
काठमाडौं । चिनियाँ कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप डीपसीक अचानक चर्चाको केन्द्रमा आएको छ । यो स्टार्टअपले २४ घण्टामै विश्वको एआई उद्योगलाई हल्लाइदिएको छ । यसको कारणले चिप निर्माण गर्ने अमेरिकी कम्पनी एनभीडीयालाई करिब ६०० अर्ब डलरको घाटा भयो ।
डीपसीकका संस्थापक लियाङ वेनफेङ हुन्, जसको नेटवर्थ अर्बौं छ ।
के हो डीपसीक ?
डीपसीक चीनको एआई स्टार्टअप हो, जसलाई यसको नवीन प्रविधिका लागि चिनिन्छ । लियाङ वेनफेङ यसको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । हालै यो स्टार्टअपले आफ्नो एआई च्याटबोट डीपसीक–आर वान सार्वजनिक गरेको थियो । सार्वजनिक भएलगत्तै यसले हंगामा मच्चायो । ओपनएआईको च्याटजीपीटीलाई पछि पार्दै यो अमेरिकाको एप्पलको एप स्टोरमा सबैभन्दा धेरै रेटिङ पाउने निःशुल्क एप बन्यो ।
डीपसीक साधारण एआई होइन । डीपसीक एउटा अत्याधुनिक भाषा मोडल हो, जसले तपाईंले सोधेको कुनै पनि प्रश्नमा व्यक्तिगत अनि सन्दर्भअनुसारको सटीक जवाफ दिन सक्छ ।
यसलाई नयाँ पुस्ताको ‘कूल किड’ मानिएको छ, जो ओपन एआईको च्याटजीपीटी र गुगलको जेमिनीलाई चुनौती दिन तयार छ ।
सिलिकन भ्यालीमा डीपसीकलाई ‘पूर्वको रहस्यमय शक्ति ‘ भनेर चिनिन्छ । यो चीनको एआई दौडमा कोशेढुंगा साबित हुने विश्वास गरिएको छ ।
कम खर्चमा तयार गरिएको मोडल
लियाङले यो च्याटबोट मोडल ६० लाख डलर (करिब ८३.२ करोड रुपैयाँ) मा तयार गरेका छन् । तुलनामा च्याटजीपीटी बनाउन ६ करोड डलरभन्दा बढी खर्च भएको थियो । गुगलको एआई च्याटबोट बनाउन पनि ठूलो खर्च भएको थियो । डीपसीकको कम लागतका कारण यो विश्वभर चर्चाको विषय बनेको हो ।
मात्र दुई वर्ष पुरानो कम्पनी
लियाङको कम्पनी डीपसीक मात्र दुई वर्ष पुरानो हो । उनले यो २०२३ मा सुरु गरेका थिए । यसअघि पनि उनले एआईसँग सम्बन्धित थुप्रै कम्पनीहरू सुरु गरिसकेका छन् ।
उनी एक सामान्य पृष्ठभूमिबाट आएका हुन् । उनका पिता एउटा प्राथमिक विद्यालयका शिक्षक थिए ।
उनले २०१३ मा हाङझाउ याकेबी इन्भेस्टमेन्ट म्यानेजमेन्ट स्थापना गरेका थिए । त्यसको दुई वर्षमा उनले झेजियाङ जियुझाङ एसेट म्यानेजमेन्ट कम्पनी सुरु गरे ।
त्यसैगरी, उनले २०१९ मा हाई-फ्लायर एआई स्थापना गरे, जसले १० अर्ब युआनभन्दा बढीको सम्पत्ति व्यवस्थापन गर्छ ।
बजारमा असर
डीपसीकको लोकप्रियताले अन्य एआई कम्पनीहरूमा प्रभाव पारेको छ । अमेरिकी चिप कम्पनी एनभीडीयाका सेयरमा १७ प्रतिशतको गिरावट आयो ।
लियाङको नेटवर्थ कति छ ?
लियाङ वेनफेङको नेटवर्थबारे सार्वजनिक रूपमा धेरै जानकारी छैन । केमिकल सिटी पेपर वेबसाइटका अनुसार ४० वर्षीय लियाङको नेटवर्थ ३.२ बिलियन डलर (करिब ४४.८ हजार करोड रुपैयाँ) छ ।
उनको परिवारमा श्रीमती र दुई सन्तान छन् । उनले आफ्नो सफलताको श्रेय आफ्नो श्रीमती र सन्तानलाई दिन्छन् ।
चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’