सुदूरको छोरो, व्यवस्थापनमा हिरो

  २०८० माघ २३ गते १२:१०     इन्द्रसरा खड्का

काठमाडौं । एउटा गाउँको बालकको मस्तिष्कमा पढाइभन्दा परको कुरा थिएन । साँझ बिहान घरको काम, दिउँसो विद्यालय र कहिलेकाहीँ छुट्टीमा गोठालो यसैगरी बाल्यकाल बित्यो । पहाडका उकाली र ओराली गर्दै गाउँको स्कुलबाटै एसएलसी दिए । जब उनी एसएलसीमा राम्रो नम्बर ल्याएर पास भए । तब उनको यात्रा सहरतिर डोरियो । सहरमा छिरेपछि मस्तिष्कमा पढाइ मात्र रहेन । अब पढाइसँगै मैले केही पनि गर्नुपर्छ भन्ने कुराहरू खेल्न थाले । यही उद्देश्य र लक्ष्यले गाउँबाट सहर हानिएका उनी अहिले शिक्षा क्षेत्रमा परिचित पात्र बनेका छन्, नेपालका अब्बल शिक्षालयको नेतृत्व गरिरहेका छन् । उनी अर्थात् डा.खगेन्द्र प्रसाद ओझा ।

लेक्चररकै रूपमा काम गरिरहेका भए हामी उनलाई त्रिभुवन विश्व विद्यालयमा भेट्थ्यौं । जागिर होइन आफैं केही गर्नुपर्छ भन्दै उनले पदबाट राजीनामा दिएर शिक्षण पेशासँगै शिक्षण व्यवसायमा पनि हात हाले । उनी आज उत्कृष्ट शिक्षक मात्र छैनन्, देशकै ठूलो शिक्षण संस्थाको कार्यकारी प्रमुख छन् ।

खगेन्द्र ओझा प्रो-इडी लिमिटेड (प्रोफेसनल एजुकेटर) को अध्यक्ष छन् । प्रो-इडी लिमिटेडको प्रतिनिधित्व गर्दै ग्लोबल कलेज इन्टरनेशनल, यूनिग्लोबल कलेज, यूनिग्लोबल स्कूल, भ्याली भ्यू स्कूलको अध्यक्ष छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टको प्रमुख कार्यकारी अधिकृत छन् । उनी मध्य पश्चिम विश्वविद्यालयलको प्राज्ञीक परिषद सदस्य, काठमाडौं वल्ड स्कूल, भूजुङ हाइड्रोपावरको अध्यक्षको भूमिकामा पनि छन् । ९ हजार विद्यार्थी, करिब ८०० बढी शिक्षक कर्मचारीको नेतृत्व उनले गरिरहेका छन् ।

डा. ओझाको घर सूदुरपश्चिमको डोटी जिल्लामा हो । उनले डोटीकै दिल्पेश्वर माविबाट एसएलसी पास गरे । १६ वर्षको उमेरमै विवाह गरे । पारिवारिक जिम्मेवारी पनि समाले । तर उनी गाँउ छोडेर उच्च शिक्षाको लागि सहर पसे ।

एसएलसीपछि उनले कैलालीको धनगढीबाट आइकम पास गरे । प्लसटुमा पास मात्र गरेनन्, उनले जिल्लामै सर्वोत्कृष्ट नम्बर ल्याए । त्यसपछि उनी काठमाडौंमा आएर शंकरदेव कलेजमा स्नातकमा भर्ना भए । स्नातकमा उनी नेपालकै बोर्ड छैटौं भए । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयमा एमबीएमा भर्ना भई अध्ययन र अध्यापन दुबैलाई अगाडि बढाए । वि.सं. २०४९ सालमा एमबीए भर्ना भएका उनले वि.सं. २०५१ को सालमा सर्वोत्कृष्ट नम्बर ल्याउँदै त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ उपाधि पनि चुमे ।

