ईप्पानको चुनावी रौनक : बाउछोरी फरक-फरक कित्तामा, अधिकांश उम्मेदवार साझा

  २०८० जेठ २८ गते १४:३२     विकासन्युज

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को निर्वाचन नजिकिएसँगै चुनावी माहोल पनि रोचक बन्दै गएको छ । जेठ ३२ गते वार्षिक साधारण सभापश्चात् हुने निर्वाचनमा जलविद्युत व्यवसायीहरु चुनावका लागि दुई धारमा विभाजन भएर मैदानमा उत्रिएका छन् ।

अध्यक्ष पदका दावेदार संस्थापन समूहबाट गणेश कार्की र संस्थापन इतर समूहबाट किरण मल्लले छट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा छन् । तर, दुवै पक्षले छट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने तयारी गरेपनि अधिकांश उम्मेदवारहरु भने साझा देखिएका छन् ।

दुवै पक्षले अधिकांश पदमा साझा उम्मेदवार खडा गरेर प्रतिस्पर्धामा उत्रिएको भएपनि अर्को रोचक विषय पनि चुनावी रौनाकमा देखिएको छ । किरण मल्ल आफै अध्यक्षका उम्मेदवार भएपनि उनकी छोरी अविज्ञा मल्ललाई अध्यक्ष पदका अर्का उम्मेदवार गणेश कार्की समूहले उम्मेदवार बनाएकाे सूची सार्वजनिक भएकाे छ । अविज्ञा मल्ल किरण मल्लकी छोरी हुन् । उनलाई अध्यक्ष पदका उम्मेदवार कार्की समूहले सचिव पदमा उम्मेदवार बनाएको छ ।

स्रोतका अनुसार उनी आफ्नै बुवाको समूहबाट उम्मेदवार बन्दा विवाद आउन सक्ने भएकाले कार्की समूहबाट उम्मेदवार बनेकी हुन् । ‘अविज्ञा मल्ललाई गणेश कार्कीको समूहबाट सचिव पदमा उम्मेदवार बनाइएको छ, जबकी अविज्ञा मल्ल किरण मल्लकी छोरी हुन्, उहाँ आफ्नो बुबाको टिममा उम्मेदवार छैनन् किनभने बाउछोरी कन्ट्रोभर्सी वा विरोध आउँछ भनेर उहाँ उठ्नु भएको छैन तर, संस्थापन टिमले उहाँलाई उम्मेदवार बनाएको छ,’ उनले भने ।

अध्यक्ष पदका उम्मेदवार मल्लले अहिलेको विधान अनुसार एउटै टिम बनाउनु पर्ने भएकाले साझा उम्मेद्वार रहेको बताए । केही पदका लागि मात्रै फरक भएपनि अधिकांश उम्मेदवार साझा रहने उनको भनाइ छ । आफ्नो छोरीको नाम राखेर चुनावी स्टण्ट गरेको उनले आरोप लगाए ।

‘यो चुनावी स्टण्ट हो, उहाँले गलत प्रचारप्रसार गर्नु भएको हो, उहाँ (छोरी अविज्ञा) कुनै पनि समूहबाट उम्मेदवार बन्नु हुँदैन, एउटै संस्थामा बाउ र छोरी पनि उम्मेदवार हुन्छ ?, के लुट्न जाने हो र ? योगदान दिन जाने हो,’ उनले भने ।

अध्यक्ष पदका अर्का उम्मेदवार कार्कीले भने अविज्ञा मल्ललाई आफ्नो समूहले उम्मेदवार नबनाएको बताए । अहिले सहमतिका लागि पहल भइरहेको उनको भनाइ छ । यदि सहमति नभएमा चुनाव हुने उनको भनाइ छ । साझा भनिएका उम्मेदवारहरुले गणेश कार्की समूहबाट उम्मेदवार बनेको बताउँदै आएको उनले बताए । महासचिव र कोषाध्यक्ष पदहरुमा उम्मेदवारले कार्की समूहबाटै उम्मेदवार रहेको भनेर प्रेस वक्तव्य जारी गरेको उनको भनाइ छ ।

‘हामीले अविज्ञा मल्ललाई उम्मेदवार बनाएको भन्ने त छैन, उहाँलाई बस्नुस् भनेको मात्रै हो तर, अहिलेसम्म उहाँ उम्मेदवार बननु भएको छैन, उहाँ अहिलेसम्म उम्मेदवार भनेर आउनु भएको छैन,’ कार्कीले विकासन्युजसँग भने, ‘उहाँ आउनु हुन्छ की भनेर हामीले प्रस्ताव गरेको हो, उहाँ उठ्न त मिल्छ नी ।’

