तारागाउँ रिजेन्सी होटलविरुद्ध सेबोनमा उजुरी, कानुनसंगत नभए अदालत जाने लगानीकर्ताको चेतावनी

  २०७९ फागुन ३ गते १२:२४     विकासन्युज

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सविरुद्ध नेपाल धितोपत्र बोर्ड (सेबोन)मा उजुरी परेको छ । होटल्सको सञ्चालक समिति नियुक्ति प्रकृयाविरुद्ध नेपाल धितोपत्र बोर्डमा उजुरी परेको लगानीकर्ता तिलक कोइरालाले बताएका छन् ।

बुधबार पर्यटन बोर्डमा आयोजित होटल्सको २६औं वार्षिक साधारण सभामा सहभागी भएका लगानीकर्ता कोइरालाले होटल्सको सञ्चालक समिति विरुद्ध उजुरी परेको बताएका हुन् । साथै, सञ्चालक नियुक्ति प्रकृया कानुनसंगत नभए अदालत जाने समेत उनले चेतावनी दिएका छन् ।

उनी सोही कम्पनीको सेयरधनीसमेत हुन् ।


श्रीमान् साधारणसभाको अध्यक्षज्यू,
तारागाउँ रिजेन्सी होटल्सको २६औं वार्षिक साधारणसभा

विषय : सञ्चालक निर्वाचनको प्रक्रिया नपुगेको बारे

प्रस्तुत विषयमा आज भईरहेको तारागाउ रिजन्सी होटल्स लि. (टीआरएच) को २२औं वार्षिक साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट निम्न विषय राख्न चाहन्छु ।

१. साधारणसभाको छलफलको विषयसूची नं ४ मा कम्पनीका समूह क र ख का तर्फबाट संचालकको निर्वाचन नभई पुनः नियुक्ति अनुमोदन भन्ने उल्लेख भएकाले सो कम्पनी ऐन २०६३ को दफा ८७ र नेपाल धितोपत्र बोर्डद्वारा जारी सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ को दफा ५ बर्खिलाप भएकाले सो प्रक्रिया स्थगित गरी वैधानिक रुपमा निर्वाचन गर्न माग गर्दछौ ।

कम्पनी ऐन २०६३ को दफा ८७ ले साधारणसभाले नै संचालक नियुक्त गर्नुपर्ने र संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ को दफा ५ ले विभिन्न वर्गका सेयर जारी भएका कम्पनीका हकमा सोही अनुपातमा संचालक तय गरी साधारणसभाबाट निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

साधारणसभा र सर्वसाधारण सेयरधनीको अधिकार कुन्ठित हुने गरी साधारणसभाको सूचनामा नै संचालक पुनः नियुक्त भएको उल्लेख गरी उनीहरुको अनुमोदनका लागि मात्र साधारणसभा बोलाउनु प्रचलित ऐन कानून र प्रचलित अभ्यासविरुद्ध भएका न्यायिक र अदालती प्रक्रियाबाट बदर हुन सक्नेतर्फ ध्यानाकर्षण गराउछ ।

२. कम्पनीको १ करोड ८८ लाख ६६ हजार ५ सय ४० कित्ता जम्मा सेयर रहेकोमा कम्पनीले सार्वजनिक जारी दिएर समूह क, समूह ख, समूह ग र समूह घ मा कति कित्ता सेयर छ नि कतै उल्लेख गरेको देखिँदैन ।

कम्पनीले प्रकाशित गरेको वार्षिक विवरणमा ११ जना सञ्चालक रहेकोमा एक जना समूह क तारागाउँ विकास समितिका तर्फबाट एक जना महिला सेयरधनी र सर्वसाधारण तर्फबाट दुई जना स्वतन्त्र सञ्चालकको वर्ग खुलेको देखिए पनि कुनबाट हो भनी स्पष्ट हुन सकेको देखिँदैन । यसअघिका साधारणसभाहरुबाट मनोनयन भएका सञ्चालकहरु नै बारम्बार दोहोरिँदै आएका छन् ।

