१५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’

  २०८० माघ २ गते १७:३५     सन्तोष रोकाया

काठमाडौं । नेपाली बीमा क्षेत्रमा सबैले सुनेको नाम हो पोषकराज पौडेल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका पौडेल जीवन बीमक संघका अध्यक्ष पनि हुन् । जीवन बीमा कम्पनीमध्ये पछिल्लो समय सञ्चालनमा आएर बजारमा आफ्नो पृथक किसिमको पोर्टफोलियो र प्रोफाइल बनाइरहेको सिटिजन लाइफ इन्स्योरेन्सले व्यवसायमा मात्रै होइन, बीमितलाई सेवा प्रवाहमा पनि उल्लेखनीय काम गर्दै आइरहेको छ । परिणामस्वरूप गत मंसिरमा इण्डियन चेम्बर अफ कमर्शबाट ‘इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड’ प्राप्त गर्न कम्पनी सफल भयो ।

कम्पनीको यो सफलतामा सिटिजन टीम लिडर पौडेलको ठूलो भूमिका छ । बीमा क्षेत्रमा दुई दशकको अनुभव भएका पौडेलसँग विद्यालय शिक्षक, गैरनाफामुलक संस्था, सीए फर्म लगायत क्षेत्रमा काम गरेका पृथक अनुभवहरु छन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर पास गरेका पौडेल आफूलाई कर्मयोगीको संज्ञा दिन्छन् । ‘म कर्मयोगी हो, म कामलाई पहिलो प्राथमिकतामा राख्छु, धेरै महत्वकांक्षा राख्दिनँ,’ उनी भन्छन्, ‘म मेरो काममा पूर्ण सन्तुष्ट छु ।’

पोषकराज पौडेल वि.सं २०२८ सालमा चितवनमा जन्मिए । विद्यालयदेखि कलेजसम्मको पढाइ चितवनमै पुरा गरे । उनी स्कुल र कलेजमा पनि अब्बल विद्यार्थी नै थिए । उनी जहिल्यै कक्षामा ‘टप फाइभ’ मा पर्ने गरेको अनुभव सुनाउँछन् ।

उनी गणित विषयको त किरो नै थिए । कक्षामा अन्य साथीहरूलाई पनि गणित विषय सिकाएको सम्झना उनलाई अहिले पनि आउँछ । ‘म गणितमा १०० मा १०० अंक ल्याउँथे, अन्य विषयमा औसत नै थिएँ, उनी विद्यार्थी जीवन स्मरण गर्दै भन्छन्, ‘स्कुलमा मलाई अब्बल विद्यार्थी भनेर नै चिन्थे ।’

६ वर्षसम्म शिक्षक

सीईओ पौडेल पूर्व शिक्षक पनि हुन् । उनलाई लेक्चर दिन खुब मन पर्छ । उनको बोलीमा बढो प्रष्टता छ । विषयवस्तुमा उनी आफूलाई सोही ढंगले तयार पनि पार्छन् । वि.सं २०४६ सालमा एसएलसी (हालको एसईई) दिएपछि उनी आफूले पढेको विद्यालयमा नै पढाउन थाले ।

‘यसले पढाउन सक्छ भन्ने विश्वास सरहरूमा थियो, त्यसैले पनि एसएलसी लगत्तै पढाउन सुरु गरें, त्यसले पनि आफूलाई अपडेट राख्न सहयोग गर्यो,’ उनी भन्छन्, ‘मिहिनेत गर्नुपर्छ भन्ने सिकाइ त्यतिबेला पनि धेरै भयो ।’

उनले ६ वर्षसम्म सोही विद्यालयमा पढाएर त्यहाँबाट बिदा भए । अब उनको यात्रा बदलियो । तर, काम र भूमिका भने एउटै । उनले विद्यालयमा पढाउन छोडेर चाइल्ड वेलफेयर सोसाइटीमा काम सुरु गरे । उनले त्यहाँ प्रौढ शिक्षा पनि पढाए ।