एमबीएमा भर्ना भएसँगै उनले कलेजमा पनि पढाउन सुरु गरे । एकातिर काम अर्कोतिर पढाइ । यसैगरी उनको दैनिकी चलिरहेको थियो । खगेन्द्रले त्यही बेला काठमाडौं त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा आवेदन खुलेको थाहा पाए । उनले त्यहाँ फर्म भरेर परीक्षा दिए । पहिलो पटकमै उनको नाम निस्कियो । त्यसपछि सुरु भयो उनको सरकारी जागिर त्रिभुवन विश्व विद्यालयमा ।

वि.सं. २०५३ सालमा उनी लेक्चररको रूपमा त्रिभुवन विश्वविद्यालयमा काम गर्न थाले । त्यो बेला मासिक तलब थियो पाँच हजार रुपैयाँ । बाँकी समय ट्यूसन पढाउँथे । एक घण्टा ट्यूसन पढाउँदा ६० रुपैयाँ पाइन्थ्यो । विगत स्मरण गर्दै उनले भने, ‘काठमाडौंमा अहिलेजस्तो महँगी थिएन, दुई हजारमा फ्ल्याट पाइन्थ्यो, मट्टीतेलले स्टोपमा खाना पकाएर खान्थ्यौं, अहिलेको जस्तो ग्यास थिएन ।’

खगेन्द्रले १७ वर्ष त्रिभुवन विश्व विद्यालयमा पढाए । त्यसपछि उनी विद्यावारिधी गर्न छात्रवृत्ति कोटामा पोल्याण्ड गए । उनले उनले सहश्राब्दी विकास लक्ष्य (मिलिनियम डेभलपमेन्ट गोल) विषयमा पीएचडी गरे । विद्यावारिधी गरिसकेपछि उनी नेपाल फर्के ।

राजधानी काठमाडौं महंगिदै थियो । खगेन्द्र राम्रो अवसरको खोजीमा थिए । वि.सं २०६० सालमा डनबोस्को कलेजमा संयोजकको रुपमा काम गर्ने प्रस्ताव आयो । तलब मासिक ५० हजार हुने भयो, जुन त्रिविले दिने भन्दा गुणात्मक रुपमा बढी थियो । त्यो बेला कलेजको प्रिन्सिपल थिए तारानाथ शर्मा । त्यहाँ उनी संयोजकको रूपमा काम गर्न थाले । त्यहाँ उनले करिब ७ महिना मात्र काम गरे ।

खगेन्द्रलाई जागिर गर्दैगर्दा अब आफैं केही गर्नुपर्छ भन्ने हुटहुटी भयो उनका दाजु पनि व्यवसाय गरिरहेका थिए । दाजु पनि शिक्षक पेसा छोडेर व्यवसायमा लागेको देख्दा उनलाई पनि त्यतातिर रुचि जाग्यो । ‘व्यवसाय गर्न मन त लाग्यो । तर, पैसा थिएन,’ उनले व्यवसाय सुरु गर्दाका दिनहरू स्मरण गर्दै भने ।

खगेन्द्र र उनका दुई/तीन जना साथीहरू मिलेर होस्टेल सञ्चालन गर्ने योजना बनाए । योजनाअनुसार उनले साथीहरूसँग मिलेर बानेश्वरमा होस्टेल सञ्चालन गरे । ‘होस्टेल सिज्नल चल्दो रहेछ, कहिले विद्यार्थी हुने, कहिले नहुने, यसमा पनि राम्रो होला जस्तो भएन, फेरि साथीहरूले सल्लाह गर्यौं, त्यसपछि स्कुल नै सञ्चालन गर्ने योजना बन्यो,’ उनले भने, ‘फेरि पनि पैसा थिएन । समस्यामा परेर बिक्रीमा रहेको भ्याली भ्यू स्कुल लिने योजना बन्यो । थोरै लगानीमा स्कूलमा प्रवेश गर्यौं ।’

स्कुल सञ्चालनमा ल्याउँदा खगेन्द्र र उनका साथीले त्यत्तिकै बस्नुपर्यो । किनकि उनीहरूको विज्ञता भनेको कलेज पढाउने थियो । फेरि उनीहरूलाई पढाउने रहर लाग्यो । उनी भन्छन्, ‘स्कुलले पनि नहुँदो रहेछ, किनकी हामीले पनि काम पाउनु थियो, फेरि कलेजको खोजी गर्यौं ।’

