नेप्सलाई २८ रुपैयाँमा किन्दै एनसीएचएल

  २०८० चैत २६ गते ११:३८     विकासन्युज

काठमाडौं । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)लाई नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले २८ रुपैयाँमा खरिद गर्ने भएको छ । नेप्सलाई २८ रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेशमान सिंह प्रधानले विकासन्युजसँग बताए ।

उनका अनुसार सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त मूल्याङ्कन प्रतिवेदन (डीडीए रिपोर्ट) का आधारमा संयुक्त मर्जर प्राप्ति समितिले नेप्सलाई २८ रुपैयाँमा एनसीएचएलमा गाभ्न लागिएको हो । नेप्सको सेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँ बराबर एनसीएचएलको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ कायम हुने सीईओ प्रधानले बताए ।

नेप्सलाई गाभ्ने भएकाले प्राप्तिपश्चात् एनसीएचएलको हालको सञ्चालक समिति र व्यवस्थापन टिम नै यथावत रहने उनको भनाइ छ । साथै, एकीकृत कारोबारपश्चात् पनि कम्पनीको नाम नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) नै रहने छ ।

‘दुवै कम्पनीबीच अन्तिम सम्झौता भएर बैशाख १३ गते विशेष साधारण सभा आह्वान गरिएको हो । दुवै कम्पनीबीच स्वाप रेसियो १००ः२८ अनुपातमा गाभ्ने हो । एनसीएचएलले नेप्सलाई गाभ्ने भएकाले हाल कायम सञ्चालक समिति र व्यवस्थापन समूह नै यथावत नै रहन्छ,’ उनले भने ।

दुवै कम्पनीको सञ्चालक समितिमा बैंकका प्रतिनिधि नै छन् । विशेष साधारण सभाले गाभ्ने प्रस्ताव पारित गरेपश्चात् एकीकृत कारोबारको मिति तय हुने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेपछि छिट्टै एकीकृत कारोबार गर्ने तयारी रहेको उनले बताए ।

डिजिटल कम्पनीहरूमा पहिलो मर्जर तथा एक्विजिशन हो । प्रविधिमा आधारित कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्दै जाँदा र ठूलो लगानीको माग भइरहँदा दुई कम्पनी मर्ज हुन लागेका हुन् । दुवै कम्पनीका केही साझा लगानीकर्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.