एक्कासी किन स्थगित गरियो माईखोला हाइड्रोको साधारण सभा ?

  २०८० भदौ २४ गते १९:१५     विकासन्युज

काठमाडौं । माईखोला हाइड्रोपावरको गत भदौ १७ गते सञ्चालक समितिको बैठकले असोज ९ गते वार्षिक साधारसभा बोलायो । कम्पनीले १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्तावसहित काठमाडौंको लर्ड पार्टी भेन्यु धुम्बाराहीमा बिहान ९ बजे साधारण सभा बोलाएको थियो ।

५ दिन अर्थात् भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा स्थगित गरेको सूचना नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ेमार्फत् लगानीकर्ताहरुलाई जानकारी गरायो । प्राविधिक कारण असोज ९ गते वार्षिक साधारणसभा गर्न सम्भव नरहेकाले अर्काे निर्णय नभएसम्म स्थगित गरिएको कम्पनीले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) रितेश रजकले अचानक काम परेकाले साधारण सभा स्थगित गरिएको बताए । माई खोला हाइड्रोको काम परेर नै आफूहरु उपत्यका बाहिर रहेकाले तोकिएको समयमा साधारणसभा गर्न असम्भव भएपछि स्थगित गरिएको उनको भनाइ छ ।

‘हामी सबैको अर्जेन्ट काम परेको हुँदा उपत्यका बाहिर आएका छौं, माइ खोला हाइड्रो कै काम भएकाले सभा स्थगित गरिएको हो, हाइड्रोपावरमा केही भएको छैन,’ उनले भने, ‘४/५ दिनसम्म साधारण सभा स्थगित गरिएको हो ।’

उनका अनुसार हाइड्रोपावर कम्पनीमा कुनै समस्या आएको छैन । असोजभित्रै साधारण सभा गर्ने उनको भनाइ छ ।

कम्पनीले हाल कायम सेयर पूँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले १ः१ अनुपात अर्थात् हाल १ कित्ता सेयर भएका सेयरधनीहरुले नयाँ १ कित्ता पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.