कलेज खोज्दै जाँदा ग्लोबल कलेज चलाउन नसकेर बन्द हुने अवस्थामा रहेको खबर सुनियो । पुराना लगानीकर्ता कलेज किन्ने मान्छे खोज्दै थिए । खगेन्द्र लगायतको समूह कलेज किन्ने सोचमा थियो ।

‘हामीले कलेज खोजेको कुरा उनीहरुले चाल पाएछन् । यो कलेज चलाइदिनुपर्यो, हामीहरू पनि यही सेयरमा समाहित हुन्छौं भनेर आउनुभयो, त्यसपछि हामीले ग्लोबल कलेज किन्यौं,’ ओझाले भने, ‘त्यसपछि भाडाको घरमा कलेज सञ्चालन गरियो ।’

खगेन्द्र ओझा प्रो-इडी लिमिटेड (प्रोफेसनल एजुकेटर) को अध्यक्ष छन् । प्रो-इडी लिमिटेडको प्रतिनिधित्व गर्दै ग्लोबल कलेज इन्टरनेशनल, यूनिग्लोबल कलेज, यूनिग्लोबल स्कूल, भ्याली भ्यू स्कूलको अध्यक्ष छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टको प्रमुख कार्यकारी अधिकृत छन् । उनी मध्य पश्चिम विश्वविद्यालयलको प्राज्ञीक परिषद सदस्य, काठमाडौं वल्ड स्कूल, भूजुङ हाइड्रोपावरको अध्यक्षको भूमिकामा पनि छन् । ९ हजार विद्यार्थी, करिब ८०० बढी शिक्षक कर्मचारीको नेतृत्व उनले गरिरहेका छन् ।

भ्याली भ्युपछि ग्लोबल कलेज सञ्चालनमा आइसक्दा पनि आर्थिक पाटोमा समस्या नै थियो । आर्थिक समस्या समाधानका लागि उनीरूले एउटा कम्पनी स्थापना गरे । व्यावसायिक यात्राका क्रममा आएका उतार चढावले खगेन्द्रलगायत उनका साथीहरू मिलेर कम्पनी सुरु गरे । कम्पनीको नाम राखे ‘प्रोफेसनल एजुकेटर लिमिटेड ।

कम्पनी दर्ता गरिसकेपछि त्यसको अध्यक्ष डा पुस्कर बज्राचार्य बने । कम्पनी दर्ता गर्दा एउटा नियम बनाइयो । न्यूनतम ५० हजार रुपैयाँ र बढीमा ५ लाख रुपैयाँ सेयर राख्न मिल्ने । त्योभन्दा तलपनि राख्न नमिल्ने र माथि पनि राख्न नमिल्ने ।

‘सबै अग्रजहरूलाई आग्रह गर्यौं, उहाँहरू पनि सहमत हुनुभयो, यसरी हाम्रो कम्पनीलाई बामे सार्यौं,’ उनले भने । त्यो कम्पनीमा ठूल्ठूला व्यवसायी तथा पैसावालाहरू आवद्ध भए । अहिलेका अर्थमन्त्री डा.प्रकाशरण महतसहित र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, हामी स्टीलका बालकृष्ण श्रेष्ठ लगायतका ठूला व्यवसायी पनि सेयर साझेदार बने । सुरुमा १०३ जनाबाट १ करोड २५ लाख रुपैयाँ संकलन भयो । यही मोड नै उनको व्यवसायको उदगम् स्थल बन्यो ।

उनी भन्छन्, ‘म पहिले पनि पैसावाला थिएन, अहिले पनि मसँग पैसा छैन, मेरो काम भनेको समन्वय गर्ने हो, अहिले पनि यही काममा व्यस्त छु ।’

