसायीहरू सहभागी थिए ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार यो बैठक सोमबार सम्पन्न भएको हो । यद्यपि गोष्ठीको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
समाचार एजेन्सी रोयटर्सले गत साता रिपोर्ट गरेअनुसार यसको उद्देश्य निजी क्षेत्रको मनोबल बढाउने रहेको छ । सी जिनपिङले चीन-अमेरिका प्रविधि युद्ध गहिरिँदै गएको अवस्थामा व्यवसायीहरूलाई आफ्नो व्यवसायलाई स्वदेश तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको थियो ।
के भन्छन् विशेषज्ञहरू ?
सिनियर इकोनोमिस्ट गेरी एनजीले यो बैठक सरकारको मार्गदर्शनअनुसार निजी क्षेत्रलाई परिचालन गर्ने प्रयास रहेको बताउँछन् ।
‘यो बैठक केवल डीपसीकको अवसर मात्र नभई सरकारको मार्गदर्शनअनुसार निजी क्षेत्रलाई परिचालन गर्ने प्रयास हो । साथै अमेरिकासँग प्रतिस्पर्धा गर्दा सम्भावित जोखिमलाई नियन्त्रण गर्न खोजिएको छ,’ उनले भने ।
‘ज्याक माजस्ता प्रविधि उद्यमीलाई बैठकमा समावेश गरिनु सकारात्मक संकेत मानिन्छ र यसले प्रविधि उद्योगमाथिको दमन अन्त्य हुने आशा जगाएको छ । यद्यपि चीनको नियामकीय वातावरण अझै स्पष्ट छैन,’ उनले थपे ।
हङकङको गाभेकल ड्र्यागोनोमिक्सका डेपुटी रिसर्च डाइरेक्टर क्रिस्टोफर बेडर यो बैठक सरकारलाई प्रविधि प्रतिस्पर्धामा निजी क्षेत्र आवश्यक भन्ने स्वीकारोक्ति रहेको बताउँछन् ।
‘यो बैठक सरकारलाई प्रविधि प्रतिस्पर्धामा निजी क्षेत्र आवश्यक छ भन्ने स्वीकारोक्ति हो । नीति निर्माताहरूलाई लाग्छ कि सरकारी स्वामित्वका उद्यमहरूले प्रविधिमा अग्रगामी सफलता प्राप्त गर्नु पर्ने थियो, तर वास्तविक रूपमा नवीनतम प्रविधिहरू निजी उद्यमहरूबाट नै विकसित भइरहेका छन्,’ उनले भने ।
उनका अनुसार अमेरिकासँग प्रतिस्पर्धा गर्न चीन सरकारले निजी प्रविधि कम्पनीहरूलाई समर्थन गर्नुपर्ने बाध्यता छ ।
सी जिनपिङको रणनीति स्पष्ट छ- प्रविधि क्षेत्रमा सरकारको समर्थन रहेको सन्देश दिनु । केही वर्षअघि सरकारले पूँजीको अनियन्त्रित विस्तार रोक्ने प्रतिज्ञा गरे पनि अहिले नीतिगत प्राथमिकता पूर्ण रूपमा उल्टिएको देखिन्छ ।
तर, सी जिनपिङ प्रविधि क्षेत्रप्रति चिन्तित छन् किनभने उनले गत वर्ष युनिकर्न स्टार्टअपहरूको घट्दो संख्याबारे सार्वजनिक रूपमा चिन्ता व्यक्त गरेका थिए ।
विश्लेषकहरू डीपसीकको घटनापछि बेइजिङले आर्थिक वृद्धि निजी क्षेत्रबाटै सम्भव रहेको बुझेको बताउँछन् । उनीहरूका अनुसार विशेष गरी प्रविधि कम्पनीहरूको वृद्धिलाई बढावा दिनु नै चीनको आर्थिक समृद्धिको सबैभन्दा राम्रो बाटो हो ।
यो बैठकले निजी प्रविधि कम्पनीहरूप्रति सरकारको धारणा परिवर्तन हुँदै गएको संकेत दिन्छ । सन् २०२० पछि चीन सरकारले प्रविधि कम्पनीहरूलाई कठोर नियमन गर्दै आएको थियो तर अहिले प्रतिस्पर्धात्मक रूपमा अघि बढ्न सरकारले निजी क्षेत्रलाई पुनः समर्थन गर्न थालेको देखिन्छ । (एजेन्सीहरूको सहयोगमा)
एकदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ?
चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’