महासंघको निर्वाचनमा निर्णायक बन्दै रामचन्द्र संघाई

  २०७९ फागुन १७ गते ११:१३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष शेखर गोल्छा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिँदैछ । गोल्छाको नेतृत्वमा महासंघले गर्ने महत्वपूर्ण निणर्यको हिसाबले आज बस्ने कार्यसमितिको बैठक अन्तिम हो ।

बुधबार बस्ने कार्यकारिणी समितिको बैठकले चैत अन्त्यमा महासंघको निर्वाचन गराउने निणर्य लिनेछ । महासंघको विधान अनुसार आगामी चैत मसान्तमा निर्वाचन गर्नैपर्छ ।

महासंघको विधानअनुसार निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुन्छ तर शेखरको कार्यकाल २ वर्ष ४ महिना मात्र भयो । कोरोना महामारीको कारण २०७६ चैतमा हुनु पर्ने साधारणसभा २०७७ मंसिरमा भएको थियो ।

आफ्नो कार्यकाल ८ महिना कम हुँदा पनि गोल्छाले सहज रुपमा स्वीकार गरेका छन् । विधानको व्यवस्था अनुसार चैत मसान्तमा नयाँ नेतृत्वको लागि निर्वाचन गराउँदै छन् ।

छैन चुनावी रौनकता

निर्वाचनपछि महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल बन्दैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको बैधानिक व्यवस्था छ ।
आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित ६४ सदस्यीय कार्यसमितिको लागि निर्वाचन हुँदैछ ।

निर्वाचनको मिति नजिकै आउँदा पनि यस पटक महासंघको चुनावी रौनकता कम छ । महासंघको नेतृत्वको प्रभावकारीता कम हुँदै गएकोले महासंघको निर्वाचनको चाम पनि घटेको महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल बताउँछन् ।

तर, ढकालको विचारमा वर्तमान नेतृत्व सहमत छैन । निर्वाचनको पूर्वाद्धमा वर्तमान नेतृत्व चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारका बारेमा मौन बस्दा चुनावी रौनकता कम भएको महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् ।

वर्तमान कार्यसमिति भित्र पक्ष विपक्ष नभएको र आगामी नेतृत्वमा यसलाई नै जिताउनु पर्छ भनेर कार्यसमितिमा प्रष्ट विभाजन नभएकोले पनि नजिकिँदै गएको निर्वाचन शान्त देखिएको महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् ।

अर्थतन्त्र संकटमा रहेको, व्यवसायीहरु आर्थिक संकटमा रहेकोले पनि चुनावप्रति व्यवसायीको चासो कम भएको उपाध्यक्ष दिनेश श्रेष्ठ बताउँछन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, नयाँ सरकार गठन र गठबन्धनमा आएको फेरवदल, नजिकिँदै गएको राष्ट्रपति र उपराष्ट्रिपतिको निर्वाचनले केन्द्रीय राजनीति तातेकोले पनि महासंघको निर्वाचन प्राथमिकतामा नदेखिएको श्रेष्ठको विश्लेषण छ ।

चुनावको विषयमा उम्मेदवारको सक्रियता तर मतदातामा उत्साह र सक्रियता नदेखिएको एशोसिएट तर्फका उपाध्यक्षका आकांक्षी भरतराज आचार्य बताउँछन् ।

निणर्यक बन्दै संघाई

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईले दावी गर्दै आएका छन् । अञ्जन र उमेशलालले थप ३ उपाध्यक्ष, कोषाध्यक्षसहितको निवार्चन प्यानल नै बनाएर अगाडि बढेको देखिन्छ ।

तर दिनेश र रामचन्द्रले आफ्नो प्यानल बनाएका छैनन । चुनावी गतिविधिमा कम सक्रिय भएकोले दिनेश श्रेष्ठको उम्मेदवारी प्रचारका लागि मात्र भएको टिकाटिप्पणी पनि महासंघ सर्कलमा छ । संघाईले पनि अन्तिममा छोड्ने विश्लेषण धेरैको छ ।

तर, संघाईको सक्रियता, निर्वाचन लक्षित उनको लगानी, सार्वजनिक रुपमा उनले दिएका अभिव्यक्तिका आधारमा उनी चुनावबाट पछि हट्ने छैनन् । वरिष्ठ उपाध्यक्षका अरु उम्मेदवारहरु नेवारी समूदायको भएकाले नेवार तथा जिल्ला नगरको मत विभाजित हुने र मारवाडी समूदाय र काठमाडौंका पुराना व्यवसायिक घरानाको समर्थनमा आफूले निर्वाचन जित्ने संघाईको विश्लेषण छ ।

प्यानल विना चुनाव जित्न असम्भव छ भन्ने विषय संघाईलाई पनि थाहा छ । तसर्थ उनी अन्तिममा अञ्जन वा उमेशलालको टिमबाट एशोसिएट उपाध्यक्ष बन्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । त्यस अवस्थामा संघाई जुन समूहमा लाग्छन्, त्यो समूहको चुनावी पल्ला भारी हुने विश्लेषण हुन थालेको छ ।

चुनाव आउन ढेड महिना पनि बाँकी नरहँदा अझै को कुन समूहबाट उम्मेदवार हुन्छ वा कुन प्यानलमा रहन्छन् भन्ने स्पष्ट नभएको महासंघको एशोसिएट उपाध्यक्षका आकांक्षी भरतराज आचार्य बताउँछन् । देशको अर्थतन्त्र संकटमा रहेको र चुनावप्रति मतदातामा पनि चासो कम भएकोले व्यवसायीहरु एक जुट भएर सर्वसहमतिमा नेतृत्व चयन गर्न सके धेरै राम्रो हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.