‘पे र पोजिसन’ले मान्छेलाई थोरै प्रेरित गर्छ, थोरै समय उर्जा दिन्छ । निरन्तर काम गर्ने उर्जाको लागि उपयुक्त वातावरण हुनुपर्छ । नेतृत्वले मोटिभेसन र मोबिलाइजेसन गर्न सक्नुपर्छ । नेतृत्व टिममा विश्वासिलो हुनुपर्छ ।

त्यहाँ केही समय काम गरेर उनको यात्रा काठमाडौंतर्फ मोडियो । काठमाडौं आएर पनि सोही एनजीओको सडक बालबालिका क्षेत्रमा काम गर्ने प्रोजेक्टमा काम गर्न थाले । त्यसमा पनि उनले केही वर्ष मात्रै काम गरे ।

‘हुन त मलाई सामाजिक काम मन पर्छ । तर, एनजीओमा मलाई फिट लागेन, म माछामासु नखाने, धेरै हिड्नु पर्ने भएपछि काम नै छोडिदिएँ,’ विगत स्मरण गर्दै उनी भन्छन् ।

उनले काठमाडौं आएर त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर पास गरिसकेका थिए । उनले अब वित्तीय क्षेत्रमा काम गुर्नपर्छ भन्ने सोच बनाए । सोही योजनाअनुसार एउटा चार्टर्ड एकाउन्टेन्ट (सीए) फर्ममा काम गर्न थाले । उनले त्यहाँ ६ वर्ष काम गरे ।

त्यो ६ वर्ष उनका लागि वित्तीय क्षेत्र बुझ्ने ठूलो अवसर बन्यो । वित्तीय संस्थाका वित्तीय विवरण अडिटमा उनी पोख्त भइसकेका थिए ।

त्यसपछि बीमा क्षेत्रमा इन्ट्री

६ वर्ष सीए फर्ममा काम गरेका उनले अब बीमा क्षेत्रमा प्रवेश गरे । उनले मेटलाइफमा फाइनान्स अफिसरका रुपमा काम सुरु गरे । त्यो बिचमा धेरै जिम्मेवारीहरू फेरियो । विभिन्न डिपार्टमेन्टमा काम गर्ने अवसर पाए । उनी फाइनान्स चिफका रूपमा बढुवा भए ।

मेटलाइफ उनको सिकाइको एउटा विश्वविद्यालय नै बनेको धारणा राख्छन् । ‘इन्स्योरेन्सको फाउन्डेसन त्यही कम्पनीबाट सिकेको हुँ, मल्टिनेशनल कम्पनी भएकोले पनि धेरै सिकियो, देश तथा विदेशका विभिन्न तालिम तथा सेमिनारहरूमा भाग लिन पाइयो, उनी भन्छन्, ‘अहिले जेजति रूपमा काम गरिरहेको छु, त्यसको आधार मेटलाइफ नै हो ।’

उनी मल्टिनेशनल कम्पनीले बनाएका बेञ्चमार्कलाई संस्था र व्यक्तिले चाहेर पनि कार्यान्वयन नहुने धारणा राख्छन् । ‘इको सिस्टम बन्नु पर्यो, धेरै कुरा गर्न चाहेर पनि इको सिस्टम नबन्दा समस्या छ, स्रोतसाधन पनि चाहिन्छ,’ उनले भने ।

विदेशमा भएको स्ट्याण्डर्ड नेपालमा ल्याउन पनि यहाँको इको सिस्टम सुधार्नु पर्ने उनको भनाइ छ । उनी समयसँगै आफूलाई पनि अगाडि बढाउँदै लानुपर्ने धारणा राख्छन् ।

‘काम गर्दै जाँदा धेरै पर हेरेर भन्दा पनि नजिकको पाइला राम्रोसँग हेरेर अगाडि बढ्नु पर्छ भन्ने लाग्छ, सोही ढंगले आफूले पनि काम गरिरहेको छु, त्यसमा सफलता पनि पाइरहेको छु,’ उनले भने ।