होस्टेल सञ्चालनदेखि स्कुल र कलेजसम्म पुग्दा सुरुमा आर्थिक रूपमा समस्या नै थियो । भनिन्छ नि- ‘व्यवसाय गर्नेहरूसँग दरिलो मुटु चाहिन्छ ।’ किनकि व्यवसायमा घाटा र नाफा भइरहन्छ । कहिले शिक्षकहरूलाई तलब दिन पैसा पुग्दैन थियो । समस्या पर्दा पैसा भएका अग्रजहरूसँग सहयोग माग्ने गरेको उनी सुनाउँछन् । पैसा नभएर ऋण मागेर तलब खुबाएको उदाहरण उनीसँग प्रशस्त छन् । पछिल्लो समय बैंकबाट ८० प्रतिशत कर्जा लिएको पनि उनले सुनाए ।

विद्यार्थी खोज्न गाउँ-गाउँमा

कुनैपनि काम सहज हुँदैन । कलेज सञ्चालन गरिसकेपछि पनि ढुक्क हुने अवस्था रहेन । कलेज सञ्चालनपछि विद्यार्थी आवश्यक पर्यो । आफैं पढाउने, आफै व्यवस्थापन गर्नु पर्दाको अनुभव अर्कै थियो । ती दिनहरूको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यो बेला काममा निकै खटिनु पर्थ्यो, बिहान ६ बजेदेखि राति ६ बजेसम्म खट्थ्यौं, आफै पढाउँथ्यौं, आफैं विद्यार्थी खोज्न जान्थ्यौं ।’

‘कामप्रतिको प्यासन, डेडिकेशन र हाडवर्क’ यो गुण असल व्यवस्थापकमा हुनैपर्छ । यति भएन भने ऊ राम्रो व्यवस्थापक हुन सक्दैन, जसरी एउटा मूर्ति कुद्ने मूर्तिप्रति, गीत गाउने गीतप्रति समर्पित हुन्छ त्यस्तै व्यवस्थापन गर्ने व्यक्तिले पनि आफ्नो संस्थाप्रति समर्पित हुनुपर्छ, मिहिनेत नगरी केही हुँदैन ।’

खगेन्द्रले कलेज पढ्ने विद्यार्थी खोज्न धुलिखेल र बनेपा लगायत ठाउँका घर-घर चहारे । कसैको घरमा एसएलसी दिएको केटाकेटी छन् भन्ने सुनेपछि उनीहरूको घरमा जाने, अभिभावकलाई कन्भिन्स गरेर विद्यार्थी ल्याउने कार्यमा खगेन्द्रको टिम भिड्न थाल्यो । मिनभवन र शंकरदेव लगायतका कलेजमा गएर पनि त्यहाँका विद्यार्थीलाई आफ्नो कलेजमा पढ्न आग्रह गर्थे ।

भ्याली भ्यू स्कुल सञ्चालन गर्दा सुरुमा ८० जना विद्यार्थी थिए भने अहिले १६ सय बढी विद्यार्थी छन् । त्यतिबेला ग्लोबल कलेजमा ९०/१०० जना विद्यार्थी थिए भने अहिले कलेजमा तीन हजार विद्यार्थी प्लसटुमा मात्र छन् । सबै विद्यार्थी गरेर करिव ९ हजार विद्यार्थी छन् ।

विस्तारै जग्गा किन्दै भवनको संरचना निर्माण गर्दै अहिले कलेज १५ रोपनी जग्गामा छ । ‘म आफैं एकाउन्ट फाइनान्स पढाउने हुनाले व्यावसायिक योजना बनाउन सहयोग भयो, बजेट बनाउने काम आफैं गर्थें, योजना बनाएर बैंकलाई ऋणका लागि प्रस्ताव गरेपछि एक्सेप्ट भइहाल्थ्यो,’ उनी भन्छन्, ‘अहिले मलाई सजिलो छ, कतिपय बैंकमा आफ्नै साथी र विद्यार्थी सीईओ छन्, खुसी लाग्छ ।’

सबै स्थायित्व भइसकेपछि अब कम्पनी आईपीओमा जाने तयारी गरिरहेको छ । सुरुमै पब्लिकमा जाने योजना रहेपनि जान नसकेको बताउँदै खगेन्द्रले अब आईपीओमा जाने तयारी भइरहेको बताए । उनी भन्छन्, ‘कम्पनीको नाम पनि पब्लिक लिमिटेड राखेर सेयर मार्केटमा सुचिकरण गर्ने हो, भोलि पब्लिकमा गएपछि पनि अब कम्पनी बन्द हुँदैन भन्ने अवस्थामा त ल्याउनुपर्यो ।’

