पुँजी वृद्धिको समय थप्न बीमा कम्पनीहरुको माग, कारवाहीको तयारीमा प्राधिकरण

  २०७९ चैत ३ गते १४:१५     मञ्जरी पौडेल

काठमाडौं । जीवन बीमा कम्पनीलाई चुक्ता पुँजी न्यूनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन नेपाल बीमा प्राधिकरणले दिएको समय सीमा सकिनै लाग्दा प्राधिकरणलाई समय सीमा थप्न दवाव परको छ । यहि चैत मसान्तभित्र पुँजी वृद्धि गर्नुपर्ने समय सीमा भए पनि जीवन बीमातर्फ एउटा मात्र कम्पनीले पुँजी ५ अर्ब रुपैयाँ पुर्याएको छ भने निर्जीवनतर्फ तीन वटा कम्पनीले मात्र पुँजी २ अर्ब ५० करोड नघाएका छन् ।

बीमा प्राधिकरणले तोकिएकै समयमा पुँजी वृद्धि गर्न बारम्बार ताकेता गर्दै आएको छ । तर अधिकांश बीमा कम्पनीहरुले प्रक्रिया पुरा गर्न थप समय माग गरेका छन् । बीमा कम्पनीहरुले पुँजी वृद्धिको समय कम्तिमा ६ महिना थप गर्न माग गरेका छन् भने बीमा समितिले पुँजी वृद्धि गर्न सफल नभएका कम्पनीहरुको व्यवसायमा रोक लगाउने सम्मको चेतावनी दिँदै आएको छ ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भन्छन्- ‘जसले बीमा समितिको निर्देशन पालना गरेका छैनन र पुँजी वृद्धि गर्न सकेका छैनन्, २०८० बैशाखदेखि उनीहरुको विभिन्न पोर्टफोलियोको विजनेशमा प्राधिकरणले रोक लगाउने छ, निर्देशन पालना नगरेको भन्दा १० लाख रुपैयाँसम्म जरिवाना तिराउनेछ ।’

नेपाल लाइफको चुक्ता पुँजी पुगिसकेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरण गरेर पुँजी वृद्धि गर्न सकिने जनाएको छ । कम्पनीको लागि ३५ करोड रुपैयाँ मात्र पुँजी कम छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेर नै पुँजी ५ अर्ब पुर्याउने कम्पनीको वित्तीय सामर्थ्य छ ।

प्राइम, गुराँस र युनियन लाइफ पनि मर्जर प्रक्रियामा छन् । यी तीन कम्पनी मर्ज सफल भएका करिव साढे सात अर्ब रुपैयाँभन्दा बढी पुँजी हुनेछ । यी कम्पनीको मर्जर प्रक्रिया चैत भित्र नसकिने भएको छ ।

जीवन बीमातर्फ साविकको सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भइ सूर्यज्योति लाइफ इन्स्योरेन्स भएको छ । यो कम्पनीले चुक्ता पुँजी ५ अर्ब पुर्याउन अझै ४५ करोड रुपैयाँ थप्नुपर्नेछ । उसले गत आर्थिक वर्ष नाफाबाट बोनस सेयर पनि नदिने घोषणा गरिसकेको छ । तोकिएको पुँजीको लागि अपुग रकमको लागि हकप्रद सेयरबाट पुँजी वृद्धि योजना बीमा प्राधिकरणलाई बुझाएको छ ।

त्यस्तै, सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भई आगामी चैत ९ गतेदेखि एकीकृत कारोबार गर्दै छन् । दुई कम्पनी मर्ज हुँदा ४ अर्ब १० करोड पुँजी हुनेछ । ९० करोड पुँजीको लागि यस कम्पनीले गत वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न र अपुग रकमको लागि हकप्रद सेयर जारी गरी पुँजी ५ अर्ब रुपैयाँ पुर्याउने योजना बनाएको छ । यस कम्पनीको लागि हकप्रद सेयर जारी गरी पुँजी वृद्धिको कार्य सम्पन्न गर्नको लागि अझै कम्तिमा ६ महिना लाग्नेछ ।

महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्स मर्जरको प्रकृयामा छन् । दुई कम्पनी मर्ज हुँदा ४ अर्ब १० करोड रुपैयाँ पुँजी हुन्छ । अपुग ९० करोड पुँजीको लागि प्रभु महालक्ष्मीले एफपीओ जारी गर्ने तयारी गरेका छन् । महालक्ष्मीले सर्बसाधारणलाई सेयर निष्काशन नगरेकाले उक्त हिस्सा सेयर एफपीओ जारी गरिने महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए । मर्ज सकिएर एफपीओ जारी गर्ने प्रक्रिया पुरा गर्न कम्पनीलाई करिव ९ महिना लाग्नेछ ।

