म्याग्दीको विकट गाउँ सडक सञ्जालमा जोडियो

  २०८० चैत २१ गते ८:०८     विकासन्युज


म्याग्दी । म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो ।

धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष याम घर्तीमगरले लामो छहरा केङ्कीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको बताए । ‘खाम्ला–केंकी–नाउरा हुँदै बगर जोड्ने मूल सडक निर्माण भइरहेको छ,’ उनले भने, ‘केंकबाट खिवाङ जोड्ने शाखा सडक निर्माण हालै पूरा भएको हो ।’

सडक निर्माण भएपछि खिवाङका १ सय ८० घरपरिवार लाभान्वित भएका उनले बताए । उक्त सडकमा मोटरसाइकल, जिप र ट्रयाक्टर चल्न थालेका छन् ।

६५ मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी (१) र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालले जोडिएको गाउँपालिकाले जनाएको छ ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङ गाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधीन जलविद्युत आयोजनासँग समन्वय गरिएको बताए ।

अपर म्याग्दी जलविद्युत् आयोजनाका संयोजक सुरेश घलेले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत विकट गाउँ खिवाङ जोड्ने सडक निर्माण गरेको बताए । गाउँपालिकाको सक्रियतामा खाम्ला हुँदै खिवाङ जोड्ने सडक पनि निर्माणाधीन छ ।

जलविद्युत आयोजनाले नाउरा हुँदै बगरगाउँ जोड्ने सडकको ट्र्याक खोल्ने कामलाई पनि अन्तिम चरणमा पुर्याएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.