दिनेश श्रेष्ठ उमेशलालको समूहबाट पुनः उपाध्यक्षमा लड्दै, नेतृत्व निर्विरोध गराउने ढकालको प्रतिवद्धता

  २०७९ फागुन २२ गते १९:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको दौडमा रहेका दिनेश श्रेष्ठ अन्ततः सो पदबाट पछि हटेका छन् । हाल महासंघको जिल्ला नगर उपाध्यक्ष रहेका उनी वरिष्ठ उपाध्यक्षको रेसबाट पछि हट्दै पुनः जिल्ला नगर उपाध्यक्षको नै तयारीमा लागेका हुन् ।

महासंघ स्रोतका अनुसार उनी वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठको समूहबाट पुनः जिल्ला नगर तर्फको उपाध्यक्षका लागि उम्मेदवार बन्ने निश्चित भएको छ । यसअघि वरिष्ठ उपाध्यक्षको लागि श्रेष्ठसँगै उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईको चर्चा थियो । अब श्रेष्ठ वरिष्ठ उपाध्यक्षको दौडबाट बाहिरिएसँगै उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बन्ने दौडमा छन् । उनीहरुले सो पदका लागि तयारी पनि गरिरहेका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आजदेखि (होलीको अवसर पारेर) चुनावी क्याम्पियन पनि सुरु गरेका छन् । उनले आज आफ्नो चुनावी क्याम्पियनको सुरुवात गर्दै वर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतलाई पनि निमन्त्रणा गरेका थिए । दुवै जना उनको होली विशेषसभासँगै चुनावी क्याम्पियन कार्यक्रममा उपस्थित थिए ।

अब भोलिदेखि उमेशलाल श्रेष्ठसँगै उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठसँगै चुनावी प्रचारप्रसारमा जाने बुझिएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले आफ्नो टीमबाट दिनेश श्रेष्ठ जिल्ला नगरको उपाध्यक्षको उम्मेदवार बन्ने स्वीकार गरे ।

‘सकेसम्म हामी सबै मिलेर जान्छौं, दिनेशजी पनि अब उपाध्यक्षमा दोहोरिनु हुन्छ, सबै साथीहरुलाई सकेसम्म निर्विरोध रुपमा अगाडि बढौं भन्ने मेरो आग्रह हो,’ श्रेष्ठले भने ।

उनको चुनावी अभियानमा सहभागी हुँदै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सबैलाई निर्विरोध रुपमा टीममा समावेश गर्ने प्रयास रहने बताएका छन् ।

यस विषयमा दिनेश श्रेष्ठले भने आफुले साथीहरुले भनेको पदमा बस्न तयार रहेको बताए । ‘म निजी क्षेत्रको भलो चाहन्छु, पद भन्ने विषय मेरो लागि गौण हो, अहिले सबैसँग कुरा भइरहेको छ, कुन टिमभन्दा पनि सबैले मिलेर अगाडि बढ्ने हो,’ उनले विकासन्युजसँग भने ।

महासंघमा अध्यक्ष शेखर गोल्छा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिँदैछ । महासंघले चैत २८ गते महाधिवेशनको मिति तोकेको छ । निर्वाचनपछि महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल बन्दैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको बैधानिक व्यवस्था छ । आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित ६४ सदस्यीय कार्यसमितिको लागि निर्वाचन हुँदैछ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको समूहबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, एशोसिएट समूहबाट उपाध्यक्षमा शाहिल अग्रवाल, वस्तुगत समूहबाट उपाध्यक्ष मनिषलाल प्रधान उम्मेद्वार बन्ने चर्चा छ ।

यस्तै, उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसियततर्फको उपाध्यक्षमा भरतराज आचार्य र वस्तुगत समूहको उपाध्यक्ष पदमा हेमराज ढकाल उम्मेद्वार बन्ने बताइएको छ ।

रामचन्द्रको समूहबाट भने पदाधिकारीका उम्मेद्वारबारे अहिलेसम्म प्रारम्भिक खाका आएको छैन । जिल्ला उपाध्यक्षमा नरेन्द्र कुमार खड्का, सुरकृष्ण बैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचनले पनि आकांक्षा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.