३. कम्पनीको जम्मा सेयरमध्ये नेप्सेमा ५८ लाख २० हजार कित्ता अर्थात ३०.८४ प्रतिशत मात्र संस्थापक सेयर रहेको र १ करोड ३० लाख ४६ हजार ५ सय ४० कित्ता अर्थात ६९.१५ प्रतिशत सर्वसाधार सेयर रहेको नेपाल स्टक एक्स्चेञ्जको पत्रबाट स्पष्ट भएको छ र ती दुबै समूहका सेयरहरु नेपाल स्टक एक्स्चेञ्जको दोश्रो बजारमा नियमानुसार नियमित कारोबार भइरहेको नेप्सेले जनाएको छ ।

तारागाउँ रिजेन्सी होटलका कम्पनी सचिव विष्टले कम्पनीका सबै सेयर साधारण सेयर रहेको र ती सेयरहरु नेप्सेमा सहज रुपमा किनबेच हुनसक्ने भनी बताएको रेकर्ड समेत छ ।

४. नेप्सेमा सूचीकृत संस्थापक र साधारण सेयरको अनुपात हेर्दा ११ जना संचालक मध्ये दुई स्वतन्त्र संचालक बाहेक ६९.१५ सर्वसाधारण सेयरधनीको तर्फबाट एक महिलासहित ६ जना र ३०.८५ प्रतिशत संस्थापक सेयरधनीको तर्फबाट ३ जना संचालक साधारणसभाबाट निर्वाचित हुनुपर्ने देखिन्छ ।

यस कम्पनीमा ७० प्रतिशत सर्वसाधारण सेयरधनीलाई ३० प्रतिशतले शासन गरेको र बहुमत सर्वसाधारण सेयरधनीको अधिकार कुन्ठित गरी ३० प्रतिशत सेयरधनीले आफ्ना तर्फबाट मनोमानी संचालक पुनः नियुक्त गरी साधारणसभाको सूचनामै नाम उल्लेख गरेर अनुमोदन गर्न मात्र यस गरिमामय सभामा पेश गर्नु साधारणसभाकै अधिकार हरण गर्नु हो ।

कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा जेसुकै लेखिएको भए पनि कम्पनीले ऐन र सूचीकृत संस्थाले पालना गर्नुपर्ने नियम पालना गर्नबाट छुटकारा पाउँदैन ।

तसर्थ ऐन नियम विपरित ल्याईएको संचालक पुनः नियक्तिको बिषय स्थगित गरी वैधानिक रुपमा निर्वाचन समिति गठन गरेर, सो समितिको निर्णय अनुसार निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुपर्ने, मतदाता नामावाली प्रकाशन गर्नपर्ने उम्मेदवारी दिने उम्मेदवारको नाम प्रकाशित गर्ने दावी विरोध गर्ने, अन्तिम नामावली प्रकाशन गर्ने, मतदान गर्ने र संचालक निर्वाचन भएको घोषणा गर्ने लगायतका वैधानिक प्रक्रियाबाट हुनुपर्छ भन्ने हाम्रो माग छ ।

यस सम्बन्धमा नेपाल धितोपत्र बोर्डमा अगाडि नै उजुरी पुगिसकेकोले वैधानिक प्रक्रियाबाट संचालन निर्वाचन नभए अदालती प्रक्रियामा सर्वसाधारण सेयरधनीहरु जान बाध्य हुने जानकारी गराउँछौं ।

५. कम्पनीले साधारण सभा प्रयोजनका लागि सेयरधनी दर्ता किता बन्द गरेपछि सेयरधनीहरुको विवरण हेर्न पाउने अधिकार समेत कुण्ठित गरी सेयर रजिष्टार एनआईसी एशिया क्यापिटलमा पेश गरिएको निवेदन अनुसारको कम्पनीको सेयरधनीको वर्गीकरण सो वर्गमा रहेका कित्ता र सेयरधनीको विवरण समेत उपलब्ध नगराएर प्रचलित ऐनको बर्खिलाप काम भएको छ र कम्पनी भित्र संस्थागत सुशासन र पारदर्शिताको चरम अभाव रहेको प्रमाणित भएको छ ।

कम्पनीलाई प्रचलित ऐन नियम अनुसार पारदर्शी रुपमा संचालन गरी सर्वसाधारण सेयरधनीको हित सुरक्षा गर्न यस साधारणसभामा माग गर्दछौ ।

तिलक कोइराला । सेयरधनी नं । हितग्राही खाता नं १३०१०२००००००१७३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.