भाग्यमानी सीईओ

बीमा क्षेत्रमा तीन दशक काम गरेर पनि सीईओको अवसर नपाउने धेरै व्यक्तिहरू छन् । कतिपय आफ्नै कार्यशैली र क्षमताले पछाडि परे होलान्, कतिपयले अवसर नै पाएनन् होला । तर, पोषकराज पौडेलले भने बीमा क्षेत्रमा १५ वर्ष काम गरेर बीमा कम्पनीको नेतृत्व हाँक्ने जिम्मेवारी पाए ।

उनले मेटलाइफमा १५ वर्ष काम गरेर वित्त प्रमुख भएर राजीनामा दिए । राजीनामा दिनुको एउटै कारण थियो, सिटिजन लाइफमा सीईओको अफर । १५ वर्षको अनुभवमै सीईओ बन्नका लागि अवसर पाउने पौडेल एक भाग्यमानी सीईओ हुन् । तर उनी आफूलाई कर्मयोगी भनेर चिनाउँछन् । यो तहसम्म आइपुग्नका लागि आफूले धेरै मिहिनेत गरेको उनको भनाइ छ ।

कम्पनीको माथिल्लो पदमा पुग्न पहुँच हुनुपर्छ, नेतृत्वलाई खुशी पार्नुपर्छ भन्ने भनाई धेरैको मुखबाट सुन्न पाइन्छ । पौडेलको अनुभवमा त्यस्तो कहिल्यै पनि भएन । क्षमता हुने र नतिजा दिने व्यक्तिको सबैतिर खोजी हुने भनाई छ ।

उनी वि.सं २०७४ सालमा सिटिजन लाइफ इन्स्योरेन्सको सीईओ बने । १५ वर्षको अनुभवमै सीईओको जिम्मेवारी पाउँदा कस्तो महसुस हुँदो रहेछ ? प्रश्नको जवाफमा सीईओ पौडेलले भने, ‘मेटलाइफमा हुँदा पनि उच्च व्यवस्थापनमा काम गर्थें, त्यो पोजिसनमा नबसे पनि त्यो पदले गर्नुपर्ने काम र भोग्नु पर्ने चुनौती सबै महसुस गरिसकेको थिएँ, त्यसैले पनि सिटिजनको सीईओ बनेपछि खासै फरक किसिमको महसुस गरिनँ,’ उनी थप्छन् तर यो पदको गरिमा भने बेग्लै छ ।’

कुनै पनि कम्पनीमा काम गरेपछि त्यसको नेतृत्व तहमा पुग्ने सपना सबैको हुन्छ । कतिपयको सपना सपनामा मात्र सीमित हुन्छ, विपनामा परिणत हुँदैन । त्यो सफलता हासिल गर्नका लागि आइपरेका चुनौतीहरूलाई सहर्ष समाधान गरेर अगाडि बढ्नु पर्ने पौडेलको राय छ ।

‘नेपालमा सबैले सपना देखेको ठाउँमा आइपुग्दा पनि म खुसी छु, मेरो कम्पनीमा ३ सय बढी कर्मचारी छन्, सबैले मलाई सहयोगी नेतृत्व भनेर चिन्छन्, अहिलेसम्म कोहि कसैसँग रिसाएको छैन,’ उनी मुस्कुराउँदै भन्छन्, मलाई सीईओ पदसम्म पुगेर कुनै घमण्ड छैन, यो त मिहिनेतको प्रतिफल मात्रै हो, एउटा जिम्मेवारी हो ।’

सीईओ बनेपछि कम्पनीलाई बजारमा एक किसिमबाट चिनाउन उनले धेरै मिहिनेत गरेका छन् । ‘नयाँ कम्पनी भएकोले नयाँ ट्यालेन्ट ल्याउने सोच थियो, त्यतिबेला सातदिने आवासीय तालिम पनि दियौं, त्यो बेला तालिम लिएका अधिकांश साथीहरू अहिले पनि संस्थामा छन्,’ उनले भने ।

