सीमा क्षेत्रका व्यापारीले भारु साट्नै छाडे, भारतमा बस्ने नेपाली चिन्तामा

<p>काठमाडौं । कैलालीका राजु खडायत सोमबार भारतबाट नेपाल आए । त्रिनगर भन्सार नाकामा नजिकै रहेको डोके बजारमा उनले भारतीय रुपैयाँ (भारु)लाई नेपाली रुपैयाँ (नेरु)सँग साट्ने प्रयास गरे । तर, उनले भारतीय रुपैयाँ साट्न सकेनन् । भारत आवतजावत गर्दा उनले भारु र नेरु साट्ने बजार नै डोके बजार हो । तर, यस पटक भारतबाट नेपाल आउँदा [&hellip;]</p>

काठमाडौं । कैलालीका राजु खडायत सोमबार भारतबाट नेपाल आए । त्रिनगर भन्सार नाकामा नजिकै रहेको डोके बजारमा उनले भारतीय रुपैयाँ (भारु)लाई नेपाली रुपैयाँ (नेरु)सँग साट्ने प्रयास गरे । तर, उनले भारतीय रुपैयाँ साट्न सकेनन् । भारत आवतजावत गर्दा उनले भारु र नेरु साट्ने बजार नै डोके बजार हो । तर, यस पटक भारतबाट नेपाल आउँदा उनले पसल–पसलमा धाउँदा पनि भारु साट्न सकेनन् ।

‘मलाई भारु र नेरु साट्ने ठाउँ नै यही बजार जस्तो लाग्छ, अन्य ठाउँमा कहाँ साट्छन् थाहा छैन, पहिले भारु रुपैयाँ नै घर लिएर जान्थें, यस पटक गाउँमा भारु चल्दैन भनेर सुनेपछि बजारमै साट्ने निर्णय गरेँ, तर कसैले साट्न मानेनन्, साँटे पनि धेरै कम दिने भनेपछि मैले साट्न मानिनँ,’ उनले गुनासो पोख्दै भने ।

यसअघि भारु साट्नका लागि नेपाली व्यापारीले तछाडमछाड गर्ने गरेको उनले स्मरण समेत गरे । ‘पहिले बसबाट झर्ने बित्तिकै भारु छ भनेर व्यापारीले सोध्थे, अहिले वास्तै गरेनन्, कममा साट्ने भनेपछि मैले पनि भारु नै घर लिने निर्णय गरेँ,’ उनले थपे ।

नेपाल र भारत खुला सीमाना भएको कारण पनि मानिसहरुले सहजै आवतजावत गर्न पाउँछन् । नेपाली सवारी साधन नजिकै पर्ने भारतीय बजारमा जान पाउँछन् भने भारतीय सवारी साधन पनि सीमावर्ती नेपाली बजारमा गुड्न पाउँछन् । विगतमा भारतीय नागरिकहरुले नेपालमै आएर सहज रुपमा भारुको कारोबार गरेर सामान किनमेल गर्न पाउँथे भने नेपालीहरुले पनि नाका नजिकै रहेका भारतीय बजारमा गएर नेपाली रुपैयाँमा नै कारोबार गर्न पाउँथे ।

तर, अहिले नेपाली बजारमा भारतीय रुपैयाँ खासै चल्दैन । उसो त एक सय रुपैयाँभन्दा बढीका नोट नेपाली बजारमा कारोबार गर्न मिल्दैन । नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँभन्दा माथिका भारु नेपालमा प्रतिबन्ध लगाएको छ । तर, खुला सीमाना तथा व्यापारिक सम्बन्धकै कारण भारु नेपाली बजारमा पनि खुलेआम रुपमा कारोबार हुन्छ ।

यस्तै, उद्योग वाणिज्य संघ बिरगञ्जका उपाध्यक्ष माधव राजपल पनि भारु र नेपाली रुपैयाँ नसाटिने बताउँछन् । उनी भारु र नेरु नसाटिएकै कारण आफुले नजिकै रहेको भारतीय बजारमा जानै छोडेको बताउँछन् ।