केही दिनअघि कार्की समूहले पत्रकार सम्मेलन गर्दै आफ्नो टीम घोषणा गरेको थियो । त्यसलगत्तै सो समूहले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो समूहमा रहेका उम्मेदवारहरुको नामावली पनि सार्वजनिक गरेको थियाे । सो सूचीमा सचिव पदको उम्मेदवारको रुपमा अविज्ञा मल्लको पनि नाम थियो ।

मल्ल र कार्की समूहबाट उपाध्यक्ष पदमा हिम प्रसाद पाठक, आशिष गर्ग, उत्तम ब्लोन लामा, भरतबहादुर खत्री र राम प्रसाद आचार्य साझा उम्मेदवार बनेका छन् । यस्तै, महासचिव पदमा बलराम खतिवडा र उप महासचिव पदमा प्रकाश दुलाल साझा उम्मेदवारका रुपमा दुवै समूहले अघि सारेका छन् ।

यस्तै, भरत खड्का, विक्रम विष्ट र कविता कँडेललाई सचिव पद र नरेन्द्र वल्लब पन्तलाई कोषाध्यक्ष पदका लागि साझा उम्मेदवार बनाएका छन् । सदस्य पदमा उत्तर कुमार श्रेष्ठ, कदम केसी, सिताराम तिमिल्सिना, दिपक पौडेल, महिला सदस्यमा इशा श्रेष्ठ, इन्दिरा पन्त, सुमन जोशी र सुसन कर्मचार्यलाई दुवै पक्षले आफ्नो उम्मेदवार भनेर घोषणा गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा कार्की समूहबाट मोहन डाँगी र मल्ल समूहबाट गोरे शेर्पाबीच प्रतिस्पर्धा हुने भएको हो । साथै, उपाध्यक्ष पदमा ५ जना साझा उम्मेदवार बनेको भएपनि कार्की समूहबाट आनन्द चौधरी र मल्ल समूहबाट भरत नेपाल रहेका छन् ।

सदस्यहरूमा कार्की समूहबाट मिथुन पौडेल, सुवास बराल, पुस्कर ढुङ्गेल, गोपाल निउरे र जगदिश बहादुर पाललगायत प्रतिस्पर्धामा छन् । महिला सदस्यमा रजनी थापाले पनि कार्कीको प्यानलबाट प्रतिस्पर्धा गर्ने छिन् । यस्तै, मल्ल समूहबाट सदस्य पदमा हुमाकान्त चौलागाई, विकास श्रेष्ठ, पदम गुरुङ, श्याम श्रेष्ठ, तारा शुब्बा, अर्जुन बन्धु रेग्मी र विनोद देवकोटा प्रधिस्पर्धामा उत्रिएका छन् ।

दुवै समूहले महासचिव, उपमहासचिव र कोषाध्यक्षमा एउटै उम्मेदवारलाई अघि सारेका छन् । उम्मेदवारी दर्तामा अन्यको दाबी नपरेमा महासचिवमा बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल र कोषध्यक्षका उम्मेदवार नरेन्द्र बल्लभ पन्त निर्विरोध निर्वाचित हुने देखिन्छ ।

जेठ २५ गतेसम्म नवीकरण र नयाँ सदस्यताको लागि आवेदन दिएका ४५० कम्पनीका प्रतिनिधिहरू साधारणसभामा भाग लिन र मतदान गर्न पाउने छन् । निर्वाचन समितिले जेठ २७ गते मतदाता नामावली प्रकाशन गर्ने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता चिरञ्जीवी खतिवडाले जानकारी दिए । २७ गतेदेखि नै इप्पानको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने छ । मतदाता नामावली प्रकाशनसँगै निर्वाचन कार्यतालिकासमेत सार्वजनिक हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने इप्पानको २१ औं वार्षिक यहि जेठ ३२ गते बौद्ध स्थित हायात होटलमा हुँदैछ ।

विद्यान अनुसार पदाधिकारी बन्नका लागि एक कार्यकाल सदस्य भएर काम गरेको हुनु पर्ने छ । जसले २ वटा समूह बनाउँदा मान्छेहरु नपुग्ने भएकाले साझा उम्मेदवार नै खडा गरेको बताइएको छ । साथै, पुराना सदस्यहरु चुनावी मैदानमा आउन इच्छा जाहेर गरेका छैनन् ।

One comment on "ईप्पानको चुनावी रौनक : बाउछोरी फरक-फरक कित्तामा, अधिकांश उम्मेदवार साझा"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.