जनशक्ति छनौटमा धेरै मिहनेत गर्नुपर्छ । कतिपय मान्छेले काम नै थाहा नपाएर आवेदन दिएका हुन्छन्, त्यसमा नेतृत्वले प्रोसेसिङ तथा स्क्रिनिङ गर्न सक्नुपर्छ । धेरैले जागिर सुरु गरेपछि यो काम त मेरो लागि रहेनछ भन्दै राजीनामा दिन्छन् । त्यहाँ छनौट गर्नेको पनि कमजोरी भयो भनेर बुझ्नुपर्छ ।

सिटिजन लाइफ इन्स्योरेन्स नयाँ जेनेरेसनको लिडिङ कम्पनीको रुपमा उदाएको छ । कम्पनीका संस्थापक सीईओको पहिलो कार्यकाल सुखद र सफल रह्यो । कम्पनीले २०७८ मा पुनः दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्यो । संस्थामा नेतृत्वले रणनीतिकरूपमा रोडम्याप बनाएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

‘सपनाको सिटिजन्स बनाउँछु’

सिटिजन लाइफ इन्स्योरेन्स पछिल्लो पुस्ताको राम्रो बीमा कम्पनी हो । अन्य कम्पनीहरू मर्जर गरेर अगाडि बढिरहेको बेला सिटिजन लाइफ इन्स्योरेन्स भने मर्जरबिनै अब्बल संस्था बनेर अगाडि बढ्ने रणनीतिमा छ ।

सीईओ पौडेल अबको दुई वर्षपछि मार्केटमा स्थापित कम्पनीका रूपमा सिटिजन देखिने बताउँछन् । ‘मार्केट सेयर, बिजनेस र ब्राण्डका हिसाबले राम्रो बनाएर कम्पनीलाई अगाडि बढाउने योजना छ, विभिन्न कम्पनीमा काम गर्नेहरूलाई पनि एक पटक सिटिजनमा काम गर्नुपर्छ है भन्ने किसिमको कम्पनी बनाउँछौं,’ उनी भन्छन्, ‘सबैको सपनाको संस्थाको रूपमा विकास गरिरहेका छौं ।’

कम्पनीहरू मर्जरअघिको पोजिसनको तुलनामा सिटिजन अहिले पनि टपमै रहेको उनको भनाइ छ । उनले मर्जर भइसकेका कम्पनीसँग पनि सिटिजन प्रतिस्पर्धामा रहेको बताए । कम्पनीले प्रतिस्पर्धी कम्पनीको लेबलमा लाभांश दिन सक्ने अवस्था रहेको उनले बताए ।

कुशल व्यवस्थापक कस्तो ?

हरेकसँग सीप, अनुभव र ज्ञान हुन्छ । त्यो ज्ञान, अनुभव र सीप कार्यान्वयन गर्नका लागि पनि टीम र सहि वातावरण चाहिन्छ । टीम र सहि वातावरण भयो भने नेतृत्वले राम्रो गर्न सक्छ । भनिन्छ नि- ‘एउटा बिउलाई सही ठाउँमा रोप्यो भने ऊ फुल्न र फक्रन सक्छ ।’

हो एउटा व्यवस्थापकलाई पनि सहि सहि वातावरण आवश्यक हुन्छ । सीईओ पौडेल पनि ‘राइट म्यान इन दि राइट प्लेस’ हुनु पर्ने धारणा राख्छन् । कर्मचारी छनौटको क्रममा उनी धेरै मिहेनत गर्दछन् । ‘कतिपय मान्छेले काम नै थाहा नपाएर आवेदन दिएका हुन्छन्, त्यसमा हामीले प्रोसेसिङ तथा स्क्रिनिङ गर्न सक्नुपर्छ, धेरैले पहिला जागिर सुरु गरेर पछि यो त मेरो लागि रहेनछ भन्दै राजीनामा दिन्छन्, त्यहाँ छनौट गर्नेको पनि कमजोरी भयो भनेर बुझ्नुपर्छ’ उनले भने ।