उनले अबको तीन वर्षभित्र आईपीओमा जाने योजना सुनाए । प्रोफेसनल एजुकेटर लिमिटेडमा ४ जना पब्लिक सेयरधनी र ७ जना प्रमोटर गरी ११ जनाको सञ्चालक समिति छ । कम्पनीमा पब्लिकमा नगएकाले ४ जना पब्लिकको सिट खाली छ भने बाँकी ७ जना निर्वाचित हुन्छन् ।

कुनै व्यवसाय राम्रो किसिमले अघि बढाउन सबैभन्दा पहिले त्यहाँको व्यवस्थापन राम्रो हुनुपर्ने खगेन्द्र बताउँछन् । उनी त्यसको लागि कसरी कामदारहरूलाई काम गरायो भने काम गर्छन् ? कस्तो वातारवरण दियो भने मोटिभेट हुन्छन् भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँछन् । ‘एउटा त राम्रो पारिश्रमिक दिनुपर्यो, समयमै दिनुपर्यो, व्यवहार राम्रो हुनुपर्यो, कस्तो वातारण तयार पार्ने भन्ने विषयमा नेतृत्व सजक बन्नुपर्छ, तब मात्रै कम्पनी र नेतृत्व पनि सफल हुन्छ’- उनले भने ।

उनी विद्यार्थीलाई सिकाउँदा ५० प्रतिशत सिद्धान्त र ५० प्रतिशत सीप कसरी सिक्ने भनेर सिकाउनु पर्ने धारणा राख्छन् । यस्तो गर्ने हो भने व्यक्तिले जागिर गरेपनि वा आफ्नै काम गरेपनि राम्रो गर्न सक्ने उनको भनाइ छ । एउटा विद्यार्थीलाई स्कुलदेखि नै उसको जीवनमा चाहिने आधारभूत कुराहरूको सिकाइ विद्यालयबाटै हुनुपर्ने उनको भनाइ छ । हाम्रो शिक्षा जीवन उपयोगी हुनमा चुकेको उनी बताउँछन् ।

कसरी बन्ने अब्बल व्यवस्थापक ?

हाल ‘प्रोफेसनल एजुकेटर लिमिटेड कम्पनी अन्तर्गत युनिग्लोबल स्कुल, काठमाडौं वर्ल्ड स्कुल, जीसीई ए लेवल कलेज सञ्चालित छन् । यी सबै स्कुल तथा कलेजको व्यवस्थापनको जिम्मा उनै डा. ओझाको काँधमा छ । उनले व्यवस्थापनको जिम्मेवारी पाएपछि यी सबैं संस्था अब्बल बनेका छन् ।

‘व्यवसायको हिसावले मेरो मुख्य प्राथमिकता शिक्षा हो, मैले विद्यार्थी र शिक्षकसँग राम्रो व्यवहार गर्नुपर्यो, समस्या के छ ? अनुभव के मा छ, उनीहरू के चाहिरहेका हुन्छन् भन्ने कुरामा नेतृत्वले बुझ्न सक्नुपर्छ, त्यो बुझेर समस्याको समाधान गर्ने व्यक्ति नै अब्बल व्यवस्थापक हो,’ उनले भने ।

‘कामप्रतिको प्यासन, डेडिकेशन र हाडवर्क’ यो गुण असल व्यवस्थापकमा हुनैपर्छ । यति भएन भने ऊ राम्रो व्यवस्थापक हुन सक्दैन, जसरी एउटा मूर्ति कुद्ने मूर्तिप्रति, गीत गाउने गीतप्रति समर्पित हुन्छ त्यस्तै व्यवस्थापन गर्ने व्यक्तिले पनि आफ्नो संस्थाप्रति समर्पित हुनुपर्यो, मिहिनेत नगरि केही हुँदैन ।’

(देशविकासबाट) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.