‘अहिले नेपाली बजारमा भारुको माग नै छैन, पहिले माग धेरै हुन्थ्यो, अहिले एउटा झोलामा सामान ल्याउन पनि धौधौ हुन्छ, नेपालीहरुले भारतमा गएर सामान ल्याउनै छोडिसके, सामान ल्याउन छोडेपछि भारु साट्ने कुरै भएन, भारु र नेरु नसाटिने भएकै कारण मैले नाकामै जान छोडेँ,’ उनले विकासन्युजसँग भने ।

पछिल्लो समय भारुको माग घटेको र मूल्य पनि कम भएको भन्ने समाचार बाहिरिरहेको बेला नेपाली ब्यापारीले भारु नै साट्न नमानेको विषय पनि आएको छ । यसले गर्दा धेरै नेपालीलाई समस्या भएको गुनासो आएको छ । अधिकांश नेपालीहरु भारतीय बजारमा निर्भर हुन्छन् । उनीहरु दैनिक उपभोग्य वस्तुदेखि महँगो सामान पनि भारतबाट ल्याउँछन् । तर, व्यापारीहरुले भारु साट्न नमान्दा उनीहरुलाई चिन्ता थपेको छ ।

यसअघि भारतले ५ सय र एक हजारका नोट प्रतिबन्ध लगाउँदा राष्ट्र बैंकसँगै धेरै नेपालीहरु समस्यामा परेका थिए । भारतले सो रकम फिर्ता लिन मानेको थिएन । त्यसपछि राष्ट्र बैंकले एक सयभन्दा माथिका भारु नोट नेपालमा प्रतिबन्ध लगाएको थियो ।

नेपाल राष्ट्र बैंकले एक सयभन्दा बढीको नोट प्रतिबन्ध नै गरेको कारण राष्ट्र बैंकबाट साट्ने कुरा भएन । त्यसैले पनि अहिले अधिकांश नेपालीहरु समस्यामा परेका छन् ।

अनौपचारिक बजार बढी चलायमान हुन थालेपछि बिरगञ्ज सीमामा कडाइ भएको उपाध्यक्ष राजपल बताउँछन् । ‘पहिले ग्रे मार्केट बढी थियो, अहिले एउटा झोलामा सामान ल्याएपनि कडाइ हुन्छ, त्यसैले पनि नेपालीहरु सामान ल्याउन नजिकैको भारतीय बजारमा जाँदैनन्, त्यसैल पनि भारुको माग र मूल्य घटेको हो, आयात पनि कम भइरहेको छ,’ उनले भने ।

यस्तै, उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले आफुले पनि अहिले भारुको कारोबार कम हुने गरेको सुनेको बताए । ‘मैले महसुस गर्न पाएको छैन, सञ्चार माध्यममा भारुको मूल्य र माग कम भएको सुनेको छु,’ बोगटीले भने ।

नेपाल राष्ट्र बैंक भने भारुको माग र मूल्य कम भएकोमा खुसी छ । एक सयभन्दा बढीको नोट प्रतिबन्ध गरेपनि त्यो नीति कार्यान्वयन हुन सकेको थिएन । अहिले कार्यान्वयन भएपछि राष्ट्र बैंक खुसी भएको हो ।

‘हामीले अनौपचारिक रुपमा हुने कारोबारलाई गैरकानुनी ठान्छौं, नेपालमा प्रतिबन्ध भएपनि एक सय बढीका नोट चलिरहेका छन्, अहिले कम भएको भन्ने सूचना हामीलाई पनि आएको छ, यो खुसीको कुरा हो,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

अहिले एक सय भारु बराबर एक सय ५५ या १५० रुपैयाँमा खुलेआम कारोबार भइरहको बताइएको छ । तर, नेपाली व्यापारीहरुले सो मूल्यमा पनि नोट नसाटेको बुझिएको छ । बजारमा अनौपचारिक रुपमा कारोबार हुँदा एक सय रुपैयाँ भारुको १५० या १५५ रुपैयाँमा कारोबार भइरहेको विषय राष्ट्र बैंकले पनि स्वीकारेको छ । सीमावर्ती बजारमा भारतीय रुपैयाँका अवमुल्यन भएको राष्ट्र बैंकको भनाइ छ ।