जनशक्ति छनौटमा समय दिनु भएन भने नेतृत्व केका लागि ? उनी प्रश्न गर्दै भन्छन्, ‘जुन कामका लागि तपाईं मान्छे रोज्नुहुन्छ, त्यसमा राम्रो रोज्नुपर्छ, रिसोर्स डेभलप गर्ने बेलामा समय दिनुपर्छ, भोलि उनीहरू नै हो यो कम्पनीलाई अगाडि बढाउने, एउटा व्यवस्थापकले आफ्नो टीम फर्मेसनमा धेरै ध्यान दिनुपर्छ ।’

दोस्रो, सिनियरले जुनियरलाई सिकाउने र नेतृत्व विकास गर्ने मामिलामा उनको विशेष फोकस हुन्छ । ‘म थुप्रै साथीहरु भेट्छु, अरुले सिक्यो भने भोलि मलाई नै गाह्रो पर्छ भन्ने सोच्छन् । त्यसले वृद्धि विकास रोकेको देख्छु म । सामान्य कुरामा अलमलिनु हुँदैन, आफ्नो जिम्मेवारी अनुसारको काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘म कर्मचारीलाई पनि सँगसँगै ग्रो गरेर अगाडि बढाइरहेको छु ।’

‘एउटा व्यक्तिको लागि ‘पे र पोजिसन’ मात्रै भएर केही हुँदैन, व्यक्तिलाई वातावरण दिनका लागि मोटिभेसन र मोबिलाइजेसन आवश्यक पर्छ, नेतृत्व सफल हुनु भनेको समग्र टीम नै सफल हुनु हो,’ उनी भन्छन्, ‘नेतृत्व विश्वासिलो हुनुपर्छ । नेतृत्वलाई अरुले विश्वास गर्न सक्ने हुनुपर्छ ।’

हामीले विद्यालयमा पढ्, पढ् मात्र भन्यौं । नपढे हली बन्छस् भन्यौं । कृषिमा राम्रो हुन्छ, यो सम्मानित पेसा हो भनेर विद्यालय र घरबाट पनि सिकाइएको भए आज देशका युवाहरू कृषिमा काम गरिरहेका हुन्थे, विदेश जाने लाइनमा बस्दैनथे ।

नेपालमा अधिकांश मान्छे मजबुरीका लागि जागिर गर्ने गरेको उदाहरण उनी दिन्छन् । उनी भन्छन्, ‘व्यक्तिले क्षमताका र आफ्नो सीप देखाउनका लागि भन्दा पनि मजबुरीका लागि काम गर्छ, चीन, जापान लगायत देशमा मसँग यो सीप छ यो काम गर्छु भनिन्छ, हामी सीप बिकाउन सक्दैनौं, जब जागिर मजबुरी बन्छ, त्यहाँ उत्पादकत्व ह्रास हुन्छ ।’

कर्मचारीलाई मोटिभेसन पनि धेरै आवश्यक पर्ने उनको भनाइ छ । ‘कम्पनीको अधिकांश कार्यक्रममा म आफैं पुग्छु, कर्मचारीहरूलाई केही सकारात्मक नोट दिएर फर्किन्छु, नेतृत्वले अरूबाट काम लिने हो,’ उनी भन्छन्, ‘अथोरिटी डेलिगेट गरेर उनीहरूलाई एक किसिमबाट ड्राइभ गरिरहेको छु ।’

उनी अब प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा बीमा क्षेत्रमै रहने बताउँछन् । ‘आफ्नो क्षमता भएअनुसार काम गर्छु, इन्स्योरेन्स क्षेत्रमै केही काम गर्छु, हामी ग्लोबलरूपमा धेरै पछाडि छौं, सिक्नु र सिकाउनु पर्ने धेरै छ, म त्यसमै इन्गेज हुन्छु,’ उनले भने ।

