पर्यटन बोर्डको सीईओमा जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

  २०८१ भदौ २५ गते १५:२३     विकासन्युज

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी । फाइल तस्बिर ।

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशीको नियुक्तिविरुद्ध सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

रेग्मीले प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरे पनि नियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । उनले उक्त रिटमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् ।

बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले सर्टलिष्टमा दोस्रो नम्बरमा रहेका जोशीलाई सीईओ नियुक्त गरेको थियो ।

बोर्डको पूर्वसीईओसमेत रहेका रेग्मीले जोशी सीइओ नियुक्त भएपछि असन्तुष्टि जनाउँदै फेसबुकमा ६ जना पूर्वसचिवहरू संलग्न भई लिएको परीक्षामा आफू पहिलो नम्बरमा सिफारिस भएको तर बोर्ड सञ्चालक समितिले पूर्वाग्रही भएर दोस्रो नम्बरमा रहेका जोशीलाई सीईओ बनाएको दाबी गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री बद्री पाण्डेको ठाडो निर्देशनमा दुई नम्बरमा सिफारिस भएका जोशीलाई नियुक्ति गरिएको आरोप रेग्मीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.