यसअघि सरकारले आयातमा कडाइ गर्दा अवैध च्यानलमार्फत् वस्तु आयात गर्नकै लागि भारतीय रुपैयाँ महँगोमा खरिद बिक्री भइरहेको थियो । तर, अहिले आयात फुकुवा तथा भारतीय मुद्राको पनि माग कम भएपछि भारुको अवमुल्यन भएको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार भारतीय रुपैयाँ ‘कलेक्ट’ गर्ने यो एउटा अवसर हो । ‘भारतीय मुद्रा सस्तोमा पाइनु भनेको नेपालीहरुका लागि अवसर हो, नेपाली बजारमा भारुको बढी माग भएको अवस्थामा राष्ट्र बैंकले डलर खर्च गरेर भारु खरिद गर्नु पर्ने हुन्छ, अहिले भारुको माग कम छ, यतिबेला सस्तो पाएको बेला पैसा उठाउनु नेपालीका लागि अवसर हुन सक्छ,’ स्रोतले भन्यो ।

नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेश प्रमुख विनोद लेखक राष्ट्र बैंकमा पनि नोट साट्नेको संख्या घटेको बताउँछन् । यसअघि भारुको माग धेरै हुने भएपनि यसबेला भने भारुको माग न्यून रहेको उनी बताउँछन् । उनका अनुसार यसअघि महिनामा ४५ लाख भारु साटिनेमा अहिले त्यो संख्या न्यून छ । कतिपयले हुन्डीको कारोबार बढेका कारण र भारु सहजै पाइने भएकोले माग कम भएको हुन सक्ने तर्क राख्छन् ।

चिन्तामा प्रवासी नेपाली

अहिले लाखौं नेपालीहरु भारतमा बस्छन् । उनीहरुले कमाएर नेपाल ल्याएको पैसा कतै नेपालमा नचल्ने होकि भन्ने चिन्ता पनि उनीहरुमा छ ।  यसअघि विकासन्युजले ‘भारुको मूल्य र माग घटेको राष्ट्र बैंकको निष्कर्ष, नेपाललाई फाइदा कि बेफाइदा ? भन्ने शिर्षकको समाचार प्रकाशित गरेको थियो । सो समाचारमा अधिकांश भारतमा बस्ने नेपालीहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिएका अधिकांशले रोजगारीको शिलशिलामा भारतमा काम गर्ने नेपालीलाई समस्या भएको र यसले थप चिन्ता सिर्जना गरेको धारणा राखेका छन् ।

सो समाचारमा प्रतिक्रिया दिँदै राकेश विश्वकर्माले भनेका छन्, ‘सलाम छ नेपाल सरकारलाई, स्वदेशमा रोजगार दिन त सकिनस्, अर्काको देशमा काम गरेर पनि खान नदिने भइस् ।’

कमेन्टमै प्रेम थापाले भनेका छन्, ‘गरिब को छोराले जसो तसो गरेर आफ्नो घरमा साँझ बिहान चुल्हो बाल्नका लागि भारतमा काम गर्छन्, सरकार देखि नसक्ने भयो ।’

‘नेपालमा काम दिन सकिनस्, आफ्नो देशमा काम नपाएर भारत छिरेका नेपालीहरूलाई नै लुट सरकार, हाम्रो घरजग्गा पनि लुटेर भिखारी बनाई दे, परदेशमा गएर काम गर्ने मजदुरको सलाम छ,’ समाचारमा व्यंग्यात्मक रुपमा प्रतिक्रिया दिँदै नमराज बिसीले लेखेका छन् ।’ प्रतिक्रिया दिने करिब साढे २ सय जनामध्ये अधिकांशले सरकारको विरोध गरेका छन् ।

Share News