रिलायबल, सन नेपाल, सिटिजन, आइएमई लाइफले प्रिमियममा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएका छन् । प्रिमियममा सेयर निष्काशन र बोनस सेयर वितरणबाट पुँजी ५ अर्ब पुर्याउने योजना बीमा समितिमा प्रस्ताव गरेको सम्बन्धित कम्पनीहरुले बताएका छन् । यी कम्पनीहरुलाई सेयर निष्काशन गर्ने प्रक्रिया पुरा गर्न पनि ६ महिनाभन्दा बढी लाग्ने जानकारहरु बताउँछन् ।

एशियन लाइफले ८.५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । घोषित लाभांश वितरणसँगै इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ । चालु आर्थिक वर्षको नाफाबाट पनि बोनस सेयर वितरण गर्ने र अपुग पुँजीको लागि करिव ४२ प्रतिशत हकप्रद सेयर जारी कम्पनीले बीमा प्राधिकरणसँग प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बीमा समितिले स्वीकृत गर्ने अपेक्षा कम्पनीको रहेको छ । मर्जको लागि उपयुक्त पात्र नपाएकोले मर्जमा जान नसकेको भन्दै कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति माग गरेको हो । बीमा प्राधिकरणले भने बढीमा ३० प्रतिशत मात्र हकप्रद जारी गर्न दिने बताउँदै आएको छ ।

शिखर इन्स्योरेन्सको पुँजी २ अर्ब ६५ करोड रुपैयाँ भैसकेको छ । मर्ज तथा हकप्रद सेयर जारी नगरी तोकिएको समय अगावै पुँजी वृद्धि गर्ने निर्जीवन तर्फ शिखर मात्र हो ।

त्यस्तै, मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पुँजी २ अर्ब ८० करोड भएको छ । मर्जपछि बनेको सगरमाथा लुम्बिनी इन्स्योरन्सको पुँजी पनि २ अर्ब ६२ करोड भएको छ । तर मर्जपछि बनेको सानिमा जनरल इन्स्योरेन्सको पुँजी अझै ५० करोड रुपैयाँ कम रहेको छ । कम्पनीले गत आर्थिक वषको बोनस सेयर वितरणपछि अपुग रकमको लागि हकप्रद सेयर जारी गरी योजना बनाएको छ ।

बीमा प्राधिकरणले पुँजी वृद्धिको लागि समय थप गरेको चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने तर हकप्रद सेयर जारी नगर्ने कम्पनीको आन्तरिक तयारी छ । जुन विधिबाट गए पनि यस कम्पनीको लागि पनि पुँजी पुर्याउन कम्तिमा ६ महिना लाग्ने देखिएको छ ।

निर्जीवन बीमातर्फ हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्ज भई बनेको हिमालय एभरेष्टको लागि २७ करोड पुँजी कम छ । कम्पनीले २.७५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । प्रस्तावित बोनस पारित भएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २९ करोड रुपैयाँ पुग्ने छ । गत आर्थिक वर्षको दुबै कम्पनीको एकीकृत लेखापरिक्षण काम सम्पन्न नभएकोले यो कम्पनीले पनि चैत मसान्तभित्र पुँजी साढे २ अर्ब पुर्याउन सक्दैन । उसको लागि पनि समय थप्नुपर्ने वाध्यता हुन्छ ।

आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरको प्रकृयामा छन् । दुई कम्पनीले असार मसान्तसम्म मर्जरको प्रकृया सम्पन्न गर्ने लक्ष्य लिएका छन् । मर्ज सफल भएमा कम्पनीको पुँजी ३ अर्ब नाघ्ने छ र पुँजीको आधारमा सबैभन्दा ठूलो कम्पनी बन्ने छ । यद्यपी पुँजी वृद्धि गर्नु पर्ने चैत मसान्तको सीमा यी कम्पनीको लागि पनि अपुग नै भएको छ ।

नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । प्रस्तावित बोनस पारित भएसँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ नाघ्ने छ । अपुग रकमको लागि हकप्रद सेयर निष्काशन गर्ने कम्पनीको योजना छ । यो कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न कम्पनीको लागि कठिन हुनेछ ।

एनएलजी इन्स्योरेन्सले पनि १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । सो पारित भएमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्ने छ । बाँकी रकमको लागि हकप्रद सेयर निष्काशन गर्न कम्पनीले बीमा प्राधिकरणसँग अनुमति मागेको छ । एनएलजी कम्पनी नेशनल लाइफको सहायक कम्पनी भएकोले मर्जमा जान नमिल्ने कम्पनीको प्रस्ताव रहेको छ । त्यसबारे बीमा प्राधिकरणले भने कुनै निर्णय गरेको छैन ।

त्यसैगरी, युनाइटेड र अजोड मर्जरको प्रक्रियामा छन् । युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २ करोड छ । प्रस्तावित ५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ नाघ्ने छ । अजोडको एक अर्ब रुपैयाँ पुँजी छ । दुई कम्पनी मर्ज हुँदा पनि झण्डै ४३ करोड पुँजी कम हुनेछ । मर्ज सफल भएपछि हकप्रद सेयर जारी गर्न यो कम्पनीको लागि झण्डै एक वर्ष लाग्नेछ । राष्ट्रिय बीमा कम्पनी, प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स भने अझै अन्यौलमा रहेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.