जीवन बीमाले बचत र जोखिम न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ । ‘जोखिममा पर्दा हामी छौं, अब तपाईंलाई साथ दिने व्यक्ति कम छन्, अब संस्थाले साथ दिन्छ भन्नका लागि जीवन बीमा आवश्यक छ, नेपालमा बुबाले आर्जन गरेको सम्पत्ति नै ब्याकअप हो भन्ने छ, त्यो सिस्टमले नै समस्या गरिरहेको छ,’ उनी भन्छन्, ‘ब्याकअपका लागि अब इन्स्योरेन्स चाहिन्छ ।’

हेड सरसँग लञ्च, सिनियरसँग दोस्ती

पोषकराज पौडेल पृथक परिवेशमा हुर्किए । घुमघाममा रूची राख्ने उनी साथी भने आफूभन्दा सिनियरलाई बनाउँछन् । विद्यार्थी जीवनमा पनि उनले सँगै पढ्नेसँग दोस्ती बनाएनन्, आफूभन्दा एक कक्षा बढी पढ्नेसँग उनको दोस्ती जम्यो । अहिले पनि उनी तिनै विद्यार्थी जीवनका साथीहरूसँग केहिलकाहीँ भेट्ने अवसर पाउँछन् ।

उनी विद्यालय हुँदा पनि हेड सरसँग बसेर लञ्च खाएको अनुभव सुनाउँछन् । ‘म आफूभन्दा ठूलोसँग संगत गरियो भने केही सिकिन्छ सोच्थें, सोही कारण साथी पनि आफूभन्दा माथिल्लो कक्षाकालाई बनाए, स्कुलमा लञ्च गर्दा हेड सरसँग नै बसेर खान्थें,’ विगत स्मरण गर्दै उनी भन्छन्, ‘म घुलमिल भने सबैसँग हुन्थें ।’

आफ्नो तत्काल रियक्ट गर्ने बानी नरहेको उनी सुनाउँछन् । चितवनबाटै मागी विवाह गरेका पौडेलकी श्रीमती सहकारीमा काम गर्छिन् । उनको दुई छोरी छन् । एउटा अमेरिकामा सूचना प्रविधि (आईटी) पढिरहेकी छन् भने कान्छो छोरी एसईईको तयारीमा छिन् ।

उनी आफ्नो छोरी विदेशमा पढेर नेपालमै फर्किने विषयमा विश्वस्त छन् । सरकारले विदेशमा रहेका युवालाई नेपालमा स्वागत गर्ने वातावरण सिर्जना गर्नु पर्ने उनको छ ।

‘युवा विदेश गइरहेका छन्, उनीहरूलाई रोक्न ओरिन्टेसन दिन सकेका छैनौं, हामीले विद्यालयमा पनि पढ् भने पढ् नत्र हली हुन्छस् भन्ने गलत भाष्यको निर्माण गर्यौं, कृषिको सम्भावना भएको देशमा कृषिलाई नै हेला गर्यौं, त्यसकारण पनि विद्यार्थीहरू कृषिमा आकर्षित हुन सकेन,’ उनी भन्छन्, ‘कृषि राम्रो हो, यो पेसा सम्मानित पेसा हो भनेर विद्यालय र घरबाट पनि सिकाइएको भए, आज देशको युवाहरू कृषिमा काम गरिरहेको हुन्थे ।’

तर, उनी विदेशमा गएका युवाहरू एकदिन नेपालमा फर्किनेमा विश्वस्त छन् । ‘विदेशमा पनि सजिलो छैन, गइसकेपछि फर्किन गाह्रो छ । तर, फर्केर आएकालाई पनि स्वागत गर्न सकेनौं, फर्केर आएकोमा गाली गरिरहेका हुन्छौं, हामीले विदेश जानका लागि झन् प्रोत्साहन गर्यौं, सबैले विदेश जानुपर्छ भन्ने न्यारेटिभ बस्यो । तर, एकदिन विदेशिएको जनशक्ति सीप, अनुभव र पैसा लिएर स्वदेशमै फर्किन्छ भन्ने विषयमा विश्वस्त बनौं, त्यसपछि नेपाल बन्छ ।’ (देशविकासबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.