चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी, धेरै नाफा हुने

  २०८० भदौ १८ गते १४:३८     विकासन्युज

चितवन । चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् ।

चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन् । नारायणगढ-हेटौँडा-वीरगन्ज र नारायणगढ-काठमाडौँका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिए ।

उनका अनुसार महानगर यातायात प्रालिले ६ सवारी नारायणगढ-काठमाडौँका लागि सञ्चालनमा ल्याएको छ भने त्रिनेत्र र चौतारी यातायात प्रालिले सञ्चालनमा ल्याएका सबै बस नारायणगढ-काठमाडौँका लागि सञ्चालन भइरहेका छन् ।

राज्यले विद्युतीय सवारीसाधन सञ्चालनका लागि ल्याएको नीतिअनुसार विद्युतीय बस सञ्चालनमा ल्याइएको बोहोराले बताए । वातावरण प्रदूषण नहुने भएकाले पनि यस प्रकारका सवारी उपयुक्त हुने उनको भनाइ छ । डिजेलको मूल्यवृद्धि भइरहेका बेला विद्युतीय सवारीसाधन सञ्चालन गर्दा मितव्ययीता समेत हुने उनले बताए ।

हाल सञ्चालनमा आएका सवारीसाधनमा ६० किलोवाट मोटरपावर जडान गरिएको छ । बोहोराले गाडी एकपटक पूर्णरुपमा चार्ज गरेपछि दुई सय किलोमिटरसम्म गुड्ने बताए ।

चालकसहित ११ जना अट्ने सवारी प्रदूषणरहित र आरामदायी भएको नारायणगढबाट सिमारा जाँदै गरेका यात्रु लोक खड्काको अनुभव छ । डिजेलबाट चल्ने गाडीभन्दा यो गाडी सफा र आरामदायी भएको उनको भनाइ छ । सञ्चालन भएयता यात्राका लागि मिलेसम्म विद्युतीय सवारी रोज्ने गरेको उनले बताए ।

नारायणगढबाट वीरगञ्ज जान लागेका अप्रोज आलमले आफूले पहिलो पटक विद्युतीय सवारी चढ्न लागेको बताए । गाडी चढ्दै गर्दा सफा, आवाज कम र आरामदायी पाएको पहिलो पटक विद्युतीय सावारी चढ्दाको अनुभवसहितको यात्रा आरामदायी हुने विश्वास उनले व्यक्त गरे ।

चितवन छाहारी यातायात प्रालिका अध्यक्ष बद्री पौडेलले विद्युतीय सवारीमा यात्रा गर्दा सफा, आवाज नआउने र पूर्णरुपमा वातावरण अनुकूलित हुने जनाउँदै यो यात्रुको पहिलो रोजाइँमा पर्ने बताउँछन् ।

डिजेलबाट चल्ने बसमा भन्दा विद्युतीय गाडीमा यात्रा गर्दा भाडामा केही महँगो भए पनि यात्रुको कुनै गुनासो नआएको उनको भनाइ छ । उनका अनुसार भरतपुरबाट हेटौंडासम्म पुगेको दुई सय ८०, वीरगञ्जसम्मको चार सय र नारायणगढ-काठमाडौँको भाडा पाँच सय रुपैयाँ भाडादर छ ।

सत्तरी प्रतिशतसम्म बैंकले लगानी गरिदिने जनाउँदै पौडेलले यस सवारी व्यवसायीका लागि पनि सन्तोषजनक रहेको बताए । एउटा सवारी चार्ज हुनका लागि एक घण्टा लाग्ने हुँदा स्टेसनमा रहेका चार्जिङ पोइन्टको सङ्ख्या पनि सवारीअनुसार थप हुँदै जानुपर्ने उनले बताए ।

नारायणगढ-वीरगञ्ज रुटमा चल्ने मधेस प्रदेश ०३-००१ ज ३६४ नम्बरको सवारीका चालक वृजकिशोर प्रसादले डिजेलको बसमा भन्दा विद्युतीय बसमा धेरै नाफा रहेको बताए । नाफा राम्रो भए पनि चार्जिङको समस्याले सताउने गरेको उनले गुनासो गरे ।

नारायणगढ-हैटौँडा रुटमा सवारी चलाउने कृष्ण बस्ताकोटीले पनि विद्युतीय सवारीको सबै पक्ष राम्रो भए पनि चार्जिङ पोइन्टकै समस्या हुने गरेको बताए । सवारीको सङ्ख्या बढ्दै जाँदा चार्ज गर्न घण्टौँ कुर्नुपर्ने बाध्यता आएको भन्दै रुटको ठाउँठाउँमा चार्जिङ पोइन्ट हुनुपर्ने उनको माग छ ।

जिल्लामा ६ महिनादेखि विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका हुन् । ११ सिट क्षमता भएको सवारी खरिद गर्दा ४४ लाख हाराहारी पर्ने र पाँच वर्षको ग्यारेन्टी निर्माण कम्पनीले लिने व्यवसायीको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.